कच्याक–कच्याक, हिलो बाटो, सिमसिम पानी, भिजेका जुत्ता, चराचुरूंगीको चिरबिर, बर्खे खोल्साको गड्गडाहट अनि मेरो एक्लोपन!
म लामालामा पाइला चाल्दै, उफ्रँदै सिक्रेतर्फ अघि बढ्दै थिएँ।
मनमा कुनै डर थिएन।
अचानक केही मिटर अगाडि बाटोमाथिबाट खस्र्याक्क गर्दै कालो रङको एउटा जनावर देखापर्यो। मतिर पुलुक्क हेरेर एकछिन अडियो।
भालु पो रहेछ!
उसको पुलुक्क हेराइले मेरो सातो लियो। मुटुको धड्कन तीव्र भयो, ज्यान सिरिङ गर्यो। शरीरका रौं ठाडा भए।
चलमल नगरी शान्त भएर उभिन खोजेँ। कतै पढेको थिएँ– भालुसँग जम्काभेट भयो भने उसलाई डर देखाउनुहुन्न, आफू संयमित भएर नडराई बस्नुपर्छ, भाग्नु हुन्न।
म भगिनँ, मौन धारण गरेजसरी ठिंग उभिएँ।
एकछिन मलाई हेरेर ऊ लुसुक्क बाटोमुन्तिर हाम फाल्यो।
भालु त गयो तर मेरो सातो फर्केन।
भालु फर्केर पो आउने हो कि! बाटो मुन्तिर आफ्ना बालबच्चा कुरेर पो बसेको छ कि! भालुका साथीहरू मास्तिरबाट आँउदै पो छन् कि! मेरो मन डराइरह्यो।
केही दिनअघि मात्रै ‘कोकेन बियर’ नामको चलचित्र हेरेको थिएँ। त्यसको भालु सम्झेँ। हाइकिङ हिँडेको एक जोडीलाई कोकेनले मातिएको भालुले आक्रमण गर्छ, पुरूष भाग्न सफल हुन्छ तर महिलालाई भालुले त्यहीँ मारिदिन्छ।
फेरि ‘जंगल बुक’ को भालु ‘बलु’ सम्झेँ। त्यसले मुग्लीलाई जंगलमा जनावरहरूसँग बाँच्न सिकाउँछ, अरू धेरै सीप सिकाउँछ। बलु मुग्लीको रक्षक र असल साथी हुन्छ।
जंगलका सबै भालु खराब हुँदैनन्!
शिवपुरी राष्ट्रिय निकुञ्जको पश्चिममा पर्ने सिक्रेसम्म हाइकिङका लागि बिहान सबेरै हिँडेको थिएँ। आफ्नो गन्तव्यमा नपुगी त के फर्कनु! सोचमग्न भएँ।
भालुका साथीहरू आएनन्। मैले देखेको भालु पनि धेरै पर पुगिसक्यो होला भन्ठानेर पछाडि नफर्की सिक्रेतिर अघि बढेँ।
भालुको डर मनबाट लगभग हटिसकेको थियो। डर भागेपछि त्यसको फोटो खिच्नै पाइनँ भनेर पो खिन्न भएँ!
खिन्नतामा मेरो मनमा एउटा मिम फुरेको थियो। हरिवंश आचार्यको फोटोमा ‘हाकिङ आउँदा भालु देखेको त मतलबै भएन नि’ लेखिएको मिम सम्झिनुहोस् त, कस्तो हुन्छ! ठ्याक्कै त्यही मिम सम्झेर म एक्लै मुसुक्क मुस्कुराएँ।
आफैलाई सम्झाएँ– देखेका सबै दृश्य क्यामरामा कैद गर्न सकिँदैन, कति घटना अनुभव गर्नका लागि मात्र हुन्छन्।
गुगल म्याप हेरेँ, सिक्रे पुग्न अझै आधा बाटो बाँकी रहेछ। अलिक होसियार भएर हिँड्न थालेँ। हिँडाइको गति कम भयो।
बाटोको दायाँबायाँ खाल्डाखुल्डी देखेँ। माटो भर्खरै खनिएजस्तो देखिन्थ्यो। छरिएको माटोबाट बाफ पनि उडिरहेको थियो। केही ठाउँमा बँदेलका पाइलाका छाप पनि देखिन्थे। बँदेललाई किन डोजर भन्दा रहेछन्, आज थाहा भयो।
केही पर पुगेपछि हिलो बाटोमा चितुवाका जस्तै देखिने ताजा पदचापहरू देखेँ।
हाइकिङ जाँदा अनुज भन्थ्यो– दाइ यो चितुवाको फूटप्रिन्ट हो, यो मृगको आची हो, यो आचीमा रौं छ, चितुवाको हो।
मलाई फेरि डर लाग्न थाल्यो।
उसले भनेका कुराको सम्झना त मनमा डर बनाउन लागि आएजस्तो भयो।
भालु देखिसकेको थिएँ, बँदेलले भर्खरै माटो खनेको थियो। चितुवा यतैकतै नजिक हुन सक्थ्यो। मेरा साथमा लौरोमात्र थियो।
जीवनमा पहिलोपल्ट एक्लो यात्रामा असुरक्षित महसुस गर्दै थिएँ।
एउटा खोल्साको छेउमा झोला बिसाएँ। जुत्तामोजा फुकालेर ढुंगामा राखेँ। चिसो पानीमा खुट्टा डुबाउँदै उसिनेको आलु टिमुरको छोपमा डोब्दै खाएँ। कलकल बगेको चिसो पानी खुट्टाले स्पर्श गर्दा एकैछिनमा सारा थकान बिलाएजस्तो भयो।
सिक्रे त पुगूँला तर यही बाटो फर्कनुपर्छ भन्ने सम्झँदा सम्झँदै मैले आफूलाई भनिसकेको थिएँ– अब यही बाटो फर्कने आँट छैन।
अगाडि बढ्ने आँट भएन।
केही वर्षअघि कागमारा पास गरेर जुम्ला निस्कने योजना स्थगित गर्नुपरेको सम्झेँ। हामी थकथकाउँदै फर्कंदै थियौँ। डोल्पाको पुग्मो गाँउमा एक दाजु भेटिए। हाम्रो मन कुँडिएको थाहा पाएर उनले भनेका थिए– यात्रामा अगाडि बढ्नु मात्र हिम्मतको कुरा होइन, कहिलेकाहीँ सही निर्णय गरेर सुरक्षित तरिकाले फर्कनु पनि साहस हो।
त्यो दिन पनि सिक्रे नपुगी फर्कनुको विकल्प देखिनँ।
झोलामा भएको खानेकुरा सबै रित्याएर सिक्रेको हाइकिङ त्यही खोल्सामा बिट मारेँ। अर्कोपटक आउनुपर्ला भनेर चित्त बुझाएँ।
जुन बाटो आएको थिएँ; दगुर्दै, आवाज निकाल्दै त्यही बाटो फर्कें।
सेप्टेम्बर ११, २०२४।
ठ्याक्कै एक वर्षपछि सिर्के हाइकिङ जुर्यो।
बिहानको तीन बजे। बाहिर सिमसिम पानी पर्दै थियो। झ्यालका पर्दा चिसो हावाले हल्लाइराखेको थियो।
म झोला भिरेर निस्केँ।
सहर अझै निद्रामै थियो, सडकहरू सुनसान थिए। बाटोमा भेटिएका धेरै कुकुर मलाई देखेर भुक्थे। केही कुकुर भने पुच्छर हल्लाएर मेरो साथी बन्न आइपुग्थे। झोलाबाट बिस्कुट झिकेर तिनलाई दिन्थें।
सडक बत्तीको सहारामा बसुन्धराबाट टोखा गणेशस्थान पुगेँ। त्यहाँबाट एउटा बाटो झोर हुँदै गुर्जे भन्ज्याङ पुगिन्थ्यो, अर्को बाटो टोखा चण्डेश्वरी हुँदै बुढानीलकण्ठ।
टोखा चण्डेश्वरी मन्दिर बाहिर बगिरहेको ढुंगे धाराको चिसो पानीले मुख धोएँ, पानी खाएँ। बूढानीलकण्ठतिर जाने बाटो अघि बढें।
सडक बत्तीले गर्दा बिहान चार बजे पनि झलमल उज्यालो थियो। करिब १५ मिनेट हिँडेपछि कालोपत्रे बाटो र सँगै सडक बत्ती सकिए। त्यसपछि त चुक घोप्ट्याएझैं चकमन्न अँध्यारो पो भयो!
मसँग हेडलाइट थिएन।
मोबाइलको चार्ज खर्च गर्दै फ्ल्यास लाइट बालेर अघि बढ्न जाँगर चलेन। अँध्यारो त जसोतसो हिँडिन्थ्यो, अँध्यारोमा नहिँडेको पनि होइन तर ठ्याक्क माथिपट्टि शिवपुरी राष्ट्रिय निकुञ्जको जंगल छ, मलाई चितुवाको डर लाग्यो।
बिहानीपखको चकमन्नतामा कुकुर रोएको आवाजले मलाई डिस्टर्ब गरिरहेको थियो।
मेरी हजुरआमा भन्नुहुन्थ्यो– कुकुर रोएको त अलच्छिन हो, कुकुर रोयो भने गाउँमा कोही न कोही मर्छ।
कसैलाई अलच्छिन नलागोस् भन्ने ठान्दै म उभिएँ। आकाशमा टल्किएका तारा र परतिर झिल्मिलाइरहेको काठमाडौं सहर नियालेर मनमा अनेक कुराहरू खेलाएँ। घडीमा साढे चार भएछ। मनमा यति धेरै कुरा खेलाउँदा पनि जम्मा तीन मिनेट मात्र बितेछ!
झोला सिरानी बनाएर कल्भर्टको कुनामा पल्टिएँ। निदाउने प्रयास गरेँ। चण्डेश्वरी मन्दिरको घण्टको आवाजले निदाउन दिएन। त्यसपछि थाहा भयो, मैले त बिहान चारदेखि पाँच बजेसम्म बाटोमै एक घण्टा पावर न्याप लिइसकेछु।
रात लामा हुन लागिसकेछन्। बिहानको पाँच बजे पनि अँध्यारै थियो।
शरीरमा लागेको धुलो हातले टक्टक्याएर डाँडागाउँतिर अघि बढेँ।
दोबाटो आयो।
म बूढानीलकण्ठतिर नगई कालोपत्रे बाटो उकालो लागेँ। त्यहाँ मर्निङ वाकमा निस्कने मानिसहरूको चहलपहल बाक्लै थियो। कतिपय मानिस मोबाइलको फ्ल्यासलाइट बाल्दै फर्किंदै थिए।
राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा भेटिएका एक अधबैंसे जोडीसँग केहीबेर गफ गर्दै हिँडें। मलाई उनीहरूले बालेको फ्ल्यास लाइटको उज्यालोमा हिँड्नु थियो।
केहीबेरपछि ‘ल म अगाडि जान्छु। हजुरहरू बिस्तारै आउनुहोला’ म अगाडि लागें।
‘उमेरमै हो भाइ मन लागेको गर्ने, कुद्ने दगुर्ने।’
यो कुराले मेरो मनमा कुद्ने, दगुर्ने जोश अझै बलियो भएर आयो।
प्रवेश टिकट काट्न शिवपुरी निकुञ्जको डाँडागाँउ चेकपोस्ट खुलेकै थिएन। बिनाटिकट म गुर्जे भन्ज्याङतर्फ तेर्सो बाटो लागेँ।
बादलले ढाकेको आकाश, जताततै हरियाली, वातावरण शान्त र स्वच्छ थियो। जंगलको बाटोमा चराको चिरबिर आवाज र कलकल बग्ने झरना–खोल्साको आवाज मनोरम थियो।
म प्रायः बिहान सबेरै हाइकिङमा हिँड्ने भएकाले बार्किङ डियरको आवाज सुन्नु र तिनीहरूलाई देख्नु सामान्यजस्तै लाग्न थालेको थियो। बाटोमा भुरुर्र उड्ने कालिज देखिनु खासै नयाँ थिएन। कालिजले मलाई देखेर ओहो यो मान्छे फेरि आएछ भने कि क्या हो जस्तो मानेर मुसुक्क हाँस्दै हिँडेँ।
बिहानको सात नबज्दै गुर्जे भन्ज्याङबाट सिक्रेतर्फ हाइकिङ जान पाइँदैन।
म औसत गतिभन्दा ढिलो हिँड्दै थिएँ। गुर्जेबाट सिक्रेतर्फ लागेपछि औसत गति बढाउने विचार गर्दै पौने सात बजे गुर्जे भन्ज्याङ पुगेँ।
एउटा सानो जानकारी दिइहालूँ, समुद्री सतहबाट करिब १८५० मिटर उचाइमा अवस्थित गुर्जे भन्ज्याङ काठमाडौं र नुवाकोटको सिमाना हो, नुवाकोट जोड्ने एउटा मुख्य नाका।
आर्मी दाजुले टिकट काउन्टरको सरलाई कोठामै गएर बोलाएर ल्याए।
चियाको चुस्की लिँदै टिकट काट्नेले सोधे– यति बिहानै कता हो?
‘सिक्रेसम्म।’
‘यो बाटो कोही हिँड्दैनन्, झाडी छ। पहिला यो बाटो हिँड्नुभएको छ?’
‘हिँडेको छु।’
‘कति जना हुनुहुन्छ?
‘एक जना।’
‘बाटोमा पहिरो गाको हुन सक्छ, ढुंगा खसेको हुन सक्छ, अलि सजग भएर हिँड्नुहोला, केही अप्ठ्यारो परिहालेमा फोन गर्नुहोला’ भन्दै उनले शिवपुरी राष्ट्रिय निकुञ्जको सय रुपैयाँको प्रवेश टिकटमा आफ्नो मोबाइल नम्बर लेखिदिए।
‘मुसुक्क हाँसिदेऊ फूल फुलेझैँ, पानी परे पछिको आकाश खुलेझैं...’ बोलको गीतमा जस्तै आकाश खुलेको थियो। कुमार सानुले गाएको ‘स्वर्ग’ चलचित्रको यो गीतको एक अंश गुनगुनाउँदै मैले गुर्जे भन्ज्याङबाट एकलट उत्तरतिर हेरें।
पश्चिममा लाङटाङ हिमशृंखला स्पष्ट देखिएको थियो। हिमाललाई पृष्ठभूमिमा राखेर सुइरेचौरको तस्बिर लिएँ।
शिवपुरी रिसोर्ट र सिक्रे जाने दोबाटोसम्मको ग्राभेल बाटो सकिएसँगै सिक्रे हाइकिङ सुरू भयो।
राति परेको पानीले बाटोका पात पतिंगर भिजेका थिए, झारबाट शितका थोपा चुहिँदै थिए। बाटोमा जमेको पानीले जुत्ता डाँडागाँउदेखि नै भिजिसकेको थियो।
हरेक पाइलाले ‘छपछप’ आवाज निकाल्थ्यो। सुरूमा निकै असहज लागे पनि जुत्ताभित्रको पानीसँग र पाइतालाले सम्झौता गरिसकेका थिए।
यो हाइकिङ ट्रेल विरलै प्रयोगमा आउने भएर होला अधिकांश ठाउँमा बाटो झाडीले छोपिएको थियो। पहिरोले झारेका ढुङ्गा बाटोमा असरल्ल थिए।
कहिले साना खोल्सा त कहिले पानीको झरना पार गर्नुपथ्र्यो। कतै धान खेतको कुलैकुलो हिँड्नुपर्थ्यो। बाटो चिप्लो र हिलो भएकाले सजग हुँदै पाइला चालिरहेको थिएँ। झाडी भएर होला खुट्टातिर मात्र लाग्ने जुका शरीरको माथिमाथि पनि टाँसिन थालेका थिए।
चराचुरुंगीको र झरना–खोल्साको आवाज सुन्दै दुई घण्टामा सिक्रे आर्मी चेकपोस्ट पुगेँ।
एकछिन बिसाएर फर्किने सुरसार गर्दै थिएँ, आर्मी दाजुले भने– यहाँसम्म आइसकेपछि अब यही बाटो नफर्किनू, तल सिक्रे घुमेर फर्किए हुन्छ, तल केजाति भाइरल झरना छ, फर्कनलाई बस पनि पाइन्छ।
यसपटक म सिक्रे नै भएर फर्कने पूर्वतयारिका साथ आएको थिएँ।
गुगल म्याप हेरें, आर्मी दाजुले भनेको ‘लखिनश्वरी झरना’ रहेछ।
त्यहाँसम्म त पुगेर आउनुपर्यो भन्ने विचारले तलतिर झरें।
सिक्रे आर्मी पोस्टबाट सिक्रेफेदीसम्म झर्दा चारैतिर निलो आकाश, हरिया रूख, गाँउका सुन्दर बस्तीहरू, हरियो धानले भरिएका फाँटहरू र ससाना झरनाहरू देखिन्थे।
फेदीमा प्रचण्ड गर्मी थियो। त्यस्तो गर्मीका बेला सिक्रेफेदीबाट तीन किलोमिटर पर झरनामा थापिँदाको शितलता शब्दमा वर्णन गर्न नसकिने खालको भयो।
जता हेरे पनि हरियाली!
बाटोमा ससाना गाउँहरू भेटिए। कतिपय ठाउँमा झरना बाटोमै बगेको हुन्थ्यो। झरना देख्नासाथ केहीबेर आराम गर्थें, झरनाको पानीले अनुहार धुन्थें।
समुद्रदेवी माने हुँदै अर्खले पुगें।
मोबाइलमा स्ट्राभाले ४७ किलोमिटर देखाएको थियो र ब्याट्री १५ प्रतिशत मात्र बचेको थियो। म त साँझ ६ बजेसम्म हिँड्नु छ, ७० किलोमिटर दूरी तय गर्नु छ। मलाई थकानभन्दा पनि मोबाइलको चार्ज सकिन लागेकोमा चिन्ता भयो।
सम्झें– इफ इट्स नट अन स्ट्राभा, इट नेभर ह्यापेन्ड।
आपत पर्यो, न मैले चार्जर बोकेको थिएँ न पावर ब्यांक। अर्खलेका पसलपसल सोध्न थालें, चार्जर कतै पनि भेटिएन।
एउटी बहिनीले सुझाइन्– गुर्जे चेक पोस्टको एउटा रिसोर्टमा हुन सक्छ।
साँच्चै, त्यो रिसोर्टमा चार्जर रहेछ।
सोचें, मोबाइल चार्ज गरेपछि केही त किन्नुपर्छ, मैले एक बोतल कोक किनें।
मोबाइल ४० प्रतिशत चार्ज भयो। खासमा भन्ने हो भने मोबाइल र शरीर दुबै रिचार्ज भए।
बिहान पौने सात बजे गुर्जे भन्ज्याङबाट हिँडेको दिउँसो तीन बजे फेरि त्यहीँ आइपुगें। बिहान आएकै बाटो हुँदै डाडागाँउतर्फ लागेँ।
डाडागाँउबाट पानीमुहान आउँदा अन्तिम तीन किलोमिटरमा म थकित भइसकेको थिएँ। घण्टौंको लगातार हिँडाइले गोडा पनि 'हामी त थाक्यौं, अब हिँड्न सक्दैनौं' भन्दै विद्रोह गर्न थालिसकेका थिए।
सिक्रे जक्सनबाट सिँढीको बाटो पानीमुहानतर्फ ओरालो नलागी म मोटोरेबल तेर्सो बाटो अघि बढें जो नागीगुम्बा र तारेभिर हुँदै सुन्दरीजल निस्किन्छ। साँझ ६ बजे शिवपुरी चेकपोस्ट पानीमुहान पुग्दा ६४ किलोमिटर हिँडेको थिएँ।
बसुन्धरासम्म हिँड्ने हो भने ७० किलोमिटर पूरा हुने थियो भन्ने कल्पना मात्रैले पनि म खुसी भएँ।
निकुञ्जको गेटबाट बाहिर निस्केर ओरालो पिच बाटो हिँड्न थालेपछि त गोडा सर्दै सरेन घण्टौंको हिँडाइले थकित गोडा अनि ओह्रालो पिच बाटो।
स्ट्राभाले ६४.८ किलोमिटर देखाइरहेको थियो।
बूढानीलकण्ठ बस स्टपसम्म पनि पुग्न सकिनँ। ‘होलिडे इन’ होटलको साइडको कल्भर्टमा बसेर मोबाइलको स्ट्राभा एपमा स्टप थिचें।
मनले भन्यो– यसपालि ७० किलोमिटर हाइकिङ पूरा गर्न सकिनँ। फेरि मनले सम्झायो– प्रयास त गरेँ नि!