नेपालमा छँदै जापानको ‘क्योतो’ सहरको बारेमा धेरथोर जानकारी थियो। जापानको पुरानो राजधानी रहेको, सांस्कृतिक रूपमा धनी रहेको र पर्यटनको प्रमुख गन्तव्य पनि यही ठाउँ रहेकोले जापान बसाइका क्रममा कम्तीमा एक पटक उक्त सहर घुम्नुपर्छ भन्ने सोच थियो। तर कैयौंपटक म अध्ययन गर्ने विश्वविद्यालय रहेको क्षेत्र र टोकियो आउजाउ गर्दा सो बीचमा पर्ने सुन्दर ‘क्योतो’ सहर ट्रेनबाट हेर्ने बाहेक घुम्ने अवसर प्राप्त भएको थिएन।
संयोगले यसपालि विश्वविद्यालयले जापानको ‘कानसाई’ क्षेत्रको ‘क्योतो’ र ‘ओसाका’ क्षेत्रको शैक्षिक भ्रमण गरायो।
सोही अवसर पारेर क्योतोका विभिन्न ठाउँहरू घुम्ने अवसर प्राप्त भयो। क्योतो घुमाइको बखत देखेका, अनुभव गरेका तथा विभिन्न स्रोत अध्ययन गरेर प्राप्त भएका केही जानकारीहरू यस लेखमा प्रस्तुत गरिएको छ।
जापानमा ‘मेइजी’ युग सुरू हुनुभन्दा अगाडि अर्थात् जापानको राजधानी टोकियो स्थानान्तरण हुनुभन्दा अगाडि सन् १८६९ सम्म ‘क्योतो’ जापानको राजधानी थियो। क्योतो सहर दोस्रो विश्वयुद्धको समयमा सम्भावित परमाणु बमको क्षतिबाट जोगिएको थियो।
द्वितीय विश्वयुद्धको समयमा जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने गरी अमेरिकाले जापानको हिरोसिमा र नागासागीमा परमाणु बम खसाल्यो र निकै ठूलो धनजनको क्षति भयो। यही परमाणु बमपश्चात दोस्रो विश्वयुद्ध समापन भयो।
भनिन्छ, अमेरिकाको परमाणु बम खसाल्ने सहरको सूचीमा ‘क्योतो’ सहर पनि थियो। क्योतोको सांस्कृतिक महत्त्व, परम्परा, सम्पदा र सुन्दरताको कारणले नै युद्धको चपेटा र सम्भावित परमाणु बमको अस्त्रबाट उक्त सहर सुरक्षित रह्यो। त्यसैले त युद्धपूर्वको सांस्कृतिक सम्पदा, भवन र ‘माचिया’ भनिने परम्परागत टाउनहाउस, मन्दिर र कलाले क्योतोको वास्तुकलालाई भरिपूर्ण बनाएको छ।
क्योतो पुरानो राजधानी मात्रै नभएर यो जापानको सांस्कृतिक केन्द्र हो। र, यो लाखौं राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यटकहरूको प्रमुख पर्यटकीय गन्तव्य पनि हो।
क्योतो प्रान्तीय सरकारको तथ्यांक अनुसार २०२३ मा ७५ मिलियनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले क्योतो प्रान्तको भ्रमण गरेका छन् जुन क्योतो प्रान्तको सम्पूर्ण जनसंख्याभन्दा करिब ३० गुणा बढी हो। जापान आउने अधिकांश विदेशी पर्यटकहरूको मुख्य गन्तव्य क्योतो पर्ने रहेछ। सन् २०२४ लागेयता क्योतोमा ‘अधिक पर्यटन’ को समस्या देखा परिरहेको र पर्यटन व्यवस्थापन गर्न ‘सिटी गभर्मेन्ट’ तथा पर्यटन सम्बद्ध स्थानीय निकायहरुलाई हम्मेहम्मे परेको समेत विषय चाखलाग्दो रह्यो। कतिपय पर्यटन लक्षित सुविधाहरु त अधिक पर्यटनको कारण बन्द नै गर्नुपरेको रहेछ भने स्थानीय समुदायले यातायात लगायतका क्षेत्रमा देखिएको अत्यधिक भिडभाडको समस्या समधान गर्न स्थानीय सरकारलाई आग्रह गरेका रहेछन्।
ब्यादो इन टेम्पल, क्योतो
‘क्योतो’ बौद्ध मन्दिर, सिन्तो सराइन, विभिन्न दरबार तथा संग्रहालय, गार्डेनहरू तथा प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। दुई हजारभन्दा बढी मन्दिर तथा सराइनहरू छन् यहाँ।
क्योतोका कैयौं सम्पदाहरू त युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत नै रहेछन्। करिब ५ किमी क्षेत्रफलमा फैलिएको ‘क्योतो इम्पेरियल प्यालेस’ यहाँको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो। जुन दरबार जापानको राजधानी टोकियो सर्नुभन्दा अगाडि तत्कालीन जापानी सम्राटको दरबारको रूपमा रहेको थियो। क्योतो घुम्ने अधिकांश पर्यटकहरू यो ठाउँ घुम्दा रहेछन्।
‘ब्योदो इन टेम्पल’, ‘क्योमिजु देरा’, ‘किन्काकुजी गोल्डेन टेम्पल’, ‘फुसुमी इनारी टाइसा सराइन’ लगायतका महत्वपूर्ण साँस्कृतिक सम्पदाहरू क्योतोका महत्वपूर्ण पर्यटकीय ठाउँहरू रहेछन्।
भनिन्छ, इतिहास पढ्न र बुझ्न संग्रहालय घुम्नुपर्छ। क्योतोमा कला, संस्कृति, इतिहास लगायतका दर्जनौं संग्रहालयहरू छन्, जसले यस सहरलाई ‘सिटी अफ म्युजियम’ को रूपमा नै परिचित गराएका छन्। यहाँको बाँसको जंगल (बम्बो फरेस्ट) धेरै पर्यटकहरूका लागि आकर्षित गर्ने महत्वपूर्ण ठाउँ रहेछ। निकै ठूलो क्षेत्रमा फैलिएको बाँसको पूरै जंगललाई कलात्मक पार्कको रूपमा विकास गरिएको रहेछ। केही पातलो तर अग्लो बाँसबाट बनाइएको यो जंगल क्योतो घुम्न आउने अधिकांश पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र पनि रहेछ।
क्योतो इम्पेरियल प्यालेस
क्योतोमा देखेको अर्को महत्वपूर्ण कुरा हो ‘पर्यटकीय सुविधा र सुरक्षा’। अन्य सहरहरूमा भन्दा क्योतोमा सार्वजनिक बसको सुविधा राम्रो रहेछ। मुख्य पर्यटकीय ठाउँहरूमा घुम्नको लागि क्योतो ट्रेन स्टेसनबाट सजिलै बस पाइने। सामान्यतया ट्याक्सी प्रयोग गर्नु नपर्ने रहेछ। ट्याक्सी प्रयोग गरिहाल्नुपर्यो भने पनि ट्याक्सीबाट ठगिएला, बढी भाडा तिर्नुपर्ला भन्ने कुरा जापानमा कल्पना पनि नगरे हुँदो रहेछ किनकि सबै मिटर सिस्टममा चल्छन् र अर्कोतिर जापानी ट्याक्सी चालकहरू निकै सहयोगी र अनुशासित पनि छन्।
बसबाट यात्रा गर्दा जहाँ गए पनि सिटीभित्र भाडादर भने समान रहेछ। बच्चा र वयस्कको लागि फरकफरक भाडा तोकिएको तर दुरी जति भए पनि दर भने एउटै। भाडा तिर्न बसमै ‘अटोमेटेट’ प्रणाली छ। नगद तिर्छु भन्दा पनि हुने वा कार्डबाट तिर्छु भन्दा पनि हुने। जापानमा ट्रेन तथा बसमा यात्रा गर्न, ग्रोसरी सप तथा डिपार्टमेन्टल स्टोरहरूमा सपिङ गर्दा भुक्तानीको लागि कैयौं आधुनिक प्रविधिहरू छन्। ‘स्वीका’ ‘पासमो’ ‘आइसी कार्ड’ जस्ता कार्डहरू भुक्तानीको लागि प्रयोग गर्न सकिने रहेछ र त्यस्ता कार्डहरू ट्रेन स्टेसनमा रहेका मेसिनहरूबाट आफै बनाउन सकिने रहेछ।
घुम्नको लागि निश्चित पैसा तिरेर एक दिने वा सात दिने पास पनि बनाउन सकिने जसले गर्दा कम पैसामा दिनभरी वा सात दिनसम्म जुनसुकै बस वा लोकल ट्रेनमा यात्रा गर्न सकिने रहेछ। क्योतोका मुख्य ठाउँहरू हेर्ने गरी क्योतो स्टेसनबाट ‘सिटी टुर’ को लागि विशेष किसिमका ‘स्काई बसहरू’को व्यवस्था समेत रहेछ। छोटो समयमा क्योतो घुम्नेहरूको लागि यो निकै उपयोगी रहेछ।
घुम्न जाने ठाउँहरूमा पनि पर्यटक लक्षित अनेक सूचनाहरू सजिलै पाइने। कुनै पनि ठाउँमा घुम्दा कुनै डिस्टर्व, होहल्ला वा समस्या नहुने। शान्त वातावरणमा घुम्न सकिने। घुम्ने ठाउँहरूमा अत्यावश्यक सुविधाहरू सहज ढंगले उपलब्ध छन्। सुविधा सम्पन्न ट्वाइलेट, थकाइ मार्ने ठाउँ, तिर्खा लाग्दा आफै निकालेर रोजेको पेय पदार्थ खान मिल्ने गरी ठाउँ ठाउँमा रहेका ‘भेन्डिङ मेसिन’हरू जस्ता सुविधाहरू आधारभूत सुविधाको रूपमा रहेका छन्।
अर्को महत्वपूर्ण पक्ष भनेको घुम्दा कुनै पनि ठाउँमा स्थानीय व्यापारी तथा मानिसहरूबाट कुनै अवरोध हुँदैन। अर्थात् आफ्ना सामान बेच्न पर्यटकहरूलाई तान्ने, बोलाउने वा प्रभावमा पार्न खोज्ने, दु:ख दिने जस्ता कुनै पनि क्रियाकलाप क्योतोमा मात्रै हैन जापानभर कतै देखिएन। प्रचारप्रसार गर्ने जापानिजहरूको आफ्नै शैली छ।
आफ्नो सामान वा पसलको प्रचारप्रसार गर्न भिडभाड हुने ठाउँमा पम्पलेट वा पर्चा लिएर होहल्ला नगरी नबोलीकन उभिँदा मात्रै रहेछन्। पर्यटकहरूको लागि सबैभन्दा ठूलो चाहना भनेको बिना अवरोध सजिलै घुम्न पाइयोस् भन्ने हुँदो रहेछ, त्यो सबालमा क्योतो र समग्र जापान निकै अगाडि छ। सुरक्षाको सन्दर्भमा पनि निकै संवेदनशील छ जापान।
जापानको जुनसुकै ठाउँमा पनि हामी समूहमा वा एक्लै ढुक्क भएर हिँडडुल गर्न सक्छौं। विश्वमै जापानको परिचय सुरक्षित देशको रूपमा रहेको छ। त्यसमाथि क्योतो अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र पनि भएकोले सुरक्षा संवेदनशिलतामा निकै ध्यान दिएको महसुस भयो। पर्यटन क्षेत्रलाई आकर्षित गरी पर्यटन विकास गर्न यो निकै आवश्यक विषय हो।
हामीलाई लाग्छ अंग्रेजी जानेपछि विश्वभर जहाँ पनि सजिलै घुम्न सकिन्छ वा बिक्न सकिन्छ। तर यो सन्दर्भ जापानमा लागु हुँदैन। अधिकांश जापानीहरू आफ्नै भाषा बोल्छन्। केही मात्रै अंग्रेजी बोल्छन्। क्योतो पर्यटकीय क्षेत्र पनि भएकोले केही बढीले अंग्रेजी बोल्छन् तर घुम्दा भाषाको समस्या भने खासै कहीँकतै देखिँदैन।
पर्यटकीय गाइडबुक, ब्रोसर तथा सूचना तथा पर्यटक लक्षित विभिन्न बेवसाइटहरू विभिन्न भाषामा उपलब्ध छन्। बस वा ट्रेनमा यात्रा गर्दा पनि कम्तीमा चार वटा भाषाहरू जापानिज, चाइनिज, कोरियन, र अंग्रेजी भाषामा सूचना प्रवाह गरिन्छ। भाषाको कारण पर्यटकहरूलाई घुम्न कुनै अवरोध नहोस् भन्नेमा क्योतोले विशेष जोड दिएको पाइयो। त्यसो त जापानका मुख्य सहरहरूमा यी चार वटा भाषाहरूमार्फत् नै सूचना प्रवाह गरिन्छ। सुपरमार्केट तथा रेस्टुरेन्टहरूमा पनि भाषाकै कारण समस्या देखिएन। ‘गुगल ट्रास्लेसन’ वा अन्य विभिन्न माध्यमबाट सूचना तथा जानकारी पाउन सकिने हुँदा भाषाको कारण कुनै अप्ठ्यारो भोग्नु पर्दैन।
क्योतो प्राकृतिक रूपमा पनि निकै सुन्दर रहेछ। प्रकृतिसँग रमाउनेहरूको लागि जुनसुकै समयमा पनि यहाँको भम्रण गर्न उपयुक्त रहेछ। गर्मी मौसममा हरियाली, जाडोमा हिउँ, शरदमा रंगीविरंगी रूख तथा फूलहरू र बसन्तमा फुल्ने साकुराले क्योतोको प्राकृतिक सुन्दरता बढाएको रहेछ। आफूलाई मनपर्ने मौसमअनुसार फरक फरक अनुभूति लिने गरी क्योतो घुम्न सकिने रहेछ।
क्योतो सांस्कृतिक सहर मात्रै होइन रहेछ। ‘क्योतो रेल्वे स्टेसन’ जस्ता भव्य र बहुउपयोगी महल सहितका संरचनाहरूले क्योतोको आधुनिकताको समेत प्रतिबिम्वित गर्छन्। क्योतो रेल्वे स्टेसन जापानकै सबैभन्दा ठूलो मध्येको एक आधुनिक र भव्य स्टेसन हो, जसमा रेल्वे स्टेसनको अतिरिक्त सपिङ मल, डिपार्मेन्टल स्टोर, फिल्म हल, रेस्टुरेन्ट लगायतका थुप्रै सुविधाहरू उपलब्ध छन्। स्टेसनको १५ औं तलाको ‘रूफटप’ मा रहेको सुन्दर पार्कमा बसेर सुन्दर सहरको दृश्यावलोकन गर्न सकिन्छ।
क्योतो स्टेसनको ठिक अगाडि रहेको बहुउद्देश्यीय ‘क्योतो टावर’ ले यहाँको सुन्दरतालाई अझ बढाएको छ। जापानको पुरानो मध्येको एक विश्वविद्यालय ‘क्योतो युनिभर्सिटी’ पनि यही छ। जसले कैयौं संख्यामा नोबेल पुरस्कार विजेताहरू जन्माएको रहेछ। त्यसैले यो उच्च शिक्षा अध्ययनको केन्द्र पनि रहेछ।
क्योतो रेल्वे स्टेसन
त्यतिमात्रै होइन क्योतो वातावरणीय मुद्दाको कारण समेत चर्चित छ। सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी क्योतो सम्मेलनले विश्वव्यापी रूपमा बढिरहेको तापमानलाई घटाउन हरित गृह गयास उत्सर्जन कम गर्ने सम्बन्धी निकै महत्वपूर्ण प्रोटोकलमा क्योतोमै हस्ताक्षर गरेको थियो, जसलाई ‘क्योतो प्रोटोकल’ का नामले चिनिन्छ। उक्त प्रोटोकल सन् २००५ पछि कार्यान्वयनमा आएको थियो। संयुक्त राष्ट्रसंघका लगभग अधिकांश राष्ट्रहरू यस प्रोटोकलका सदस्य राष्ट्र छन्।
जापानको जुनसुकै ठाउँमा पनि घुम्दा देखेको कुरा के हो भने स्थानीय उत्पादन तथा वस्तुहरूलाई बढी प्रोत्साहन गरिनु। सन् १९७९ जापानको ‘ओइता प्रिफेक्चर’ बाट सुरू भएको ‘एक गाउँ, एक उत्पादन’ को प्रभाव देशभरी फैलिएको रहेछ र यसले हालसम्म पनि उत्तिकै व्यापकता पाएको रहेछ।
अधिकांश सहर तथा ठाउँहरूको केही न केही आफ्नै कृषिजन्य उत्पादन, खाद्यान्न तथा वस्तुहरूमा केही न केही आफ्नै परिचय छ र त्यसलाई निकै गजबले बजारीकरण र प्रचारप्रसार गरिएको छ। सकेसम्म विदेशी पर्यटकहरूलाई तिनै स्थानीय उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने गरी नीति लिइएको रहेछ। त्यसैले स्थानीय उत्पादन र सामग्री प्रयोग गरेर बनाइएका हस्तकलाका सामग्री, कृषि सामग्री, तरकारी, विभिन्न थरीका चकलेट, चामलबाट बनाइने ‘मोची’, लोकल मदिरा, ‘माचा’ भनिने ग्रिन टीलाई उपहार (जापानी भाषामा ओमियागी) को रूपमा बिक्री गरिँदो रहेछ। क्योतोको ‘उजी’ सहर घुम्न जाँदा सहर नै चियामय थियो। अर्थात् जे सामग्री किने पनि त्यसमा उजीको ग्रिन टी मिसाइएको। अधिकांश पसलहरूमा राखिएका खाद्य सामग्रीमा उजीको ग्रिन टी को ट्याग लागेको हुने। जस्तै: माचा आइसक्रिम, माचा जुस, माचा चकलेट तथा मिठाइ, माचा केक इत्यादि।
घुम्नु भनेको फगत ठाउँ हेर्नु र फोटो खिच्नुमात्रै होइन। भ्रमणको एउटा महत्वपूर्ण पक्ष भनेको स्थानीय खानाको स्वाद लिनु पनि हो र यो यात्राको महत्वपूर्ण हिस्सा पनि हो। जसरी काठमाडौंलाई नेवारी कल्चर र परिकारको केन्द्र मानिन्छ, त्यसैगरी क्योतोको पनि आफ्नै परिचय रहेछ। क्योतो स्टाइलका स-साना क्याफेदेखि युनिक रेस्टुरेन्टहरू फेला पार्न सकिने र फरक/फरक स्वाद लिन सकिने। क्योतो वरिपरिको उर्वर भूमिमा उत्पादन हुने तरकारी तथा खाद्यान्न, नजिकैका नदी तथा ‘विवा’ लेकका ताजा पानीको माछाको स्थानीय स्वाद यहाँ पाइन्छ। पुरानो राजधानी भएकोले पनि स्थानीय उत्पादन मात्रै होइन देशभरको उत्पादन र परिकारको स्वाद क्योतोमा पाइन्छ।
बौद्ध संस्कृतिको प्रभाव परेर पनि होला क्योतोले सुरूमा तरकारीको प्रयोगलाई बढी महत्व दियो र स्थानीय रूपमा उत्पादन हुने तरकारीलाई बढी जोड दिइयो। ‘क्यो यासाई’ भनेर चिनिने यहाँको तरकारी निकै प्रख्यात रहेछ। युनेस्कोले समेत क्योतोको खाद्य संस्कृतिलाई मानिसको अमूर्त साँस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरेको रहेछ। यसबाटै यहाँको खाद्य परिकार तथा खाद्य संस्कृतिको महत्व प्रष्ट हुन्छ।
क्योतोमा सयौं वर्ष पहिला खुलेका रेस्टुरेन्ट तथा पसलहरू अझै निरन्तर चलिरहेको देख्न सकिन्छ। त्यसैमध्येको एक हो क्योतोको उजी सिटीमा रहेको एक चिया पसल (टि सप)। जुन लगभग पाँच सय वर्षदेखि निरन्तर चलिरहेको रहेछ। कुनै ब्रान्च पनि नभएको र एउटै परिवारले १६ पुस्तासम्म निरन्तर चलाइरहेको यो टि सप ‘माचा’ (ग्रिन टी) को लागि निकै प्रख्यात रहेछ। र, यसले ‘पाँच स्टार सप’ को मान्यता पनि पाएको रहेछ। हामी कहाँ व्यवसाय पुस्तान्तरण निकै कम हुने गर्छ। बाउ बाजेले गरेका व्यवसायहरूलाई हामीले निरन्तरता दिन सक्दैनौं। कुर्चीमा बसेर गर्ने काम हामी मन पराउँछौ र जागिर खान खोज्छौं तर करिब ५ सय वर्ष अगाडि स्थापना भई हालसम्म १६ औं पुस्ताले चलाइरहेको र १७ औं पुस्ता समेत यही कामको लागि तयार रहेको भन्ने थाहा पाएपछि अचम्म लाग्यो। ‘क्योतो साके’ (लोकल मदिरा) पनि यहाँ निकै प्रसिद्ध रहेछ। परम्परागत जापानिज शिल्प उद्योगहरू यहाँ प्रशस्त पाइने रहेछन्। जापानिजहरूको परम्परागत पोशाक ‘क्योतो किमोनो’ प्रख्यात रहेछ।
क्योतो साहित्यको पनि एक महत्वपूर्ण भूमि रहेछ। ‘विवा लेक’ हुँदै आउने ‘उजी’ नदीले क्योतोको ‘उजी सिटी’लाई दुई भागमा बाँडेको छ। जापानको सबैभन्दा पुरानो उपन्यास तथा विश्वकै पहिलो उपन्यासको रूपमा चिनिने ‘टेल अफ गिन्जी’को कथासँग यो सुन्दर सहर पनि जोडिने रहेछ। यस उपन्यासकी लेखिकी मुरासाकी सिकिबुले उपन्यासका अन्तिम १० अध्याय यही सहरमा बस्ने हिकारु गिन्जीको परिवारभित्रको प्रेम कथामा आधारित भएर लेखिकी रहेछन्। जापानको ‘हेयान युग’ को करिब एघारौं शताब्दीतिर लेखिएको यो उपन्यासकी लेखिकाको सालिक यही उजी नदीको किनारमा रहेछ। इतिहास र साहित्यमा उजीको यस कारण पनि छुट्टै पहिचान रहेछ।
उजी नदी, उजी सिटी, क्योतो
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न पर्यटन क्षेत्रमा काम गर्ने क्योतोका १५ सयभन्दा बढी संस्थाहरू तथा कम्पनीहरू मिलेर ‘क्योतो सिटी टुरिजम एसोसिएसन’ स्थापना गरेका छन्। जसले स्थानीय सरकार (सिटी गभर्मेन्ट), तथा जापानका अन्य पर्यटन लक्षित निकायहरूसँग मिलेर विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने, पर्यटन क्षेत्रको दिगो विकास गर्ने, पर्यटकहरूलाई विभिन्न सूचना तथा सेवाहरू उपलब्ध गराउने, पर्यटक र स्थानीय समुदाय बीचको सामुदयिक सम्बन्धलाई बलियो बनाउने लगायतका कामहरू गर्दो रहेछ। क्योतोको पर्यटन क्षेत्रको विकासमा यस संस्थाको महत्वपूर्ण भूमिका रहेछ। क्योतोको सांस्कृतिक महत्वलाई ख्याल गर्दै यहाँको पर्यटन विकासमा अझ बढी योगदान होस् भन्ने हेतुले जापान सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गतको सांस्कृतिक मामिला हेर्ने विभाग नै टोकियोबाट सन् २०२३ मा क्योतो सारिएको रहेछ।
क्योतोले विश्वका विभिन्न देशहरूका सहरहरूबीच संस्कृति, कला आर्थिक तथा शैक्षिक जस्ता विभिन्न विषयमा अनुभव आदानप्रदान गर्न भगिनी सम्बन्ध समेत कायम गरेको रहेछ। अमेरिका, जर्मनी, इटाली, मेक्सिको, युक्रेन, चीन, क्रोएसिया लगायत देशहरूका विभिन्न सहरहरूसंग भगिनी सम्बन्ध कायम गरेको रहेछ।
नेपालको काठमाडौं उपत्यका र जापानको क्योतो सहरबीच पनि केही कुराहरू समान छन्। काठमाडौ पहाडै पहाडले घेरिएको उपत्यका हो क्योतो ‘क्योतो बेसिन’ मा अवस्थित पहाडले घेरिएको सहर हो। जसरी बाग्मती, विष्णुमती, मनोहरा तथा धोबीखोला जस्ता नदीहरूले काठमाडौं उपत्यकाको सभ्यतालाई प्रतिबिम्वित गर्छन् त्यसै गरी क्योतोमा पनि तीन वटा महत्वपूर्ण नदीहरू छन् स्उजी, कात्सुरा र कामो। जसले क्योतोको सभ्यतालाई चिनाउँछन्। क्योतो प्राकृतिक पानीको प्रशस्त स्रोत भएको सहर पनि हो। हावापानी र मौसमको सन्दर्भ पनि क्योतो र काठमाडौंमा करिब मिल्छ। क्योतोको आद्रता काठमाडौंमा भन्दा अलि बढी नै छ। क्योतोमा जाडोमा हिउँसम्म पर्ने गरी निकै चिसो हुन्छ भने गर्मीमा तापक्रम ३५ डिग्रीसम्म पुग्छ।
काठमाडौं खुला संग्रहालय हो। यो सांस्कृतिक सहर हो। काठमाडौं उपत्यकाका ७ वटा क्षेत्रहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन्। यो मन्दिरको सहर र कलाको राजधानी हो। क्योतो पनि मन्दिरको सहर हो। सांस्कृतिक सहर हो र कलाले सम्पन्न सहर हो। क्योतोका १७ वटा सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन्। काठमाडौं उपत्यकामा वर्षैंभरी मनाइने विभिन्न जात्रा तथा पर्वहरू जस्तै क्योतोमा पनि वर्षैभरी विभिन्न पर्व तथा जात्राहरू आवई माचुरी, गिओन फेस्टिबल, जिदाई माचुरी जस्ता पर्वहरू मनाइन्छ। वर्षभरि नै यहाँ काठमाडौं उपत्यकामा जस्तै कुनै न कुनै सांस्कृतिक जात्रा तथा पर्व र कार्यक्रम भैरहने गर्दा रहेछन्। सम्पदा सहरको रूपमा रहेका काठमाडौं र क्योतोबीच पनि सम्बन्ध स्थापना गरेर दुई सहरबीचमा संस्कृति, कला आर्थिक तथा शैक्षिक जस्ता विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान र पर्यटन लक्षित गतिविधि गर्न उपयुक्त हुने देखिन्छ।