पूर्वी यात्रा भाग- २
पहाडमा जन्मे हुर्केको म। उकालो चढेर घाँस काट्न खरबारी पुग्ने र घाँसका भारी बोकेर ओर्लने गरेको म। पहाड चढ्नु कुनै दुःख लाग्दैन। बरू रमाइलो लाग्छ– निधारबाट तप्प तप्प पसिना चुहाउँदै पहाडको भाकामा सुसेल्दै हिँड्न।
तेह्र वर्ष पहिले हजुरबाको पछि लागेर गोसाइँकुण्डको उकालो पनि नापेको म। जागिरे जीवनमा मुस्ताङका लेक पनि नाप्न भ्याएको म। त्यो उकालो के उकालो भन्ने लाग्दै थियो–उकालोमा पहिलो पटक लठ्ठीले नटेकुञ्जेल। तर उकालो त उकालो हो नि त। त्यसैमाथि पूर्वेली उकालो। पूर्वेली त जे पनि कडा पो हुन्छ होउ भनेर क्याम्पस पढ्ने बेला लिम्बू साथीले भनेको झट्ट सम्झिएँ।
अनि सुरू गरेँ– उकालोको यात्रा।
पहिलो सिँढीमा दायाँ खुट्टा र खुट्टा अगाडि गुराँसको लौरो टेकाएर। त्यो साँझको अबेलासम्म पुग्नु थियो माथिल्लो फेदी र भोलिपल्ट घाम उदाएको हेर्नुथियो–पाथिभराको चुचुरोबाट।
लगभग दुई घण्टा लाग्यो–गुराँसे जङ्गलको उकालो चढेर माथिल्लो फेदी पुग्न। लेकको उकालोमा तराईको नदीजस्तै गरी बग्नुपर्छ भन्ने थाहा नभएको होइन। तर जोश थियो ज्यानमा, अनि साथी थिए यात्रामा। सयौं जनाको हुल थियो उकालो चढेको। सबै आफ्नै लयमा। गति, मति र लय मिलाएर हिँड्दै थिए। अनि सबैको एउटै थियो गन्तव्य– त्यो साँझको अबेला माथिल्लो फेदीमा पुगेर सुस्ताउने र बिहानै खास उकालो चढ्ने।
यात्रामा नयाँ साथी भेटिन्छन्। नयाँ भूगोल भेटिन्छ। जिन्दगीको नयाँ आदर्श भेटिन्छ। यी कुनै पनि भेटिएनन् भने त्यो यात्रा पनि के यात्रा हो र! आफ्ना साथी त आफ्नै हुन्–सँगै बहेर आएका, नयाँ साथीहरूसँगको यात्राले पो बनाउँछ झनै रमाइलो। त्यो उकालो बाटोमा धेरै गफ गर्दै हिँड्नु हुँदैनथ्यो, पाइला कमिलाले जस्तो चाल्नु हुँदैनथ्यो, बेला बेला टक्क रोकिनुपर्थ्यो र लामो सास फेर्नुपर्थ्यो आएको बाटो हेर्दै। यी सबै त कहाँ लागु हुन्छन् र! आदर्श र नियम जति सबै मान्ने हो भने त जिन्दगी मेसिनजस्तो पो हुन्छ त!
कहिलेकाहीँ च्यात्नुपर्छ आदर्शका खोलहरू, मिच्नुपर्छ नियमका बन्धनहरू, फुकाउनुपर्छ बाँधिएका गाँठाहरू। तब पो मज्जा आउँछ। हुनुपर्छ कहिलेकाहीँ यात्रामा बदमास पनि। इमानलाई घेराभित्रै पारेर बेइमान हुनुको मज्जा अर्कै पो हुन्छ त।
उकालोमा भेटिए असी वर्षका हजुरबा हजुरआमादेखि पाँच सात वर्षका छोराछोरी उमेरसम्मका पनि। पूर्वको सिलगुढीदेखि पश्चिमको सिलगढीसम्मका भेटिए। हनिमुन मनाउन इलाम आउँदा उकालिएका जोडीदेखि सन्तान नहुनुको पीर पोख्न कालो बोका चढाउन हिँडेकासम्म भेटिए। रहरले ट्रेकिङ हिँडेकादेखि बाआमाको धोको पूरा गराउन हिँडेकासम्म पनि भेटिए।
अँध्यारो झमक्क झम्किसकेको थियो। ढुंगा छापेको उकालो बाटोमा मान्छेको फौजीजस्तो लस्कर हिँडाइ चलेको थियो। बीचबीचमा लिम्बू दाजुभाइहरूले 'लौ है ट्याक्सी सेवा छ हिँड्न नसक्नेलाई' भन्दै आफ्नो व्यापारको मार्केटिङ गर्दै थिए।
रमाइलो लाग्यो– मान्छे बोकेर माथि पुर्याउने आफ्नो कामलाई ट्याक्सी सेवा भनेर भनेको सुन्दा। त्यो ट्याक्सी सर्भिस पनि राम्रै चल्दो रहेको छ त्यो उकालोमा।
बाटो दायाँबायाँ उभिएका गुराँसका बोटले कहिलेदेखि गन्न थाले होलान् यो उकालोमा मान्छेका पैताला, कहिलेदेखि पायो होला यो डाँडाले सयौं डाँडापारि हुर्केका मान्छेको गन्ध सुँघ्न? यस्तै यस्तै भेट्दै, देख्दै, सोच्दै घटिरह्यो उकालाको दूरी।
काफ्लेपाटीबाट उकालो नाप्न सुरू गरेको ठ्याक्कै डेढ घण्टामा पुर्याए पैतालाले माथिल्लो फेदी बजारमा।
माथिल्लो फेदी, अर्थात् त्यो दिनको बसाइँको गन्तव्य।
भिडभाड थियो। लगभग बीस पच्चिस वटा होटल थिए। मान्छेले भरिभराउ। पहिले नै बुकिङ नगरी गए त बास बस्नै पाइँदैन होला जस्तो। गुराँसे जंगलको बीच, लेकाली चिसोले अत्याउने मौसम अनि घण्टौंको उकालोले गलाएको ज्यान। सबै सबै मिसिएको त्यो ठाउँ।
हामीले पहिले नै बुकिङ गरेका थियौं होटल। अरू साथीहरू उकालो चढ्दै गर्दा म भने पहिले नै पुगेर थकाइ मारिसकेँ–झापाली होटलको बेञ्चमा खुइय... गर्दै। साथीहरू आइपुगे तर हाम्रो बसाइँ भने सरूवा भयो। होटल साहुनी दिदीले अर्को होटलमा बन्दोबस्त मिलाइदिनुभएछ। गयौं र बस्यौं– लेकाली होटल, होटल नं. ४।
दुई वटा साना कोठा। तिनै कोठामा जेनतेन अटायौं हामी छ जना। तीर्थ यात्रा सजिलो त कहाँ हुन्छ र भन्थे गाउँतिर बुढापाकाहरू। त्यही सम्झेर ज्यानलाई भुलाउन खोजेँ। ज्यान त भुल्दै थियो तर स्वास्थ्यले भोलिको उकालो यात्रा आफैले भुल्नुपर्ने संकेत गर्न थाल्यो। बेस्सरी टाउको दुख्न सुरू भयो, रिंगटा लाग्न थाल्यो। पातलो सिरकले मुख छोपेर सुतेको म, थाहा भयो मलाई लेक लाग्दैछ र यस्तै भयो भने राति उठेर उकालो चढ्न सकिँदैन। बल्लबल्ल उठें। निस्किएँ एकछिन बाहिर । लामोलामो सास फेरेर कसरत गराएँ फोक्सोको । अनि भित्र छिरेर झोलाबाट कोकाकोलाको मिनि बोतल खोलें र रित्याएँ । धन्न, त्यही कोकाकोला औषधी बन्यो र निदाउन दियो। साथीहरूले जिस्काउँदै थिए– लेकमा कोकले काम गर्छ लैजाऊ है भन्दा नपत्याएर। उनीहरूलाई जे भए पनि मलाई त काम गर्यो नि। नत्र के भर, भोलिपल्टको बिहान साथीहरूसँगै उकालो चढ्न सक्थें/सक्थिनँ।
सुतें। सुत्नु पनि के। लगभग ११ बजिसकेको थियो र अबको तीन घण्टा नहुँदै उकालो चढ्नु पर्ने थियो। त्यो तीन घण्टामा कुन्नि कति मिनेट निदाए आँखा। बाँकी समय त पल्लो कोठाका तीर्थालु दिदीहरूका अतिर्थालु गफ सुनेरै बित्यो। मज्जाले खुल्न पाएको बेला ती दिदीहरूले खोलेका आफ्ना जिन्दगीका रंगीन कथाहरू कुनै प्रकाश कोविदका उपन्यासजस्ता थिए त कुनै भोजपुरी फिल्मजस्ता। घरिघरि त लाग्थ्यो– हैट, यो रात लम्बिदिए यिनीहरूका अझ कति किस्सा थाहा पाइँदो हो। उत्तिसको काठबाट बनेका कोठाका भित्ता चिरेर सुनेका उनीहरूका गफले मनमा एउटा कथाको प्लट बनाइदियो। मनमनै आफैसँग बाचा गरें– तिनै किस्साहरू जोडेर एउटा कथा जन्माउँछु।
***
कथाको प्लट विचार गर्दागर्दे खै कतिबेला निदाएछ ज्यान। होटलभित्र अनि बाहिर बाटाभरि कल्याङमल्याङ आवाजले ब्युँझायो।
ज्यान पूरै चङ्गा थियो ब्युझिँदा। सुत्नेबेला मनमा चलेको पीरको बतास सुनसान भएको थियो।
सयौं सहयात्रीहरूसँगै बिहानको पौने तीन बजे साथीहरू रामचन्द्र ,गिरीधारी, गोविन्द, ज्ञानेन्द्र अनि बलराम सर समेतको हाम्रो टोली पनि मिसियो– त्यो दिनको उकालो यात्रा सुरू गर्न।
अघिल्लो साँझ पाइलालाई कमिला चालमा चालेको पछुतो मनमा थियो, त्यसैले त्यो मुकुम्लुङको उकालोमा चिप्लेकीरा बनेर निस्कने सोच बन्यो।
यात्रा सुरू हुन नपाउँदै कोही उकालोले हायलकायल भैसकेका थिए त कोही अघिल्लो साँझको म जस्तै जाँगर बोकेका थिए। अलिकति उकालो हिँड्नासाथ बाटोमै बसेकी सानी पाथीभरालाई दर्शन गरेर हामी क्रमशः अगाडि बढिरह्यौं।
चकमन्न रात। कोही कोहीले मोबाइलको लाइट बालेका थिए। त्यसरी लाइट नबालेको भए पनि बाटो भने देखिन्थ्यो। ढुंगा छापेको बाटो आफैमा उज्यालो थियो। यस्तो लाग्यो– अँध्यारोले पनि सक्दो रहेनछ सबैलाई लुकाउन। मौसम चिसो थियो। ज्यानको बाक्लो ज्याकेटले पनि हार खान्छ कि जस्तो चिसो। त्यो चिसोमा मान्छेको हुलले बाटो तताएको थियो अनि तताएको थियो मन पनि। अनुहार नै नदेखे पनि अपरिचितसँग बात मार्दै हिँड्न कसैले रोकेको थिएन।
एक जना बासँग भलाकुसारी सुरू भयो। गुल्मीबाट झरेर बुटवलमा थातथलो बनाउनुभएका बा। उहाँको बारेमा सोधे पनि मैले म पनि गुल्मीकै पानी खाएको केटा हुँ भनेर भनेको थिइनँ। तर एकछिनको कुराकानीमा ठम्याइहाल्नुभयो– म पनि गुल्मेली हुँ भन्ने। आञ्चलिक शब्द ख्याल गर्नुभएछ।
शब्द उनै हुन्। तर तिनै शब्द र शब्दको लवजले मान्छे कुन भेगको हो भनेर ठम्याउन सकिन्छ। मेरो ठामको पानीढलो पनि बताइदिनुभयो। ठ्याक्कै मिल्यो उहाँको अनुमान। कालीगण्डकी तिरको मान्छे म, उहाँ उर्लिखोलाको तीरको बाटो बटौली झर्नुभएको रहेछ उहिल्यै।
बा एक्लै हुनुहुन्थेन। बाका छोरा बुहारी र नातिनी पनि थिइन् सँगै। तर गफको तालमा मैले मेरा साथीहरूलाई कता छुटाएँ अनि बाले आफ्ना घरकालाई। हामी दुईको हल मिल्यो त्यो उकालोमा।
बाका कहानी सुन्न पाइयो। ठ्याक्कै मेरो हजुरबाको उमेरका उहाँ, मेरो हजुरबाका र उहाँका कथा उस्तैउस्तै लागे। ११ वर्षको उमेरमा बिहे भएको उहाँले भन्दै हुनुहुन्थ्यो– बिहे गरेको चार वर्षपछि बल्ल म स्वास्नीसँग बोलेको हुँ बाबु। अनि स्वास्नीसँग बोलेको भोलिपल्ट बिहानै उर्लिखोलाको ओरालो बाटो बटौली झरें, गोरखपुर पुगेर आसाम जाने रेल चढेर उतै हराएँ। आसामसम्म लिएर जाने गाउँका दाजै पनि उता पुगेपछि आफैं हराए। आसाममा एउटा साहुकोमा गाई चराएर बसें। ज्यान आसाममा, मन गुल्मीमा भएर बसें। आसामका चउरमा गाई चराउँदा चराउँदै सम्झन्थें– गाउँमा बसेकी मेरी जहानलाई। बिहे भन्ने के हो नै नजानी बिहे गरेको म। मभन्दा जहान तीन वर्ष जेठी थिई। आफूभन्दा जेठी जहानलाई सम्झन्थें अनि लैनो गाईलाई हेर्थें। रून्थें जहानलाई सम्झेर– उलाई पनि त त्यही गाई जस्तै बन्न मन थियो होला नि। त्यो बेला, बोल्न त बल्लबल्ल चार वर्ष कुरेको म, जहानका रहर कसरी पूरा गर्न सक्थें र बाबु।
बोल्दाबोल्दै बालाई सास फूलेर आएजस्तो भयो। रिंगटा लागेजस्तो भयो। बाबु म सकिनँ अब उकालो चढ्न भन्दै बा थचक्क बाटोको ढुंगामै बस्नुभयो। झोलाको कोक खोलेर पिउन दिएँ, नमान्दानमान्दै पनि कर गरेरै खुवाएँ। अलि पछि हलुंगो भएछ क्यारे ज्यान, जाम अब भन्दै फेरी जिन्दगीको कथा सुनाउन सुरू गर्नुभयो।
बाले जिन्दगीको बाँकी पाटो भन्दै गर्दा हिमालतिरबाट हावाका ठूल्ठूला केही झोंका आए। गुराँसे जंगलमा सल्याबल्याङ गर्दै गए। बोकेर आएको चिसो सिरेटोले हामीलाई नराम्रैसँग हानिदियो। त्यही बेला बाको हातको लौरो फुत्कियो। नदीतिरको बालुवाजस्ता झुरूप्प देखिएका आकासैभरिका ताराहरूको चाङ्गबाट त्यहीबेला एउटा तारा फुत्त झरेको बा र मैले देख्यौं।
बाको जिन्दगीको लामो कथा मुकुम्लुङको उकालोजस्तै छोटिँदै गयो।
बाले लामो सुस्केरा हाले अनि सुरू गरे बाँकी कथा।
यता गाउँमा जहान थिइन्, बाआमा थिए, बहिनी थिई। उता आसाममा म एक्लै थिएँ। फर्केर आउन मन नभएको त कहाँ हो र? तर उतैको रमाइलोले नजानिँदो गरी खिचिरहेको थियो। जुरूक्क उठेर हिँड्नै सकिनँ। साहुकोमा गाई चराउँदै बसें। यता घरतिर खबर पनि पठाउँदै गरें। धागो बाँधेर पठाएको खबर छिटो पुग्छ भनेर हरेक पटक धागोले बेरेको खाम हाल्थें हुलाकमा। मेरो त्यही चिठीको भरमा बसे घरकाहरू। जहानले कसरी बिताइन् होली ती वर्षहरू। कति पटक हात काटे होला बिचरीको मलाई सम्झँदे खरबारीमा हँसिया चलाउँदा। कति पटक कोदालोले काटे होला खुट्टाको बुढी औंला, मलाई सम्झँदै बारी खन्दा। कति भिजे होला उनको पटुकाको सिरानी। कति चिरिए होला छाती लोग्नेको माया नपाउँदा। उता म उतैको रमाइलोले भिज्न लागेको आफैंलाई पत्तो भएन।
एक रात सपनामा मेरी जहानलाई नदेखेको भए म उतै हराउँथे बाबु। उर्लिखोलाको बगरमा बसेर जहानले केराको थामको डुंगा बनाउँदै गरेको सपना देखेपछि मलाई आसामले जित्न सकेन। भोलिपल्टै रेल चढेर गोरखपुरतिर लागें।
बाले आफ्नै उमेरको लयमा कथा भनिरहँदा उकालो लगभग सकिन लागेको थाहा भयो। माथिबाट फर्कनेहरू भेटिन लागे। भन्दै थिए– अब बढीमा आधा घण्टामा पुगिन्छ। रिमरिम उज्यालो सुरू भएको थियो। बल्ल बाको अनुहार देख्न पाएँ। बाले मेरो अनुहार देखे। बाको कथा गुराँसे जङ्गलजस्तो बाटोभरि फुलिरहँदा कति बाआमाहरू हामीलाई पछाडि छाडेर गए, गनिएन।
ठाडो उकालो सकिएर तेर्सो तेर्सो भेटेपछि बाले आफ्ना परिवार र मैले मेरा साथीहरूलाई कुर्यौं। धेरैबेर कुरेपछि बाका परिवार आइपुगे। तर मेरा साथीहरू अझै पनि पछाडि नै थिए। बाको परिवारकै सदस्य भएर म पनि साथमै निस्किएँ। साथीहरू त आइहाल्छन नि भन्दै।
छ्याङ्ग उज्यालो भएको थियो मन्दिरको गेटमा पुग्दा। घाम भने अझै भुटानतिरै थिए होलान्। रातो लाली पूर्वी आकाशमा फिजिँदै थियो। गेटबाट उत्तरमा देखिने हिमालको हार चाँदीजस्तै टल्क्यो।
सिधै अगाडि उभिएको थियो पाथीभरा हिमाल। आठ वटा चुचुरा एकै ठाउँ मिसिएर बनेको पाथीभरा हिमाल। अलि पल्तिर लमतन्न परेरै सुतेको थियो कुम्भकर्ण हिमाल। बाले आफ्नो कथा लय मिलाएर भनेका थिए उकालोमा, तर मैले कुनै लय मिलाउन सकिनँ त्यो हिमाली सुन्दरताको बखान गर्न। हेरेरै रमाएँ त्यो सुन्दरता। बाको अनुहार हेरेको– हिमालजस्तै खुलेका थिए।
झल्यास्स भएँ सम्झनामा। पोखराका रवीन्द्र अधिकारी मन्त्री भएको बेला यही ठाउँमा त हेलिकप्टरले ज्यान लिएको। खोजे त्यो भूभाग गुगलबाट। नमीठो लाग्यो।
मन्दिरको गेटमा मैले साथीहरूलाई कुर्दै गर्दा बा फेरि सिँढी चढ्न लागे। बाबु, झर्दा सँगै झर्ने है। तिमीलाई मेरो कहानी पूरै सुनाउँछु आज भन्दै।
लगभग दस मिनेट त्यो चिसो बताससँगै उभिएपछि बल्ल आइपुगे साथीहरू। त्यतिबेला छ बज्न दस मिनेट बाँकी थियो।
लामो लाइन लागेर पाथीभरा देवीको पाउमा निधार राख्न पाइयो। बाआमाको पाउमा निधार राख्दा जस्तै आनन्द भयो मलाई। नेपालकै सबभन्दा अग्लो मूर्ति, त्यो पनि कुनै मन्दिरबिना। गज्जब लाग्यो।
पूजा सकेपछि ठाउँको इतिहास जान्न मन लाग्यो। तर बताउने को नै पो थियो र त्यहाँ।
देवीको मूर्ति अगाडिपट्टिको थुम्कोमा किराँतको मन्दिर रहेछ। त्यहीँ गएँ। त्यो थुम्कोबाट चिच्याएँ– एउटा रहर पूरा भयो भनेर। अनि सुरू भयो– किराँत मन्दिरभित्र पूजारीसँग भलाकुसारी।
भेडाहरूको बथान चरेको बेला एक्कासि लोप भएको र सपनामा देवीले भेडाको बली दिन अनुरोध गरेको कथाबाट सुरू भएको पाथीभराको इतिहास बताउन थाले ती पुजारीले। बली दिएपछि अलप भएका तिनै भेडाहरू एकाएक त्यही ठाउँमा देखा परेको कथा कुनै कथा मात्र पक्कै होइन। ईश्वरीय शक्ति छ भनेर पूरै विश्वास गर्ने म त्यसपछि झनै नतमस्तक भएँ पाथीभरा देवीप्रति।
उनै पुजारीले भन्दै थिए– त्यहाँ दिएको भेडा र बोकाको बलीको रगत कतै बग्दैन पनि, जम्दैन पनि। बली चढाउनासाथ रगत आफै लोप हुन्छ रे। त्यो बिहान बली चढाएको नदेखे पनि उनको कुरामा पत्यार लाग्यो।
साथीहरू सबैले पूजा दर्शन सकेपछि हामी ओरालो झर्यौं। पाइला ओरालो लाग्नुभन्दा पहिले तिनै बालाई खोजे आँखाले तर भेटाएनन्। बाटोमा पक्कै भेट हुन्छ र बाँकी कथा सुन्छु भन्दै साथीहरूसँगै ओरालो झर्यौं।
कथा लेख्ने नशा भएको म, मलाई ती बाको कथा पूरै सुन्न र ल्यापटपको पेजमा कुनै शीर्षक दिएर लेखे कथामा उन्न मन थियो। बाले आसामका कति किस्सा त सुनाएकै थिएनन्, अनि जिन्दगीको धोतीपाटामा अल्झिएका कति कथाका काँडाहरू निकालेकै थिएनन्।
धन्न भेट भयो ओरालोमा। लोरो टेक्दै ओरालो झर्दै गर्दा बा बाटोमै थुचुक्क बसेका रहेछन्। भेटेपछि भन्दै थिए– बाबु, म तिमीलाई नै कुरेर बसेको। तिमीलाई सुनाउनुछ मेरो जिन्दगीको व्यथा, यही पाथीभराको उकालो ओरालो जस्तो जिन्दगीको कथा।
बालाई छाडेर त्यत्तिकै छाडेर ओरालो झर्न मनले मानेन। तर साथीहरूले तय गरेको यात्रामा पूरै साथ दिनु पनि त थियो। साँझ कन्याम पुगेर चियाबारीमा गलबन्दी अल्झाउन बाँकी नै थियो।
बा पश्चिमका। म पनि पश्चिमकै। बा गुल्मीका। म पनि गुल्मीकै। बा खस्यौली बस्ने मान्छे। म पोखरामा जागिर खाने मान्छे। बटौली त हाम्रो पानीपँधेरो नै हो। बालाई यही भनेँ र बासँग बाकै घरमा एक साँझ कथा सुन्दै बस्ने बाचा गरें। बाले छोराको फोन नम्बर दिए। मैले मेरो फोन नम्बर।
बा बाटोमा बसेकै थिए। बालाई बाई भनेर साथीहरूसँगै म ओरालो झरें।
क्रमश: भाग ३ मा।
यो पनि:
बाटो हराएको बाटोको यात्रा