'जाम ट्रेकिङ' दिदीले भन्नुभयो।
सायद युवापुस्तामा धेरै सुनिने वाक्यांश होला, 'जाम ट्रेकिङ'।
फेसबुक र इन्स्टाग्रामका भित्तामा आँखा नै लोभ्याउने परलौकिक खालको दृश्य देख्दा कसको चाहिँ मन फुरूङ्ग पर्दैन होला।अधिकांश जमातजस्तै यिनै दृश्य र लहलहैमा ट्रेकिङ जाने मलाई पनि धोको थियो।
पछि त उमेर, स्वास्थ्य, व्यवहारले साथ नदेला भन्दै अनुभवको खोजी गर्न म पक्कै हिँडेको हो। भनिन्छ नि उमेर हुँदा पैसा हुँदैन समय हुन्छ, वयस्कमा पैसा हुन्छ समय हुँदैन अनि बुढेसकालमा समय र पैसा दुवै हुन्छ तर स्वास्थ्य हुँदैन।
विद्यार्थी जीवन पनि अभिभावकले भने जति सजिलो त पक्कै हुँदैन। अचेलको पुस्ता (Gen-Z) प्रति धेरै मानिसको गुनासो छ कि उनीहरू निकै छिटो नतिजा खोज्छन्, चि-चि पनि पापा पनि चाहियो जस्तो गर्छन्। युवापुस्ताले ट्रेकिङलाई उच्चस्तरमा विज्ञापन गर्नाले अनेकन फाइदा देशका विभिन्न पाटामा अवश्य भएको छ तर होडबाजीमा जाने भन्दैमा यो सबैको लागि पक्कै हैन।
अनि सबैले गरिरहेका छन् भनेर आफूलाई साबित गर्नुपर्छ भन्ने हैन छैन। 'फोमो' (FOMO), फियर अफ् मिसिङ आउट; महसुस गर्नुपर्दैन। तर नभोगी मेरा लागि के जायज, के नाजायज, भन्ने निर्क्यौल पनि त पक्कै आउँदैन।
सायद यही इन्टरनेटको जमानामा हुर्किएर होला अरूले गरेजस्तो गरेन भने; जमाना अनुसार चल्न नसकेको लान्छना लाग्ला कि!, कतै छुटिएला कि भन्ने डर बेग्लै। सोसल मिडियामा देखाउने होडबाजी र एकदम धेरै प्रतिस्पर्धाले सबैलाई हतासमा राखेको पक्कै छ।
पैसाको अभाव भए पनि थोरै पैसामा कसरी सकेसम्म रमाइलो गर्ने र कसरी आफ्नो गन्तव्यसम्म पुग्न पैसाको व्यवस्थापन गर्न सिकाउने एक राम्रो अवसर रहेछ ‘ट्रेकिङ’। त्यसमाथि यही जेन-जी (Gen-Z) पुस्तामा हुर्केर होला पछि समय थियो, स्वास्थ्य थियो, अलिकति पैसा जुटाउन आँट गरेको भए… सायद… भन्ने बुढेसकालमा कथा नहोस् जस्तो लाग्ने रहेछ।
खुमाइ डाँडा जाने भनेर हिँडेका हामी-इन्टरनेट र कोही चिनेजानेको मानिससँग कुराकानी गरेको भरमा हिँडिरहेको थियौँ। तर कसैको अनुभवको आधारमा हिँड्नु र आफू हिँड्नुपर्नेमा धेरै फरक पायौं। जस्तै: कुन ठाउँ जाने थाहा छ तर कुन ठाउँमा बस स्टप छ भन्ने नै थाहा छैन। जति मानिसले यसो गर उसो गर, यता जाऊ उता नजाऊ भने पनि आफू त्यो बाटो नहिँडेसम्म अलमल्ल नै परिने रहेछ। त्यसमाथि म खासै मानिससँग बोल्न सक्दिनँ या भनौं एकदमै अन्तर्मुखी स्वभावको छु म तर परिआएको खण्डमा र आपत्ति परेको बेला मनको अप्ठ्यारो समस्याको काँडेतार पनि नाँघ्नु पर्दो रहेछ।
मनको बाँधबाट टाढा जान निकै गाह्रो हुने रहेछ, आवेगमा त हिँडेँ तर गाह्रो लाग्यो, आमाले पहिलोचोटि विद्यालय पठाउँदा खेरिको जस्तो अनुभव भयो।
गाडी चढेपछि मैले दिदिलाई सोधेँ, 'हजुरको त तेस्रो ट्रेकिङ हैन यो? तपाईंलाई ट्रेकिङको सबभन्दा मनपर्ने कुरा के हो?'
जवाफमा भन्नुभयो, 'थकान। मलाई त्यो लामो बाटो हिँडेको थकान मनपर्छ।'
साँच्चै ट्रेकिङको हिँडाइमा तनमन एक ध्यानमा केन्द्रित हुन्छ-गन्तव्यमा पुग्ने र यात्राको अनुभवमा रमाउने। अनि त्यो हिँडाइको थकानले जिउलाई गाह्रो बनाएर मिठो निद्रा प्रदान गरे पनि कताकता जिउ टाठो नै भैरहेको हुन्छ। दिमाग खुला नै भैरहेको हुन्छ। तर मान्छे न्युरोड र असनको भीडमा जाँदा त उसको जिउ, ऊर्जा, र मन मस्तिष्क एकदमै थकित, चन्चल, र बोधो बन्दछ। प्रकृतिले साँच्चिकै स्फुर्त प्रदान गर्दोरहेछ।
उहाँले त्यही प्रश्न मलाई तेर्साउनु भयो।
मैले भनेँ- नेपालको प्राकृतिक सुन्दरता र बुवाआमाको कलिलै उमेरमा दफन भएका अनुभूति जिउनबाहेक… अम…मेरो ज्यानले यति मात्र धान्न सक्छ भनेर सोचेको बेला मैले अर्को कहालीलाग्दो पहाड चढेको छु, हो सायद एक यस्तो अनुभूति र त्यो मनोबल स्मरणको लागि कि! जति डरलाग्दो जिन्दगीको उकाली भए पनि यस्ता पहाडका मीठो झझल्कोले हरेकचोटि हिम्मत हार्न अगाडि आफ्नो जीवनका कठिनाइमा हिम्मत नहारी अगाडि बढ्नुछ है भन्ने प्रेरणा दिन्छ। आफ्नो क्षमताबाट पर गएर त्यो पहाड टेक्दा लाग्छ कि यो त मेरो दिमागको भ्रम रहेछ। म त्योभन्दा धेरै काबिल रहेछु। यो भोगाइ मेरो जिन्दगीमा लागु गर्न प्रोत्साहन मिल्छ।
अर्को चाहिँ मलाई यसले जिन्दगीको कच्चापन आखिर सबै वर्गको एउटै हो भन्ने सिकाउँछ जस्तो लाग्छ।
तिमीसँग साधन हुँदैन, खाना पाउने कुरामा थोरै छनोटमा पाइन्छ र अन्त्यमा आफ्नो ज्यान बोकेर हिँड्ने हो, धुलो मैलो पसिना सिँगान सबै बोकेर। अहिले सुन्दा घिन लागे पनि सबै तिम्रो हो, तिमीमा निहित कुरा हो भनेर वास्तविकतासँग हल्का परिचित पनि गराउँछ जस्तो लाग्छ यो अनुभूतिले।
प्रकृतिको अगाडि तिमी हौ, तिम्रो स्वास्थ्य हो र बाटोको साथी हो; बाँकी: धनी- गरिब, जात-भात, वर्ग, धर्म केही महत्व राख्दैन भन्ने एक मीठो पाठ दिन्छ यो प्रकृतिको कच्चापनले।
हिँडदै जाँदा बाटोमा भेटिने टि- हाउस, होमस्टे र कटेजमा देख्दा कतै पनि महिला हुनुहुन्थेन। अब यसमा पनि समानता खोजेको हैन मैले। अचेल महिला समानताका कुरा गर्दा धेरै गिज्याउने मानिस भेटेको छु मैले। प्राकृतिक रूपमा र प्राकृतिक जिम्मेवारीको रूपमा महिला र पुरूष कहिले समान हुँदैनन् र हुन सक्दैनन्, यो एक यथार्थ हो। अहिले महिलावादीले खोजेको समानता-सामाजिक समानता र सामाजिक स्वतन्त्रता हो।
म आफैँ महिनावारीको पीडा, प्याड कता फेर्ने पिर र विभिन्न असहजता, शारीरिक र हर्मोनल उतारचढावसँग जुधिरहेको थिएँ। महिलाको प्रतिनिधित्व कम हुनुमा सायद यही प्राकृतिक बनावट र शक्त्तिले पुरूषको वर्चश्व देखाएको होला।
हिलेखर्कमा खाना खाँदै गर्दा दाइले भन्नुभयो, 'माथि त पानी किन्नुपर्छ। रु. १५० नयाँ बोतललाई र रु. १०० पानी मात्रै भरेको।' ओहो पानी पनि किन्नुपर्ने? म छक्क परेँ।
पानी त पिउन, खाना बनाउन, शौचालयमा, हात-मुख धुन, लगभग पलपलमै चाहिने कुरा हो। तर मूल पनि नरसाउने ठाउँमा मानिस कसरी पसल थापेर बसेका होलान्? परिवारबाट टाढा बसेर, यस्तो अभाव बोकेर, एक अनकन्टार ठाउँमा व्यापार चलाउन, के पैसा मात्र मनोबल हो? आफ्ना इच्छा आकांक्षा केही हुँदैन? मन बिचलित हुँदैन? मैले यो कुराको चित्तबुझ्दो जबाफ आजसम्म पनि पाएको छैन र मसँग यो सोध्ने आँट पनि छैन।
कुनै दिन समय र परिस्थिति मिले म यो कुरा पक्कै निकाल्ने छु।
बाटोमा हिँड्दा एक जना बुवालाई भेट्यौं। 'बुवा कता लाग्नु भयो?,' भनेर सोध्यौं 'वस्तु हेर्न' भन्नुभयो।
'अनि तपाईंको हो माथि तोबुँको टी-हाउस' भन्दा 'हैन मेरो त गोठ हो माथि, पसल छैन,' भन्नुभयो।
'अनि हजुरको परिवार?,' भन्ने हाम्रो प्रश्नको जबाफमा भन्नुभयो, 'मेरो परिवार (पर अर्को पहाडको तल देखाउँदै) त्यहाँ छ। म एक्लै यहाँ बसेको छु। ४० वर्ष भयो एक्लै बसेको।'
हामी छक्क पर्यौं, '४० वर्ष?'
हिँडेको ३० मिनेटपछि अर्को बुवा भेटिनुभयो। उहाँ आफ्नै तालमा हिँडिरहनु भएको थियो। त्यसैले बोलाउन मन लागेन तर नजिक पुग्दा उहाँको शरीरबाट अत्यन्तै धेरै दुर्गन्ध आइरहेको थियो। खै,अचम्म! त्यो दुर्गन्धले मलाई घिनभन्दा पनि बाध्यताको झल्को दिइरहेको थियो। एक अभावको झल्को। तल नुहाएर माथि आउँदासम्म त जिउ उस्तै, पानी बोकेर नुहाउन निकै कठिन, त्यसमाथि खच्चडलाई पानी बोकाउन आर्थिक अवस्था छैन।
प्रकृतिको स्वच्छ हावासँग खेल्दै हामी हाम्रो गन्तव्य खुमाइ डाँडा पुग्यौं।
आहा! यही दृश्य अवलोकनको लागि हामीले दु:खको रहर गरेका थियौं। मौसम अझ खुलेको थिएन। पोखरामा हुँदा गाडीबाट त प्रदूषणले नदेखिएको होला सोचिएको माछापुच्छ्रे ३२४५ मिटर माथि पुग्दा पनि स्पष्ट देखिएन।
कुन बेला पानी पर्ला? कुन मौसममा लालीगुराँस फुल्ला? शितलतामा पनि बाफिएको महसुस हुनु प्रदूषणले रमणीय त्यसमा धुँवा बसेजस्तो हुनु आफैंले अनुभव गर्न पाएँ।
केही टुंगो नभएको नेपालको हालत, त्यसमाथि यो जलवायु परिवर्तन, वायु प्रदूषण, र ग्लोबल वार्मिङको असर देखेर मेरो मानसिक स्वास्थ्यमा पनि आंशिक असर गरे जस्तो भयो।
एक किसिमको तनाव कि म यो स्वर्गको टुक्रामा जन्मिएर पनि, पढेर, कमाएर र देखीदेखी पनि कति लाचार भएर हेरिरहेको छु। म जसरी रहर गरेर ट्रेकिङ आए, यसरी पछिका पुस्ताले केही दृश्य देख्न पाउँदैनन् होला।
हिमालको सट्टा काला पत्थर देख्लान्। देशमा निहित एक गर्वान्नवित गर्ने झिनो आधार मध्येको एक प्राकृतिक सौन्दर्यता पनि गुम्दै गएको पीडाले मन निकै पिरल्यो। कति असह्य छु म र मेरो देश अनि मेरा मानिस; देख्दै गर्दा, भाग्दै गर्दा, अभावमा बाँच्दै, प्रकृतिले आफैं छानेर नेपाललाई केन्द्रबिन्दु बनाउँदा पनि, चुपचाप प्रकृतिको रोदन सिसामहल भित्र बसेर हेरिमात्र रहेका छौं।
जे भए पनि, यस ट्रेकिङले मलाई प्रकृतिमा रमाउन मन लाग्ने रहेछ भन्ने आफैँलाई बुझाइदियो।
काकाले भन्नुहुन्थ्यो, 'किन दु:ख गरेर जानु पर्यो त्यति टाढा? फोनमा हेर्ने नि, त्यही दु:ख छोडेर हामी सहर पस्यौं, ऊ चाहिँ रहर गर्छे।'
मलाई पनि लाग्छ कि यही दु:ख त्यागेर हिमालबाट पहाड, पहाडबाट तराई, गाउँबाट सहर आएर फेरि त्यही दु:ख हेर्न के जानु, विद्वान कर्म हो? या मूर्खता हो? तर… नगएको भए मैले यो अनुभव, मान्छेको कथा-व्यथा र अवस्था समेट्न पनि त पाउँदिन थिएँ।
दिन त सुतेरमात्रै पनि त बित्छ तर जीवन त अनुभवले धनी पो बनाउनुपर्छ।
खुमाइ डाँडा जाने बाटो र गन्तव्य एउटै हो तर हरेक यात्रीको स्वास्थ्य, भोगाइ, दृष्टिकोण, दर्शन र जीवनसँगको सामिप्यताको अनुभव अद्वितीय हुन्छ। जीवनको रस नै अनुभव हो।
सायद जीवनको नाम यही कथाको संगालो होला।