युरोप भ्रमणको मिति तय हुँदा मलाई बेल्जियम टेक्न पाउने रहरले काउकुती लगाएको थियो।
नेपालबाट हिँड्ने बेलामा नै चेक रिपब्लिकमा झर्ने अनि बेल्जियममा केही दिन बसेर फ्रान्स हुँदै नेपाल फर्कने योजना थियो।
बेल्जियममा बस्न मन लाग्नुका पछाडि त्यहाँ बस्नुहुने दाइ सनत आचार्यको आतिथ्यता र उहाँबाट सुनेका नेपालीका सफलताका कथा नै प्रमुख कारक थिए।
युरोपियन मुलुक बेल्जियम भूगोलका हिसाबले नेपालभन्दा झन्डै पाँच गुणा सानो भए पनि विकास र समृद्धिका दृष्टिले अगणनीय ठूलो छ।
नेदरल्यान्डबाट करिब २ सय वर्ष अगाडि अलग भएको यो देशको विकासको गति हेर्न, सुन्न र महसुस गर्न लायक छ।
युरोपको राजधानी मात्रै भन्दा पनि नेपालीहरूका सानका कथा पढ्दा मलाई त्यहाँका नेपाली 'साहुजी' भेट्ने हुटहुटी थियो। विदेशमा बस्ने नेपालीहरूको गौरव गाथा आँखैले देख्न पाउने यो गतिलो अवसर थियो।
विश्वका अति सुन्दर सहरहरूको शक्तिशाली सूचीमा पर्ने पराग सहरलाई छाड्दै गर्दा बेल्जियममा पत्रकार दाइ सनत आचार्यसँग सम्पर्क जोडिएको थियो। उनी भेट्न र आतिथ्यता प्रकट गर्न निक्कै लालायित थिए। परागबाट जर्मनीलाई स्पर्श गरेर हामी बेल्जियमको लुभेन पुग्यौं।
हामीलाई आतिथ्यता प्रकट गर्न आतुर सनत दाइले लुभेनो आफ्नो घरमा आश्रय दिएर बेल्जियम घुम्ने रहरलाई सजिलो बनाइदिए। नेपालमा पत्रकारिताका साथै विभिन्न सामाजिक संघसंस्थामा काम गर्ने आचार्यले बेल्जियम टेकेको ६ वर्ष भएको थियो।
उनले त्यहाँका कैयौं नेपालीसँग भेटघाट गराइदिए। विदेशी भूमिमा नेपाली पहिचान जोगाउँदै नेपालीहरूले गरेको उन्नति आँखैले छाम्न पाउँदा खुसीले ओसिलो भएका थिए।
संघीय संसदको उम्मेदवारसम्मको यात्रा
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ८ का खड्क बहादुर केसी सन् १९९८ मा कामको मेलो खोज्दै बेल्जियम आइपुगे। त्यति बेला बेल्जियम आउन र टिक्न गर्नुपरेका संघर्षका अनेक कथा छन् उनीसँग।
बेल्जियममा आम नेपालीले काम गर्ने भनेकै रेष्टुरेन्टमा नै हो। उनले पनि रेष्टुरेन्टमा नै काम गरे। काम गर्दागर्दा उनमा आफैंले रेष्टुरेण्ट खोल्ने हुटहुटी पलायो। अधिकांश नेपालीको जस्तै रेष्टुरेण्ट नै उनको रोजाइमा पर्यो। उनले काम गर्दै त्यही डिप्लोमा तहमा इलेक्ट्रिकल पनि पढे। त्यहीको कम्पनीमा २००३ बाट २०१९ सम्म उनले जागिर गरे। जागिरले मात्रै उनलाई सन्तुष्ट बनाउन सकेन। फलतः सन् २०१४ बाट उनले रेष्टुरेन्ट समेत सञ्चालन गरे। जसले उनलाई छोटो समयमै गतिलो प्रतिफल दियो।
फराकिलो सपना बोकेर बाँच्न चाहने खड्कले आफैं व्यवसाय गरे। एक समय उनले बेल्जियममा आधा दर्जन जति रेष्टुरेन्ट खोलेका थिए।
पर्यटकीय सहर बेल्जियममा रेष्टुरेन्टमा निकै कमाइ पनि छ। उनले रेष्टुरेन्ट खोल्दा त्यहाँ फाट्टफुट्ट नेपालीले पनि खोलेको थिए। रेष्टुरेन्ट व्यवसायले पर्वतको कलकलाउँदो ठिटोलाई बेल्जियममा उचाइ छुन निकै मद्दत गर्यो।
हाल उनका लुभेनभित्रै २ वटा रेष्टुरेन्ट छन्। पछिल्लो समय रेष्टुरेन्टको बजार साँघुरो हुँदै गएपछि उनले केही बन्द गरेका हुन्। घर छ, गाडी छ , परिपक्व आर्थिक अवस्था छ। यति धेरै सम्पन्नताका बीचमा नेपालको अभाव उनले पलपल गरिरहन्छन्।
लुभेनबाट उनको टेस्लामा आन्तरपेन जाँदै गर्दा उनले बोलेको कुरालो मन छोयो ‘यहाँ जे भए पनि , नेपालमा केही नभए पनि मन खुस नेपालमै हुन्छ’
पंक्तिकारले भेट्दा एनआरएनए बेल्जियमका अध्यक्ष समेत रहेका उनी भर्खरै जिम्मेवारीबाट मुक्त भएका छन्।
बोल्जियममा रहेका व्यावसायिक नेपालीहरूको संस्थामा सचिव समेत भएका खड्कले विभिन्न सामाजिक संघसंस्थामा पनि उत्तिकै क्रियाशिल रहेर समाजसेवालाई पनि निरन्तरता दिएका छन्।
बेल्जियमको संघीय संसदको निर्वाचनमा समेत उम्मेदवार बने। त्यहाँको सोसियल डेमोक्रेटिक पार्टीबाट सन् २०१२ मा नगर परिषद् सदस्यमा पराजय भोगेका खत्रीले सन् २०१४ मा पनि संघीय सांसदको निर्वाचमा हार बेहोरेका थिए।
‘आउने निर्वाचनमा अलि धेरै तयारी गरेर निर्वाचन लड्ने हुटहुटी छ’ उनले सुनाए।
नेपालीको सहिष्णुता
बेल्जियममा नेपालीहरूका बीचमा बलियो एकता छ। विभिन्न संघसंस्थाका नाममा उनीहरूले सामाजिक कामहरू समेत गरिरहेका छन्।
बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले पनि नेपालीहरूका धेरै समस्या नरहेको बताए।
‘यहाँको नेपाली समाजले नै नेपालीका समस्या समाधान गर्ने गर्छन्’ बेल्जियमको कानून बलियो भएका कारणले गर्दा पनि त्यहाँ गैरकानुनी रूपमा नेपालीहरू बसोबास गर्ने गर्दैनन्।
अर्को युरोपियन मुलुक पोर्चुगलमा कागजपत्र बनाएर कानूनसम्मत ढंगले बेल्जियममा आउने नेपालीहरूको संख्या निक्कै बाक्लो देखिन्छ।
राजदूत भण्डारीका अनुसार हाल बेल्जियममा करिब ८ हजार नेपालीहरू बस्ने गरेका छन्।
उनले सबै नेपालीहरू कानूनसम्मत ढंगले बसेको हुँदा ठूलाठूला कानूनी उल्झन नरहेको समेत बताए।
बेल्जियममा सबै मुख्य सहरहरूमा नेपालीहरू बसोबास गर्ने भएता पनि लुभेनमा अलि धेरै नेपालीहरू बस्ने गरेका छन्। विभिन्न नेपाली उत्सवहरू त्यहाँ भव्य तरिकाले मनाइने समेत गरिएको छ।
युरोपमा नेपाली भान्सा
पोखराका तीर्थराज धमालाका बेल्जियममा दुई वटा रेष्टुरेण्ट छन्। युरोपमा निकै प्रख्यात सुसी (सामुद्रिक माछाको परिकार) रेष्टुरेण्टसँगै उनले गेन्टमा नेपाली स्वादको रेष्टुरेन्ट पनि सञ्चालन गरेका छन्। रेष्टुरेन्ट बाहिरको दृश्यलाई बिर्सने हो भने होटलको ले आवट र मेनुले नेपालको कुनै रेष्टुरेण्टमा बसेर खाना खाइरहेको भान हुन्छ।
उनको रेष्टुरेण्टको परिचयमै लेखिएको छ 'घरको जस्तै स्वाद'।
नेपाली परिकार पाइने रेष्टुरेन्टमा उनका ग्राहकहरूको बाक्लो भिड लाग्ने गर्दछ। नेपाली स्वाद मन पराउनेहरूले हरेक दिनजसो उनको रेष्टुरेन्ट भरिभराउ हुन्छ।
नेपालबाट घुमेर गएका युरोपेलीसँगै दक्षिण एसियाका मानिसहरूको रोजाइमा नेपाली भान्सा पर्ने गर्छ।
‘नेपाली परिकार खान पाउँदा स्वादको मिठास मात्रै होइन घर गाउँको झल्को पनि आउने गर्छ’ त्यहाँ भेटिएका नेपाली बलबहादुर पुनले भने।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका तीर्थराज नेपालमा अर्थशास्त्रका अक्षर केलाउँदा केलाउँदै बेल्जियम पुगेका हुन्।
उनी एनआरएन बेल्जियमको उपाध्यक्ष समेत भइसकेका छन्।
एउटा रेष्टुरेण्ट उनको श्रीमतीले हेर्छिन् भने अर्को उनी आफैंले हेर्छन्। नेपाली स्वाद युरोपभर फैलाउनका पाएकोमा उनी खुसी छन्।
पर्वतका गंगा शर्माले पनि बेल्जियमको लुभेनमा नेपाली स्वादको रेष्टुरेण्ट चलाएका छन्। कुनै समय बेल्जियमभरी ७ वटासम्म रेष्टुरेण्ट चलाएका शर्माले नेपाली स्वादको रेष्टुरेण्ट राम्रो चल्ने बताए।
३० वर्ष अगाडि नेपालबाट बेल्जियम पुगेका उनले धेरै नेपालीलाई बेल्जियममा स्थापित गर्ने भूमिका समेत खेले। सुरूसुरूमा नेपाली स्वादका रेष्टुरेन्टहरूमा खासै विजनेस हुने नगरेको भए पनि पछिल्लो समय राम्रो गति लिएको पनि उनले बताए।
आठ हजार नेपाली बसोबास गर्ने बेल्जियममा ६ सय जति नेपालीले खोलेका रेष्टुरेन्ट छन्।
अधिकांश सुसी रेष्टुरेन्ट भएता पनि नेपाली भान्साहरू पनि यत्रतत्र भेटिन्छन्।
‘नेपाली परिकारको खाना पनि उत्तिकै यहाँ खाने गरिन्छ’, पर्वतका अर्जुनकुमार श्रेष्ठले भने। उनका बेल्जियमभर आधा दर्जन रेष्टुरेन्ट छन्।
नेपालीहरू कसरी पुगे बेल्जियममा?
आर्थिक हिसाबले बेल्जियम अन्य युरोपियन मुलुकहरूभन्दा अब्बल मानिन्छ। युरोप पुग्ने अधिकांशको सोच अन्ततः बेल्जियम मै टेक्ने हुन्छ।
बेल्जियममा त्यहाँका विश्वविद्यालयहरूमा अध्ययनका लागि केही नेपाली पुग्ने गरेको भए पनि त्यहाँ प्रत्यक्ष रूपमा जानका लागि कुनै पनि विकल्प रहेको छैन।
‘केही पहिले जर्मनमा नेपालीहरूलाई सहजै आवागमन गर्न दिइएको थियो, सोही बेला जर्मन भएर केही नेपालीहरू बेल्जियम पुगेका हुन्’ एनआएरएन बेल्जियममा निवर्तमान अध्यक्ष केसीले भने।
अहिले नेपालीहरू पुग्नका लागि बलियो माध्यम भनेको पोर्चुगल नै हो।
विभिन्न माध्यमबाट सेन्जेन कन्ट्री टेकेर आवश्यक कागजात पूरा गरेर बेल्जियम पुग्ने नेपालीको संख्या नै अधिक मात्रामा रहेको छ। अहिले पोर्चुगलसँगै फ्रान्स र इटलीबाट यहाँ आउनेहरू बढिरहेका छन्। वर्किङ भिसामा नेपाली नर्सहरूलाई बेल्जियम लैजाने गरी केही प्रक्रिया अगाडि बढेको भए पनि त्यसले मूर्त रूप पाउन सकेको छैन। पछिल्लो समय विभिन्न सेन्जेन कन्ट्रीको माध्यमबाट हरेक वर्ष ५ सय बढी नेपालीले बेल्जियम टेक्ने गरेको तथ्यांक छ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)