जर्मनी छाडेको करिब ७ घण्टा पछि बेल्जियमको लुभेन भेटियो।
हामीले ताकेर हिँडेको पनि यही ठाउँ थियो। बसबाट ओर्लनासाथ सनत आचार्य दाइ ब्रान्डेड मुस्कानमा आत्मीयता बोकेर आइपुगे।
युरोपमा कोही आफ्नो ठानेर बसपार्कसम्म लिन आएको थियो। जर्मनी छाडेर बेल्जियम आउनुमा सनत दाइकै कर बल थियो। त्यतिमात्रै होइन बेल्जियमको बसाइलाई सार्थक बनाउन अनेक योजना समेत दाइसँग थियो। बिरानो मुलुकमा यो आत्मीयता साँच्चिकै गह भरिने खालको थियो। कसले भन्छ नेपालबाहिर नेपाली मन छैन?
लुभेन युरोपको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालय KU Leuven (Katholieke Universiteit Leuven) रहेको कलात्मक सहर रहेछ।
सन् १४२५ मा स्थापना गरिएको यो विश्वविद्यालयमा अध्ययन गर्नका लागि विश्वभरबाट विद्यार्थीहरू आउने गर्दा रहेछन्। उच्च शिक्षाका लागि विश्वभरकै लागि लुभेन बलियो गन्तव्य हो।
लुभेनसँग जोडिएको अर्को विशेषता हो बियर।
विश्वभरका बियर पारखीहरूको मनपर्ने सहर लुभेनका रेष्टुरेण्टहरूमा बियर खानेहरूको बाक्लो भिड लाग्दो रहेछ। एकसय भन्दा बढी बियरका ब्रान्डहरू रहेछन् यो सानो देशमा। बसबाट सनत दाइले बियरका उद्योगहरू देखाइरहन्थे। लुभेन विश्वविद्यालयहरूको पनि सहर जो रहेछ। यहाँका हरेक गल्ली गल्लीहरूमा विद्यार्थी नै विद्यार्थी देखिने।
आधा लुभेन विद्यार्थीले नै भरिएको पो रहेछ। आधा लुभेनलाई विद्यार्थीले नै जीवन दिएका रहेछन्। विद्यार्थीले चलाएको सहर लुभेन। विद्यार्थीले जोगाएको सहर लुभेन। बेल्जिमयसँग चकलेट पनि जोडिएको छ। नेपाल छाड्दै गर्दा चकलेटका पारखीहरूले बेल्जियमका चकलेटको प्रिअर्डर गरेका थिए।
चकलेटै चकलेटका उद्योगहरूले भरिएको बेल्जियममा Godiva, Neuhaus, Leonidas/ Guylian जस्ता चकलेटहरू निकै लोकप्रिय रहेछन्।
बेल्जियम पुगेको फोटो हाल्ने बित्तिकै नेपालबाट चकलेटको थप अर्डर आएको थियो। चकलेटको पनि सहर बेल्जियम।
देश चिनिन किन ठूलो कुरा गर्नुपर्छ र?
हाम्रो लागि लुभेन ट्रान्जिट मात्रै थियो। त्यसमा टेकेर बेल्जियममा कैयौं सहरहरू हेर्ने रहर थियो। राजधानी ब्रसेल्स अनि हिराको लागि प्रसिद्ध बेल्जियमको पुरानो सहर आन्तरपेन पनि हाम्रो घुम्ने मेनुमा प्रिन्टेड थियो।
लुभेनमा सनत दाइको घरमा सुटकेसलाई विश्राम दिएपछि सुरू भयो बेल्जियलाई टुक्रा टुक्रामा छुने रहर।
करिब ८ हजार नेपाली बस्ने नेपालभन्दा करिब ६ गुणा सानो बेल्जियममा (३०५२८ वर्ग किमी) नेपालीहरू धेरै भेटिँदा रहेछन्। कतिपय ठाउँहरू त नेपालकै कुनै टुक्राजस्तो पनि लाग्ने। नेपाली मन र नेपालीपनको कस्तो मोह? आहा बेल्जियम!
युरोपियन मुलुक बेल्जियमको राजधानीका रूपमा मात्रै होइन ३२.६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ब्रसेल्स युरोपको पनि राजधानी मानिन्छ।
मेको मध्यसाता ब्रसेल्स टेक्दा यो पूरापूर निथ्रुक्क भिजेको थियो। पानीले ब्रसेल्सका कुरूपताहरूलाई बगाएर थप सुन्दर बनाएको थियो, थप चम्किलो बनाएको थियो। हेरूँहेरूँ लाग्ने बनाएको थियो।
आफू भिज्दा हामीलाई सुख्खा कसरी राख्न सक्थ्यो र? बेल्जियममा बसेर लामो समयदेखि व्यवसाय गर्दै आएका युवा व्यवसायी अर्जुनकुमार श्रेष्ठ ब्रसेल्स घुमाउने गाइड भैदिए।
सेकेन्ड सेकेन्ड तौलिएर खर्च गर्ने श्रेष्ठले ब्रसेल्समा केही घण्टा लगानी गर्ने प्रतिवद्धता गरेर लुभेनबाट गाडीमा हुइँकाएका थिए। काम कुरो एकातिर थन्काएर उनी हामीलाई बेल्जियमलाई टुक्राटुक्रामा चिनाउँदै थिए।
युरोपको प्रशासनिक क्षेत्र ब्रसेल्ससँग आधुनिकता र सम्पन्नता लेपन त थियो नै तर ऐतिहासिकता र परम्परागत कला र सभ्यतालाई पनि बोक्न छाडेको रहेनछ।
आधुनिकतामा पनि परम्परागत कला र संस्कृतिहरू कसरी सुन्दर र आकर्षक बन्न सक्छन् भन्ने नमूना थियो ब्रसेल्स।
घुम्नका लागि केही दिन लाग्ने ब्रसेल्सलाई केही घण्टामा पूरा गर्नुपर्ने बाध्यताको सुरूआत ग्रान्ड प्लेसबाट गरियो।
बेल्जियमको मुटु ब्रसेल्स अनि ब्रसेल्सको मुटु ग्रान्ड प्लेस। आहा! कति राम्रो ? कलाको अन्तिम सीमा हुँदैन तर पनि कुनै कुनै कलात्मक कुराहरू देख्दा, घुम्दा लाग्छ संसारको सबैभन्दा सुन्दर कला यही नै हो।
संसारभका कलाका सुन्दरताहरू यही आएर ठोकिएका छन्। ग्रान्ड प्लेस टेकेपछि मनमा यस्तै लाग्यो। झरीको स्नेहलाई कसरी नकार्नु। भिज्दै भिज्दै ग्रान्ड प्लेसलाई मनको आँखाले कण कणमा हेरियो।
संसारका भव्यता मध्यको एक भव्यतालाई हेर्नका लागि ओ हो कति धेरै मानिसहरू ओइरिएका? त्यही मानिसहरूको भिडमा थिएँ म पनि।
सन् १९९८ देखि युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको यो प्लेस आश्चर्यजनक मध्ययुगिन वास्तुकलाको उत्कृष्ट नमूना थियो।
यहाँका संरचनाहरू गोथिक र बारोक शैलीहरूमा निर्माण गरिएका रहेछन्। भवनमा वास्तुकलाहरू सद्भाव र समृद्धिको संकेत दिने गरी निर्माण गरिएका थिए।
व्यापारिक प्रयोजनका लागि यो भवन धनी र व्यवसायीहरूले विभिन्न समयमा निर्माण गरेका रहेछन्।
यसलाई ११ औं शताब्दीको उपहार पनि मानिन्छ। तर यसको विकास र निर्माण अनेक चरणमा भयो। १६९५ मा फ्रान्सेली सेनाको आक्रमणमा ग्रान्ड प्लेसले निकै ठूलो क्षति ब्यहोरेको रहेछ। तर पनि बेल्जियमका जनताले आफ्नो गौरवका रूपमा रहेको प्लेसलाई पुनः जस्ताका तस्तै ठड्याए।
ग्रान्ड प्लेस वरपरका अन्य भवनहरू मुख्यतया गिल्ड हलहरू हुन्। जुन कुनै समय विभिन्न शिल्प गिल्डहरूको मुख्यालय थियो। प्रत्येक गिल्डहल अद्धितिय र वास्तु शैलीको इतिहास रहेको छ। ग्रान्ड प्लेस यसको वास्तुकलाको सौन्दर्यको लागि मात्र होइन, यसको जीवन्त वातावरणको लागि पनि प्रसिद्ध छ। यसले स्थानीय र पर्यटकहरूका लागि एकै ठाउँमा भेला हुने ठाउँको रूपमा सेवा गर्दछ।
धेरै क्याफेहरू, रेष्टुरेन्टहरू र पसलहरू स्क्वायरमा छन्। दिनको समयमा आगन्तुकहरूले यसको वरपरको अन्वेषण गर्ने, वास्तुकलाको प्रशंसा गर्ने र ऐतिहासिक वातावरणमा भिज्दा स्क्वायर गतिविधिले रमाएको हुन्छ।
साँझमा भवनहरू सुन्दर रूपमा उज्यालो हुने गर्दछ। जसले ग्रान्ड प्लेसलाई अत्यन्त आकर्षक बनाएको छ।
ग्रान्ड प्लेस व्यावसायिक सोच र दृष्टिले निर्माण गरेको भए पनि यसको पर्यटकीय महत्व बेग्लै खालको रहेछ।
प्लेस आसपासमा निर्माण भएका संरचनाहरूले यसलाई थप महत्व दिएको थियो। ब्रसेल्सको सबभन्दा लोकप्रिय ठाउँका रूपमा रहेको यस ठाउँमा देखिने अनेकानेक संरचनाहरुले मुटुको कुना कुनामा आनन्दको सञ्चार गर्दछन्।
ग्रान्ड प्लेसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको वास्तुकला नै हो।
आश्चर्यजनक वास्तुकलाका लागि प्रख्यात यस ठाउँमा वास्तुकलाका माध्यमबाट सदियौं पुरानो युरोपको सभ्यतालाई बिम्बित गरेको हुन्छ।
विभिन्न शैलीका वास्तुकलाले तत्कालीन समाजको चित्रलाई प्रष्टसँग उजागर गरेका छन्।
यस परिसरमा रहेको टाउन हल अर्को महत्वपूर्ण सुन्दर पक्षका रूपमा देखियो।
ब्रसेल्सको प्रतिष्ठित प्रतीकका रूपमा रहेको टाउन हलले त्यहाँ पुग्ने पर्यटकहरूलाई भ्रमणका बारेमा अनेकानेक जानकारी समेत प्रदान गर्दोरहेछ। पानीको झरीका बीचमा हामीले टाउन हलको सुन्दरतालाई खिचेर राख्यौं।
स्क्वायरको पूर्वी क्षेत्रमा रहेको Maison du Roi एउटा ऐतिहासिक भवन रहेछ। ब्रसेल्सको इतिहास र संस्कृतिलाई चित्रण गर्ने विभिन्न कलाकृतिहरू प्रदर्शन गरिरहेको यसमा ब्रसेल्स सिटी संग्रहालय राखिएको रहेछ। युरोपको पुरातन सभ्यताको बिम्बका रूपमा यहाँ अनेकानेक पुरातन वस्तुहरू संग्रहित गरिएका रहेछन्।
ग्रान्ड प्लेस पुग्नेका लागि फ्लावर कार्पेट अर्को एउटा सुन्दर पक्ष हो।
प्रत्येक दुई वर्षमा आयोजना गरिने यो परम्परा १९७१ देखि सुरूआत गरिएको थियो। विश्वभरबाट फ्लावर कार्पेटको समयमा हजारौं पर्यटकहरू हेर्नका लागि ओइरिने गर्दछन्। फूलैफूलबाट कार्पेट बनाइने भएको हुँदा यो निकै आकर्षक र सुगन्धमय हुने गर्दछ।
१८ सय वर्गमिटरमा फैलिने यो महोत्सव निश्चित समयमा आयोजना हुने भने गर्दैन। तथापि हरेक २ वर्षमा आयोजना हुँदो रहेछ।
ग्रान्ड प्लेस नेपालको बसन्तपुरजस्तो पनि मानिने। तथापि यसको भव्यतालाई तुलना भने गर्न सकिँदैन। यहाँ विभिन्न खालका कार्यक्रम, प्रतियोगिताहरूको नियमित रूपमा आयोजना गरिँदो रहेछ। चारैतिर कलात्मक भवनले सजिएको यस ठाउँको बीच भागमा हरेको खुला आँगनलाई बहुउपयोग गरिँदो रहेछ।
हाम्रो बसन्तपुर पुनर्निर्माणको मेलो कहिले राम्रोसँग सर्ने हो? ब्रसेल्सको बसन्तपुरले भने मनै लोभ्यायो। ग्रान्ड प्यालेस नजिकै एउटा सानो गल्ली देखाउँदै अर्जुन जी भन्दै थिए 'यहाँ पहिलो राजारानीले सामान किन्ने गर्दथे अहिले सबैका लागि सामान किन्न पाइन्छ' त्यहाँका पसलहरू विश्वभरका मानिसहरूले घेरिएका थिए। मनमनै लाग्यो 'ओ हो ब्रान्ड गर्ने कस्तो राम्रो तरिका'