बेल्जियमको राजधानी ब्रसेल्सबाट बिहान ७ बजे हिँडेको फ्लेक्सी बसले (पूरै युरोपभरि चल्ने बस) पेरिस टेक्दा ११:२३ भएको थियो।
टिकटमा उल्लेख भएभन्दा ७ मिनेट ढिलो पुग्नुको कारण पेरिसको अत्यासलाग्दो जामबाहेक के नै हुन सक्थ्यो र? ब्रसेल्सबाट पेरिस ताक्नुभन्दा अघिल्लो दिन गैर आवासीय नेपाली संघको पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले पेरिसमा नेपाली रेष्टुरेण्ट सञ्चालन गरेका पर्वतका शिव शर्मा (४५) सँग सम्पर्क जोडिदिएका थिए।
युरोप घुम्ने रहरलाई विदेशमा बस्ने नेपालीहरूले देशदेशावर धाँगोजस्तै उनिरहेका थिए। जहाँ गए पनि नेपाली भेटिने। जुन नेपाली पनि मनकारी हुने।
विश्वको महँगो सहरमा पर्ने पेरिसलाई ट्याक्सीले १ घण्टा कछुवा तालमा (जाम) फन्को मारेपछि पेरिसको वडा नम्बर १० मा रहेको लुइजब्ल सहर भेटियो। त्यही सहरमा भेटियो नेपालीपन र मन बोकेको होर्डिङ बोर्ड 'रोयल पोखरा रेष्टुरेण्ट'।
आहा ! नेपाली नाम देख्ने बित्तिकै मनले शब्द उत्पादन गर्यो।
विदेशी भूमिमा नेपाल देख्नुको आनन्द कल्पनाभन्दा पनि बाहिरको हुँदो रहेछ। मैले महसुस गरें।
रेष्टुरेण्टको बन्द काँचको ढोका उघार्ने बित्तिकै केही विदेशीहरू समोसा, मम, पकौडामा मस्त थिए। उनीहरूले पिरो पिरो गोलभेडाको अचार 'रि अर्डर' गरिरहेका थिए।
साँघुरो रेष्टुरेण्टमा सबै कुरा अटाएको थियो।
पेरिसको व्यस्त सहरको एक कुनामा रहेको रेष्टुरेण्टमा पृथ्वी नारायण शाहले एकताको प्रतीक औंला ठाडो पारेका थिए, सगरमाथाको आधारशिविरले नेपालीको स्वाभिमानलाई अग्लाइरहेको थियो, राजा वीरेन्द्र आफ्नै ब्रान्डको चस्मामा सुन्दर देखिएका थिए, गौतम बुद्ध लुम्बिनी जस्तै शान्त थिए। अर्थोक पनि के न के उनका भित्ताले नेपाल बोलिरहेका थिए। नेपालको तीनकुने झण्डा नहुने त कुरै भएन।
पर्वतबाट १३ वर्ष अगाडि जीवनको मेलो खोज्दै पेरिस पुगेका थिए शिव शर्मा।
बेनीमा रेष्टुरेण्ट चलाएको अनुभव थियो।
काम पाइहालिएला भनेर उनका पाइला घरदेशबाट परदेशमा उक्लिए। सोचेजस्तो काम कहाँ पाइयो र ? तर काम भने पाइयो। त्यही कामले पेरिस सहरमा उनलाई जीवनको मेलो सार्ने ढाडस दियो। आत्मविश्वास दियो। नेपालमा हुँदा वर्षभरी हात नपर्ने पैसा महिना दिनमै दियो। उनी पुलकित भए। परदेशमा पैसा त भयो तर पहिचान थिएन। उनलाई पहिचानले सधैं सोधिरह्यो ‘तपाईं नेपाली हुँ भनेर देखाउन मन लाग्दैन?’
यही पहिचानको प्रश्नले उनलाई प्रेरित गरेर अर्काको रेष्टुरेण्टमा काम गर्दागर्दा आफैं व्यवसायमा लाग्ने प्रेरणा दियो।
५ वर्ष अगाडि नेपाली खानाका पारखीहरूको आँत भर्नका लागि उनले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका थिए।
४ हजार जति नेपाली बस्ने पेरिसमा नेपाली स्वादको खानाका लागि खासै रेष्टुरेण्ट थिएन।
देश पनि चिनिने अनि पैसा पनि चिनिने। यी दुई चिनिने प्रलोभनमा उनले नेपाली पैसा करिब ५ लाख भाडा तिर्ने ज्वालामुखी टेके जत्तिकै जोखिम मोलेर पर्यटकहरूले धेरै सुनेको नेपाली नाम पोखरालाई ब्रान्डेड गर्दै रेष्टुरेण्ट सञ्चालनमा ल्याए।
उनकी श्रीमती माया शर्मा (३६) ले उनलाई ढाडस नदिएको भए सायद उनले रेष्टुरेण्ट सञ्चालनका लागि आँट गर्ने थिएनन्।
माया शर्मा नेपाली स्वादको खानाका लागि उम्दा सेफ हुन्। पेरिसभरी जिब्रो फट्कार्ने, हात चाट्नै पर्ने गरी नेपाली खाना बनाउनका लागि उनको 'सुनाम' छ।
पेरिस सहरभरि उनी एक्ली नेपाली महिला सेफ हुन्।
शिव शर्मा पनि गतिला सेफ हुन् उनले तालिम समेत लिएका थिए। तर अहिले 'भान्सा मन्त्री' माया नै हुन्, शिवले सचिवालयको काम गर्छन्। सामान ल्याउने, ग्राहकलाई उज्यालो अनुहारले स्वागत गर्ने हिसाब-किताब गर्ने सबै उनको जिम्मामा छ।
उनको रेष्टुरेण्टमा छिर्दा ढोका बाहिरको परदेश एकाएक लोप भएर घर देश ताजा भएर आउँछ।
रेष्टुरेण्टको बन्द कोठाभित्रको माइका लाल होला र पेरिसमा छु भन्ने अनुभूत गर्ने? मधुरो आवाजमा बजिरहने 'नेपाली हामी रहौंला कहाँ'
'यो नेपाली शिर उचाली' देखि 'फूल थुंगे रानी'सम्मका गीतले नेपाली मनलाई थप फ्रेस बनाउँछ।
'हामी नेपाल त आएनौं' मसँगै गएका वडाध्यक्ष विजय विकले अचम्म मान्दै थिए।
हामी एक घण्टा उनको होटलमा बिसाउँदा नेपाली र विदेशीहरू उत्तिकै मात्रामा भिड देखिन्थे।
नेपाल घुमेर फर्किएका फ्रान्सेलीहरूलाई नेपाली स्वादले छटपटी बनाउँदा उनको रेष्टुरेण्टसम्म पुग्दा रहेछन्।
बेसी मात्रामा भुटानीहरू नै उनका ग्राहक रहेछन्।
(नोट: भुटानी शरणार्थी प्रकरणको हिसाब किताब यहाँ नगरौं) हसिलो अनुहारमा फ्रान्सेली भाषामा बोल्दै शिवले अर्डर टिपेर मायालाई हुत्याउँछन्।
'मोबाइल'मा चलिरहेको टिकटक अचानक बन्द गरेर सेफ माया पकाउनमा व्यस्त हुन्छिन्।
शिव शर्माले २०१० मा फ्रान्स टेके। लहलहैमा फ्रान्स आएका उनले रेष्टुरेण्टहरूमा काम गरे। त्यही बेला उनले सुने सेफको तलब निक्कै धेरै हुन्छ। कामको धपेडीकै बीचमा उनले सेफको तालिम पनि लिए। होटलमा वेटर बनेर छिरेका शिव सेफ भएर निस्किए।
२०१८ तिर उनलाई आफैंले केही गरौं भन्ने लाग्यो र रोयल पोखरा रेष्टुरेण्टको जन्म भयो। पेरिस पुग्ने जो कोही नेपालीका लागि युरोपको खानाबाट छुटकारा पाउनका लागि उनको रेष्टुरेण्ट गतिलो माध्यम बनेको छ।
'हामीकहाँ नेपालबाट आउने कलाकार नेताहरू खुबै आउनुहुन्छ' उनले एक महिना अगाडि उनको खानाका पाहुना बनेका पूर्व रक्षामन्त्री मिनेन्द्र रिजाल र कलाकार दिनेश डिसीको नाम पनि लिए।
उनीहरूले खाना खाएको फोटो उनले फेसबुकमा पनि अपलोड गरेका रहेछन्।
नेपाली खानाका अनेक विकल्प
शिवले होटलमा नेपाली खानाका अतिरिक्त जाति विशेष परिकार पनि खुवाउने गरेका छन्। उनीकहाँ थकाली, नेवारी, थारू जातिसँग जोडिएका परिकार पनि पाइन्छन्। उनले कोदो, फापर, ढिडो पनि खुवाउने गरेका छन्। केही भारतीय परिकार पनि पाक्ने उनको भान्सामा करिब पच्चिस थरी नेपाली खानाहरू पाक्ने गरेका छन्।
'सुरूमा नेपाली खानाको बजार सानो लागेर इण्डियन खानामात्रै पकाउने गरेको थिए तर पछिल्लो समय नेपाली खानाको माग बढ्दै जाँदा यतातिर बढी केन्द्रित भएको छु। शिरमा रहेको नेपाली टोपी मिलाउँदै सगर्व उनले सुनाए।
उनले नेपाली परिकारका लागि चाहिने सामान पनि नेपालबाट नै ल्याउने गरेका छन्।
शिवले नेपाली चाडवाडको बेलामा सांगीतिक कार्यक्रमको समेत आयोजना गर्छन्।
‘चाडपर्वमा दाइको रेष्टुरेण्टमा आएपछि घर गाउँको झल्को मेटिन्छ’ धादिङ घर भई पेरिसको इनाल्को युनिभर्सिटीमा नेपाली पढाउने सुमित्रा बुर्लाकोटी सुनाउँदै थिइन्।
विभिन्न कारणले फ्रान्स पुगेका नेपालीहरूका लागि उनी सहारा पनि बन्ने गरेका छन्।
घुमफिरलाई पूर्णविराम लगाउँदै छुट्टिने बेला शर्माले भने, ‘देशलाई विदेशमा बस्नेले पनि माया गर्छन् भन्ने कुरा कहिले बुझाउन सकिएला ?’
मसँग उनको गुनासो दूर गर्ने ओखती थिएन, अनुहारको भावले समर्थन गरिदिए।