शीर्षक लेख्दा नै म झुक्किएछु जस्तो मान्नुभयो होला है! देशभित्र पो राजधानी हुन्छ राजधानीभित्र कसरी देश? यस्तै सोचिरहनु भएको होला तर म झुक्किएको छैन।
मैले साँच्चिकै राजधानीभित्रको देशको मेरो घुमफिर अनुभव लेख्दैछु।
इटालीको राजधानी रोम र रोमभित्रको सहर भ्याटिकन सिटी।
शून्य दशमलव चौवालिस वर्ग किलोमिटर क्षेत्रफल रहेको एक हजारभन्दा पनि कम जनसंख्या रहेको विश्वको सबभन्दा सानो देश भ्याटिकन सिटी घुम्ने र यहाँको सबभन्दा प्रसिद्ध सेन्टपिटर बासिलिकाको डोममा चढेर सम्पूर्ण देश नियाल्ने उद्धेश्य लिएर, म र मेरो श्रीमान हाल हामी बसिरहेको देश स्विट्जरल्यान्डको जेनेभाबाट त्यता प्रस्थान गर्यौं।
सेन्ट पिटर डोम चढ्न दिउँसोको समयमा अत्यन्त भीड हुने भएकाले बिहानको समयमा जान गुगलले सुझाए अनुसार हामी बिहानकै समयमा सेन्ट पिटर बासिलिका पुग्यौं तर हामी गएको दिन विशेष कारणबस बिहानको समयमा डोम चढ्न बन्द थियो, त्यसैले बिहान आएका हामी लगायत हामीजस्ता धेरै पर्यटकहरू दिउँसोसम्म पर्खिन बाध्य भयौं। दिउँसोको समयमा मिनेटैपिच्छे पर्यटकहरू थपिँदै गए। डोम खुल्नुअगावै नै हजारौं पर्यटकको जेरी घुमेझैं लामबद्ध भीड देख्दा आज डोम चढ्न सकिँदैन जस्तो लाग्यो।
‘नेपालमा सय जनाको पछाडि लाइन लाग्दा त पालो आउँदैन कि भनेर अतालिने म हजारौंको पछाडि लाइन कसरी बस्ने? बेकारै आज आइएछ।’
मनमा लागेको कुरा मुखले फोडिहालेँ।
‘डोम खुलेपछि त सरासर लाइन अगाडि बढिहाल्छ नि तिमी ढुक्क हौं रेशा यतातिर कसैले पनि लाइन मिच्दैन। तिमीलाई लाइन बस्न दिक्क लाग्छ भने हामी अन्तिममा जाउला लाइनमा बस्ने समयमा बरू यताउति घुमौं।’
उहाँको प्रस्ताव मैले स्वीकार गरिहालेँ।
मानिसलाई खिसिक्क हाँस्न मुस्कुराउनु कुनै कारण नै चाहिँदो रहेनछ। चार छ हात परबाट मोबाइल फोन तेर्साइदिए पुग्यो। घुम्न आएका पर्यटकहरू कोही क्यामरा म्यान र कोही मोडेलमा रूपान्तरण भएका थिए। मोबाइल फोन चाहिँ क्यामरामा, यी मोबाइल फोन पनि मलाई कहिलेकाहीँ आमाजस्तै लाग्छ कति धेरै भूमिकामा अनवरत सेवा दिइरहन सक्ने।
‘एक्सक्युज मि सिस्टर’, भन्दै कति मानिसहरूले मसँग दिदी बहिनीको नाता लगाए। उनीहरूको फोटो खिचिमाग्नको लागि र मैले पनि हाम्रो फोटो खिचिमाग्न कतिसँग दाजुभाइ, दिदीबहिनीको। गोरु बेचेको साइनो भन्छन्- अब त फोटो खिच्देको साइनो भन्ने जमना पो आएछ है।
हामी फोटोग्राफीमा रमाइरहँदा लाइन मुभ हुन सुरू भयो। हामी अन्तिममा लाइनमा लाग्यौं। लाइन यति छिटो सर्यो कि चार घन्टामा पनि नसकिएलाजस्तो लाइन एक घन्टा मात्र लाइन बस्दा हाम्रो पालो आयो।
‘यो डोममा माथि पुग्न ५५३ स्टेपहरू उक्लन पर्छ। यदि तपाईंहरू लिफ्ट प्रयोग गर्न चाहनु हुन्छ भने पनि ३३१ स्टेप चाहिँ हिँडेरै उक्लनै पर्छ। यदि तपाईंहरूको स्वास्थ्य अवस्था सामान्य छैन भने डोम चढ्ने निर्णयलाई विचार गर्नुहोस्’ हामी ढोकामै पुग्दा त्यहाँको कर्मचारीले हामीलाई राम्रोसँग नियालेर हेर्दै भने।
सगरमाथाका देशका हामी पाँच सय त्रिपन्न स्टेप चढ्न सक्दैनौं भन्ने कुरै भएन!
अलिकति भए पनि राहत नै हुन्छ, हामीले लिफ्ट प्रयोग गर्ने। दुई सय बाइस स्टेप लिफ्ट र तीन सय ३१ स्टेप हिँडेर उक्लने निर्णय गर्दै सोही अनुसारको टिकट काट्यौं।
लिफ्टको प्रयोग गरेर बार्दलीसम्म पुग्यौं।
ओहो! कस्तो रमाइलो एकै ठाउँमा उभिएर सम्पूर्ण देश एकैपटक देख्न सकिने हामी अत्यन्त रोमाञ्चित भयौं।
यहाँबाट त यति रमाइलो देखिन्छ, माथि टुप्पाबाट हेर्दा झन् कति रमाइलो होला।
हामी उत्साहित हुँदै भर्याङ चढ्न सुरू गर्यौं। हाम्रो पछाडि जुम्लीया दिदी-बहिनीजस्तै देखिने दुई जना सेतो छाला भएका महिला थिए।
एक, दुई, तीन, चार गन्दै छिटोछिटो उक्लिएँ। भर्याङ चढ्नु पर्यो कि खुड्किला गन्दै चढ्ने मेरो बानी आजसम्म पनि गएको छैन।
साँघुरो अग्लो सुरूङ भित्र फनफनी घुमेको भर्याङ, एकजना बाहेक साइडमा अर्को उभिन पनि नमिल्ने, त्यसैले हामीहरू एकल लाइनमा थियौं।
करिब सत्तरी खुड्किला चढेपछि मलाई सास बढ्न थाल्यो।
सारै साँघुरो गाह्रो तर पनि जबरजस्ती हिँडें। करिब नब्बे खुड्किला चढेपछि रिगंटा लागेर सहनै सकिनँ, थचक्क बसेँ। जम्मा नब्बे स्टेप चढ्दा त यो अवस्था छ बाँकी दुई सय बढी कसरी चढ्ने सोचेरै निस्सासिएजस्तो भयो। न त माथि चढ्ने साहस आउँछ न त तल झर्ने आँट आउँछ।
दुई वटा कुइनाले दुईतिर हानेर सुरूङ फोडेर बाहिर निस्कौंजस्तो भयो। अर्ध बेहोसजस्तो भएँ।
‘पानी खानुस्’ भन्दै विदेशी महिलाले उनकै झोलाबाट पानीको बोतल निकालेर मलाई पानीको बोतल दिइन्।
मैले पानी खाएँ कि खाइनँ मलाई थाहा भएन तर ती महिलाले मेरो श्रीमानलाई डोन्ट वरी डोन्ट वरी भनेको चाहिँ सुनेको थिएँ। सायद उनले म निस्सासिएको देखेर मेरो श्रीमान आत्तिएको मेसो पाइछन्।
पानी खाएर एकछिन रेस्ट गरेपछि अलि बिसेक भयो। फेरि भर्याङ चढ्न सुरू गरेँ। करिब छब्बिस स्टेप चढेपछि फनफनी घुम्ने भर्याङ सकिएर सामान्य भर्याङ सुरू भयो। धेरै खुसी लाग्यो।
घुमौरो भर्याङको १०६ खुड्किला मात्र छ भन्ने पहिल्यै नै थाहा भएको भए म यति धरै अत्तासिने थिइनँ होला। मैले सबै ३३१ खुड्किला नै घुमाउरो होला भन्ने सोचेरै पनि बढी आत्तिएको थिएँ।
भोगाइभन्दा सोचाइले कति अत्ताउँछ भन्ने कुराको उदाहरण थियो यो घटना।
‘आर यु ओके? प्लिज स्लोली’, भन्दै हामीलाई सम्हाल्दै ती विदेशी महिलाद्वयले निस्सासिएको म र म निस्सासिएको देखेर आत्तिनु भएको मेरो श्रीमानलाई डोमको टुप्पोमा पुर्याइछाडेँ। जसले परेको बेलामा सहयोग गर्छ उनै नजिकको आफन्त र संसारमा सबैभन्दा पवित्र नाता भनेको मानवताको। आभारी छु ती दुवैजना महिलाप्रति।
प्रसव पीडा सकिएपछिको आन्नद जस्तै महसुस गरेँ। डोमको टुप्पोबाट भ्याटीकन सिटी नियाल्दा यस्तो लाग्यो यहाँ सभ्रान्त व्यक्तिहरू मात्र बस्छन्। शून्य दशमलव चार वर्ग किलोमिटरको तर अति सुन्दर देश। आँखा नझिम्काइकन चारै दिशा नियाल्यौं। माथि नै बसेर त कसलाई पुग्छ र? तल ओर्लनु नै थियो। विस्तारै ओर्लियौं। ओर्लिंदा भने मलाई घुमाउरो भर्याङ पनि समस्या भएन किनकि यस्तो भर्याङ १०६ स्टेपमात्र थियो भनेर म माइन्ड मेकअप भैसककेको थिएँ। सजिलै ओर्लिएँ।
विश्वको सबभन्दा सानो देश भ्याटिकन सिटीको सेन्ट पिटर बासिलाकाबाट बाहिरिँदा हामी इटालीको राजधानी रोम प्रवेश गरिसकेछौं।