साउन २१ गते शनिबार दिउँसो १२ बजेतिर दक्षिणकाली जाने बसले मलाई भन्ज्याङमा झारिदियो।
नजिकैको पसलमा एक बोतल पानी किनें। चम्पादेवी जाने बाटो सोधें। पसलेले भनेअनुसार उकालो लागें।
चार-पाँच सय मिटर नउक्लिँदै खुट्टा गल्लान् जस्तो भयो, सास फुल्न थाल्यो। जति सकिन्छ त्यति हिँड्छु, नसके फर्किहाल्छु भनेर आँट गरें। बाटो वरिपरि सुरिला सल्लाका रूख र जमिनमा हरियो घाँस मात्र थियो। बर्खामा निरन्तर पानी परेकाले होला बाटोका ढुंगामा लेउ लागेको थियो।
केही माथि पुगेपछि मोटरसाइकलको ग्वाँगुँ सुनियो। गाडीका चक्का पर्ने दुईतिर ढुंगा बिच्छयाएको बाटो आयो। पाँच-छ वटा मोटरसाइकल र स्कुटरमा युवायुवती उकालो हुइँकिरहेका थिए। सोचें- चम्पादेवी नजिकैसम्म मोटरसाइकल जान्छ कि क्या हो।
माथि पुगेपछि पो थाहा भयो- ढुंगा बिछ्याएको बाटो त हात्तीवन रिसोर्टसम्म मात्रै रैछ। रिसोर्ट माथिको चिप्लो बाटोमा पनि ती युवायुवती मोटरसाइकल/स्कुटर चढाउँदै थिए। लड्दै-पड्दै।
‘यसरी काँसम्म जान्छ?’ मैले सोधें।
एक हातमा सामान बोकेर अर्को हातले साथीको स्कुटर धकेलिरहेका एक जनाले भने- यहीँ माथिसम्म हो।
‘अनि किन नि यस्तो हिलोमा?’
‘उसको एडभेन्चर रे?,’ उनले साथीलाई देखाएर मुख बिगारे।
‘सामान टन्नै बोक्नु भको छ त?,’ मैले सोधें।
‘ड्राइ पिकनिक गर्न आएको दाइ,’ उनले भने।
उनीहरू सतंगुलबाट आएका रहेछन्। सबै जना एकै टोलका हुन् रे। बिहानैदेखि खानेकुरा आफैंले पकाएर त्यही बोकेर आएको उनले बताए।
‘ऐला पनि छ’ मैले सोधें।
‘छैन, केटाहरूले सिलप्याक किने,’ उनले भने।
उनीहरू स्कुटर धकल्दै थिए। ‘ल बिस्तारै आउनुस्’ भनेर म उकालो लम्किएँ।
भन्ज्याङमा किनेको एक बोतल पानी सक्किसकेको थियो। उकालोमा पसिना आएर होला निकै प्यास लाग्यो। जंगलै जंगलको बाटोमा पानी पाउने सम्भावना थिएन।
केहीबेर ओरालो हिँडेपछि बाटो छेउमा टिनले छाएको टहरो देखियो। त्यही टहरोमा केही युवायुवती दाउरामा आगो बालेर कुखुराको मासु पोलिरहेका थिए।
‘अहो गज्जब छ त व्यवस्था,’ मैले नजिकै गएर भनें।
सबैले पुलुक्क मलाई हेरे।
‘तपाईंहरूसँग पानी छ भने मलाई अलिकति दिनुस् न,’ मैले आफूलाई जे चाहिएको हो त्यही मागें।
‘दिन त हुन्थ्यो दाइ, हामीसँग पनि पानी अलि टाइट छ,’ मासु उनेको सुइरो आगोमाथि घुमाइरहेको केटाले भन्यो।
नभएरै नदिएका होलान् भन्ने ठानेर म त्यहाँबाट हिँडें।
अलि माथि पुगेपछि एक जना केटी हातमा पानीको बोतल बोकेर उकालो लागिरहेकी थिइन्। यिनीसँग कसरी पानी माग्ने होला सोचेर म पनि फटाफट हिँडे। माथि उनका दुई जना केटा साथीहरू पनि भेटिए।
केटाहरू भेटिएपछि मलाई पानी माग्न सहज भयो।
‘अलिकति पानी खान दिनुस् न,’ मैले भनें।
‘अलिकति किन मजाले खानुस्’ उनीहरूले मलाई बोतल नै हात लगाए।
‘मैले पनि पानी ल्याएको थिएँ एक बोतल, तर बाटैमा सकियो,’ आफ्नाबारे आफैं स्पष्टिकरण दिइहालें।
‘त्यसो हो भने त्यो बोतल तपाईं नै राख्नुस्,’ एक जना युवाले भने।
‘अनि तपाईंहरू?’
‘हामीसँग झोलामा अरू पनि छ पानी,’ उनले भने।
हाइकिङ जानेहरू झोला बोक्दा रैछन् र उनीहरूको झोलामा पानी पनि हुँदो रैछ भन्ने मैले पहिलो पटक थाहा पाएँ। म हुस्सु त हाफ पाइन्ट, जुत्ता र टिसर्ट लगाएर यसै पो हिँडेको रैछु!
‘झोलामा छ्याङ पनि छ,’ मैले जिस्काएँ।
उनीहरूले छैन भने।
‘ल आउँदै गर्नुस्’ भनेर म उकालो चढें।
केहीबेर हिँडेपछि उनीहरूले दिएको पानी पनि सकियो। यसपालि मलाई भाग्यले साथ दियो। बाटो छेउको छाप्रोमा दुई जना महिला (सायद आमा छोरी होलिन्) ले पानी, केरा, चटपटे, काँक्रालगायत झिटीमिटी बेच्न राखेका थिए।
पानी किन्न खोजें।
‘एक बोतलको ५० रुपैयाँ,’ आमैले भनिन्।
‘तल भन्ज्याङमा २० रुपैयाँमै पाइन्छ त।’
‘त्यहाँदेखि यहाँसम्म ल्याउन कम्ता गाह्रो हुन्छ।’
‘ठीक हो’ मैले भनें। त्यतिबेला ५० त के एक बोतल पानीको म सय रुपैयाँ नै तिर्न तयार थिएँ।
भोक लाग्लाजस्तो भएको थियो। मैले उनीहरूको पसलबाट एउटा काँक्रो पनि किनें। एक हातमा काँक्रो र एक हातमा पानीको बोतल बोकेर हिँडें।
फेरि उकालो आयो। केही केटाहरू माथिबाट फर्किरहेका थिए। गफ गर्दै, कराउँदै आइरहेका उनीहरू निकै रमाइरहेका थिए। मैले सोधें- ब्रोहरू त फर्किसक्नुभएछ। कति बाँकी छ चम्पादेवी पुग्न?
‘अब त आइसक्यो,’ एउटाले भन्यो।
अर्काले सोध्यो- अनि तपाईं एक्लै हो आएको?
‘के गर्नु! म त जन्मिएदेखि अहिलेसम्म एक्लै हिँडिरहेको छु,’ मैले हाँस्दै भनें।
‘कसले भन्यो तपाईं एक्लै हुनुहुन्छ भनेर,’ अघिको केटाले दुई हात फैलाउँदै बेस्सरी चिच्याएर भन्यो, ‘यत्रो नेचर छैन तपाईंको साथमा।’
‘सही कुरा’ मैले भनें।
केटाहरू ओरालो लागे।
मैले दायाँबायाँ हेरें। एकातिर हरियाली नै हरियाली। कुनै सिपालु मिस्त्रीले बडो मेहनत गरेर चटक्क मिलाएजस्ता डाँडा र जंगल। अर्कातिर काठमाडौं उपत्यकाको दृश्य अनि आकाशमा घुमिरहेको बादल। सुस्तरी छोएर जाने चिसो-चिसो हावा। त्यो केटाले साँच्चै भनेको थियो- यतिका चिजका बीचमा भएर पनि कोही कसरी एक्लो हुन सक्छ!
सिढी चढ्दै थिएँ। एउटा ढुंगामा पानको पात बनाएर त्यसको बीचमा तिर खोपेको देखें। अगाडिपट्टि कसैको नाम पनि लेखिएको थियो तर त्यो बुझिनेखालको थिएन। केटाकेटीमा गाईबाख्रा चराउन जाँदा हामी जंगलका ढुंगामा यसरी नै खोप्थ्यौं, आफूले मन पराएका मान्छेका नाम। संसारभरिका मान्छेका मनमा प्रेम एकै किसिमले उम्रिँदो रैछ र लगभग उस्ताउस्तै किसिमले पोखिँदो रैछ। यो ढुंगामा पानको पातमाथि तिर खोप्ने मान्छेको प्रेम ढुंगामा मात्र पोखियो होला कि दिलमा पनि कुँदियो होला!
भन्ज्याङबाट हिँडेको झन्डै तीन घन्टापछि चम्पादेवी आइपुग्यो। डाँडोमा सानो देवीको मन्दिर रैछ। समुद्र सतहदेखि साढे २२ सय मिटरको उचाइमा रहेको चम्पादेवीबारे चोभारको डाँडो काट्ने मञ्जुश्रीदेखि पृथ्वीनारायण शाहको एकीकरण अभियानसम्मका किंवदन्ती जोडिएका छन्। हिउँदका खुला दिनमा सर्वोच्च शिखर सगरमाथा पनि देखिने यो ठाउँमा वैशाख १ गते विशेष मेला लाग्छ रे। यो बाटो हिँड्दै गए चन्द्रागिरी पनि पुगिँदो रैछ।
चम्पादेवी मन्दिरसँगै छेउमा टिनले छाएको बस्न मिल्ने ठाउँ थियो। त्यहाँ १५-२० जना मान्छे थिए। सबै जना ग्रुपमा। एक्लो त म मात्रै।
एउटा ग्रुपका केटाकेटी चपस्टिकले कोरियन स्टाइलमा रामेन (चाउचाउ) खाइरहेका थिए। उनीहरू सबै जनाको मंगोलियन अनुहार थियो।
एकलट त ‘हाङ्गुक सारामीइयो? (तपाईंहरू कोरियन हो) भनेर सोध्दिम् सोचेको थिएँ। नेपाली नै परेछन भने झ्याउ हुन्छ भनेर हच्किएँ। नभन्दै एकछिनमा उनीहरू नेपाली बोल्न थाले।
उनीहरूसँग झोलामै बोक्न मिल्ने ग्यास थियो। पकाउनका लागि भाडा थिए, न्यापकिन पेपर पनि बोकेका थिए।
मैले फेरि सोचें- साँच्चै हाइकिङ जान धेरै कुरा पो चाहिने रैछ! म हुस्सु त हाफ पाइन्ट, जुत्ता र टिसर्ट लगाएर यसै पो हिँडेको रैछु!
भोक लागिसकेको थियो। खानलाई बाटोमा किनेको त्यही एउटा काँक्रो थियो। त्यो पनि उनीहरूसँग चक्कु मागेर काटेर खाने कि त्यसै चपाउने म अलमलमा थिएँ।
‘कस्तो मजाले चपस्टिक चलाउनु हुँदो रैछ,’ मैले बोल्ने मेसो सुरू गरें।
‘अँ, थ्यांक्स टु ठमेलको रेष्टुरेन्ट,’ एक जनाले भने।
‘तपाईंसँग यो काँक्रो काट्नलाई चक्कु छ होला?’
‘छ नि,’ उनीहरूको ग्रुपकी एकजना मात्र केटीले मलाई सानो चक्कु दिइन्।
‘नुन पनि खानुहुन्छ,’ उनले नुन राखेको बट्टा मतिर बढाइन्।
चक्कुले काँक्रो चिरा पारें। नुन दलेर खान थालें। लोकल काँक्राको स्वाद मीठो थियो र त्यसमा दलेको नुनको स्वाद झन् अर्कै मीठो लाग्यो।
‘यो नुनको स्वाद त अर्कै छ,’ मैले सोधें।
‘त्यो मेक्सिकोको नुन हो नि,’ एक जनाले भने।
‘कहाँदेखि आइपुग्यो त यहाँ?’ मैले उत्सुक भएर सोधें।
ती युवाले तिनै केटीलाई देखाएर भने- उसको मामाघर हो नि मेक्सिको!
मैले पत्याइनँ। उनैलाई सोधें- साँच्चै हो?
उनले मुस्कुराउँदै भनिन्- हो।
‘कसरी?’
‘आमा नेपाल आएको बेला यतै बुवासँग भेट भएछ अनि,’ उनले भनिन्, ‘म त यहीँ बनेपामा जन्मिएकी हुँ।’
उनको नाम दानियला रहेछ। जसको अर्थ ‘गड इज माइ जज’ हुन्छ रे। मामाघरमा पनि बसेकाले स्पानिस बोल्न सक्ने दानियलाले बताइन्।
‘अनि नागरिकता कहाँको लिनु भयो त?’ मैले सोधें।
‘नेपालकै लिएँ नि,’ उनले भनिन्।
उनको कुरा सुनेर भर्खरै संसदले पारित गरेको नागरिकता विधेयक सम्झिएँ। बुवा नेपाली र आमा मेक्सिकन भएकाले उनले सजिलै नेपालको नागरिकता पाइन्, त्यो पनि वंशजको। उनकी आमा नेपाली र बुवा मेक्सिकन भएको भए उनले नागरिकता पाउनै निकै झन्झट व्यहोर्नु पर्थ्यो। नागरिकता पाए पनि उनी अंगीकृत हुन्थिन्।
‘मेक्सिको पनि गइरहन्छु बेला बेलामा,’ उनले भनिन्।
‘दसैंमा टीका थाप्न जान त मामाघर निकै टाढा पर्यो है,’ मैले ठट्टा गरें।
उनी मुस्कुराइन् मात्र।
नेपालदेखि मेक्सिकोसम्म फैलिएको उनका बुवा-आमाको प्रेम कथा सुन्न मलाई खुब मन थियो तर उनीहरू निस्किने बेला भइसकेछ।
एक जनाले मलाई आफूहरूको ग्रुप फोटो खिचिदिन भनेर मोबाइल दिए। मोबाइल तेस्रो र ठाडो पारेर मैले उनीहरूको फोटो खिचिदिएँ। मेक्सिकन नुन चखाएकोमा धन्यवाद भनें।
यतिञ्जेलसम्म अघि मलाई बाटोमा पानीको बोतल नै दिने तीन जना पनि पुगिसकेका थिए।
एक-अर्कालाई देखेर हामी हाँस्यौं।
‘दाइ, छ्याङ खाने हो?’ एक जनाले सोधे।
बाटोमा मैले उनीहरूलाई झोलामा छ्याङ छ कि भनेर जिस्काएको थिएँ। उनीहरूले त साँच्चै बोकेका रहेछन्।
‘छ भने खाइदिम न त,’ मैले भनें, ‘फेरि तपाईंहरूलाई नपुग्ने हो कि!’
‘भरी ल्याएको छ, पुगिहाल्छ नि,’ भन्दै उनले मलाई स्प्राइटको बोतल दिए।
मैले आकाशतिर हेरेर छ्याङ मुखमा हालें। त्यसको स्वाद मोहीको जस्तैजस्तै थियो।
‘सिन्की पनि छ नि! उहाँलाई दिम्न,’ अर्का युवाले भने।
युवतीले झोलाबाट भाँडो निकालिन् र साँधेको सिन्की राखिदिइन्।
अब हामी बाटोमा भेटिएका अपरिचित यात्री मात्र थिएनौं। नजिकका साथीजस्ता भइसकेका थियौं।
उनीहरूले एक-अर्कालाई बोलाएको सुनेरै मैले तीन जनाको नाम सन्दीप, अरूण र डोल्मा हो भन्ने थाहा पाएँ। पछि सोध्दा थाहा भयो- सन्दीप र अरूण पूर्वका राई हुन्, डोल्माचाहिँ फर्पिङकी तामाङ। त्यो छ्याङ डोल्माले आफ्नै घरमा बनाएकी हुन्। साथीहरू मिलेर उनीहरू हाइकिङ आएका रहेछन्।
मैले फेरि सोचें- हाइकिङ जान त साथीहरू मिल्नुपर्दो रैछ अनि गुन्द्रुकदेखि छ्याङसम्म बोक्नुपर्दो रैछ। म हुस्सु त हाफ पाइन्ट, जुत्ता र टिसर्ट लगाएर यसै पो हिँडेको रैछु!
सन्दीपले मलाई सोधे- तपाईं के गर्नुहुन्छ?
‘सेतोपाटीमा काम गर्छु।’
‘कुन बिटमा?’
‘पोलिटिक्स।’
‘त्यसो भने तपाईंलाई एउटा क्वेइस्चन सोध्छु ल,’ उनले भने, ‘अहिलेको युद्ध हुनुमा रूस र युक्रेनमध्ये कसको गल्ती हो?’
गुन्द्रुकसँग छ्याङ खाइरहेको मलाई उनको प्रश्न रूसले युक्रेनमाथि हानेको मिसाइलजस्तै लाग्यो!
के भनौं, के भनौं भयो।
‘दुनियाँका सबै कुरा ब्ल्याक एन्ड ह्वाइट मात्र हुँदैनन्, ग्रे एरिया पनि हुन्छ। तपाईं कुन आइडिओलोजीमा विश्वास गर्नुहुन्छ भन्ने कुराले यसको उत्तर के हो भन्ने फरक पर्छ,’ मैले उनलाई प्रतिप्रश्न गरे, ‘तपाईंले कलेजमा के विषय पढ्नुभएको हो?’
सन्दीपले अंग्रेजी साहित्यमा एमफिल गरिरहेको बताए। त्यति भनेपछि मलाई उनी आफ्नै मान्छेजस्तो लागे। मैले पनि अंग्रेजीमै हो मास्टर्स गरेको। अंग्रेजी साहित्य पढेकाहरूलाई एउटा विश्वास भनौं कि भ्रम के हुन्छ भने दुनियाँ र समाज बुझ्ने सबै वादका बारेमा उनीहरू जानकार हुन्छन्।
त्यसपछि सन्दीप र मैले विश्व राजनीतिदेखि अहिले चलिरहेको नाटक खुवालुङसम्मका कुरा गर्यौं। खलिल जिब्रानदेखि युभल नोहा हरारीसम्मका किताबबारे चर्चा गर्यौं।
हाम्रा कुरा सुनिरहेका अरूणले एमबिएस सकेका रैछन्। सेयरसम्बन्धी कन्सलट्यान्टको काम गरिरहेका उनले अहिले नेप्से किन घट्यो भन्नेबारे सुनाए। बजारमा उतारचढाव हुनु स्वभाविक भएको र यसले केही समय लगानी होल्ड गर्न सक्नेहरूलाई नोक्सान नहुने उनको विश्लेषण थियो।
जाँदा म एक्लै थिएँ। फर्किँदा हामी चार जना भइसकेका थियौं।
गफ गर्दागर्दै ओरालो झरेको पत्तै भएन। निकै तल आइसकेपछि उनीहरूले खाजा खाने कुरा गरे।
चम्पादेवीको डाँडोमा मलाई छ्याङ र गुन्द्रुक दिए पनि उनीहरू आफूले खाएका थिएनन्।
उनीहरूले ल्याएको छ्याङ दुई पटक त खान हुन्न सोचेर मैले भनें- तपाईंहरू खाएर आउनुस्, म जाँदै गर्छु।
उनीहरूले मान्दै मानेनन्।
काठमाडौं सहर देखिने ठाउँनेर बसेर उनीहरूले झोला खोलें। मैले सोचेको थिएँ- उनीहरूले छ्याङ र गुन्द्रुक मात्रै बोकेका होलान्।
झोलाबाट त पुलाऊ, आलु-पनिरको तरकारी र अचार पनि निस्कियो।
सबै कुरा उनीहरूले तीन भागमा बाँडे। एउटा मलाई दिए, एउटा डोल्माले खाइन्। सन्दीप र अरूणले एकै भाँडोमा खाए। यतिका वर्षसम्म कति धेरै ठाउँमा कति धेरै मान्छेसँग खाजा खाइयो तर त्यो दिनको खाजाको स्वाद अहिले पनि जिब्रोमै छ। मसला मिसाएर पकाएको खाना माया मिसाएर बाँडी खाँदा झन् स्वादिलो हुँदो रैछ!
उनीहरू शनिबार प्राय: हाइकिङ जाँदा रहेछन्। जंगलको बाटो भएका धेरै रूटमा खानेकुरा नपाइने र पाइए पनि हाइजेनिक नहुने भएकाले खाजा बोकेरै हिँड्ने गरेको सन्दीपले बताए। उनीहरूले मलाई काठमाडौंमा हाइकिङ जाने राम्रा रूट पनि कुन-कुन हुन् भनिदिए।
भन्ज्याङ पुग्दा साढे पाँच बजिसकेको थियो। सन्दीप, अरूण र डोल्माले एकछिन थकाइ मारेर मात्रै जाने बताए। उनीहरूसँग छुट्टिनु पर्दा मलाई निकै पुराना साथीहरू छोडेजस्तो लाग्यो।
बल्खु आउने गाडी खोज्दै म सडकमा पुगें।
गोडा गलेका थिए, मन भने बाटोभरि भेटेका मान्छे सम्झेर चंगा थियो। आउँदा-जाँदा झन्डै साढे ५ घन्टा लागेको यो बाटोमा भेटिएका मान्छेहरूले मलाई दुई महिनाअघिको कन्याकुमारी यात्राको झल्को दिलाइदिए।
भन्ज्याङमा मजस्तै चम्पादेवी पुगेर फर्किएका पाँच जना केटाकेटी बल्खुतिर आउने बस कुरिरहेका थिए। म पनि उनीहरूसँगै मिसिएँ। बस पाउने छाँटकाँट नदेखेपछि हामी एउटा भ्यानको पछाडि उभिएर आउन तयार भयौं।
चोभारतिर दौडिरहेको टाटा भ्यानको पछाडि उभिँदा मैले सोचें- संसारका धेरै मान्छे राम्रा छन्, उनीहरूको बीचमा हिँड्दा कोही कसरी एक्लो हुन सक्छ र!