'अघिपछि अन्त चैतमा जन्त, पुसको महिना पनि हिमाली क्षेत्रतिर घुम्न जान्छ कोही?'
श्रीमानज्यूले पुसको महिनाको एक शनिबार स्विट्जरल्याण्डको हिमाली भू-भागतिर घुम्न जाने प्रस्ताव राख्नेबित्तिकै मेरो मुखबाट निस्केको वाक्य हो यो।
'पहिला कुरा सुनन। पुसको महिना भनेर ठिहिराउँदै पैदलयात्रा गर्ने होइन नि, आनन्द न्यानो रेलभित्र बसेर हिमाली भूभागहरू हेर्ने। पर्यटकहरूलाई हिमाली भू-भाग अवलोकन गराउने सिसाको ठूलाठूला झ्याल भएको बिस्तारै हिँड्ने रेल ग्लेसियर एक्सप्रेस चढेर यात्रा गर्ने। यो यात्रा स्विट्जरल्याण्डको एउटा हिमाली क्षेत्र जरम्याटबाट सुरू भएर अर्को हिमाली क्षेत्र सेन्टमोरिजमा सकिन्छ। विभिन्न हिमताल, हिमनदी, हिमश्रृंखला, हिमाली बस्तीहरूको दृष्यावलोकन गराउँदै हिँड्ने यो यात्रा करिब आठ घन्टाको हुन्छ। यो रेललाई स्लोएस्ट फास्ट ट्रेन अफ द वर्ल्ड पनि भनिँदो रहेछ। ग्लेसियर एक्सप्रेस चढेर स्विट्जरल्याण्डको हिमाली दृष्य हेर्न बर्सेनि धेरै पर्यटकहरू यहाँ आउँछन्। हामी पनि यही रेल चढेर स्विट्जरल्याण्डको हिमाली क्षेत्रको भ्रमण गर्न जाने कि भनेको?'
'हुन्छ, हुन्छ जाने'
उहाँको व्याख्या नसकिँदै मैले स्वीकृति दिएँ।
घुम्न जाने भनेपछि रमाउने म, यो फरक खालको यात्रा अनुभव लिने इच्छा नगर्ने कुरै भएन।
कहिले जाने भनेर केहीबेर छलफल गरेपछि २०७८ साल पुस २४ गते शनिबारको दिन निकालियो।
उसै त चिसो स्विट्जरल्याण्ड, अझ पुसको महिना, अझै भएन भनेर हिमाली क्षेत्रको भ्रमण, त्यही माथि दैनिक करिब तीस हजारको हाराहारीमा कोरोनाको संक्रमणका बिरामी थपिइरहेको अवस्था। यस्तो कठिन अवस्थामा भए पनि उक्त शनिबार हामी घुम्न जाने निर्णय गर्यौं।
भोलिपल्ट बिहान सबेरै उठेर कतै यात्रामा जानु छ भने मलाई रातभरि निन्द्रा लाग्दैन। यदि झकाएछु भने पनि ढिला भएको, गाडी छुटेको यस्तै यस्तै के के सपना देखेर हैरान। यसपालि पुस २३ गतेको निन्द्रा पनि त्यस्तै भयो।
'रेशा उठ!' भन्ने आवाजले मेरो निन्द्रा टुट्यो निन्द्रा त के भनम् तन्द्रा टुट्यो। हतार हतार तयार भएर निस्कियौं।
प्रत्येक पल्टको यात्रामा घरबाट निस्किँदा मेरो केही न केही छुटेकै हुन्छ। यसपालि पन्जा छुटेछ। बिर्सन सक्छु भनेर अघिल्लो दिन नै दराजबाट निकालेर टेबुलमा राखेको पञ्जा हिँड्ने बेला सम्झिनछु। निवासबाट निस्केर अलिक पल्तिर पुग्नेबित्तिकै थाहा त पाएँ तर फर्कने समय थिएन। दश मिनेटको पैदल यात्रामा हामी रेल स्टेसन गार कारनाभान पुग्यौं।
जेनेभाबाट (हाम्रो निवास रहेको स्थान) जरमेट (ग्लेसियर एक्सप्रेस सुरू हुने स्थान) जानको लागि बिहान सबेरै रेल चढ्यौं। बाटोमा दुइटा रेल फेरेर जरमेट पुग्दा झलमल्ल घाम लागेको थियो।
रेलबाट ओर्लिंदा हिउँमै खुट्टा टेकियो। आँखै अगाडि हिमाल। मन त खुसीले उड्यो तर सगरमाथाको देशमा जन्मिएर हुर्किएर पनि हिउँ र हिमाल चाहिँ स्विट्जरल्याण्ड आएपछि मात्र देखिएको कुरा स्वीकार्नु पर्दा कता कता लज्जा अनुभूति पनि भयो।
टलल टल्केका हिमाल, काठले बनेको चिटिक्क परेका घरहरू, घरमाथि बाक्ला हिउँका छाना, बाटोमा राखिएका मूर्तिले पनि हिउँकै टोपी लगाएकै जस्तो देखिने। बिहानीपखको कलिलो घाम छानामाथिको हिउँमा पर्दा हिउँ त सुनमा सुगन्धित हुँदो रैछ। सूर्यको किरणले हिउँ र हिमाललाई टल्काइररहेको जरमेटको त्यो दृष्य त मलाई साँच्चीकै मनोरम लाग्यो।
'रेशा अब ढिला हुन्छ घडी पनि हेर्न बिर्सिएर कता हराएको। ग्लासिएर एक्सप्रेस छुट्ने बेला भैसक्यो।'
मनोरम दृष्यपानमा रमाएको म उहाँको आवाजले झस्किएँ।
योभन्दा राम्रो ठाउँ हुन्छ र? ग्लेसियर चढी चढी हेर्नुपर्ने? मलाई त यो ठाउँ साह्रै मन पर्यो। प्रकृतिसँग मितेरी लगाइरहुँ जस्तो।
'पौने नौ भइसक्यो तिमी त मलाई छोडेर यतै बस्छयौ क्या हो?' उहाँ ठट्टा गर्दै हाँस्नुभयो।
पौने नौ! अब त साँच्चिकै ढिला हुन थालेछ। मेरा आँखा हिमालबाट हटेर रेलतिर गए।
यस्तो कोरोनाको महामारीको समयमा पनि ग्लेसियर एक्सप्रेस चढ्नका निम्ति विभिन्न देशबाट आएका पर्यटकहरूको लाइन देख्दा म छक्क परेँ। अरूबेला झन् कस्तो हुँदो हो।
टिकट र कोरोना खोपको कार्ड हाम्रो मोबाइलमै चेक गरेर हामीलाई रेलभित्र पस्न दिइयो।
कस्तो अच्चमको नियम, रेलभित्र सिटमा बस्दा मास्क लगाउन नपर्ने तर यताउता गर्दा बाथरूम जाँदा मास्क अनिवार्य!
निर्धारित समयभन्दा एक सेकेन्ड ढिला नगरी रेल गुड्यो।
बाहिरको दृष्यअवलोकन सजिलो होस् भनेर रेलको सिसाको झ्याल यति ठूलाठूला बनाइएको थियो कि यो रेल नै सिसै सिसाबाट बनेकोजस्तै लाग्थ्यो।दृष्यहरू यति मनोरम थिए कि शब्दले व्याख्या गर्नै नसकिने, आँखा झिम्काउन पनि मन नलाग्ने। आँखा झिम्किँदा केही छुटिहाल्छ कि जस्तो।
हिमाललाई नै माला लगाइदिएको जस्तो चिल्ला सफा नागबेली बाटो हरेक घरसम्म पुगेको देख्दा हिमाली बस्ती भन्ने बित्तिकै विकट, बाटो घाटोको सुविधा नभएको, दुर्गम ठाउँ भनेर मेरो दिमागमा जरा गाडेको हिमाली गाउँप्रतिको अवधरणा ती गाउ देखिने बित्तिकै उक्कियो।
काम गर्दा शरीर थाकेको अनुभव पहिला पनि गरेको हो तर लगातर एकोहोरो हेरेर आँखा पट्टिएको अनुभव पहिलो पटक गरें।
हिउँ नै हिउँको यात्रा तर न्यानो रेल बिस्तारै हिँड्थ्यो। जति राम्रो दृष्य आउँछ रेलको गति झनै कम हुन्थ्यो। रेलको कुनै कुनै बेलाको गतिले त बाल्यकालमा चढेको गाडाको सम्झना गराउथ्यो।
यात्राको क्रममा कतै हिउँले ढाकेको गाउँ, कतै स्की खेल्दै गरेका मानिसहरू, (स-साना बालबालिकाहरू समेत) सूर्य किरणले टलक्क टल्केको हिमालहरू, नदीहरू, तालहरूले मनलाई साह्रै रोमाञ्चित गरायो।
बाहिरी दृष्यको रसस्वादन गरिरहेको बेला एक्कासि रेल सुरूङभित्र छिर्दा राम्रो सिनेमा हेरिरहेको बेला झ्याप्प बत्ती गएजस्तै मन झसगं हुन्थ्यो। यस्ता हिमाल फोडेर सुरूङ्ग मार्गको निर्माण गरेर रेल सञ्चालन गरेको छ र त हामीजस्ता धेरै मानिसले हिमालका
यति राम्रा दृष्य देख्न पायौं। धन्यवाद छ यो सम्पूर्ण विकासकर्तालाई।
रेल सुरूङ बाहिर आउँदा फेरि बत्ती आएजस्तै हुन्थ्यो। स्विट्जरल्याण्डले पाएको गड गिफ्टेड मनोरम प्रकृति, यहाँका मानिसले गरेको अत्याधुनिक विकास, आहा! प्रकृति र विकासको सही समिश्रण भयो भने सुनमा सुगन्ध मात्र होइन हिरामा अत्तरनै हुँदो रैछ।
आहै ! कति राम्रो सिनहरू, दृष्यपानको क्रममा म मेरो मुखबाट एक्कासि आवाज निस्कन्थ्यो।
'अघि बिहान त जरमेट भन्दा राम्रो ठाउँ अन्त छ र? ग्लेसियर एक्सप्रेस चढीचढी हेर्नुपर्ने, भनेको हैन र तिमीले?'
'हजुरलाई थाहा छैन र? जहाँ राम्रो लाग्यो उही भुल्यो भने मान्छे कसरी अगाडि बढ्छ? रोबर्ट फर्सटको प्रख्यात कविता स्टपिङ बाई द उडको एउटा हरफ याद छ हजुरलाई? माइल्स टु गो बिफोर डाई'
रेल बाहिरको दृष्य हेर्दै टाउको पनि नघुमाइकन उहाँको प्रश्नको जवाफ दिएँ।
हामीले कानमा राखेको हेडफोनमा हाम्रो यात्राको वर्णन आइरहेको थियो तर मेरो ध्यान सुन्नमा भन्दा पनि दृष्यपान गर्नुमा नै थियो।
'हामीसँग यतिन्जेल ग्लेसियर एक्सप्रेसको यात्रा गर्नु भएको तपाईंहरूलाई धेरै धन्यवाद।'
बाहिरका दृश्यसँग रमाइरहेको म रेलको उद्घोष सुनेर झस्किएँ।
करिब आठ घन्टाको यात्रा आठ मिनेटमा नै सकियोजस्तो लाग्यो। टमक्क जमेको सेन्टमोरिज हिमताल नजिकैको रेल्वेस्टेसनमा रेल रोकियो। रेलबाट सेन्टमौरिसमा झर्दा माइनस आठ डिग्रीको चिसो जीवनमा पहिलो पटक अनुभव गरेँ।
टमक्क जमेको हिमताल देख्दा यो पनि ताल हो र जस्तै लाग्यो। संयोग पनि कस्तो पर्यो भने बिहान झुल्के घाममा जरमेटबाट सुरू भएको यो यात्रा व्रिग, अन्डरमेट, डिसेन्टी, चुर,सामडेन फिलीसुर हुँदै सेन्टमोरिजमा सूर्य अस्ताउँदै गरेको रक्तिम साँझमा सकियो।
दुवै घामले हाम्रो यात्रालाई थप रोमाञ्चाक बनाए। चार तहको लुगालाई छेडेर चिसो हावाले हाम्रो आँतलाई छोए पनि सूर्य हिमाल पछाडि चुर्लुम्म नडुब्दासम्म हामी हिमताल र हिउँमा रमाइरह्यौं।
झमक्क साँझ परेपछि हामी त्यहाँबाट जेनेभा फर्किने रेल चढेर जेनेभा निवास आइपुग्यौं।