मुस्ताङ जान मन लागेको त पहिल्यै हो, तर बल्ल यसपटक जाने मौका जुर्यो।
मसँग हुनुहुन्थ्यो प्लान इन्टरनेसनलमा काम गर्दाताकाका मेनेजर नेत्र प्रसाद उपाध्याय।
काठमाडौंबाट बेनी जाने पर्यटकीय बसको टिकट किनेर दसैंको चतुर्दशीको दिन लागियो मुस्ताङतिर। यस्तै, मुक्तिनाथ र म्याग्दी र बाग्लुङका हेर्न लायक ठाउँहरू पनि जाने कुरा भयो।
काठमाडौंको नयाँ बसपार्कबाट बिहान ७ बजे हुँकियो बस। बाटोको जाम छिचोल्दै ४ बजे बल्ल पोखरा पुगियो।
बस पोखराको हेम्जा अगाडि मध्यपहाडी लोकमार्गको हेम्जाभन्दा अगाडि पर्ने १२ किमि लामो ६ लेनको नमूना सडक हुँदै नागडाँडा, लुम्ले घान्द्रुक चोक हुँदै मोदी खोला तरेर बेलुकीको ७ बजे बल्ल पर्वतको कुश्माभन्दा अगाडिको मालढुंगामा पुग्यो।
एसियाकै सबभन्दा उँचो ( १३१ मि) भनिएको झोलुंगे पुलले यही ठाउँबाट पर्वतलाई कालीगण्डकी पारिको बाग्लुङसँग जोड्दो रहेछ। रातको समयमा पुललाई सिंगारिएको झिलिमिली बत्तीले पुल झन् आकर्षक देखिएको थियो।
मालढुंगाबाट बेनीसम्म जान बसले हामीलाई ट्याक्सीको व्यवस्था गरिदियो। सायद मान्छे कम भएकोले घाटा हुने डरले बसले त्यो जुक्ति निकालेको हुनसक्छ।
दिनभरको वर्षाले बिजोगसित हिलाम्मे भएको १३ किलोमिटर बाटो छिचोल्दै रातको ८ बजे कालीगण्डकी नदी र म्याग्दी खोलाको संगममा पर्ने बेनीको होटलमा बास बस्यौं।
त्यो होटलमा मुस्ताङ, मुक्तिनाथ जान हिँडेका र गएर फर्केका यात्रुको भिड थियो। बेनी बजारमा यात्रुको घुइँचोले होटलमा सुत्ने कोठा नपाएर रातिनै पोखरा जान तम्सिनेहरू पनि थिए।
केही दिनदेखि परेको निरन्तरको झरीको कारण बेनीबाट अलिक पर गलेश्वरदेखि अगाडिबाट बाटोको ठाउँ ठाउँमा पहिरो गएर गाडीहरूले दिनभर अड्किनु परेको थियो। ती पहिरो छिचोलेर मुस्ताङ पुग्ने सम्भावना एकदम कम भएको थाहा पायौं।
मुस्ताङ जानेहरू कि आफ्नै गाडी लिएर जाँदा रहेछन्, कि मोटरसाइकलमा जाँदा रहेछन्। हामीजस्ता गाडी न बाइक त्यतिकै जान तम्सिनेहरू मुस्ताङ पुग्नै नसकिने हो कि जस्तो लाग्यो। रेडियोले अझै भोलिसम्म पानी पर्ने सम्भावना छ भनेकोले पहिरो खुलेर बाटो सुचारू हुने सम्भावना अझै केही दिन थिएन।
भोलिपल्ट बिहानै उठेर हेर्दा झरी अलिकति कम भएको थियो। चिया पनि खाऊँ, मुस्ताङ जाने गाडीको बारेमा पनि बुझूँ भनेर होटलबाट बिहानै बाहिर निस्कियौं।
बेनी बजार त कालीगण्डकीको किनारमा रहेछ। पारिपट्टी सामुन्नेमै पर्वत जिल्लाको पहरो देखिँदो रहेछ र पहरोको फेदीमा पनि बेनी बजारको सानो भाग रहेछ।
बसपार्कमा जाँदा एउटा स्कार्पियो भेटियो। हिजो बाटोमा भेटिएका धुलिखेलबाट बाइकमा आएका १४ जना युवाको बाइक बिग्रेकाले उनीहरूको टोलीका ६ जना त्यही जीपमा चढेका रहेछन्।
उनीहरूसहित हामी दुई जना र चढेमुक्तिनाथमै होटल संचालन गर्ने एक जना महिला चढ्नु भयो र जम्मा ९ जनालाई प्रतियात्रु २\२ हजार रुपैयाँ लिएर जीप मुस्ताङतिर जाने भो।
बाटोको ठाउँ ठाउँमा पहिरो खसेको र हिलोले गाडीलाई धेरै ठाउँमा दुःख दिने कुरा सुने पनि गुरूजी म्याग्दीतिरकै स्थानीय भएकाले राम्रैसित लैजालान् भन्ने ढुक्क भइयो।
उत्तरतिर हानिएको गाडी एकैछिनमा बाटोको बायाँपट्टिबाट कालीगण्डकी किनारको गलेश्वरको मन्दिरको छेउ हुँदै अगाडि बढ्यो।
स्वस्थानीमा वर्णित त्यो मन्दिर कट्ने बित्तिक्कै रघुगंगा ( राहुघाट) नामको खोला आयो।
त्यो खोला कालीगण्डकी नदीमा मिसिने दोभानलाई रुद्रबेनी भनिँदो रहेछ र त्यसैको किनारमा रहेछ गलेश्वर धाम। त्यो खोला कटेपछि केही दिन पहिल्यै झरेको पहिरोबाट निस्केको गदगदे हिलोले बाटो छेक्यो। त्यो पहिरोको वल्तिर झन्डै एक घन्टा बसियो। गुरूजीले कसो कसो हाम्रो गाडी हिलो कटाएर निकालिहाल्नुभो, अरू गाडी हेरेको हेर्यै।
अरू गाडी जाममा फस्दा फस्दै फुत्केर हिँडेको हाम्रो गाडी पारिपट्टि देखिने अजंगका पहराहरू मुन्तिर बगेको कालै रंगको काली नदीको किनारै किनार अगाडि बढ्यो र अलि अगाडि गएपछि काली तरेर दायाँपट्टिबाट हिँड्न थालियो।
'नार्च्यांग' नामको यौटा गज्जबको छहरातिर गाडी भित्रैबाट छुस्स नजर लगाउँदै अगाडि बढिय।
एकैछिनमा गाडी कालीको दायाँपट्टि उभिएको पहरोको फेदमा पुगेपछि एक्कासि चुईँ चुईँ गर्न थाल्यो।
इन्जिन भित्र ठूलै समस्या भएको सो गाडी मर्मत गर्न जति मेहनत गरे पनि उपाय नलागेकाले बेनीबाट मिस्त्री झिकाइयो।
बिहान चियाको एक एक तुर्को पिएर हिँडेका हामीलाई भोकले तमासा देखाउन थाल्यो। धन्न काठमाडौंबाट झोलामा हालेका सुक्का बिस्कुट र बेनीमा किनेको बोतलको पानीले प्राण धान्न मद्धत गर्यो। केहीबेरमा मिस्त्री आइपुग्यो ।
२/३ घण्टा कुरेपछि गाडी बन्यो र लागियो अघितिर। एकैछिन पछि तातोपानी भन्ने ठाउँ आइपुग्यो।
तातोपानीबाट अगाडि गएपछि दाना भन्ने ठाउँमा खाना खाने होटल थिए। तर गुरूजीले रोके पो! त्यहाँबाट अलिक अगाडि गएपछि म्याग्दी सकिएर मुस्ताङ जिल्ला सुरू हुने 'काभ्रे भिर' नामको भिर देखियो, जहाँ सयौं गाडी र बाइकका लाइन थिए। ‘भातै नखाई गाडी कुदाए पनि काभ्रेको भिरमा पर्नेनै भइयो, बेकार भात नखा’को भनेर पछुतो पनि लाग्यो।
काभ्रेको भिर पुग्नेबेलामा चर्चित रुप्सेको झरना पर्दो रहेछ। गाडीको जामको पीरले त्यो झरनाको फेदमा बसेर त्यहाँको पानीमा भिज्न र फोटो खिच्न नपाए पनि झरना कटेपछि जाममा गाडी अड्किएकोले परैबाट रुप्सेको फोटो खिचियो कालीगन्डकी नदीले बनाएको। विश्वकै गहिरो भनिने 'अन्धगल्छी' त्यहीँ पर्दो रहेछ।
पारीपट्टि भिरको फेदमा साँघुरो गोरेटो थियो जसलाई सडक बन्नु भन्दा पहिले मुस्ताङ जाने यात्रुहरूले हिँड्न प्रयोग गर्दा रहेछन्।
भिरको बाटो यति साँघुरो थियो कि ढंग नपुग्ने चालकले गाडी चलाउँदा अलिकति भित्तामा गए पहरामा बजारिने र एक इन्च छेउतिर गए कालीगण्डकीमा खस्ने खतरा थियो। अहिलेको जाम हुनुको कारण भने बाटोबाट चिप्लेर कालीगण्डकीमा हामफाल्न खोजेको तर बाटोको छेउमै अड्केको एउटा ट्रक रहेछ।
माथिबाट ढुंगा बुरबुर झर्दैथे र टाढा जाँदा कतिबेला टाउकोमा ढुंगाले लाग्छ भन्ने ठेगान थिएन।
‘अब रातभर यही भिरको डिल ढुकेर बस्ने भैयो’ भन्ने चिन्ताले हुटहुटिँदै गर्दा ‘कताबाट एउटा उँधोमुन्टो भएको ट्रक तान्ने क्रेन जस्तो मेसिन आइपुग्यो र ट्रकलाई तानेर किनारा लगायो।
हाम्रो गाडी जाम छलेर अगाडि बढ्यो। हामी म्याग्दी छोडेर मुस्ताङ प्रवेश गर्यौं र रात झमक्क परेपछि मुस्ताङको प्रवेशबिन्दु घाँसा पुग्यौं।
मुस्ताङ प्रवेश गर्नको लागि कोभिड-१९ विरूद्धको खोप लगाएको हुनुपर्ने रहेछ। मैले खोपको दुबै मात्रा लगाएको भए पनि त्यतिबेला मेरो साथमा कार्ड थिएन। त्यसैले डाटा अन गरेर फेसबुक खोलें र त्यतिबेला खोप लगाएपछि फेसबुकमा राखेको फोटो निकालें। नेत्रसरले घरबाट भाइबरमा कार्डको फोटो मगाउनु भयो।
गाडी केहीछिन पछि लेते पुगेर यौटा होटलमा रोकियो अनि त्यहाँ रोटी, तरकारी र चिया खाएर दिनभरको भोक मेटियो।
त्यहाँबाट गाडी कालीगण्डकीको फराकिलो बगरमा हिँड्न थाल्यो। त्यहाँबाट अगाडि त फिलिली गाडी कुद्ने पिचै पो रहेछ!
केही बेरमा प्रख्यात स्याउ फार्म भएका टुकुचे, मार्फा लगायतका थकाली बस्ती हुँदै बेनी बजारबाट ८५ किमी परको २८ सय मिटर उचाइमा रहेको जोमसोम आइपुगेका थियौं।
त्यहाँबाट हेर्दा मुस्ताङको खुला उपत्यका र छेउ-छेउमा जुनको उज्यालोले टल्किएका मरूभूमिजस्ता नांगा पहाड देखिए।
काठमाडौं र पोखराबाट मुक्तिनाथसम्मै बस चल्दो रहेछ। निजी गाडी र भाडामा लगेका बसहरू पनि मुक्तिनाथसम्मै पुग्दा रहेछन्।
तर जोमसोम मुक्तिनाथको बीचमा चार वटा ट्याक्सी चल्दा रहेछन् र राति अबेरसम्म सेवा दिँदा रहेछन्। हामीले प्रतिव्यक्ति पाँच-पाँच सयका दरले तिरेर ट्याक्सीमा मुक्तिनाथतिर लाग्यौं ।
जोमसोमबाट उत्तरतिर माथिल्लो मुस्ताङ जाने बाटोमा १० किमी पार गरेपछि कागबेनी पुगिँदो रहेछ। त्यहाँबाट माथिल्लो मुस्ताङ जाने बाटो छोडी दाहिनेतिर उकालै उकालो १३ किलोमिटरको चिल्लो र फराकिलो सडकमा यात्रा गरेपछि मुक्तिनाथ पुगिँदो रहेछ।
जोमसोमबाट करिब ४५ मिनेट हिँडेपछि समुन्द्र सतहबाट ३८०० मिटर उचाइमा रहेको मुक्तिनाथ पुगियो र एउटा होटल अगाडि हामी झर्यौँ।
कल्पनै नगरेको ठाउँको वाइफाइयुक्त तातो पानीको व्यवस्था भएको होटलमा खाना खाई सुत्दा रातको ११ बजेको थियो ।
बिहान उठेर झ्यालको पर्दा खोली हेर्दा सामुन्नेमा हिउँले ढाकिएको पर्वत देखियो।
धौलागिरी, निलगिरी, अन्नपूर्ण, टुकुचेजस्ता हिमाल पर्वत र मनाङतिरबाट पदयात्रा गर्दै आउँदा कट्नुपर्ने भन्ज्याङमाथिको थोराङ पहाड मेरै सामुन्नेमा देख्दा म खुसीले पागलजस्तै भएँ।
होटलमा तातोपानीले नुहाउने व्यवस्था भएकोले यहाँ नुहाएर जाने अनि मुक्तिनाथमा गएर पानीमात्र छम्किने निर्णय भयो।
त्यसपछि मन्दिरतिर हिँड्यौं। होटलबाट मुश्किलले १०० कदम हिँडेपछि मुक्तिनाथ मन्दिरको प्रेशद्वार आयो।
त्यहाँबाट झन्डै १०० खुड्किला उक्लेपछि मुक्तिनाथको मन्दिरको अर्को द्वार आयो। त्यहाँबाट अलिकति तेर्सो हिँडेपछि मुक्तिनाथको मन्दिर आइपुग्यो। मन्दिरभन्दा अगाडि साना-साना दुइटा कुन्ड थिए। त्योभन्दा अगाडि मन्दिर थियो। मन्दिरभित्र जाने दर्शनार्थीहरूको लामै लाम थियो। हामी पनि लाम लाग्यौं। मन्दिरको भित्र पट्टि फोटो खिच्न मनाही भएकोले मोबाइललाई खल्ती भित्र हालियो।
मन्दिरबाट पछाडिपट्टि १०८ धारा थिए। बुढाबूढीदेखि युवायुवतीहरू त्यहाँको पानीमा नुहाउँदै थिए।
होटलमै पूरै नुहाइसकेकाले त्यहाँ धारोको पानी छम्किने काम मात्र गरेर मन्दिरभन्दा पछाडिको भागतिर लागियो।
मन्दिरको बाहिर पश्चिमोत्तर दिशामा नर्सिङ गुम्बा रहेछ। त्यहाँबाट मन्दिरको पर्खालको बाहिरपट्टि हुँदै घुमेर पूर्वतिर गएपछि सानो पार्क जस्तोमा शाक्यमुनि बुद्धको प्रतिमा रहेछ।
बाहिर पाखोमा भने अनेक चैत्यहरू थिए।
एकै ठाउँमा मन्दिर र गुम्बाहरू भएको र हिन्दु बुद्धिष्टहरू दुबैले पूजा आराधना गर्ने कारणले गर्दा यो दुबै धर्मको तीर्थस्थल भएको रहेछ।
फर्किने क्रममा मुक्तिनाथको चिनो स्वरूप सय रुपैयाँ गोटाका केही शालिग्राम किनियो।
त्यहाँबाट भात खाइवरि झोला बोकेर लागियो, १५\२० मिनेट दूरीको बसपार्कतिर। बाटोको दायाँतिर सानो गाउँजस्तो थियो। बसपार्कमा अनेकौं बस, जीप थिये, तर सबैजस्तो निजी वा रिजर्भमा आएका। झन्डै दुई घन्टा बसपार्कमा कुरेपछि पोखरा जाने एउटा बस भेटियो। जोमसोमसम्मको लागि प्रतिव्यक्ति चार सय तिरियो।
मुक्तिनाथबाट फराकिलो बाटोमा बस अगाडि बढ्यो। एकैछिनमा बाटो मुन्तिर रानीपौवा गाउँ देखियो जहाँ हिमाली शैलीमा घर र गुम्बाहरू थिए। त्यहाँ वरिपरि हिमाल मुन्तिर नांगा पहाडहरू भए पनि अलिअलि विशेष खालका स्थानीय भाषामा भोटेपिपल भनिने रूखहरू थिए भने फाँटहरूतिर जौ उवाको खेती देखिन्थ्यो।
एकैछिनमा बाटो अलिक तेर्सिएको फराकिलो ठाउँमा गाडी रोकियो। त्यहाँ घोडाहरू राखिएका रहेछन्। ती घोडा ५० रुपैयाँ तिरेर सुम्सुम्याउन र १०० तिरेर चढ्न अनि फोटो खिच्न पाइने रहेछ। १०० रुपैयाँ तिरेँ र एउटा घोडामाथि चढेर फोटो खिचें।
एकछिन पछि गाडी हिँड्यो। माथि मरूभूमि जस्ता देखिने पहाडहरू थिए भने तलतिर कालीगण्डकी नदीको किनारमा जौ र उवा अनि आलुजस्ता तरकारी बारीको हरियाली थियो।
गाडी तल कागबेनी पुगेर रोकियो।
त्यहाँबाट उत्तरतिर जाँदा लोमान्थाङ हुँदै नेपाल चीन सिमानाको कोरला नाका पुगिन्थ्यो। कागबेनीबाट दक्षिणतिर स्याउको खेती हुँदो रहेछ। त्यहाँ पनि स्याउका बगैंचा थिए।
केही बेरपछि गाडी फेरि अगाडि बढ्यो। कालीगण्डकीको किनारामा चलेको तीव्र गतिको हावाले बगरको बालुवा उडाइरहेको थियो।
केही बेरमा जोमसोम पुगेर गाडी रोकियो। हामी गाडीबाट झर्यौं ।
आफ्नो गाडी थिएन। पानी परिरहेको थियो। सोच त उपल्लो मुस्ताङ जाने थियो। तर त्यसलाई यसपटक यहीँ टुंग्यायौं। भोलि पोखरा जाने बसमा फर्किने योजन गरी संरचनामा बनेको एउटा थकालीको होटलमा छिरियो। होटलको भित्र चोक जस्तो थियो, जहाँ भुइँमा बसेर होचा बेन्च जस्ता सामग्रीमा खाना खाने व्यवस्था थियो। हामीले त्यही चोक जस्तोबाट भित्र छिर्ने एट्याच बाथरूम भएको कोठा एक हजारमा पायौं।
होटलको समुन्नेमा अलिक तल्तिर कालीगण्डकीको किनारमा जोमसोम विमानस्थल थियो।
३\४ सय घर भएको जोमसोम बजारको पारिपट्टि अलिक मास्तिर निलगिरी हिमाल चम्किरहेको थियो। वारिपट्टि माथि उक्लिँदा एउटा मन्दिर रहेछ। त्यहाँबाट जोमसोम बजार र विमानस्थलको दृश्य गजबको देखिँदो रहेछ।
त्यहाँ तारागाउँले ठूलो होटल बनाउँदै रहेछ। त्यसको पछाडिपट्टि स्याउको बगैंचा पनि बनिँदै रहेछ।
त्यहाँबाट होटलमा फर्किंदा साँझ परिसकेको थियो।
होटलमा फर्केपछि थाहा भयो, ‘कालीगण्डकीको पारिपट्टि ५ किलोमिटर पर जोमसोमबाट एक घन्टामा पुगिने ठाउँमा ‘धुम्बा लेक’ भनिने गजबको ताल रहेछ।
‘ज्या..... एकछिन अगाडि मात्रै थाहा भएको भए पुगेर आइहालिन्थ्यो, कस्तो नगै नहुने ठाउँ छुटेछ।’ भनेर पछुतो मान्दै थकाली खाना खाएर सुत्ने तरखर गरियो।