उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन। सधैं कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन्।
भारतको उकुसमुस चिर्दै उनीसँगको मिठो भेट अनि स्वर्गीय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिएँ। भेट्ने ठाउँ सुन्दरपश्चिमको चिसापानी तय भएको थियो। मध्यरातमा म चिसापानी झर्दा उनी मेरो पर्खाइमा रहिछन् त्यो निस्पट्ट रातको कुनै वास्ता नगरी। उनको सीमाना टेक्दा नै मलाई त्यो मिठो सुस्केरा र सुगन्धित पवनले स्पर्श गरिसकेकी थिइन्।
कलकल...सुमधुर आवाजका साथ उनको त्यो स्वागतले मन फुरूंग भाथ्यो। म निकै हतारिएको थिएँ, उनीसँग मिठा बात मार्न र न्यायो त्यो अंगालोमा बेरिएर जिस्किन। रात थोरै बाँकी थियो, बात धेरै गर्नु थियो, त्यसैले आराम गरें।
भोलिपल्ट बिहान सूर्यले उनको त्यो सुन्दर लोभलाग्दो बदनमा नजर नझार्दै उनले आफ्नो मिठो स्पर्श दिइसकेकी थिइन् मलाई।
त्यो लोभी सूर्यलाई मैले यसपटक जितेरै छोडें। नत्र जहिले पनि अगाडि दौडिन्थ्यो र मलाई आफ्नो पछि दौडाउथ्यो घडीको सुइँ भएर। त्यो सूर्यले डाँडा माथिबाट नियालेर हेर्न नपाउँदै उनी र मबीच धेरै बात भैसकेका थिए, वाचा कसम बाँधिसकेका थिए।
कल्पनाको प्यास मेटिँदै थियो। युगौं-युगको सम्झना र टाढा हुँदाको झल्को मेटाउने साथी त्यो तस्बिर भिन्नभिन्न अवस्थामा खिच्दै क्यामरामा कैद गरें। विचरा त्यो सूर्य। उनी र म जिस्केर बात मारी मारी रमाइरहेको देखेर डाहले झन् झन् आँखा तर्दै थियो। त्यो पारिलो रापले मलाई थकित पारी आफू रमाउन खोज्दै गरेको भान मलाई हुन्थ्यो।
निरन्तर झन् तेज हुँदै आफ्ना ईर्ष्यालु नजर मेरी उनीमाथि फिजाउँदै अत्तरयुक्त उनको बदनमा राज गर्न चाहन्थ्यो पनि। तर, त्यसको त्यो ईर्ष्याले मेरी उनी झन् सुन्दर अनि टिल टिल...चमचम...गर्दै चाँदीझैं टल्किँदै गरेको देख्दा बाटोका बटुवाहरू पनि एकछिन तस्बिर लिन्थे र राल घोट्दै जान्थे। मजस्तै हजारौं हजारको मन लोभ्याउने सुन्दरता उनीमा छ।
धेरै परदेशीहरू मेरी उनीसँग तस्बिर लिन र एकछिन भए पनि रमाउन तछाडमछाड गर्न लागेको देख्दा यो मनमा कताकता चसक्क हुन्थ्यो। हाम्रो जातै शंकालु भन्छन् र पो यो मन पनि....।
हुन त उनले भनेकी थिइन् म सबैलाई खुसी देख्न चाहन्छु, सबैको मुहारमा हाँसो होस्, मलाई माया गर्ने सबैलाई म मेरो छहारीमा बस्न दिन्छु र तिनका सबै पीर ब्यथा, दिकदारी एकछिन भए पनि बिसाऊन्। तर, त्यो भन्दैमा यो दिल सबैलाई दिएकी छैन।
किनकि, त्यसो गर्दा मेरो अस्तित्व मेटिन सक्छ, मेरो सुन्दरता हराउन सक्छ, म दुर्गन्धित बन्न सक्छु।
मैले जोडेको उत्तर र दक्षिणको सम्बन्ध, रचेको इतिहास, पाएको चर्चाले मेरो देश गर्व गर्छ अरुसामु। म यी कुरामा निकै सजग छु, म सँगैकी काली बेचिएको तीतो यर्थाथले मेरो मन मगजमा ताजै छ।
काली बेचिएको खबरले म कति रोएँ कति...। तर, कसैले मेरो चित्कार सुनेन र मेरो आवाज गुमनाम भयो।
नसुन्नेहरूले ममाथि पनि गिद्धे नजर लाएका कारण बेचिएकी काली अझै फिर्ता हुन सकेकी छैन। नेपाल माटोको देह फाडेर बगेकी काली आज छिमेकीको सुख्खा जमिन सिञ्चित गरी उब्जनी दिन बाध्य छे। ती फोहरी जिउ पखाली तिनका अन्धकार बजार बस्ती झिलीमिली पारेकी छे।
तिनै सहरमा कमली र माइली हाम्री चेलीहरू नारकीय जीवन बिताउन बाध्य छन्। बिडम्बना, कालीको मातृभूमि अन्धकार, सुख्खा र गरिबीबाट गुर्जिरहेको आज वर्षौं भैसक्यो।
बिचरी कालीको मन कति रूँदो हो ? आफ्नै मातृभूमिको यो हालत देख्दा।
धन्य कर्णाली! तिमी कति चिन्तित छौं। मेरो देशका लागि र आफ्नो भविष्यका लागि। कालीको कालो कहानीबाट भयभीत तिमी आफूसँग भएको सुन्दरता, अपार जलाशय र अमूल्य ऊर्जा सम्पत्तिले आफ्नो देश सुसम्पन्न होस् भन्ने चाहन्छे ऊ। त्यो तिम्रो उत्कट देश प्रेमी चाहनालाई म हृदयदेखि नै सलाम गर्छु।
यति भन्दै गर्दा उनको स्नेही छालले मलाई भिजाउँदै भनिन्, हेर्नुस यो मेरो सुन्दरता र सम्पन्नताको स्वार्थका लागि कतिपय ब्वाँसाहरू देशभक्तिको खोल ओढेर आउँछन् त कतिपय नाटकीय प्रेमी बनेर मलाई लुट्न चाहन्छन्। मैले प्रण गरें, हेर कर्णाली मैले तिमीलाई मेरी आमाको दर्जामा राखेको छु। म तिमीलाई काली बेचिए जसरी बेचिन दिने छैन। म मेटिन तयार छु, तर कालीको हालत हुन दिने छैन। तिम्रो सुन्दरता र सम्पन्नता थप प्रगाढ बनाउँदै मेरो घर, समाज र देश सिँगार्ने छु।
यसरी म उनकै अंगालो मै बाँधिएर बात मारिरहँदा पारि उनकै बगैंचामा दुई मयूर ढल्की ढल्की नाचिरहेका थिए। अति नै मनमोहक दृष्यकामाझ फुलेकी मेरी कर्णाली, वाह ! क्या गजब छौं कर्णाली। म उनकै मृग नयनीको सागरमा चुरुलुम्म डुब्दै उनीसँग जिस्किँदै काउकुती लगाउँदै, घरि चिमोट्दै, उनलाई हँसाई राखें।
यो सम्बन्ध कुनै एक पलको थिएन।
उनी मसँग भन्दै थिइन्- यसरी आएर मसँग केही समय रमाउने, तस्बिरसँगै टाँसिएर खिच्नेहरू धेरै आए र गए। तर, यसरी मनको कुरा नखोलेको बताइन् मेरी कर्णालीले।
म निकै दंग भएँ, यति गहिरो माया र मनको कुरा साट्न पाएँ उनीसँग। कति भाग्यमानी आफैं खुसीले गदगद।
यस्तैगरी भलाकुसारी गर्दै थियौं। तर, मन एकाएक भारी भएर आयो। किनकि मलाई बागमतीले त्रिशुली हुँदै फर्किन खबर गरिसकेको थियो र कर्णालीलाई गहिरो माया र सम्झना भन्दिनु भन्दै।
मैलै मेरी कर्णालीसँग छुट्टिने अनुमति लिएँ। उनले आफ्नो मुस्कानसहितको छालले चुम्बन गर्दै मलाई बिदा गरिन्। मैले पनि मेरी कर्णालीको स्वाभिमान अझ उँचो राख्नेर त्यो कालीको झैं अवस्था हुन नदिने बाचा गर्दै फर्किएँ मनभरि त्यही सुन्दरता सँगाल्दै। तर, उनी निरन्तर मुस्कुराइ रहिन्, मनमा केही सपना बोकी।
मैले नजरले भ्याएसम्म हेरिरहें घुम्तीले आँखा नछेक्दासम्म।
आहा! मेरी कर्णाली, यसरी नै तिमी मुस्कुराई रहनू ल!