कुरो वैशाख तिर कै हो। केही त गर्नै पर्यो भन्दै ‘टुर डे लुम्बिनी’ का अध्यक्ष मेघ आले सबैलाई झक्झकाउनु हुन्थ्यो।
कोभिड १९ संक्रमण महामारी शुरू भएयता पर्यटन व्यवसाय ओह्रालो मात्र लागेन। पर्यटकीय गतिविधि प्राय ठप्प भए।
केही समय संक्रमणदर घट्यो। विस्तारै लय समात्ने आशा गरियो। नेपाली नयाँ वर्षको शुरुवातसँगै उपत्यकामा कोरोनाको वितण्डा उकालो लाग्यो। दोस्रो लहरले पुनः थला पारिदियो। धेरैको हंसले ठाँउ छाड्यो। अन्यौल, निरासा र अनिश्चितता बढ्दै गए।
अन्यौल र अनिश्चितताका बावजुद बसन्तपुर दरवार क्षेत्रमा २०७८ साल वैशाख ४ गते, ई.सं. २०२१ अप्रिल १७ शनिबार, साइकलप्रेमीको उपस्थिति बाक्लो थियो। साइकलप्रेमी विश्व सम्पदा दिवसको पूर्व सन्ध्यामा उपत्यकाका विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदा परिक्रमा गर्ने भए।
सम्पदा साइकल कार्यक्रमका सहभागिलाई युनेस्को नेपालका आवासीय प्रतिनिधि क्रिस्टिन म्यानहार्टको सम्बोधन भयो। क्रिस्टिन हरेक वर्ष यस कार्यक्रममा सहभागि हुँदै आउनुभएको छ। सम्बोधनका क्रममा क्रिस्टिनले सहभागि सबैलाई सम्पदा संरक्षण गर्न, प्रवर्धन गर्न र साईकल संस्कृति बढाउन रमाइलो गर्दै साइकल चलाउन पाईने भएकोले खुसी व्यक्त गर्नुभयो।
नेपाल साइकल संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले संस्कृति र सम्पदा संरक्षणमा साइकलको अहम् भूमीकाबारे प्रकाश पार्नुभयो। सम्पदा संरक्षण अभियन्ता डिल्लीरत्न तुलाधरले सहभागीलाई शुभकामाना दिनुभयो। निकै छोटो सम्बोधन पछि साईकल यात्रा शुरूभयो।
१. काठमाडौं दरबार क्षेत्र
अघिल्ला वर्षझैं मरु त्वाः पुचः का महिला सदस्यहरू हाकु पटासीमा लामबद्ध थिए, साइकल यात्रीलाई विदाई गर्न। मरू त्वाः पुचः का दिदी बहिनीले निधारमा रातो टिका लगाईदिए। साइकल यात्रीलाई शुभकामना दिए। यसपछि सहभागिहरु उमा महेश्वर मन्दिरको प्राङ्गणबाट काष्ठमण्डप मरूहिटिहुँदै शहरका पुराना साँघुरा गल्ली छिचोल्दै नरदेवी, भुरूङ्ग खेल, डल्लुहुँदै स्वयंभू भगवान पाउ पुगे।
हजारौं वर्ष पुराना गल्लिका भित्री बाटो छिचोल्दै साइकल चलाउँदा क्रिष्टिन म्यानहार्ट निक्कै उत्साहित देखिन्थे। बेला बेलामा मेरो छेउमा आएर ‘दिस ईज अमेजिङ्ग, फ्यान्टास्टिक रुट’ भन्थे।
पर्यटनकर्मी तथा संरक्षण अभियन्ता मेघ आले ‘गजब भयो भाइ’ भन्दै सहभागीलाई उत्साह भर्थे।
हरेक ठाँउबारे छोटकरीमा वर्णन गर्नुपर्ने हो तर समय निक्कै कम। हनुमानढोका दरवार क्षेत्रमा घर हो कि मन्दिर छुट्टयाउनै मुश्किल। यहाँ मात्रै करिब ६० वटा महत्वपूर्ण स्मारकका बारे उल्लेख छ। सबै स्मारकमा पुग्न भ्याईदैन। जिज्ञाशा लाग्नेहरु फुर्सदमा आएर घुम्नु बेस हुन्छ।
साना गल्लीबाट भित्री चोक चोक पुगिने। बाटो बिराउन धेरै बेरै नलाग्ने। धन्न सानुरत्न डंगोल साथमा थिए, बाटो बिराए सच्याउन। नरदेबीबाट फराकिलो बाटोहुँदै स्वयम्भुतर्फ लागियो। हरेक ठाँउका कथा रोचक छन्। कथा कहानी सुन्न फुर्सदमा आउनुपर्छ।
काष्ठमण्डपबाट भगवानपाउसम्म आईपुग्दा करिब अढाई कि.मी दुरी पार हुन्छ।
२. स्वयम्यु महाचैत्य
भगवानपाउबाट थोरै उकालो लागेपछि स्वयम्भु महाचैत्य पुगिन्छ। तर मूलबाटोबाट परिक्रमा गरियो। स्वयम्भु ज्योति उत्पन्न भएको पद्मगिरीमा स्वयम्भु महाचैत्यको स्थापना गरेको स्वयम्भु पुराणमा उल्लेख छ।
मन्दिर परिसर पश्चिम पट्टिको बाटो भएर परिक्रमा गर्दा हारती माता, नागदह तथा पूर्वतर्फ बज्र छ। पर्खाल छेउ उभिएर पूर्वतर्फ हेर्दा उपत्यका छर्लङ्ग देखिन्छ।
कृपा थापाले स्वयंसेवक साइकलयात्रीको भूमीका निर्वाह गरेका थिए। साइकल यात्रामा सहभागिलाई लामबद्ध गर्ने। सचेत गराउने, आवश्यक सर सहयोग गर्ने। उनले सबै सहभागिहरु भगवानपाउमा जम्मा भइसकेको जानकारी दिए।
यात्रा अगाडि बढ्यो। विजयश्वरी, शोभाभगवती, क्षेत्रपाटी, सोह्रखुट्टे ओह्रालो, लैनचौर, उत्तर ढोका, गैह्रीधारा, टंगाल, हाँडीगाँउतर्फ मोडियो।
हाँडीगाँउलाई लिच्छवीको पहिलो राजधानी मानिन्छ। स्थानीय साइकलका पारखी राजेश श्रेष्ठ भाइले हाँडीगाँउ, गहनापोखरीलगायत विभिन्न सम्पदा देखाउँदै माली गाँउ, कालो पुल निकाले।
उकालोले कतिपयलाई निक्कै सताउँछ। सिफल उक्लनुको विकल्प छैन। सिफलबाट जय बागेश्वरी, देवपाटन, पशुपतिनाथ क्षेत्र। स्वयम्भुबाट पशुपती क्षेत्रसम्म आईपुग्दा करिब १० कि.मी दूरी तय हुन्छ।
३. पशुपतिनाथ
उपत्यकाको प्राचीन शहर हो देवपाटन। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र विन्दु आराध्यदेव भगवान श्रीपशुपतिनाथको मन्दिर।
पश्चिम पट्टिको मूलद्वारबाट मन्दिर परिसर भित्र प्रवेश गर्दा सामुन्नेमा हनुमानजीको ठूलो मूर्तीसँगै मन्दिर तिर फर्किएको नन्दी, उत्तर पूर्वमा बासुकी नाग, पूर्व मुक्ति मण्डल, तल पट्टि घाट, बागमती पारी श्लेशमान्तक वन, दक्षिणमा भैरव आदि विभिन्न मन्दिर छन्।
चार ढोकायुक्त मुख्य मन्दिर भित्र पञ्चमुखी शिवलिङ्ग स्थापित छ। पशुपति क्षेत्र निकै विस्तारित छ। एकै क्षणमा धेरै कुरा हेर्न देख्न कठिन छ। विविध कारणले गर्दा यहाँको परिक्रमा सांकेतिक मात्र भयो।
उमा कुण्ड, गौरीघाट, किरातेश्वरहुँदै गुह्येश्वरी पुगियो। गुह्येश्वरी फाँटको नामले चिनिने फाँट अब निक्कै परिवर्तन भईसक्यो। फाँट फाँट रहेन। बस्तिमा परिणत भइसक्यो। राज कुलो, खहरे बाटोमा परिणत भए। सुन्दर बाग्मतीमा स्वच्छ पानी बग्न छाडिसक्यो। स्मृतीका पाना पल्टाउँदे बाग्मती पुल तरेर कुमारीगालहुँदै बौद्धस्तुप पुगियो।
४. बौद्धस्तुप
संसारकै बौद्ध धर्मालम्बीको पवित्र तिर्थस्थल बौद्धस्तुप। मूलद्वारबाट परिसर प्रवेश गरेर स्तुप परिक्रमा गर्दा मण्डलाकारमा निर्मित स्तुप भित्र जाने ४ वटा द्वार भए पनि उत्तर पट्टिको मात्र खुल्ला रहन्छ। ढोकासँगै बुट्टेदार चाँदीले मोरिएको हारती माताको मन्दिर छ।
उत्तर ढोकाको सामुन्नेको घ्याङ्गमा अखण्ड दिप बल्छ। स्तुपको पर्खाल वरिपरि १४७ काठको चौकोस भित्र जम्मा ६५९ वटा माने छन्। ६१ वटा चौकोस भित्र ५-५ वटाका दरले ३०५ वटा र बाँकी ८६ वटामा ४-४ वटा गरि ३४४ माने छन्। हरेक ढोकामा २-२ वटा माने राखिएका छन्।
यहाँ साईकल यात्रीले पानी विश्राम लिए। बौद्ध ध्याङ्ग गुठीका धर्म गुरू रिम्पोचे भूपती बज्र लामाले साइकल यात्रीको लागि स्वागत कार्यक्रमको आयोजना गर्नुभयो। खाजा, पानीको व्यवस्था गरिदिनुभयो।
धर्मगुरूका साथै समाजसेवी बुद्ध लामा, अनमोल श्रेष्ठ, छुल्टिम लामालगायतका व्यक्तित्वले खादा लगाएर स्वागत गरे। अनुकुल मिलेसम्मका सहभागीले तिर्थाटन भरे। गुम्बामा बत्ती बाले। यसका लागि आयोजकका तर्फबाट नारायणप्रसाद गुरूङ्ग कोने दाइले संयोजनकारी भूमिका निर्वाह गर्नुभयो।
खाजा, पानी र केहीबेरको विश्रामपछि बौद्धस्तुपको कोरा (परिक्रमा) गरेर जोरपाटी, नारायणटार, दक्षिणढोकाहुँदै मूलपानी पुगियो।
लमतन्न परेको मनोरम मनोहरा फाँटमा तिब्र गतीमा बस्ती बढ्दोछ। निक्कै उर्वर मनोहरा फाँटमा अबको केहि वर्षमै घर, बस्तीमा रुपान्तरण हुनेछ। मनोहराको सौन्दर्यमात्र होइन जैविक विविधा पनि नष्ट हुनेछ। मनोहरा फाँटमा बथानका बथान हाँस विचरण गर्थे। अब कथामा मात्र सिमित हुँदैछ।
मूलपानी चौरमा दिवा खानाको व्यवस्था थियो। शरीरमा ऊर्जा भरेर चाँगुनारायणतर्फ उक्लियौं। चाँगुको उकालो निक्कै चुनौतीपूर्ण छ। जंङ्गल छिचोल्दै उकालो लाग्यौं। साइकल पारखीका रोजाइमा पर्छ कच्ची बाटो।
पक्किमा रूपान्तरणहुँदै गएकोमा केही पारखीले चिन्ता व्यक्त गरे। तर दैनिकी चलाउने स्थानीयका लागि त सुविधायुक्त बाटो त चाहियो नै।
डाँडाको टुप्पोबाट रमणीय उपत्यका देखियो। चाँगुनारायण परिसरमा जाने बाटो धेरै छ। कतिपय त साइकल काँधमै बोकेर सिँढी उक्लिए, छोटो बाटो रोजेर। कतिपय भने मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गरे।
५. चाँगु नारायण
चाँगुनारायण पुगेपछि साइकलयात्रीलाई निक्कै राहत मिल्छ। चर्को, उखरमाउलो घाम र उकालोको चुनौतीबाट छुटकारा पाईन्छ। सितल हावा, काष्ठकला, प्रस्तर र धातुकला अनुपम नमूनाले भरिएको बेजोड तथा अद्वितीय मन्दिर परिसर छाड्न मन लाग्दैन। यहाँको कलाकृती मन्दिर, मन्दिरका टुँडाल हेर्दा उतिबेलाका काष्ठकलाका विलक्षण प्रतिभा भएका कालीगढको प्रशंसा नगरी बस्न सकिन्न।
मुख्य मन्दिरको पूर्वीद्वारमा शार्दूलका ठूला दुई प्रस्तर मूर्ती छन्। मन्दिरको प्राङ्गण भित्र छिन्नमस्ताको मन्दिर छ।
मन्दिरको मूलद्वारमाथि ढलोटमा कुँदिएका विभिन्न देवी देवताका आकृति छन्। दक्षिण ढोका अगाडि कुँदिएका दुई वटा हात्तीको कलात्मक प्रस्तर मूर्ती, बिष्णु भगवानका दशावतार, वामन अवतार, नृसिंह अवतार जस्ता विविध अवतारका कलात्मक प्रस्तर मूर्ती छन्।
भित्ताहरू विविध धातु मूर्ती तथा कुदिएका काठले भरिपूर्ण छ। पश्चिमपट्टि किलेश्वर महादेवको पेगोडा शैलीको अर्को मन्दिर छ। डाँडाको रक्षार्थ स्थापना गरिएको जन विश्वास छ।
पश्चिमपट्टिको मूल द्वारको अग्र भागमा दुई ठूला ढुङ्गाका खम्बा छन्, एउटाको टुप्पामा शंख र अर्कोको टुप्पामा चक्र छ। पश्चिमपट्टिको भाग अत्यन्त कलात्मक छ। द्वारको माथि लक्ष्मीनारायण तथा गरूड कुँदिएको तोरण छ।
मन्दिरपट्टि दुई हात जोडेर घुँडा टेकी बसेको गरूडको ठूलो प्रस्तर मूर्ती छ। बायाँबाट पाँचौ र छैठौ टुँडालको बिचमा सेतो झुण्डिएको बस्तु सत्ययुगको चामलको टुक्रा भन्ने जन विश्वास छ।
चाँगुनारायणको परिक्रमा र थकान मारेपछि साइकल यात्रीको समूह भक्तपुर दरवार परिसरतर्फ लम्कियो।
६. भक्तपूर दरवार क्षेत्र
चाँगुनारायणबाट प्राचीन शहर भक्तपूरतर्फ लाग्दा ओह्रालोको चुनौती सामना गर्नुपर्छ। सानो मात्र गल्तीले पनि ठूलो जोखिम निम्ताउन सक्छ।
शहर बाहिर खहरेका छेउ छेउमा बैंश रूखहरू। डोलमा लहलह झुल्दै गहुँका बाला। कति रमाईलो छ यताको जनजीवन। करिब सात कि.मी दूरी काटेपछि भक्तपूर दरवार क्षेत्र पुगियो। भक्तपूरको बिस्का जात्रा बेजोड चल्दै थियो।
धिमे बाजाको रौनकले मस्त थियो सहर। लस्करै घरहरुका बीचमा इटा छापेको साँघुरो बाटो। धिमेबाजासहितका झाँकी। बाटो छिचोल्नै गाह्रो।
भक्तपुरमा ९९ वटा फराकिला चोक थियो भन्ने बताउँछन् अग्रजहरू। ९० सालको भूकम्पले धेरै क्षति गर्यो। अझ २०७२ सालको भूकम्पले पुराना संरचनामा धेरै नै क्षति पुर्याएको छ।
राजा भूपतेन्द्र मल्लले बनाएको प्रशिद्ध न्यातपोल (पाँच तले) मन्दिर, पचपन्न झ्याले दरवार आदि लगायतका सुन्दर सम्पदा स्थलहरुको परिक्रमा गरियो। न्यातपोलको प्राङ्गणमा भिड खचाखच थियो।
भक्तपूर पुगेपछि तन र मनले माग्छ जुजु धौ। यहाँ आए पछि जुजु धौ छुटाउनु पनि त भएन। जुजु धौ को मज्जा लिदै गर्दा शहरको चारैतर्फबाट धिमेसहितको झाँकी न्यातपोलको प्राङ्गणमा जम्मा हुँदै थियो।
धिमे बाजाको जुरुक जुरुक पार्ने धुनले सहभागीले स्वास्थ्य आचार संहिता विर्सिए। जोसमा होस गुमाए। भीडमा बुर्लुक, बुर्लुक उफ्रिएर नाच्न थाले। अरूको त के कुरा आयोजक सदस्यहरु मेघ आले, राजेन्द्र थापा, श्री प्रसाद बुढाथोकी, नारायण प्रसाद गुरुङ्ग, संघर्ष बिष्टले पनि मन थाम्न सकेनन्।
केहीबेरको मस्तिपछि सल्लाघारी, अरनिको राजमार्गहुँदै सानो ठिमीबाट देब्रे मोडिएर दधिकोट, चित्रपुर तर्फ लागियो।
यो क्षेत्रमा भौतिक पूर्वाधार विकासले निक्कै गति लिँदैछ। यहाँका हराभरा फाँटमा पनि बस्ति बाक्लिदो छ। चित्रपुरबाट बालकोट, बालकुमारी, च्यासलहुँदै कलात्मक पाटन दरवार पुगियो। बालकुमारीबाट चक्रपथको चौडा सडक छिचोल्न निक्कै हम्मे हम्मे भयो।
७. पाटन दरवार क्षेत्र
काष्ठकला, धातु कला र प्रस्तर कलाले भरिपूर्ण मद्यकालिन शहर पाटन। पाटन शहरमा भित्री बाटो भएर हिन्दु र बौद्ध धर्मावलम्बीहरुका सरोवरी देखिने चैत्य, विहार तथा मठ, मन्दिरले धार्मीक सांकृतीक विविधतामा एकताको बिषेशता झल्काउने सम्पदा धेरै छन्। तर समयको अभावले हरेक वर्ष हामी यहीँ रोकिन्छौं।
कलात्मक पाटन दरवार हातामा शिखरशैलीमा निर्मित कृष्ण मन्दिर प्राङ्गणमा आएर सम्पदा साइकल कार्यक्रम समापन भयो। यो रूटबाट साइकल यात्रा गर्दा करिब ५२ कि.मी दुरी तय हुन्छ।
यात्रालाइ लम्बाउने हो भने पाटन ढोकाबाट कुपण्डोलहुँदै बागमतीको पुल तरेर बायाँ मोडिए बाग्मती किनारमा कालमोचन, टेकुबाट जैसीदेवलहुँदै हनुढोका पुग्न सकिन्छ।
पाटन दरवार क्षेत्रबाट यहाँसम्म आइ पुग्दा करिब ८ कि.मी तय हुन्छ। यसरी एक फन्को लगाएर बिसर्जन गर्दा जम्मा जम्मी ६० कि.मी दुरी तय हुन्छ।
विश्व सम्पदा दिवसको अवसरमा टुर डे लुम्बिनीले २०७२ साल देखि शुरु गर्दै आएको छ। ‘सम्पदा साइकल’ अंग्रेजीमा ‘हेरीटेज राईड’ भनिने यो कार्यक्रममा विश्व सम्पदामा सूचीकृत सांस्कृतिक सम्पदाहरू साइकलबाट परिक्रमा परिन्छ।
यसको मुख्य उद्देश्य युवा तथा ईच्छुक साइकल प्रेमीलाई सम्पदा चिनाउने, साथै संरक्षणका लागि सजग गराउने हो। छोटो समयमा स्वास्थ्य आचार संहितालाई ध्यानमा राख्दै थोरै सहभागीका साथ यस वर्ष पनि सम्पदा साइकल आयोजना गरी सम्पदा दिवस मनाईयो।
अन्त्यमा
काठमाडौं सभ्यताको इतिहास लामो छ। रोचक कथा कहानी नभएको ठाँउ कतै भेटिन्न। सांस्कृतिक मूल्य, मान्यता, मौलिकता, रहन सहन भेषभूषा सदा जीवन्त राख्न भवी पुस्तालाई सिकाउनुपर्छ। अमूल्य सम्पदा हाम्रा गौरव हुन्। संरक्षणको जिम्मा हाम्रो काँधमा आएको छ।
साइकल वातावरण संरक्षणका तथा सम्पदा संरक्षणका लागि परिपुरक सवारी साधन हो। साइकल प्रयोग गर्नेले पर्यावरणमा प्रतिकूल असर गर्ने वा हरित गृह प्रभावित गर्ने ग्यास उत्सर्जन गर्दैन। यसले पर्यावरणीय सन्तुलन कायम गर्न मद्दत गर्छ।
धुवाँ, धूलो, अम्लिय वर्षाबाट हुने क्षयीकरण कम गर्न उनीहरुको निक्कै ठूलो योगदान छ।। दिर्घकालीन रुपमा सम्पदा संरक्षणमा निक्कै ठूलो योगदान छ। सम्पदा साइकल जुनसुकै ठाँउबाट पनि शुरु र अन्त्य गर्न सकिन्छ।
विश्व सम्पदा परिक्रमा गर्ने विभिन्न कार्यक्रम बनाएर पर्यटक आकर्षण गर्न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्धन गर्न सघाउँदै आर्थिक तथा सामजिक हित गराउँछ।
सबै फोटो सौजन्य-अजय खड्का