सामान्यतया म काठमाडौंमा दैनिक १० देखि १५ किलोमिटर बिहान मर्निङवाक गर्ने गर्छु। तर गएको साता यसको दोब्बर किलोमिटर बानेश्वरदेखि भक्तपुर र काभ्रेको सीमास्थल रानिकोटसम्म हाइकिङ गएँ।
यो हाइकिङ मेरा लागि जीवनकै यादगार बन्यो।
समयले साथ दियो कि, घुम्न निस्कने म यति नजिकै भए पनि रानीकोट अहिलेसम्म पुगेको थिइनँ। काठमाडौंका धेरै डाँडामा पुगिसकेको छु, हाइकिङ मात्र नभएर बिभिन्न माध्यमबाट पुगेको छु।
वानेश्वरस्थित नेपाल केक एण्ड ब्रेकमा प्राय भेट भइरहने लक्ष्मण भट्टराई, देवेन्द्र शाही र राकेश शाहीबीच काठमाडौंदेखि रानीकोटसम्म हाइकिङ जाने निधो भयो। बिहान ४ बजे लक्ष्मण, राकेश र म शान्तिनगरमा जम्मा भएर रानीकोटतर्फ लाग्यौं।
देवेन्द्र शाहीले लोहकन्थलीबाट हामीलाई साथ दिए। बिहान ४ बजे वानेश्वरदेखि रानीकोट तर्फ हिँडेका हामी भक्तपुरको सूर्यविनायक पुग्दा करिब ६ बजिसकेको थियो। त्यहाँ हामीलाई भरतबन्धु थापाले कुरेर बसेका थिए। बन्धुसँग भेट भएपछि हामी रानिकोट तिर अगाडि बढ्यौं।
सूर्यविनायकदेखि केही उकालो यात्रा गर्दा बिहान मर्निड वाक गर्ने मानिसको चहलपहल निकै थियो। जब सूर्यविनायक मन्दिर पार गर्यौं अनी हाइकिङको रमाईलो अनुभूति भयो। बन्धुबाहेक सबैजना यो क्षेत्रमा नयाँ थियौं। निकै रमाईलो अनुभूति भइरहेको थियो।
जब जंगल आउँथ्यो, साथीहरू निकै रमाइलो मान्दै कहिले दौडने त कहिले हिड्ने गर्न थाले। विस्तारै उकालो यात्रा गर्दैगर्दा सबै साथीहरू रमाईरहेका थिए। सूर्यविनायकदेखि पाईलट बाबासम्म यात्रा तय गर्दा कोही साईकलममा कोही हाइकिङ आइरहका मानिस बाटामा भेटिन्थे।
शनिबारको दिन यो बाटोमा सवारी साधनको अत्यधिक चाप हुने गरे पनि पछिल्लो समय कम भएको बन्धुले बताए। जब पाइलट बाबाको आश्रम जाने बाटो नजिकै पुगियो साथीहरू सडकमै ध्यान गर्न सुरू गरे।
करिब एक मिनेट ध्यान गरेपछि पुनः रानीकोटतर्फ रमाइलो गर्दे लाग्यौं। पाईलट बाबा आश्रम जाने बाटोदेखि घ्याम्पे डाँडा नजिकै रहेछ। हामी पाइलट बाबातर्फ नगएर घ्याम्पे डाँडातर्फ लाग्यौं। घ्याम्पे डाँडामा गएर चिया खाएर पुनः लाग्यौ रानीकोटतर्फ। घ्याम्पे डाँडामा साहसीक खेलहरू जिपलाइन, स्काई साइकल, क्यानोपी स्काई साइकल सञ्चालन रहेछ।
साहसिक खेलको मजा लिन पाइने भएकाले पनि पछिल्लो समय घ्याम्पेडाँडामा आन्तरिक पर्यटको घुइँचो लाग्ने गरेको छ। घ्याम्पेडाँडादेखि करिब तीन किलोमिटर दूरीमा छ रानीकोट। यो बाटो पिच छैन। पिच बाटो नभएपछि हामीसँग हाइकिङ आएका मित्र लक्ष्मण झन रमाईलो अनुभूति गर्दै थिए।
रानीकोटमा अहिले विस्तारै होटलको संख्या बढेको बन्धुले जानकारी दिए। उनी नै हाम्रा लागि गाइड थिए। हामीले रानीकोटको भिलेज हाईल्याण्ड रिसोर्टमा पहिले नै बिहानको खाना भनिसकेकाले हामी त्यतैतिर लाग्यौ।
हामी रिसोर्टमा पुग्नासाथ पानी पर्न थाल्यो। हामीले पहिले नै खबर गरेका कारण हामीलाई सहज भयो रिसोर्टमा। रिसोर्टमा आन्तरिक पर्यटकको भरिभराउ थियो। तर हामीसँगै हाइकिङ आएका मित्र लक्ष्मण भने हिँडाइ नपुगेको भन्दै थिए।
सायद पानी नपरेको भए हामी अझै केही समय हिँड्ने थियौं। तर पानी परेकाले हामी रिसोर्टमै खाना खाएर केही समय आराम गर्यौं। त्यसपछि काठमाडौंबाट आएका मित्र शिवहरी भट्टराईसँगै काठमाडौं फर्कियौं।
किन रानीकोट
आँखै अगाडि एक सय ८० डिग्रीमा हिमाल हेर्नुका साथै काठमाडौं उपत्यकाको सुन्दर दृश्य हेर्नका लागि उपयुक्त स्थान हो रानीकोट। अरनिको राजमार्गदेखि ८ किलोमिटर दुरीमा रहेको रानीकोट पुग्न सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर हुँदै जानुपर्छ।
वरिपरि जंगलको बीचमा सबैभन्दा अग्लो स्थानमा छ रानीकोट। रानीकोट धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थान हो। भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको रानीकोट समुन्द्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित छ।
यहाँबाट काठमाडौ उपत्यकासहित लाङटाङ हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ। रानीकोटबाट सबैभन्दा नजिक पर्ने हिमाल दोर्जे लाक्पा र लाङटाङ छर्लंगै देखिन्छ।
रानीकोट काठमाडौं उपत्यकासहित हिमश्रृंखला हेर्नका लागि उपयुक्त मानिन्छ। प्राकृतिक रूपले हराभरा रानीकोट क्षेत्रको घ्याम्पे डाँडासम्म बाटो पनि पिच छ।
विशेष गरी सूर्यविनायक रानीकोट हुँदै आशापुरी हाइकिङ, सूर्यविनायक रानीकोट फूलचोकी हाइकिङ जाने गर्छन्।
भिलेज हाइल्याण्ड रिसोर्टका संचालक रामसुन्दर भन्छन्, ‘रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि उपयुक्त स्थान हो।
यहाँबाट मनास्लुदेखि गौरीशंकरसम्म हिमाल आँखै अगाडि नियाल्न सकिन्छ,’ उनी भन्छन्, ‘ऐतिहासिक महत्तवका साथै सुन्दरताका हिसावले पनि घुम्न लायकको क्षेत्र हो। तर, यसको जति प्रचार–प्रसार हुनु पर्ने हो त्यति हुन सकेको छैन।
हेर्नुहोस् तस्बिरहरू