यसभन्दा अघि दुई-दुई पटक पोखरा पुगेर पनि मेरो रोजाइमा रहेका पर्यटकीय र धार्मिक नगरीको अवलोकन गर्ने अभिलाषा पूरा हुन सकेको थिएन। म त्यो अवसरको प्रतीक्षामा थिएँ।
गत २०७६ साल पुसतिरको समय थियो।
म त्यसबेला पुनर्निर्माण प्राधिकरण,अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय, नुवाकोटमा काम गरेको ७ महिना बितिसकेको थियो। त्यही बेला पोखरामा सञ्चालन हुने आर्थिक प्रशासनसम्बन्धी गोष्ठीमा सहभागी हुने जानकारी पाएँ। यो जानकारीले तिर्खाएको मृगले पानी भेटेजस्तै खुसी बनायो। गोष्ठीको लागि आवश्यक कागजपत्र तयार गरी पोखरातर्फ तोकिएकै मितिमा पुग्ने गरी थप व्यवस्थापनमा लागें।
जाडो सुरू भइसकेको थियो। त्यही माथि हिउँदे झरीको झमझम बर्सिदो पानी। कम्ती जाडो थिएन। जहाजबाट काठमाडौंबाट पोखरा जान सकिने व्यवस्था हुँदाहुँदै पनि म भने पृथ्वी राजमार्गका दायाँ बायाँ अगाडि देखिने दृष्यहरूको अवलोकन गर्दै जाने विचारले काठमाडौंबाटै पर्यटक बसको टिकट लिएर यात्रा गर्ने निधो गरें।
ठमेलबाट बिहानको त्यस्तै आठ बजेको समय थियो। पर्यटक बस पोखरातर्फ मोडिँदा यात्रासँगै मेरा मनका भावना उसै गरी मोडिन थाले।
जुन जुन विशेष ठाउँमा पुग्थें, त्यही त्यही ठाउँमा अतितको सम्झनाले मेरो मनमा डेरा जमाउन थाल्यो। नौबिसे, मलेखु, मुग्लिङ पुग्दाको अवस्थामा चालकले विश्राम लिँदा, खाजा/खानाको लागि होटलबालाले तानातान गर्ने तर खान बसिसकेपछि अतिथिको व्यवहार नगर्ने र गुणस्तरमा ध्यान नदिने प्रवृति निकै मौलाएको पाएँ।
बेनीघाट पुग्दा गजुरी गाउँपालिकाको सहभागितामा सम्पन्न पिकनिकको विछट्टै रमाइलो सम्झना नै यात्राको क्रममा अनवरत साथ दिने अभिन्न मित्र भन्दा बेजोड लाग्यो।
मलाई अलि अलि सम्झना भए अनुसार चितवनबाट काठमाडौं आउने-जाने सिलसिलामा विशेष गरी २०५० सालको वर्षायामकै याद आउँथ्यो।
बाटोमा पहिरो, डाइभर्सन आदिले घण्टौं जाम हुँदा भोक तिर्खाले जीउलाई उस्तै सास्ती हुन्थ्यो।
यस्तै, अवरोधका बीच अधिकांश मधेसतिरका दाजुभाइहरू हात हातमा चाउचाउ, चटपटे, कांक्रो,पानी लिएर यात्रीका सेवा गरिरहेका हुन्थे।
सधैंभरि कामको व्यस्तताले आफैंले आफैलाई नियालेर हेर्न नपाएको परिस्थितिमा बसको लामो यात्रा अतितलाई नियालेर हेर्ने अवसर पनि रहेछ।
करिब ६ घण्टाको यात्रापछि पोखरा बसपार्कमा ओर्लिएँ र ३ बजेतिर गोष्ठी सञ्चालन हुने लेकसाइडमा रहेको होटलमा सहभागी भएँ।
सो दिनमा गोष्ठीमा सहभागीहरूको नाम लेखाउने र बसाइको लागि कोठा बुक गर्ने काम भयो। बुक गरिएको कोठामा २ वटा बेड रहेकाले नुवाकोटतिरकै शिक्षा कार्यालयका सहकर्मी साथी अर्जुन अधिकारी र म रूम पार्टनर भएर गोष्ठी अवधिभर मित्रतालाई अझ नजिकबाट नियाल्ने अवसर पायौं।
गोष्ठी सञ्चालनसम्बन्धी कार्यतालिका अनुसार बिहानको खाजा नास्तापछि नौ बजे सुरू भई बेलुकी ४ बजेसम्म सञ्चालन हुने जानकारी पाएँ।
गोष्ठी अघि पछिका समयमा पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं पोखराका विभिन्न स्थान अवलोकन गर्ने क्रममा गोष्ठीमा सहभागी सहकर्मी साथीमध्ये अर्जुन अधिकारीसँगै पहिलो दिनको बिहान ६ बजे बाक्लै हुसु छिचोलेर विन्ध्यवासिनीको मन्दिर दर्शन गर्न पुग्यौं।
यो मन्दिर पोखराकै सबभन्दा पुरानो मन्दिर रहेछ। त्यसको वरिपरि रहेका शिव, सरस्वती,गणेश र हनुमानको मन्दिर परिक्रमा गरी फूल प्रसाद पनि ग्रहण गर्यौं।
त्यहाँको आरती र शंखको ध्वनीले मनलाई उस्तै प्रफुल्लित बनायो।
नेपालबाट मात्र नभई भारत तथा अरू विभिन्न देशबाट आउने पर्यटक, विन्ध्यवासिनी मन्दिरको दर्शनका लागि पनि त्यहाँ पुगेकै हुँदा रहेछन्।। यही विन्ध्यवासिनी मन्दिर भएर झण्डै ५ किमी दूरी पार गर्दै सराङकोट पुग्न सकिने रहेछ।
गोष्ठीको अघि-पछिको समय यसरी नै ब्यतित गर्ने क्रममा हिजोजस्तै उही समयमा दोस्रो दिन ताल बराहीको दर्शन गर्ने विचार फुर्यो। ताल बराही फेवातालको बीचमा रहेछ। फेवा गाउँको नामबाट फेवाताल र वैदाम गाउँको नामबाट वैदाम ताल भनिए पनि फेवाताल नै जनबोलीमा प्यारो लागेको शब्द हो।
डुंगामा सयर गर्दै तालबराहीको मन्दिर पुग्यौं। पोखरा घुमाइको यस पटक भने डुंगा चढ्दाको पहिलो अनुभव नै थियो, यो मेरो।
मौसमले साथ दिएको बेला फेवातालमा अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम छाया पनि देख्न सकिँदो रहेछ।
पोखरा बसाइको क्रममा फेवातालमा यी हिमश्रृंखलाको मनोरम छाया हेर्ने कोसिस गर्दा पनि मौसमले साथ नदिँदा हाम्रो प्रयास सार्थक हुन सकेन।
फेवातालको आँगनमा लै लै...माछापुच्छ्रे छाया... भन्ने सदावहार गीत, गीतमै सीमित रह्यो। प्रत्यक्ष अनुभूति गर्न पाएनौं।
हामी पोखरा बसाइको तेस्रो दिन सरांङकोट पुग्यौं। त्यस्तै मध्यान्हको समय थियो होला, त्यहाँ पुग्दा धवलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमश्रृंखलालाई पहिलेजस्तै लगभग बादलले छोपिदिएको थियो। त्यहाँबाट देखिने फेवाताल र पोखरा उपत्यका हेर्ने हाम्रो अभिलाषालाई बाक्लै तुवाँलोले निराशामात्र पोखिदियो।
झण्डै १५०० मि उचाइमा रहेको सराङकोटबाट बहने चिसो-चिसो हावाको बहाइमा आकाशमा चराझैं उड्दै गरेका प्याराग्लाइडिङ हेर्दाको रमाइलोले उसैगरी हावामा उड्ने रहर भने जगाएको थियो।
रहरलाई मनभित्रै कुण्ठित गर्दै ड्राइफुडका साथ तिर्सना र भोक सबै मेट्यौं। सराङकोटको टावरबाट अवलोकन गर्न नभ्याएका दृष्यावलोकनको लागि प्याराग्लाइडिङ र अल्ट्रालाइट उडान महत्वपूण रहेको महसुस गरें। पोखरामा बञ्जी खेल समेत सञ्चालन हुँदै आएको रहेछ।
गोष्ठी समापनपछि सबै सहभागी आ-आफ्ना गन्तव्य समाते। म भने पूरा हुन नपाएको अभिलाषा पूरा गर्ने मौकामा थिएँ। रूम पार्टनर अर्जुन अधिकारी र रसुवातिरका सहकर्मी साथी पनि त्यही मौकाको ताकमा रहेछन्। देउता खोज्दा ढुंगा मिलेजस्तै भयो। सबैको लक्ष्य एकै भएपछि बेगनास ताल अवलोकनका लागि हाम्रो मिसनको योजना पनि तत्कालै तय भयो।
पोखरा उपत्यकालाई तालहरूको सहर पनि भनिँदो रहेछ। जसमा फेवा,वेगनास ,रुपा,खास्ट, मैदी,दीपांग,कमल पोखरी, गुंदे,निउरेनी लगायतका तालमध्ये फेवा,वेगनास,रुपा,खास्टे चाहिँ अलि ठूला र चर्चामा आएका रहेछन्। हामीले यी सबै ताल घुम्ने अवसरलाई सदुपयोग गर्यौं।
सिरसिरे हावासँगै तालको वरिपरि केहीबेर चक्कर लगायौं। ताल हेराइले मात्र हाम्रो धित मरेन। यसको प्रत्यक्ष अनुभव लिन डुंगामै सयर गर्ने निधो गर्यौं।
वरिपरिको दृष्यलाई मोबाइलमा कैद गर्दै लगभग आधा घण्टाको डुंगा सयर गर्यौं। साँझतिर लेक साइडको बराही घाटसँगै रहेको मन्दिरमा आरती हेर्यौं।
हरेक बेलुका ५:३० बजेदेखि ६:०० बजेसम्म आधा घण्टा पितृको स्मृतिमा, फेवातालमा डुबेर मृत्यु भएकाहरूको स्मृतिमा, कुनै जन्मोत्सवको समेत खुसीयालीमा पनि आरती हुने गर्दो रहेछ। यहाँको दीप प्रज्वलनको झिलिमिली सहितको आरतीले पशुपतिनाथमा गरिने आरतीभन्दा कम बेजोडको लागेन। भक्तिभावमा लीन भएर यही नै सधैंका लागि बसिरहुँ जस्तो महसुस गरायो।
धार्मिक तथा पर्यटकीय हिसाबले विशेष चर्चामा रहेका भूगर्भबाट कलकल गर्दै बग्ने सेती नदीको गल्छी,चमेरे गुफा, पातले छाँगो (डेभिड फल्स), महेन्द्र गुफा, गुप्तेश्वर गुफाको साथै धर्मशिला बुद्धविहार लगायत अरू देवीदेवताको दर्शन गर्न भने समय परिस्थितिले यसपटक पनिे अभिलाषा पूरा गर्न सकिएन। पोखरामै रहेको पर्यटनसम्बन्धी एकै ठाउँबाट धेरै जानकारी लिन सकिने पर्यटन संग्रहालयको अवलोकन गर्ने साइत पनि जुरेन हामीलाई।
एकै ठाउँबाट धार्मिक, पर्यटकीय र साहसिक खेलको अनुभव लिन सकिने पोखरा, मनोरञ्जनको हिसाबले एकद्वार प्रणालीमै आवद्ध रहेछ भन्ने लाग्यो।
यात्रा गर्नु मनोरञ्जनको लागि मात्र नभई स्वास्थ्यको हिसाबले पनि उतिकै महत्वपूर्ण विषय हो। विभिन्न हिमश्रृंखलाकै बेस क्याम्पसम्म केवलकार बनाउने प्रचारबाजी पनि नसुनिएको हैन।
यसले स्थानीयको रोजी रोटीमा नकारात्मक प्रभाव त पार्छ नै, स्वास्थ्य र साहसिक पदयात्राको लागि पनि उपयुक्त नहुन सक्छ। त्यसमा पनि अन्नपूर्ण पदमार्गको रूटमा भने यो कार्यलार्ई निरूत्साहित गरिनुपर्छ।
समयमै उपयुक्त व्यवस्था नअपनाई भ्रमण वर्षलाई केवल पर्यटक ओसार्ने औजारको रूपमा मात्र सीमित गरे भ्रमण वर्ष पछि उल्टै पर्यटक घट्ने चिन्ताको विषय हुन सक्छ।
भोलिपल्टै फर्कनुपर्ने कामले त्यस्तै छ बजे बिहान निस्कें।
बाहिर सिमसिम पानीका साथ बाक्लै हुस्सु लागेको थियो। पोखरा यसै पनि नेपालको धेरै पानी पर्ने ठाउँ हो।
साथीले अलि परसम्म पुर्याएर सहयोग गर्नुभएकोमा मनमनै धन्यवाद दिएँ। यस पटक पनि बसमै काठमाडौं फर्कने निधो गरें।
बसपार्कबाट टुरिष्ट बस समातें। किनकि पोखरा जाँदाको त्यो क्षणले मलाई उसैगरी मनमष्तिष्कमा संग्रहालय बनाएको थियो।
हेमन्त ऋतुको विशेषतामाथि बाक्लै झरीले थपेको चिसोमा पनि प्रकृतिबाट प्रत्यक्ष पाएको मायाले न्यानो अनुभूति पाइरहेको थिएँ। जीवन, तीता मीठा अनुभूति बोकेको दुई नदीको संगम रहेछ।