काठमाडौं उपत्यका हेर्नका लागि पछिल्लो समय मानिसहरूको रोजाइमा परेको छ- भक्तपुरको रानीकोट। दिनमा होस या राती, काठमाडौं उपत्यकोको रमाइलो दृश्य हेर्नका लागि मानिसहरू यहाँ पुग्ने गर्छन्।
हरियाली जंगल बीचमा रहेको रानीकोट थुम्कोबाट काठमाडौं उपत्यका हेर्दा लाग्छ धर्तीको स्वर्ग भनेकै यही हो। अहिलेसम्म म रानीकोट दर्जनौं पटक पुगि सकेको छु।
कहिले सूर्यविनायकदेखि हाईकिङ गरेर होस् वा कहिले सवारी साधनबाटै फुर्सद मिल्यो कि रानीकोट पुगिहाल्छु।
कामबाट अलि फुर्सद मिल्यो कि, मलाई स-परिवार घुम्न निस्कने बानी छ। यद्यपी पछिल्लो समय कोभिडले सबै चौपट पारिदिएको छ। त्यति घुम्न जान पाएको छैन।
घरबाट टाढा जाने अवस्था नहुँदा राजधानी सँगै जोडिएको र सहजै पुग्न सकिने भएकाले पनि मलाई रानिकोट औधी मन परेको हो। रानीकोट क्षेत्र प्राकृतीक सुन्दरताले भरीपूर्ण छ।
अहिले रानीकोट क्षेत्रमै साहसीक खेल पनि सञ्चालनमा आएका छन्। यस्ले झन रानीकोटमा आन्तरिक पर्यटकको रोजाई थपेको छ। रानीको क्षेत्रको होटलहरू विस्तारै विस्तारै ब्यवस्थीत हुँदै गएका छन्। होटल क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरू पनि धेरै छ । विस्तारै-विस्तारै पर्यटकको चाप बढेपछि आफैं सुधार भएर जान्छ होला। जति पटक रानीकोट जाँदा पनि मेरो मन कहिल्यै अघाउँदैन।
केही वर्ष अघिसम्म रानीकोट त्यति चर्चामा थिएन। अहिले रानिकोट ऐतिहासिक रूपले मात्र नभएर प्राकृतिक रूपले पनि चर्चित हुँदै गएको छ। पछिल्लो समय थोरै समय निकालेका आन्तरिक पर्यटकका लागि यो पहिलो रोजाई बन्ने गरेको छ।
शहरको कोलाहल भुलेर केही समय शान्त तथा हाइकिङ गर्न रूचि हुनेको प्रमुख रोजाईमा परेको छ रानीकोट।
सूर्यविनायक–रानीकोटहुँदै आशापुरी हाइकिङ, सूर्यविनायक–रानीकोट–फुलचोकी हाइकिङ जाने गर्दछन्। यस्तै सूर्यविनायक–रानीकोट लाकुरीभञ्ज्याङ हुँदै गोदावरीसम्म चलनचल्तीमा रहेको हाइकिङ रूट पनि छ। तर यसको अझै ब्यवस्थापन भए राम्रो हुन्छ।
भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थान हो रानीकोट।
समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको रानीकोटबाट काठमाडौं उपत्यका सहित लाडटाङ हिमशृंखला १ सय ८० डिग्रीमा हेर्न सकिन्छ।
साँझ काठमाडौं उपत्यकामा बलेको झिलिमिली बत्तीले छुट्टै आनन्द दिन्छ। तर यति सम्भावना हुँदा हुँदै पनि केही पूर्वाधारको अभाव छ। जस्तै रानीकोटसम्म पुग्नका लागि लगभग दुई किलोमिटर बाटो पीच छैन। बाटो पीच नभए पनि कहिले काही पानी परेको अवस्थामा बाटोमा अप्ठयारो हुने गर्छ।
इतिहासको कुनै समयमा रानीकोटमा दरबार रहेको भनाइ रहे पनि पुष्टि हुन सकेको छैन। यहाँ बुढापाकाको भनाइअनुसार रानीकोट राजा–महाराजाको आराम गर्ने स्थान रहेको थियो ।
रानीकोटमा हाल कुनै भवन नभए पनि पुराना इँटाका अवशेष देख्न सकिन्छ। अरनिको राजमार्गबाट सूर्यविनायक मन्दिरहुँदै रानिकोट जानुपर्छ। अहिले खुल्ला चिडीयाघर बनाउने भएका कारण पनि यो क्षेत्र चर्चा परिचर्चामा रहेको छ।