समुद्र सतहबाट करिब २३४७ मिटर उचाइमा रहेको रेसुङ्गा प्रकृतिको अनुपम मिठासले सुसज्जित छ।
चिसो हावापानी, वनस्पती, जीवजन्तु र पशुपंक्षीको विविधिताले यस क्षेत्रको महत्व तथा गरिमालाई उच्च बनाएर जीवन्त राखेका छन्। रेसुङ्गाको उच्च भागबाट देखिने सेताम्मे धौलागिरी र माछापुच्छ्रे हिमशृंखलाले यसको मनमोहकतालाई झनै आकर्षक बनाएको छ। यस ठाउँमा रहेका ऐतिहासिक अभिलेख तथा किंवदन्तीले यसको पौराणिक इतिहासलाई उजागर गर्छ।
प्राचीन तपोभूमि रेसुङ्गामा कश्यप ऋषिले तपस्या गरेको र त्रेता युगमा महर्षि यहाँ बसेको इतिहास रहेको छ।
यस क्षेत्रसँग जोडिएका विभिन्न प्रसंग महाभारत तथा वाल्मीकि रामायणमा समेत उल्लेख भएको पाइन्छ। सत्य युगदेखिको तपोभूमिको रूपमा रहेको रेसुङ्गा ऋष्यशृंगबाट अपभ्रंश भई रेसुङ्गा नाम रहन गएको कथन छ।
महर्षि ऋष्यशृंग यस क्षेत्रमा तपस्या गरी बसेको थाहा पाई उहाँलाई भेट्न राम लक्ष्मण रेसुङ्गामा आएको ऐतिहासिक तथ्य समेत योसँग जोडिने गर्दछ।
सो क्रममा रामले तिर्खा मेटाउन वाणमार्फत रामकुवा बनाएको र लक्ष्मणले पनि वाण प्रहार गरी तम्घासको चारीखोलामा पानी निकालेको रोचक प्रसंग समेत यसमा उल्लेख छ।
रेसुङ्गा यज्ञशाला, सिद्धस्थान, रेसुङ्गा मठ, भ्यू टावर, महापोखरी, सानो रेसुङ्गा, गौशाला, साउने मठ लगायतका धार्मिक महत्व बोकेका यस ठाउँका यी स्थानले विभिन्न कालखण्डका ऐतिहासिक तथ्यलाई बोकेको पाइन्छ।
करिब २०० भन्दा बढी चराचुरुंगीको बासस्थान रहेको यस क्षेत्रमा यात्रा गर्दा चराका फरक-फरक आवाजले वातावरण नै संगीतमय बनेर गुन्जेको आभास मिल्छ। पर्यटकीय सम्भावना उच्च रहेको यस क्षेत्रको संरक्षण, व्यवस्थापनको काम समेत भैरहेको हुदाँ पर्यटनको अनुपम गन्तव्य बन्न यो क्षेत्र अग्रसर छ।
हेरौं केही यस क्षेत्रका तस्बीरहरू :