सिंगो पहाड एउटा ढुंगोमाथि अडिएको छ।
विश्वको आठौं आश्चर्य मानिदै आएको यहाँ दैनिक सयौंको संख्यामा मानिसहरू आउने गरेका छन्।
श्रीलंकाका कतिपय स्थानीय आज पनि यसलाई पौराणिक कथामा वर्णित एक अदभूत पूरूष ‘रावण’ को तत्कालीन राज्य ठान्ने गर्छन्।
तर, अजंगको यो चट्टानमा कुँदिएका अक्षरले फरक तथ्य र इतिहासको वर्णन गर्छन्। यही ठाउँमा झन्डै तेस्रो, चौथो शताब्दीतिर (एक हजार वर्ष पहिले) एक कश्यप नामक शासकले आफ्नो राज्य सञ्चालन गरेका थिए। ढुंगाको शिरमा आफ्नो सुन्दर दरबार निर्माण गरेका थिए।
यहाँ सिगिरिए अर्थात् सिंहको ढुंगा अचम्म गरी आश्चर्यले भरिएको छ। श्रीलंकाको शब्दकोष अनुसार सी को अर्थ सिंह र गिरिएको अर्थ चट्टान हुन्छ। त्यसैले यसलाई ‘चट्टानको सिंह’ पनि भन्ने गरिँदो रहेछ।
यो चट्टानलाई श्रीलंकाले पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ।
विश्वका जुनसुकै मुलुकका पर्यटक पनि यो चट्टानमाथि चढ्न अत्यान्त लालायित र रोमाञ्चित हुन्छन्। यही सिगिरिएबाट मात्रै श्रीलंका सरकारले वार्षिक लाखौं आम्दानी गर्दै आएको छ।
पर्यटकको सुविधाका लागि श्रीलंकाको सरकारले पछिल्लो समय सिगिरिए उक्लन फरामे रेलिङ बनाएको छ। यो बनाएसँगै पछिल्लो समय यो चट्टानमा उक्लनेको संख्या बढेको छ।
सिगिरिए चट्टान पूर्वतर्फ कुँदिएको सिंहको अगाडिका दुई खुट्टाको आकर्षक चित्र जीवन्त छ। सिंहका पञ्जाका नङ्ग्राहरू प्रवेशद्वारमै कुँदेर तत्कालिन शासकले आफूलाई सिंह जस्तै बलसाली देखाउन खोजेको हुनसक्छ।
प्रवेशद्वारको दुबैतर्फ ढुंगामा कुँदिएको सिंहका खुट्टाको त्यही आकृतिका कारण यसलाई ‘लायन रक’ को नामबाट चिन्ने गरिन्छ। ती खुट्टाबाहेक माथिको भीमकाय चट्टान पूरै भाग सिंहको शरीरसँग तुलना गरिएको छ।
जहाँ सिंह आफ्ना अगाडिका दुबै पञ्जा फिँजारेर निर्धक्क पहाडबाट नियालिरहेझैं देखिन्छ। इतिहासले भरिपूर्ण यो प्राचीन कलाकृतिले विभिन्न रहस्य बोकेको छ।
एकै साथ ‘लायन रक’ माथि उक्नल सयौं मानिसको ताँती थियो। पुसको महिना भए पनि पसिनाले निथ्रुक्क ज्यान भिजेको थियो। बढेको धड्कनमा गोडाहरू अगाडि बढ्न निकै गाह्रो भयो। यद्यपि, विश्वको आठौं आश्चर्य सिगिरिए हेर्ने हुटहुटीले मलाई पछाडि हट्नै दिएन।
एक समय धेरै मुस्किल भयो। अघिपछि सयौंको संख्यामा युवा, वृद्ध र बालबालिकासमेत उक्लिरहेको देखेर मलाई पनि अगाडि बढ्न बाध्य बनायो।
यस्तो कष्ट उठाएर किन, यतिधेरै मानिसहरू माथि उक्लिरहेका होलान् भन्ने कौतुहलताले मेरो जोश बढेर गयो।
स्यानी चौधरी, श्रीलंकामा अध्यापनरत् शिक्षक तथा हाम्रा गाइड निर्मल लोकियाना र उनका छोरासहित हामी चार जना अघिल्लो दिन नै त्यहाँ पुगेका थियौं।
पहिलो कोभिड-१९ को कहर सुरू भइनसक्दै २०७६ पुसमा हामी श्रीलंका गएका थियौं। त्यतिबेला कोरोना-सोरोनाको कुनै डर थिएन।
सिगिरिए जान हामी अघिल्लो कुरोन्यागल हुँदै नजिकै बास बस्न पुगेका थियौं। त्यो टुरिष्ट एरिया साह्रै महंगो रहेछ। हामी पुग्दा बेलुका ८ बज्न लागेको थियो। बस्नलाई राम्रा होटल भए पनि खाना नपाइने भएकाले ७/८ किलोमिटर टाढाबाट खानेकुरा लगेका थियौं।
सिगिरिएको माथि चढ्न श्रीलंकाका स्थानीयको तुलनामा बाह्य देशका पर्यटकले कयौं गुणा महंगो टिकेट खरिद गर्नुपर्ने रहेछ। स्थानीयलाई पाँच सय श्रीलंकन रूपैयाँ (करिब तीन सय नेपाली) लाग्ने टिकट नेपालीलाई प्रतिव्यक्ति पाँच हजारभन्दा बढी श्रीलंकन् रूपैयाँ लाग्नेरहेछ। अझ युरोपियन र अमेरिकी मुलुका नागरिकको हकमा अझै बढी थियो।
त्यो ‘लायन रक’ माथि चढ्नुपूर्व निकै कडा चेकजाँच भयो। तीन चार चरणको चेकजाँचपछि बल्ल प्रवेश पाइयो। ‘लायन रक’ मा फोहर हुन नपाओस् भनेर उच्च सावधानी अपनाइएको थियो।
एउटा कागजको टुक्रा वा पोलेथिनको टुक्रा पनि माथि लैजान अनुमति थिएन। यतिसम्म कि, पानीको बोत्तलको बाहिर लगाएका स्टिकर समेत सुरक्षाकर्मीले फालिदिन्थे। गुट्का, सुर्ती, चुरोट वा अन्य कुनै पनि पोलिथिन ब्याग, लाइटर, सलाई लैजान तथा खानेकुराका प्याकेटहरू त्यहाँ लैजान मनाही थियो।
अर्कौ त्यस्तै अनौठो कुरा मैले त्यहाँ देखेको थिएँ। हामी चार जना मात्रै भए पनि सिगिरिए जान एउटा हायस गाडी बुक गरेका थियौं। त्यसक्षेत्र प्रवेशद्वार अर्थात् ४/५ किलोमिटर टाढै कालोपत्रे सडकमा जताततै स-साना खाल्डा खुल्डी थिए।
बुझ्दा छक्क परें, कसैले पनि तीब्र गतिमा सवारी हाँक्न नपाओस् भनेर जानाजान सडकमा त्यसरी खाल्डै खाल्डा पारिएको रहेछ। त्यहाँबाट केही पुग-नपुग एक किलोमिटर दुरी पार गरेपछि लहरै पोखरी थिए।
ती पोखरी विगतमा गोही पाल्नेका लागि निर्माण गरिएको रहेछ। दुस्मन आए लखेटेर पोखरीमा पस्छन् वा गोहीको आहारा बनुन् भन्ने उद्देश्यले त्यसो गरिएको रहेछ। कतिले जैविक विविधता जोगाउन, दरबारमा क्षेत्रमा पानीको अभाव हुन नदिन तथा सुन्दरताका लागि पोखरी निर्माण गरिएको तर्क गरे।
मैले सिगिरिको शिरमा फोटो पत्रकार तथा स्थानीय टुरिष्ट गाइड इण्डिका जयदिशेलाई भेटेँ। सिगिरिएको इतिहास खोतल्न खोजेँ। जयदिशेका अनुसार सिगिरि अर्थात् लायन रकको निर्माण विक्रम सम्बत् चाऔं शताब्दीतिर भएको हो।
तत्कालीन समयमा श्रीलंकामा एक जना राजाको अवैध सम्बन्धबाट जन्मिएका छोराले वैद्य राजकुमारका बीचमा आधिकारिक राजा को हुने? भन्ने विषयमा विवाद भयो।
आक्रोशमा आएर राज्य प्राप्तिको लालसाले अनधिकृत ठानिएका राजा ‘कश्यप’ले आफ्नै बुवाको हत्या गरे। बुवाको हत्यापछि उनी फरार भए।
शाही अधिकार प्राप्त दाजु ‘मोक्काडा’ राजाको सिंहासनमा बसे। बुवाको हत्या गर्ने ‘कश्यप’ को खोजी गर्न मोक्काडाले चौतर्फी आफ्ना सुरक्षा फौज परिचालन गरे।
कश्यप पनि आफ्ना समर्थक र सुरक्षा फौजका साथ ज्यान जोगाउन लुक्दै भाग्दै ठूलो जंगल क्षेत्रमा प्रवेश गरिसकेका थिए।
राजा कश्यप अन्तिममा जंगलबीचको एकान्त ठाउँ सिगिरिएलाई आफ्नो किल्ला बनाएर राजकाज सञ्चालन गर्न थाले।
जहाँ कोही सत्रु प्रवेश गर्न र उक्लन सम्भव थिएन। त्यही अजंगको पहाडै अडिएको एउटै ढुंगामाथिको सिगिरिएबाट कश्यपले आफ्नो छुट्टै राज्य सञ्चालन गर्न थाले। जुन जमिनको सतहबाट झन्डै दुई सय मिटर उचाइमा छ।
राज्य सञ्चालनका क्रममा उनले सिगिरिएको चट्टानमाथि सुन्दर महल (दरबार) बनाए। चट्टानको शिरको खोपेर रानीका लागि स्नान गने पोखरी निर्माण गर्न लगाए। त्यो पोखरी अहिले पनि छ। पानीले भरिएको छ। रित्तै जानसमेत मुस्किल हुने ठाउँमा त्यतिमाथि कसरी पानी लगियो होला। यतिमात्रै होइन, राजा कश्यपले ढुंगाभरि जताततै सुन्दर कलाकृति कुद्न लगाएका थिए। जो आज पनि जीवितै छ।
त्यो अद्भुत दरबारको तल उतिबेलै निर्माण गरिएको पानी प्रणालीले आजको इञ्जिनियरिङलाईसमेत चुनौती दिएको छ।
उतिखेरै बगैंचामा निर्माण गरिएका सुन्दर फाउन्टेनहरू (ठाउँ-ठाउँमा आकर्षक ढंगले पानीका मुलहरू उम्लने जरूवा) अजीव लाग्छन्। चौथो सताब्दीमा त्यो लेबलको डिजाइन निर्माण गर्ने क्षमता चानचुने आँक्नै मिल्दैन।
तर, कश्यपको राज्य धेरै वर्ष टिक्न पाएन। एकान्त जंगल क्षेत्रमा शासन सञ्चालन गरिरहेका उनको राज्यमा आधिकारिक राजा ‘मोक्काडा’ ठूलो सैन्य जस्ताका साथ झन्डै ७ वर्षपछि आक्रमण गरे। घमासान युद्व भयो। राजा कश्यप मारिए।
त्यसपछि त्यो अद्भुत कलाकारिताले भरिएको ‘लायन रक’ राज्य सुनसान बन्यो। त्यसको झन्डै एक डेढ सय वर्षपछि अद्भुत कलाकृतिले भरिएको दरबारले बौद्ध भिक्षुलाई आकर्षित गर्यो। उचो र सुरक्षित स्थानमा बस्नु उनीहरूको लागि पनि सुरक्षाको दुष्टिकोणले बाध्यता थियो।
तर, त्यसको सयौं वर्षपछि सिगिरिएको महत्व श्रीलंका सरकारले बुझ्यो। त्यसपछि यसको संरक्षणमा जुट्यो। लायन रकमा सबैले चढ्न सकुन् भनेर फलामे तारबारसहितको सिँढी बनायो। मानिसहरू त्यहाँ जान थालेपछि बिर्सिएको सिगिरिएबारे जान्न पाए। अनि बल्ल त्यो ऐतिहासिक, पुरातात्विक, भव्य र अद्भुत कलाकारिताले भरिएको ‘लायन रक’ को चर्चा विश्वभर फैलिँदै गयो।
विश्व सम्पदा सूचीमासमेत सूचीकृत यसलाई श्रीलंकन् विश्वको आठौं आश्चर्यका रूपमा मान्ने गर्छन्।
त्यहाँ उक्लँदा तपाईंको फोक्सो र मुटु नै बाहिर निस्केला जस्तो गरी धड्कन बढ्न सक्छ। गोडाहरू काँप्न सक्छन्। शरीर पसिनाले भिज्नेछ। तर, पनि जब तपाईं माथि उक्लिनु हुन्छ, त्यहाँबाट तपाईँ सुन्दर वन जंगलको हरियाली दृश्वयावलोकन गर्न सक्नुहुनेछ। तपाईंको मन रोमाञ्चित र आनन्दित हुनेछ।
त्यो अजंगको चट्टानमाथिको दरबारमा उतिखेर राजा कसरी आवात जावात गर्थे होलान्? अझ बालबालिका र रानीहरू कसरी पुग्थे होला? माथि कसरी जान्थे त्यो कल्पना मात्र गरौं।
त्यतिमाथि कसरी मानिसहरू उक्लिए र त्यति भव्य दरबार तथा कलाकृति निर्माण गर्न सके होलान्? त्यहाँ पुगेर नियाल्दा तपाईं आँफै दंग पर्नु हुनेछ। राजा कश्यपले आफ्नो दरबारमा दुश्मन प्रवेश गर्न नसकुन् भनेर किल्ला निकै बलियो बनाएको प्रशस्तै आधार तथा प्रमाणहरू त्यहाँ छन्।
आफ्नो दरबार वा किल्ला क्षेत्रको एक डेढ किलोमिटर परसम्मको समथर ठाउँमा उनले आकर्षक ढंगका विभिन्न डिजाइन गर्न लगाएका थिए।
जंगलको बीचमा सुरूको समथर भू-भागमा ठाउँ-ठाउँमा आज पनि दुरूस्तै अन्डरग्राउन्ड पानीका फोहोराको लाइनिङ, त्यसपछि ढुंगाकै प्रवेशद्वार, ढुंगामा कुँदिएका विभिन्न आकृति, ठाउँ-ठाउँमा सिजन अनुसार राजाका लागि निर्मित ढुंगाकै राजगद्दी अर्थात आशनहरू, ढुंगाको भित्तामै अनुहार देखिने गरि निर्मित ‘मिरर वाल’ ले दैनिक सयौं पर्यटकलाई आकर्षित गरिरहेका छन् ।
मिरर वालमा तत्कालिन समयमा कुँदिएका साहित्य, कलाकृति र अक्षर अझैं पनि सुरक्षित छन् ।
इतिहासकार, पुरात्वविद तथा अध्येताका लागि सिगरिए ज्यूँदो इतिहास हो। श्रीलंकाको विगत जान्ने यो पनि एउटा खुल्ला विश्वविद्यालय समान हो।
यस्तै इतिहास झल्काउने नेपालमा पनि धेरै यस्ता ठाउँबारे राज्यले चिन्नुपर्छ।
नालापानी, कालापानी, बाइसे र चौविसेका टाकुरे राजाहरू, गोरखा दरबार र पृथ्वीनारायण शाह, लिच्छबी, मल्लकालीन, गोपाल, महिसपाल लगायतका थुप्रै राजा रजौटाले शासन सञ्चालन गरेका ठाउँलाई त्यस्तै आकर्षक गन्तव्य बनाउन सक्नुपर्छ।
परिणाम जे जस्तो भए पनि अब माओवादी सशस्त्र युद्वस्थलको संरक्षण गरी ती विशेष ठाउँमा पनि त्यस्तै पर्यटकीय सम्भावनाबारे उजागर गर्न सकिन्छ। हाम्रा थुप्रै वीर वीरंगनाका रक्तरञ्जित कथा हाम्रा पाखा पखेरा बोल्न सक्छन्। तर, कुराहरू आजै संरक्षणमा नजुट्ने हो भने छिट्टै ती सबै च्यातिँदै र खुइलिँदै जानेछन्।
तर, हामीले राजा रजौटाका शालिक, दरबार र जग्गा जमिन सबै स्वाहा पार्दै गइरहेका छौं। यसले भावी पुस्तालाई इतिहास जान्ने अवसरबाट बञ्चित मात्रै गर्दैन, देशको पर्यटन विकासमा समेत नराम्रो प्रभाव पार्न खतरा रहन्छ।