कोही ड्रोन उडाईरहेका छन्। स्थानीय टेलिभिजन च्यानल र लामा लेन्ससहित केही युट्युबर पनि छन्। सुरक्षाकर्मीकफ बाक्लै उपस्थिति छ।
दाङको तुलसीपुर क्षेत्रका प्रतिष्ठित ब्यापारी, उद्योगी, कर्मचारी, बैंकर्स, खेलाडी आदिको जमघट छ।
कतिले साइकलको स्ट्याण्ड लगाएका छन् भने कतिले त्यसै खेतमा लडाएका छन्। एक लाखभन्दा कम मूल्यका साइकल एक-दुई वटा मात्रै होलान्। ‘टु-ट्वान्टी मोटरसाईकलभन्दा महंगा साइकल?’ भन्दै केही आश्चर्य मानिरहेका थिए।
यो दृष्य २०७८ साउन २ गते बिहानको हो। तुलसीपुरस्थित गोरखा बोर्डिङ पछाडिको खाली खेतमा ‘कोरा साइकल च्यालेञ्ज २०२१’ को माहोल तातिएको थियो।
च्यालेञ्जका लागि भनेर तुलसीपुरका मात्रै नभइ २४ किमी टाढा घोराहीबाटसमेत राइडरहरू भेला भएका थिए। उनीहरू आउँदा/जाँदा साइकल चलाएरै यात्रा गरेका थिए।
साइकल राइडरका लागि उत्सवमय कार्यक्रममा तुलसीपुर र घोराहीका ६ जना महिलाले पनि सहभागिता जनाएका थिए।
गोरखा बोर्डिङहुँदै स्याउली बजार र स्याउली बजारबाट त्रि-शिद्धेश्वरी मन्दिरको परिक्रमापछि प्रतियोगिता सुरु भयो।
तुलसीपुरको वीरेन्द्र चोकहुँदै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सितलपुर सडक खण्डको उरहरी चोकसम्मको ओरालोमा राइडर खुबै बत्तिए।
राजमार्गको खाल्डा खुल्डी मात्रै थिए। टरिगाउँ पुकार पसल क्षेत्रमा सडकका खाडलकै कारण राइडरहरु आफ्नो गतिमा ब्रेक लगाउन बाध्य बने।
रोल्पा सिमेन्ट उद्योगबाट सल्यानको कपुरकोटहुँदै चुन ढुंगा बोकेर दर्जनौं संख्यामा अमेलिया कुद्ने टिपरहरुकै कारणले सडक बिग्रिएको हो।
जसबाट यो बाटो भएर यात्रा गर्ने सर्वसाधारणले निकै सास्ती खेप्नुपर्छ। त्यस्तो सडकमा राइड गर्नू पनि कम्ता जोखिम हैन।
तै पनि, साउनको हरियालीले गर्दा राइडरका मन मस्तिष्क पुकलित थिए। धान खेत र मकैबारीको हरियाली फाँटहरू हुँदै उनीहरू अगाडि बढिरहेका थिए।
करिब १० किलोमिटरको यात्रापछि उनिहरू उरहरी चोकदेखि दामोदर मार्ग हुँदै पश्चिम तर्फ लागे। आजभन्दा झन्डै ६० वर्ष पहिले तत्कालिन बडाहाकिम दामोदर भन्ने ब्यक्तिले दाङ उपत्यकाको छातिमा पूर्वदेखि पश्चिम जोड्ने गरि थुप्रै यस्ता मार्गको रेखाङ्कन गरेका थिए। दामोदारले कोरेका ती रेखाङ्कन आज दामोदर सडक खण्डका रूपमा धमाधम विकास भइरहेका छन्।
त्यसैले गाउँ घरका सडक पनि चाक्ला र फराकिला बन्दै गइरहेका छन्। घोराहीदेखि पश्चिम बबई गाउँपालिकासम्म दामोदर सडकको काम भइरहेको छ। जिल्लाकै देउखुरी उपत्यकामा पनि त्यस्ता सडक बनिरहका छन्।
उरहरीदेखि पश्चिम भित्र प्रवेश गरेपपछि गाउँरको स्तरोउन्नती भइसकेको १२ मिटर चौडा सडक कालोपत्रेको प्रतिक्षामा बसिरहेको थियो।
पहिलो पटक एउटै टिसर्ट लगाएका साइकलेको ताँती देख्नेहरू चित खान्थे। बजारबासीले बजार परिक्रमा गर्दा साइकलेलाई छत वा कौसीबाट हौसला दिइरहेका थिए।
बालबालिका, किशोर किशोरी दौडिएर सडकसम्म हेर्न आउँथे। हात हल्लाउँदै बाइबाई गर्थे। ठाउँ ठाउँमा अधवैसे, जेष्ट नागरिकहरु सोधपुछ गर्थे
म पनि साइकलमै भए पनि तस्बिर लिनकै लागि सकि नसकी अगाडि दौडिएको हुन्थेँ। तुलसीपुर ११ बेलटाकुराको उकालोमा बर पीपलको चौपारी छ। त्यहाँ बसेका एक जना युवाले मलाई सोधे, ‘के यो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको खुसियालीमा निकालिएको साइकल र्याली हो?’
मैले ती मित्रलाई हाँसेर हैन भनेर जवाफ दिएँ। यो ‘कोरो साइकल च्यालेञ्ज’ हो भनेपछि उनी दंग परे। साइकलको पनि प्रतियोगिता हुन्छ ?, के-के सोध्धै थिए- गफिन धेरै सयम थिएन। म साथीहरु संगै पछाडि दौडिएँ।
केही बेरमै हामी प्राचिन थारू राजा दंगिशरणको प्राचिन दरबार स्थल सुकौरा पुग्यौं। जहाँ चोकमा मानिसको बाक्लै जमघट थियो। घाँसका भारी बोकेर आइरहेका महिला थिए। उनीहरुले पनि चासो मानेर सोधे। त्यो चोकभन्दा करिब चार सय मिटर पश्चिम लागे पातुखोला आउँछ।
त्यही खोलाले तुलसीपुर र दंगिशरण गाउँपालिकाको सीमाना छुट्याएको छ। पातु खोला जिल्लाकै एक ठूलो खहरे खोला हो। ढुँगा, बालुवा, गिट्टीको खानी पातुखोला चर्कौ दोहनको शिकार भएको छ।
यही खोलाको बालुवा गिट्टीको कारोबार गर्नेहरु आज डाहा गर्न लायक जीवनशैली छ। तर, खोला र त्यसको पानी भने पृथ्बीको गर्भ भित्र भित्रै थप भासिदै गएको छ।
अहिले स्थानीय पालिकालाई खोलाबाट खोलाजन्य बस्तु निकासीका लागि अनुमति दिने, ठेक्का लगाउने अधिकार छ। त्यसैले यस्ता खोलाहरु कतिपय जनप्रतिनिधिका लागि पनि कमाउने प्रमुख स्रोत बनेका छन्। ठूला नेता, जनप्रतिनिधि र कतिपय कहलिएका ब्यापारीको पनि यस्ता खोलाहरुमा अदृष्य रुपमा लगानी छ।
प्रहरी प्रशासनका उच्च ओहादाका मानिसका लागि यस्ता खोलाहरु दुहुना गाई समान हुन्। प्रहरीका अधिकारीहरु सरूवा भएर जाँदा करोडौं कुम्ल्याएर जान्छन् भन्ने आरोप लाग्ने गर्छ। जेहोस, त्यो कुरा यत्तिमै बिट मारौं।
चर्कौ दोहनले खोला गहिरो भइ किसानका खेतबारीमा कुलोमार्फत पानी डोर्याउन निकै सकस भइसकेको छ। किसानलाई रूवाएर, पुरै गाँउ बस्ति मारेर तस्करलाई पोस्ने खेल बन्द हुन जरूरी छ।
खोलामा तटबन्ध गरि साँघुरो पार्ने र प्राकृतिक रुपमा बग्न नदिएर बंगाउने खेलले भविस्यमा ठूलो क्षति बेहोर्नुपर्ने खतरा आइलाग्न सक्छ। पातुखोलाको पुल क्रस गरि हामी बैबाङ तर्फ लाग्यौं। बैबाङ थारुको मौजा हो। नेकपा एमालेका नेता महेश चौधरीको गाउँ पनि हो। यहाँका थारूको अझैं पनि पसस्तै जग्गा जमिन छ। यहाँका चौधरी नै जमिनदार हुन्।
बैबाङ जाने बाटो कालो पत्रे भइसकेको रहेछ। बस्तीबिहिन हरिया खेतका फाँटहरु बीचको कालो पत्रे सडकमा दर्जनौं साइकल यात्रुहरु पंक्तिबद्ध भएर कुदिरहेको दृष्य खुबै हेर्न लाएक थियो। आफूपनि साईकलमै भएको हुँदा धेरै त्यस्ता लोभलाग्दा दृष्यहरु कैद गर्न पाइएन। किनकि, रोक्यो भने आफू पछाडि पर्ने अवस्था जो थियो।
आँकाशमा बादल थियो। पानी पर्ला पर्ला जस्तो। त्यो बादलले हामी साइकलेलाई भने चर्कौ घामबाट जोगाएको थियो। सायद किसानलाई पनि काम गर्न सजिलो भएको थियो। ठाउँ ठाउँमा किसान खेतमा गोडमेल गरिरहेका देखिन्थे। गाई बस्तु चराउनेहरु पनि बाटै भरि भेटिन्थे। उनीहरु हामीलाई रमाईलो मानेर हेरिरहन्थे।
***
शारीरिक ब्यायामका लागि साइकल चलाउनु फाइदै फाइदा छ। कुनै बेफाईदा छैन। तै कति शारीरिक ब्यायमका लागि साइकल चलाउनेलाई खेतबारीमा काम गर्न सल्लाह दिन्छन्।
बैबाङमा एक ब्यक्तिले भनेका थिए, ‘हामीले जस्तै खेतबारीमा साँझ बिहान मज्जाले काम गरे हुन्छ नि, यसरी साईकल चलाएर समय बर्बाद गर्नुभन्दा त्यसबाट फाइदा पनि हुन्थ्यो।’ गाउँ घरमा जस्तो सस्तो जग्गा जमिन बजारमा कहाँ हुनू। ‘सानो घडेरीमा घर बनाएर बसेकाले माटो टेक्न त पाउँदैनन्’, मैले भनेको थिएँ।
त्यसैले कतिपयले साईकलेलाई ‘पेट पाल्न नभइ, पटे फाल्ने’ को जमात भनेर टिप्पणी गरेको मैले सुनेको छु। दिनभरी कार्यालय जाने, शारीरिक ब्यायाम नगर्ने अल्छी, भद्दा, पेट बाहिर निस्किएका मात्रै नभइ दिर्घ रोगी हुने खतरा हुन्छ।
उनीहरुका लागि साईकल एउटा गतिलो अभ्यासको माध्यम बन्दै जान थालेको हो। बैबाङको आसपासमा स्थानीय खोला थुनेर माछा मारिरहेका थिए। हामी दामोदर मार्ग छोडेर पश्चिम नलागी उत्तरतर्फ लाग्नुपर्ने भयो। तर, हेमेन्द्र खड्का र बिमल पौडेल दामोदरमार्ग हुँदै पश्चिम तर्फ लागे। किनकि, उनीहरूले १०० किमी राईड गर्ने प्रण गरेका थिए।
बैबाङभन्दा उत्तर हेकुली गाउँ छ। त्यता उक्लदै गर्दा बीचमा माया खोला आयो। खोलामा पुल थिएन। साइकल कुदाएरै पार गर्नुपर्ने अवस्था थियो। सबैले जुत्ता लगाएका थिए। जुत्ताको ख्याल नगरि पार गरे।
त्यसको नजिकै डबरा खेतको उकालो आयो। त्यो उकालो हिलाम्मे थियो। असारे विकासको नमूना त्यहाँ देख्न पाइन्थ्यो। असारे विकासले राज्यलाई ठूलो क्षति पुग्छ। बाढी पहिरोले बगाउँदा। त्यो उकालोमा साईकल डोर्याउनुको बिकल्प रहेन। बाटोको सुरक्षाको लागि निर्माणाधिन पक्की वालको केही अंश लडिसकेको थिए।
त्यसपछि हेकुली गाँउ आयो। नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री दीपक गिरीको पुर्खौली घर छ। दंगीशरण गाउँपालिकाको केन्द्र पनि सोही हेकुली गाउँमै छ।
गिरी ९ महिने सिँचाई मन्त्री हुँदा दाङ उपत्यका वृहत सिँचाई आयोजनाको कार्यालय तुलसीपुरमै स्थापना भयो। त्यसले हाल धमाधम डिप बोरिङ गर्ने, पानी संचयको लागि ड्याम र नहर निर्माण गर्ने काम गरिरहेको छ। जसबाट बाह्रैमास दाङमा सिंचाई सुविधा पुर्याउने उद्धेश्य लिइएको छ।
हेकुलीदेखि उत्तरतर्फ सिधा र कालोपत्रे बाटो छ। उकालो भए पनि साथीहरू जोशिएर राइड गरे। हामी अगाडि पुगेकाहरु तुलसीपुर–सुर्खेत सडक खण्डमा पर्खिएर बसेका थियौं।
त्यहाँदेखि झन्डै ६ किलोमिटर पूर्वको यात्रापछि हामी तुलसीपुरको दोघरे आइपुग्यौं। चिनजानकै एक जना शिक्षक समेत मिलेर त्यहाँ ‘मट्का चिया घर’ खोलेका रहेछन्। उनी स्वागतमा आए।
यो घर खुलेको महिना दिन पनि पुगेको रहेन छ। त्यहाँ प्रवेश गर्नासाथ पानी दर्कियो। हामी सबैको खाना त्यही थियो। खाना खाइ सके पनि पानी परिरह्यो। मट्का चिया सञ्चालकले राइडर मध्ये १०० किमी यात्रा गर्ने दुई जनालाई दोसल्ला ओढाएर सम्मान गर्यो। मायाको चिनो दियो। पानी रोकिएपछि हामी सबै त्यहाँबाट नयाँ प्वाँक राखेर निस्कियौं। नियमित साईकल चलाउने र समय समयमा यस्ता राईडहरु राख्ने कुराहरु भयो। घोराहीका साथीहरु फर्किदा पनि साईकलबाटै जाने चाहाना ब्यक्त गरे।
तुलसीपुरबाट पूर्व २४ किलोमिटर दुरी पारे गरे मात्रै घोराही आउँछ। उनीहरुलाई बिदाईका हात हल्लाउँदै बिदाई भयौं।
***
दाङका महिला पनि साइकलिङमा आकर्षित हुँदै गएका छन्। खास गरि शारीरिक श्रम नगर्ने सहर बजारका मानिसहरु साइकिलिङमा आकर्षित हुँदै गएका हुन्।
साइकल चलाउँदा फाइदै फाइदा छन्। शारीरिक ब्यायमसँगै वातावरणमा कुनै नकारात्मक प्रभाव पार्दैन, आन्तरिक पर्यटन पवर्धनमा टेवा पुग्छ।
करिब दुई वर्ष अगाडि तुलसीपुरका युवा प्रतिष्ठित ब्यवसायी पर्वत बस्नेतलाई प्यारालाईसिस भयो। काठमाडौं पुगेर लामो उपचार गर्नुपर्यो। लाखौं खर्च भयो।
चिकित्सकको सल्लाह अनुसार उनले साइक्लिङ सुरू गरे। त्यसपछि उनलाई कुनै पनि स्वास्थ्य समस्या भएको छैन। उनले ब्यायामका रूपमा नियमित साइकल चलाउँदै आएको छन्। यस्ता उदाहरण थुप्रै छन्।
अन्य प्रतियोगिता जस्तो फुटबलमा प्रायः आपसमा विवाद, झैं-झगडा र कुटाकुट भएको पाइन्छ। तर, साइकल प्रतियोगितामा त्यस्तो विवाद र झगडा हालसम्म कतै भएको पाइएको छैन।
बरू साइकल राइडरका बीचमा साइकलको चेन जस्तै आपसमा न्यानो सम्बन्ध स्थापित भएको पाइन्छ।
पछिल्लो समय भाइचारा, सद्भाव र सौहार्दपूर्ण वातावरण निर्माण गर्न साइकलले भूमिका निर्वाह गर्दै आएको छ।
पटक/पटक मेची–महाकाली साइकल यात्रा गर्नेहरू हुन वा एक जिल्लाबाट अर्कौ जिल्लामा राइड गर्ने। उनीहरुले पर्यटन पवर्धन र आपसी सदभाव मजबुत बनाउन भूमिका निर्वाह गर्दै आएका छन्।
साउन २ गते अर्थात हरेक जुलाई १७ मा आयोजना गरिने कोरो च्यालेञ्जको अर्थ चिनियाँ भाषामा परिक्रमा भन्ने हुन्छ।
साईकलबाट धार्मिक स्थल, मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चा आदिको परिक्रमा गर्नु र पर्यटन प्रवद्धनमा सघाउनु यसको उद्धेश्य रहेको दाङ जिल्ला साईकल संघका अध्यक्ष रेशम केसीले बताए।
‘हामी जति किलो मिटर यात्रा गर्छौं त्यही अनुरुप रकम डोनेसन गर्ने गर्छौं,’ केसीले भने ‘त्यसरी डोनेट गरेको रकम हामी सामाजिक क्षेत्रमा क्रियासिल संघ संस्थालाई दान गर्ने गरेका छौं,’ उनले भने।
स्वच्छिक रूपमा रकम संकलन गरि साइकलेले गत वर्षसम्म मुलुकर ७० लाख रुपैंया जति बिभिन्न संघ संस्थालाई दान दिइएको केसीले जानकारी दिए।
रूकुम र बैतडीमा साइकलको डोनेसनबाट प्रसुती केन्द्रहरू स्थापना गरिएका छन्। यस पटक पनि तुलसीपुरका हेमेन्द्र खड्काले सामाजिक सञ्जालमा डोनेसनको अभियान चलाएर दुई दिनमै ५० हजार आर्थिक संकलन गर्न सफल भए।
उनले उक्त रकम तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्री गाउँस्थित ‘दिदी घर’ संस्थालाई सबै रकम हस्तान्तरण गर्ने बताए।
उक्त संस्थाले अनाथ बालबालिकालाई संरक्षण गर्नुका साथै शिक्षा प्रदान गर्दै आएको छ। गत वर्ष पनि कोरो च्यालेञ्जका क्रममा दाङमा झन्डै १८ हजार संकलन भएको थियो।
कार्यक्रममा दाङ साईकल सिटीका अध्यक्ष ललित श्रेष्ठ, उपाध्यक्ष खुमबहादुर न्यौंपानेले बिगतमा आफूहरूले एक दुई जनाबाट सुरु गरेको साइकल क्रेज बढ्दै गएको भन्दै खुसी साटेका थिए।
हाल तुलसीपुर र घोराहीमा गरि झन्डै १०० को हाराहारीमा शारीरिक ब्यायामका लागि दैनिक रुपमा साइकल चढ्ने गरेका छन्।
प्रतियोगितामा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियान्ता बिमल रिजाल, तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ लेखा अधिकृत ललित घर्ती, डिभिजन वन कार्यरत लमहीमा कार्यरत कर्मचारी रश्मिराज अधिकारी, बैंकर रञ्जन कोईराला, ब्यापारीहरु रञ्जन सिंह, हेमन्द्र खड्का, बिमल पौडेल, गृहणी शर्मिला केसी, खेलाडी क्रिजना पुन मगर लगायत ८० जना बढी साइकले सहभागी थिए।