वि सं. २०७६ जेठ महिनाको १ गते।
उखरमाउलो गर्मीसँगै पुनर्निर्माण प्राधिकरण नुवाकोटमा हाजिर भएँ।
तोकिएको कार्यालय र समयमा हाजिर हुनु मेरो दायित्व भित्रैको कुरा थियो। छेवैमा बगिरहेको त्रिशूलीको मन्द हावामा समेत ऐतिहासिक नगरीले मन मष्तिकमा छुट्टै उत्सुकता थपिरहेको थियो।
जेठ महिनाको अन्तिम हप्ता।
यसपालि मनसुन अलि ढिलै सुरू भएकोले नदीहरूले आफ्नो स्वरूप बदलिसकेका थिएनन्। वसन्त सकिएर गृष्म ऋतु प्रारम्भ भैसकेको थियो। मुनाहरूले जवानी लिइसकेकाले रूखहरूमा बाक्लै हरियाली देख्न सकिन्थ्यो।
घुम्नु भनेको फिरन्तेको जस्तै समय कटाउनु मात्रै होइन। त्यसले दिने अभूतपूर्व सन्तुष्टि पनि हो। चिकित्सा विज्ञानले पनि भ्रमण गर्नु भनेको मानिसको रोगहरूको निदान र स्वस्थ जीवनका लागि अनिवार्य सर्त भएको यथार्थतालाई आत्मसात गरेको छ। यसर्थ घुमेर जीवनमा नयाँ अनुभव, ऊर्जा, उत्साह थप्न सकिने भएकोले बेला-बेलामा घुम्नु जरूरी पनि रहेछ।
पुन हिलको चर्चा परिचर्चा धेरै पहिलेदेखि सुनिए पनि त्यहाँ पुग्ने अवसर भने जुरेको थिएन। जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै त्यो अवसर पनि जुरायौं।
यात्रामा निमित्त कार्यालय प्रमुख विकी लाखासहित साथीहरू सन्दीप लम्साल, विशाल सापकोटा, सवारी चालक यादव प्रसाद थपलिया र मसमेत ५ जना सहभागी भयौं। हामी विदुरबाट म्याग्दी जिल्लामा अवस्थित पुनहिल जाने क्रममा त्रिशूली किनारै किनार पृथ्वी राजमार्ग समात्न पुग्यौं।
राजमार्ग पक्रनु थोरै अघि गल्छि भन्ने स्थानमा महेश खोला आएर त्रिशूलीमा मिसिँदोरहेछ।
गल्छी हुँदै गजुरी पुग्दा एक महिना अघि मात्र गजुरी गापामा रही काम गरेको सहयात्रीसँगकोे यादले मलाई त्यहाँको भूगर्वीय चुम्बकत्वले तानेझैं गरायो। त्यस कार्यालयका जनप्रतिनिधि र कर्मचारी बीचको समझदारी उत्तिकै सम्झन लायक थियो। मलेखुबाट अघि बढ्ने क्रममा बेनिघाट पुग्दा त्रिशूली पारिपट्टि रहेको पिकनिक स्पटमा मेरो नजर कता कताबाट पर्न गयो। गएकोे २०७५ माघमा गापाको सहभागितामा सम्पन्न पिकनिकको सम्झनाले टुटेको स्मृतिलाई पुन: जोडिदिएको थियो।
मलेखुबाट चितवनको भण्डारा निस्कने बाटो सम्पन्नताको क्रममा अघि बढिरहेको जानकारी पनि मैले त्यतिबेलै पाएको थिएँ।
त्यसपछि अघि बढ्ने क्रममा हुग्दी पुग्यौं। यातायात चल्नु अघि यही स्थानबाट हात्तीवांग, ज्यानडाला, शक्तिखोर हुँदै चितवन निस्कन सकिने रहेछ। त्यो ठाउँबाट थुप्रै पैदल यात्री कामको सिलसिलामा गोर्खादेखि चितवन आउने/जाने क्रममा राजमार्ग सँगै रहेको नाकै ठोसिने अग्लो डाँडो उक्लेर जानुपर्ने रहेछ।
हामीसँगै विदुरदेखि पछ्याउँदै आएको त्रिशूलीले पश्चिम दिशाबाट आउँदै गरेको मर्स्याङ्दीसँग मुग्लिङमा जम्काभेट हुँदा हाम्रो साथ चटक्कै छोडेको थियो।
मन र गाडीका रफ्तार उस्तै उस्तै थियो। गाडी धर्तीमा गुडिरहेको थियो। मन उडेर आकाश मार्ग हुँदै पुनहिलतर्फ दौडिरहेको थियो। मर्स्याङ्दीसँग मितेरी लगाएको हावाले मनैदेखि चञ्चलता प्रदान गरिरहेको थियो। दायाँबायाँका डाँडापाखा, खोला र हरियालीले हाम्रो यात्रालाई उस्तै रमणीय बनाइरहेको थियो।
समय बिहानको १० बजेको हुँदो हो। पोखरा पुग्नुअघि दमौलीमा खाना खान ओर्लियौं। हाट बजार हेर्न एक जना मात्र नभई जोडी मिलेर (दमली) जाने हुँदा दमौली नामाकरण हुन आएको हो भन्ने कुरा पनि खाना खाने क्रममा यहीँबाट जानकारी पाएँ।
खानापछि केही समय आराम गर्यौं र पोखरातर्फ हानियौं। पोखरामा अलमल गर्नुपर्ने खासै कारण नभएकाले हामी अघि बढिरह्यौं। बेला-बेलाका उमंगका उछालमा हाँसोसँगै आत्मीयता उसैगरी साटिएको थियो।
कहिले खोलाको किनारैकिनार, कहिले पहाड काटेर बनाएको बीच बाटो त, कहिले नागबेली हुँदै , कहिले ठाउँ ठाउँका खाल्टाखुल्टीबाट निस्केको धुलोमा गुड्दै लुम्ले भन्ने स्थानमा पुगियो।
चिया चमेनाको साथमा केहीबेरको बसाइसँगै मन्दमन्द चिसो हावामा, लुम्लेको हावाले भन्ने गीतको स्मरण पनि गरायो।
समुद्र सतहदेखि १७४० मि उचाइमा रहेको यो ठाउँ नेपालको सबभन्दा बढी पानी पर्ने ठाउँ पनि रहेछ।
पिच गरिएको चिल्लो बाटोमा भने पानी जहाज जस्तै सलल बगिरहेको भान हुन्थ्यो। कतै भने उवडखावडको कोक्रो हल्लाइले टाउको र घुँडा जुधाइरहेका हुन्थ्यौं। करिब २ घण्टाको रफ्तारपछि हामी हिँड्दै गरेको म्याग्दी जाने बाटोलाई बिदाई गर्दै नयाँ पुलबाट पुन हिलतर्फ मोडियौं। चियाचमेना लिँदै आधा घण्टाको विश्राम गुजार्यौं र त्यो दिनको बसाइ उल्लेरी बिताउने गरी कच्ची बाटो समात्यौं।
पहरा तरेर हेर्दा पहिरो खस्ने आंशका उस्तै थियो। सडकबाट तल हेरेउस्तै कहालिलाग्दो। झाडी बुट्यान कुपोषणका शिकारले उचाइ लिन नसकेका जस्ता देखिन्थे। कतै कतै ट्रेकिङयात्रीका लागि बनाइएका खुड्किलासहितको व्यवस्थित गोरेटो बाटो देख्न सकिन्थ्यो। वीरेठांटीबाट घान्द्रुक र पुन हिल जाने बाटो छुटिँदो रहेछ।
नयाँ पुलदेखि सुसाइरहेकी मोदी खोलाको सुसेली, वीरेठाँटीबाट मलिन हुँदै गयो। पुन हिल पुग्नु नै हाम्रो गन्तव्य भएकोले पहाडी कच्ची बाटो हुँदै जसोतसो बेलुका उल्लेरीमा बास बस्न पुग्न सकेकोमा भने सन्तोष लियौं। सुखानुभूतिबाट पाइने स्मरणभन्दा कच्ची बाटोको यात्रा बढी अविस्मरणीय लाग्दो रहेछ।
केही क्षणको विश्रामपछि पुराना पुस्ताले प्रयोग गरेका सामानको झल्को दिने वस्तुहरूको पनि अवलोकन गरियो।
आफ्नो पहिचानलाई टेवा दिन यसैगरी जनस्तरबाटै सक्रियता देखिएमा भावी पुस्ताको लागि पहिचानमा मात्र सीमित नभई पर्यटन क्षेत्रमा समेत थप आकर्षण बढ्न सक्ने देखिन्थ्यो।
यात्रामा देखे भोगेका अनुभव साटासाट गर्ने क्रममा हाम्रा फेहरिस्तमाथि अस्ताउँदो सूर्यले अंकुश लगाउँदै थियो। हामी भने गफिँदै गोधूली साँझमाथि राज जमाउँदै गयौं।धेरै थाकेर होला, हामी साविक समयभन्दा अलि चाँडै निदाएछौं। त्यो निद्रा भोक लागेको बेलाको भोजन भन्दा निकै आनन्ददायी थियो। मीठो निद्राको लागि भव्य महल भित्रको आरामदायी बिछ्याउनाभन्दा प्रकृतिको काखमा निदाउन पाउनुको छुट्टै मज्जा हुँदो रहेछ।
भोलिपल्ट बिहान साविक समयभन्दा अलि चाँडै नै उठियो। मनमा एउटा लक्ष्य बोकेर हिँडेपछि सधैंझैं पिरोल्ने निद्राले पनि कहिलेकाहीँ झकझकाउँदो रहेछ। चियाचमेनापछि गन्तव्यतर्फ प्रस्थान गरियो। ठाउँ-ठाउँमा खोलाको कलकल बगेको पानी र चराचुरुंगीको चिरबिर चिरबिर आवाजले हाम्रो हिँडाइमा मनैदेखि ऊर्जाको संचार थपेकोले थकान महसुस भएन। पुन हिल उल्लेरीबाट ८ किमी उत्तरमा पर्दोरहेछ। बाटोको बीच बीचमा केही होमस्टेहरू पनि देखिए । केही बन्ने क्रममा थिए।
तेर्सो तेर्सै बाटो वनजंगलका बीच बिहानको करिब ८ बजे घोरेपानी (२८७४ मि उचाइ) भन्ने स्थानमा पुगियो।
घोरेपानीबाट सिधै पुन हिलतर्फ सिँढीको उकालो चढ्नु पर्नेमा बाटो अल्मलिँदा ओरालो बाटो हुँदै तल पुगिएछ। फर्केर असिनपसिन हुँदै करिब एक घण्टाको उकालो चढियो। वरिपरि स-साना बुट्यानले यहाँको वनस्पतिको विशेषता देखाइरहेको थियो। उचालिएका ती अजंगका हिमालले आकाश नै छोएको अनुभूति हुन्थ्यो। वरिपरिको दृष्य अवलोकन गर्दै लगभग १ घण्टाको हिँडाइपछि पुन हिलको टाकुरामा पुगियो र फेँदीदेखि लाग्दै आएका थकाइलाई यहाँ पुगेपछि ड्राइ फुड लिँदै अरू विश्राम लियौं।
३२१० मि उचाइमा रहेको पुन हिलको टावरमा चढेर अरू नियालेर हेर्यौं। हामी उकालो चढिरहँदा हिमालयको दृष्यवलोकनलाई बादलले लगभग छेकिदिएको अवस्था थियो।
अन्नपूर्ण र धौलागिरि लगायतका १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न पाइने रहेछ। बिहानको घामसँगै खुलेर हाँसिरहेका देख्न सकिने यी मनोरम दृष्य बाटो अल्मलिँदाको ढिलाइले गर्दा हाम्रो सम्पूर्ण प्रयास अधुरो रह्यो।
नुन नराखेको तरकारीजस्तै यात्राले हामीलाई अनिलो अनुभूति गरायो। नहारी जित्न सकिन्न, नलडी उठ्न सकिन्न भन्ने आदर्श वाक्यलाई गतिलो पाठका रूपमा आत्मसात गर्यौं।
यहाँको दृष्यावलोकन लागि बिहान ८ बजे अघिको समय उपयुक्त रहेछ। यात्रा अधुरै रहेकोले पूरा हुन नपाएको अभिलाषालाई आगामी दिनमा घोरेपानीमै बास बसी बिहानैको उदाउँदो सूर्य सँगै पुन हिलको टावरबाट रमणीय हिमालको हेर्ने विचार गरेको छु।
असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको अवलोकनको लागि उपयुक्त समय रहेछ भन्ने थाहा पाएँ।
यहाँ स्वदेशीभन्दा विदेशी पर्यटक बढी पुग्ने रहेछन्। पछिल्लो समय भने नेपाली युवाहरूको पनि बाक्लै उपस्थिति देख्न सकिने रहेछ। पुन हिल भ्रमणका लागि आउने पर्यटक बिहानै सूर्योदयको अवलोकनको लागि घोडेपानीमा रात बिताउँदा सहज हुने देखियो।
पर्यटकीय मौसममा भने यहाँका होटलमा बास बस्न अभाव हुन सक्ने हुँदा स्तरीय होटलको लागि अग्रिम बुकिङ गरेर मात्र बासको सुनिश्चितता गर्न सकिने रहेछ।
आँखै अगाडि हिमश्रृंखला देखिनु पुन हिलकोे महत्वपूर्ण विशेषता नै रहेछ। लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि हिमालको साथै सूर्योदय र सूर्यास्तको अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन पाउनु पुन हिल क्षेत्रको आकर्षण रहेछ।
नेपालमा पाइने विभिन्न प्रजातिका गुराँसमध्ये यहाँको जंगलमा मात्र ८ भन्दा बढी प्रजातिका गुराँस देख्न पाइने रहेछ।
हामी भने गुराँस फुल्ने समय गुजारेर गएकोले यसको सौन्दर्यताबाट पनि विमुख रह्यौं।
भोजन मिले पनि सन्तुष्टि नमिलेझैं अमिलो मन बनाउँदै आधा घण्टाको समयमा तल घोरेपानी झर्यौं। खाना खाइवरी थोरै विश्रामपछि टहलिँदै उही उल्लेरी बासस्थान तर्फ फर्कियौं।
त्यहाँबाट आ-आफ्नो सामानको बन्दोबस्तपछि नुवाकोट फर्कने क्रममा त्यस्तै १ बजेतिर यात्रा अगाडि बढायौं।
बिहानभरिको पुन हिलको उकाली ओराली चढ्दा र ओर्लिंदाको थकाइ। शरीर थाके पनि मनबाट खुसी सबैले देखाउँदै थिए।
सबेरै उदाउँदो सूर्यसँगै हिमालयको दृष्यावलोकन गर्ने गरी अस्ट्रेलियन वेश क्याम्पबाट हिमालहरू चुम्ने अभिलाषाले हामी त्यो दिन धम्पुस भन्ने स्थानमा बासको व्यवस्था गर्नतिर लाग्यौं।
अस्ट्रेलियन क्याम्पको नामले चिनिनुअघि यस ठाउँलाई ठूलो खर्क भनिँदो रहेछ। जहाँ ठूलो संख्यामा गाईवस्तुको चरन क्षेत्र रहेछ। ट्रेकिङको क्रममा यहाँबाट देखिने मनमोहक हिमालहरूको दृष्यबाट मोहित भएर अष्ट्रेलियनहरू क्याम्प नै खडा गरेर बस्न थालेछन् र जन बोलीमा यो ठाउँ अष्ट्रेलियन वेशक्याम्पको नामले नै परिचित भएछ। धम्पुसबाट ४.७ किमि दूरीमा रहेको यो क्याम्प समुद्र सतहबाट २१६० मि. उचाइमा अवस्थित रहेछ।
बिहान ४ बजे नै उठेर क्याम्पतिर हानियौं। मान्छे चिन्न नसक्ने बाक्लै अँध्यारो थियो, हाम्रो गन्तव्यमा। जंगलै जंगलको बीचको केही तर्सो र उकालोको डेढ दुई घण्टाको हिँडाइपछि सूर्योदय पूर्व नै अष्ट्रेलियन वेश क्याम्प पुगियो। जहाँबाट अन्नपुर्ण दक्षिण (७२१९ मि), हिउँचुली (६४४०मि), माछापुच्छ्रे(६९९३ मि) र लमजुङ हिमालको दृष्यावलोकन गर्न सकिने रहेछ।
उदाउँदो सूर्यको किरणमा हिमाल उस्तै सुनको दाँत देखाएर फिस्स हाँसेझैं मनमोहक देखिन्थ्यो। आँखाअगाडि दन्तै लहरझैं मिलेका हिमश्रृङ्खलासँग नजर जुधाउँदा कम्ती रमाइलो लाग्दोे रहेनछ।
चिसोे हावामा शरीरले न्यानो अनुभूति खोजिरहेकोले तातो कफी लियौं र केहीबेरको अवलोकनपछि बासस्थानतिर मोडियौं।
धम्पुसमा खाजा नास्तापछि पोखरा हानियौं। करिब एक घण्टाको कुदाइपछि पोखरा पुगियो र बिहानको खाना विमानस्थल अगाडि रहेको थकाली होटलमा लियौं।
थोरै विश्रामपछि अलमल नगरी सराङकोटतिर हानियौं। यो ठाउँ लेकसाइड पोखराबाट जम्मा ५ किमि दूरीमा १५९२ मि अग्लो ठाउँमा अवस्थित रहेछ।
विशेषत: बिहान र बेलुकीको सूर्य उदय र सूर्यास्तको लागि ख्याति कमाएको यो ठाउँबाट पोखरा बजार र फेवातालको रमणीय स्थानको साथै अन्नपूर्ण हिमश्रृङ्खलासहित माछापुच्छ्रे, लमजुङ, हिमचुलीसहितका दर्जनौं हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने रहेछ।
प्याराग्लाइडिङ गर्नेहरूको पनि बाक्लै उपस्थिति हुँदोरहेछ सिर-सिर मनोरम हावाको मिठास उस्तै। वरिपरि देखिएका हिमश्रृंखलालाई क्यामराभित्र कैद गर्दै करिब एक घण्टाको समय आरामका साथ बितायौं।
सराङकोट घुमाइपछि यात्रा छोट्याउने क्रममा नुवाकोटतिर फर्किंदै थियौं। बाटै नजिक पर्ने बेगनास तालको जति चर्चा भए पनि मनको कुरा मन मै सीमित रह्यो। समय अभावले तालको मनोरमतालाई चुम्बन गर्न सकिएन। सरासर अघि बढ्यौं। बाटोमा देखिएका हरियाली वनजंगल, खोलानाला नै हाम्रा लागि मन बिसौनी भए।
थोरै-थोरै बहँदो हावाले गर्मी मौसममा शितलताको अनुभूति दिइरहेको थियो। फेरि पनि यसै गरी भेट हुने अवसर मिलोस् भनेर रूखका पातहरू उसैगरी हात हल्लाइरहेका थिए। थकाइको निरन्तरताले बीच-बीचमा आँखाका ढकनीहरू खुल्ने-बन्द हुने क्रम पहिलेझैं जारी नै थियो।
पोखराबाट ४९ किमीको लामो दूरी पार गर्दै आँखाको दौडाइ सँगै गफैगफमा तनहुँको दमौलीस्थित ब्यास गुफानजिकै आइपुगिएछ।
ब्यासको दर्शन नगरे यात्रा अरू खल्लोे लाग्ने हुँदा हामी उनको आश्रमतिर लाग्यौं।
राजमार्गबाट ७५० मि दक्षिण, सेती र मादी नदीको संगमस्थल नजिकै पूर्वी किनारमा अवस्थित रहेछ।
सिँढी ओर्लिएर तल ओढारमा अवस्थित वाल्मिकि, गणेश र केही देवीदेवताकाहरूको दर्शन गर्यौं। जाने बेलामा उस्तै श्रद्धाले निहुँरिँदै बिदा भयौं र सिँढीको उकालो उक्लिएपछि चौतारीमा केहीबेर विश्राम लियौं।
सँगै रहेको वाल्मिकि उद्यान नगरीमा आँखा डुल्यो। रमणीय फूलबारीमा यी सुन्दर दृष्यलाई मोबाइलमा कैद गर्यौं। गृष्म ऋतुको घामउस्तै चर्किरहेको थियो र पनि प्राकृतिक मनोरमको छहारीमा गर्मी भएको खासै अनुभूति भएन।
जो यात्रा गर्दछन् तिनीहरूमा जीवन र प्रकृतिसँग आत्मीय सम्बन्ध रहँदो रहेछ। तिनका लागि यात्राले जीवन भोगाइका संगालो बनाइदिँदो रहेछ। क्यामराभित्र त्यसका चित्रहरू मात्र कैद हुने हैनन्, जीवनरूपी एल्बमको पानाभित्र स्मरणका सुखद् अनुभूतिको चित्र पनि कोरिदो रहेछ। जीवनलाई बुझ्न, जीवनरूपी धरतीको उकाली ओरालीसँग अभ्यस्त हुन प्रकृतिसँग पनि प्रेमिलन गर्नै पर्दोरहेछ।
वाल्मिकि आश्रमको दर्शन गरी फर्कंदा दिनको त्यस्तै ४ बजेको हुँदो हो। बटुवाहरू गन्तव्यतिर लागेजस्तै घाम पनि शितलताको छहारी खोज्दै आरोलो लाग्दै थियो। हामी सूर्य उन्मुखविपरीत दिशातिर घुइँकिरहेका थियौं।
केही समय हामी सँगै आएकी मर्स्याङ्दीलाई मुग्लिङमै छाडेर अब हामी त्रिशूली बगेकोविपरीत दिशातिर हुइँकिन थाल्यौं। अर्थात् गन्तव्यतिर अगाडि बढ्दै थियौं। बेलुकी ६ बजेतिर बिदुर पुग्यौं। यात्रामा साथ दिने सबैलाई आभार व्यक्त गर्यौं। साथै व्यवस्थापनमा आवश्यक सहयोग गरिदिने कार्यालय प्रमुख विकि लाखाप्रति पनि आभारी भयौं।