बेलहिल पुगेपछि बाटोमा भोगेका कष्ट चिसो सिरेठोसँगै उडि गए। मन एकाएक रोमाञ्चित भयो। ओठ अनायासै मुस्कुराउन थाले। नयनहरू झिमिक्क पनि गरेनन्। स्वर्गाश्रममा रहेको गणेश मन्दिर पछाडिबाट देखिने दृश्य पनि अत्यन्तै मनमोहक। त्यही डिलमा बसेर प्रकृतिको अनुपम सुन्दरतासँग मितेरी गासिरहूँ जस्तो। हेरिरह्यौं प्रेमिले प्रेमिकालाई हरेंझैं।
नाकै ठोकिने उकालो, घना जङ्गल बीचमा खरमा समातेर ओरालिनुको मज्जा कति हो कति! त्योभन्दा आनन्द त तब आउँछ जब अफ्ठेरोमा बाटो छिचोलेर चट्टानमाथि पुगेर नयन अगाडि दन्तै लहर झैं मिलेका हिमश्रृङ्खलासँग नजर जुधाउन पाइन्छ !
आठ जिल्लाका विभिन्न स्थान अवलोकन गर्न पाइने सुन्दर ठाउँको कुरा गर्दैछु म। त्यो रमणिय गन्तव्य हो–बेलहिल।
म्याग्दी जिल्ला, बेनी नगरपालिका–३, भकिम्लीमा रहेको बेलढुङ्गा (बेलहिल) पर्यटनका हिसावले प्रचुर सम्भावना भएको भुगोल। धेरैपटक योजना बनाइयो तर त्यहाँ पुग्ने साइत जुरेको थिएन। म्याग्दी उद्योग वाणिज्यको आयोजनामा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा मंसिर १ गते हामी त्यहाँ पुगियो।
संघका द्वितिय उपाध्यक्ष तथा म्याग्दी भ्रमण वर्ष–२०७५ का अभियन्ता राजेश शाक्यको नेतृत्वमा हामी त्यहाँ पुगेका। भ्रमण वर्ष सफल बनाउन हामीले पनि आफ्नो ठाउँबाट सक्दो पहल गर्नुपर्छ भनेर राजेश दाइकै योजना मुताविक यात्रामा निस्केका हौं।
त्यो वर्ष सकेसम्म प्रत्येक शनिबार जिल्लाका केही न केही स्थान भ्रमण गर्ने हाम्रो योजना थियो। त्यहीअनुसार हामीले टोड्के र रुइसे भ्रमण गरिसकेका थियौं।
हामी शनिबार विहान ६ बजे बेनीबाट बेलहिलको यात्रामा हुइँकियौं। हाम्रो टोलीमा अमर बानियाँ, भोजबहादुर रिजाल, खम थापा, खिम पुन, प्रताप बानियाँ, धिरन खत्री र म गरी आठ जना थियौँ।
बेनीबजारलाई छोडेर बगरफाँट, थामडाँडा हुँदै ड्राइभर वीरेन्द्र मल्लले गाडी हुइँकाउँदै लगे। थामडाँडाबाट उकालो लागेपछि बाटोमा कालिज भेटियो।
जङ्गली जनाबरको आवाज र पंछिको चिरविरले वातावरण रोमाञ्चित बनेको थियो। रमाइला, ठट्यौली कुराकानी गर्दै गाडी उकालो चढी रह्यौ। बाटोमा सुन्तलाका बोट प्रशस्तै भेटिए तर लटरम्म फलेका बोट भने राम्रोसँग देख्न पाइएन।
रफ्तारमै झण्डै पौने ८ बजे डोलेमा पुगेर गाडी रोकियो। बगरफाँटबाट माथिल्लो बाटो आएको भए छिटो आइने रहेछ हामी तल्लोबाटो आएकाले अलि ढिला भयो। गाडीबाट झरेपछि मौसम हे¥यौँ। लगभग बादलले हिमाल ढाकेको थियो।
मौसम खुल्दैनकी भन्ने चिसोले मन छोयो। राजेश दाइले मौसम जसरी पनि खुल्छ भनेर ढाडस दिनु भयो।
डोलेमा तातो चियासँगै नमकिन खायौँ। लोकल भाँगोमा काँक्रो मोलेर बनाएको अचारले भकिम्लीको स्वाद दियो। खाजा खाँदाखाँदै माछापुच्छ«े हिमालको चुचुरो देखिन थाल्यो। त्यसको केही बेरमा धौलागिरीको पनि चुचुरो देखिन थाल्यो। यति भएपछि मौसम खुल्छ भन्नेमा मन ढुक्क भयो। बिहानको खाजाका रुपमा लोकल कुखुराको मासु, भुजा र अण्डा खायौं। त्यसको केही समयपछि वडा सदस्य रत्न सर लगायत अन्य स्थानीय हाम्रो स्वागतका लागि आउनुभो।
केहीबेर डोलेको बसाइपछि स्वर्गाश्रम (पुरानो नाम भक्तिनी डाँडा) तर्फ लाग्यौँ। बाटो मर्मत गरेकाले गाडी स्वर्गाश्रमभन्दा थोरै तलसम्म जाँदो रहेछ। तर सजिलैसँग जान सक्ने अवस्था थिएन। अलिकति जोखिम मोलेरै भए पनि गाडी लग्यौं।
हामीसँगै स्थानीय पनि थिए। अब हामी २० जना भयौं। स्वर्गाश्रम पुग्दा घडीले विहानको १० बजाइसकेको थियो। त्यहाँ फरक अनुभूति भयो। स्वर्गाश्रम नाम आफैंमा काफि छ, यसको धेरै वर्णन गरिराख्नु् पर्दैन। स्वर्गाश्रममा रहेको गणेश मन्दिर पछाडिबाट देखिने दृश्य पनि अत्यन्तै मनमोहक। त्यही डिलमा बसेर प्रकृतिको अनुपम सुन्दरतासँग मितेरी गासिरहूँ जस्तो। हेरिरह्यौं प्रेमिले प्रेमिकालाई हरेंझैं।
हामी गन्तव्यमा पुगिसकेका थिएनौं, हामीलाई बेलहिल जानु थियो। राजेश दाइको खुट्टामा लिगामेन्टको समस्या आयो। माथि जान सक्नु भएन। हामीसँगै जानु भएका स्थानीय दिदीहरू स्वर्गाश्रममा खाजा बनाउन रोकिनु भयो।
यसरी बुझौं, हाम्रो यात्रा वनभोज जस्तै थियो।
बेलहिलबाट लोभलाग्दा दृश्य हेर्न मन हतारिएको थियो। त्यसैले उकालोमा पनि गाह्रो नमानिकन खुट्टाहरू चलिरहे। करिब १५ मिनेट हिँडाइपछि यो बजार जस्तो होइन गाउँको उकालो हो भनेर संकेत ग¥यो। वर्षौ त्यही उकालो ओरालो हिँडेको खुट्टालाई जवरजस्त हिँड भनेर निर्देशन दिनु पर्ने अवस्था सिर्जना भयो।
देउरालीमा पुगेर एकछिन आराम ग¥यौँ। म्याग्दी र बागलुङको सीमाना पर्दोरहेछ। त्यहाँबाट बेलहिल धेरै आकर्षक देखियो। त्यहीबाटो हुँदै म्याग्दी र बागलुङका मानिस आवत÷जावत गर्ने भएकोले बाटो राम्रो नै थियो।
हामी जब देउरालीबाट उकालो लागियो तव सकस हुन थाल्यो। गुराँसका फेद, खरमा समाएर हिँड्नुपर्ने। मैले सुरुवात मै वर्णन गरेजस्तै नाकै ठोकिने उकालो। खुट्टा चिप्लियो भने सिधै फेदमा। बेलहिलको प्रचार÷प्रसार पर्यटन प्रवद्र्धन गर्ने हो भने सबैभन्दा पहिलो बाटो बनाउनुपर्ने देखियो। पर्यटकलाई सहज रुपमा आउने÷जाने वाटो हुनुपर्छ।
जोखिमै मोलेर चढ्यौं उकालो। अन्ततः हामी गन्तव्यस्थल बेलहिल पुग्यौं। बिहान ११ बजेको हावाको झोक्काले स्वागत ग¥यो। तलबाट सिधै माथि गएर यताउता गर्न सक्ने अवस्था रहेनछ। हामीसँग गएका साथी पनि एकछिन आराम गरेर बल्ल यताउता हेर्न थाल्नु भो कारण बेलहिलबाट तल देखिने दृश्य थियो।
बेलहिलमा पुगेपछि बाटोमा भोगेका कष्ट चिसो सिरेठोसँगै उडी गए। मन एकाएक रोमाञ्चित भयो। ओठ अनायासै मुस्कुराउन थाले, खुसीका गीत गुनगुनाउन थाले। नयनहरू झिमिक्क पनि गरेनन्, एकनास हेरिरहे। ओठबाट वस एउटै शब्द निस्कियो “वाह ! वाह ! क्या दृष्य!’
साँच्चै आँखै अगाडि हिमश्रृङ्खला मुस्कुराएको देख्दा कसको मन नलोभिएला र ? एउटा चट्टानमा बसेर चारैतिरका दृश्य देख्न पाउँदा कसका नयनले आनन्द अनुभूति नगर्लान् ? बेलहिलको प्रमुख विशेषता भनेको नै यही हो। हिमालको सामुन्ने पहाडको शिखरमा बसेर चारैतिरका दृश्य देख्न सकिने। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मीलगायत आठ जिल्लाका केही न केही भाग देख्न सकिने रहेछ।
त्यहाँको आनन्द वस महशुस गर्न मात्र सकिन्छ, शब्दमा वयान गर्न सकिँदैन। बेलको आकारमा भएकाले र परापूर्वकालमा भिष्मले फालेको ठेलो त्यहाँ आएर अड्किएकाले बेलहिल भन्न थालिएको किंबदन्ती सुनियो।
बेलहिल (२,८०० मिटर)मा चिसो वतास चलिनै रह्यो। हामीलाई भने छोड्न मन नै थिएन। झण्डै डेढघण्टा त्यहीँ डिलमा वितायौँ। हिमालको फेदमा रहेका आकर्षक गाउँ आँखाबाट हटेनन्। बरु आँखैमा टाँसिए।
म्याग्दीमा यतिका धेरै हिमाल हुँदा पनि पहाडी जिल्लाको रुपमा परिचित हुँदा भने निकै दुःख लाग्यो।
हामीले धित मरुञ्जेल फोटा खिच्यौँ। बिहानको भन्दा मौसम धेरै खुलेको थियो तर पनि बादलका कारण पुरै घुम्टो उघार्न मानेन। त्यो दृश्य पनि अत्यन्तै मनमोहक थियो।
भोकको ग्राफ पनि बिस्तारै उकालो लाग्दै गयो, मध्यान्ह साँढे बाह्रबजेतिर त्यहाँबाट फर्कियौँ। खरको सहायतामा ओरालो झ¥यौ। डिलबाट झरेपछि डिलमा कति चिसो थियो भन्ने बल्ल महशुस भयो।
खम जी र म कुराकानी गर्दागर्दै सबैलाई पछि छाडेर अघि आइपुगेछौं। मकै, भट्ट र चिया तयार थियो। खाना पाक्ने क्रम जारी थियो। बेलहिलको चिसो मेटाउन लोकल भालेको सुप तयार हुँदै थियो।
लामो समयपछि मकै, भट्ट खान पाउँदा हामी कम्ती मख्ख थिएनौं। स्वर्गाश्रमबाट दृश्यहरु हेर्ने रहर पूरा भएकै थिएनन्। अमर दाइ त्यहीँ एकछिन ध्यानमा वस्न थाल्नु भयो। राजेश दाइले त्यस ठाउँको पर्यटन विकासका लागि भौतिक पूर्वाधार आवश्यक छ भन्दै बहस सिर्जना गर्नुभयो। मन्दिर निर्माणका लागि राजेश दाइले आर्थिक सहयोग गर्नुभयो। स्थानीयले मन्दिर निर्माण अभियान थालनी भएको घोषणा गरे। हामीले सक्दो आर्थिक सहयोग ग¥यौं।
झण्डै दुई बजे वनभोज भनौ अथवा बिहानको खाना तयार भयो। बजारको स्वादिष्ट व्यन्जन भन्दा सयौँ गुणा मीठो लाग्यो लोकल भालेको सुप। भोजबहादुर रिजालले माछा तालमा डुब्यो भन्दै ठट्टा गरे भातलाई सुपले ढाकेको देखेर। साथीहरूले सुपका साथमा ज्यान तताउने सुप पनि खान भ्याए।
गाउँलेको सहयोगले हाम्रो यात्रा पूर्ण बन्यो। चिसो ज्यादै बढ्न थालेपछि हामीले स्वर्गाश्रम र बेलहिललाई छाडेर बेनीतर्फ फर्कने निर्णय ग¥यौं। स्थानीयले फूलमालाले स्वागत÷विदाइ एकै पटक गरे। न्यानो आतित्थ्यले हामीलाई त्यो ठाउँ पटक्कै छाड्ने मन नहँुदा नहँदै पनि छाड्नै पर्ने बाध्यता भयो।
स्वर्गाश्रमबाट फर्कनेक्रममा बाटोमा अर्को बनभोज पनि चलिरहेको थियो। जहाँ सेलरोटीको वासना मगमगाई रहेको थियो। एकैछिन गाडी रोकेर हामी पनि त्यस बनभोजमा सहभागी भयौँ, रोटी खायौँ।
साँच्चै बेलहिल र स्वर्गाश्रमको पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिले बाटोलाई व्यवस्थित गर्नुपर्छ। प्रचार÷प्रसारको साथसाथै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिने हो भने समग्र बेनी नगरपालिकाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ बेलहिलले।
बेलहिलमा दृश्यावलोकनका लागि रेलिङ हालेर निर्धक्कका साथ बस्न सक्ने बनाउनुपर्छ। पर्यटकहरूलाई एकरात भकिम्लीमा वस्नका लागि राम्रो खाने र वस्नेको व्यवस्था गराउनुपर्छ। बिहान बेनीबाट बेलहिल पुगेर फर्कन चाहनेका लागि उचित खाजा खाने, कोसेली ल्याउने कुरा वन्दोवस्त गर्न सकेमा यहाँको पर्यटनले फड्को मार्नेछ ।
हामीले डोलेमा आएर चमच्चा पिङ पनि खेल्यौँ। भकिम्लीको सुन्तला ल्याउने रहर भने पूरा भएन। ड्राइभर दाइले डोलेबाट गाडी ओरालो लगाए। पर देखिएको बेनीबजार नजिकनजिक बन्दै गइरह्यो। गाडी आफ्नै रफ्तारमा अघि बढ्दै थियो, मेरो मानसपटलमा भने बेलहिलबाट देखिएका सुन्दर हिमाल, वस्ती र हरियाली घुमिरहेका थिए।