लामो समय अमेरिकामा बस्दै आउनु भएका मेरो दाइ-भाउजू नेपाल आउने पक्का भएपछि 'जोमसोम जानु पर्छ है यसपालि' भन्नु भयो।
म र मेरो श्रीमान पनि घुम्न भनेपछि उस्तै कुनै योजना बिना नै कति बेला कहाँ हुन्छौं थाहा हुँदैन।
दादा-भाउजू नेपाल आउनु भएको दुई दिनपछि हामी ५ जनाको समूहमा मुस्ताङ जान बिहान ६ बजे घर काठमाडौंबाट निस्कियौं।
पोखरा जाँदा मनकामना पस्ने योजना थियो, त्यहाँ एकैछिनको लाइनपछि हामी केबलकारमा उकालो लाग्यौं। त्यहाँ निकै रमाइलो भयो। मनकामनामा रहेका होटलले दर्शनका लागि आएका मानिसहरूलाई खाना खान बोलाउने तरिका अचम्मित पार्ने खालको थियो। म भने भिडिओ बनाएर आनन्द लिँदै बसें।
सिधैं पोखरा पुग्ने योजना थियो तर 'बन्दीपुर पुगौं है' भनेर त्यहाँको सुन्दरता नियाल्न पुग्यौं। जति सुनेको थिएँ, त्यो शब्द र बयान बन्दीपुरको लागि निकै कम लाग्यो।
निकै सुन्दर सफा, सानो गाउँ मनै लोभ्याउने घरहरू, पुराना शैलीका घर, हरेक घर फूलले सजिएका बन्दीपुरको त्यो बनावट घरको सजावट पक्कै पनि तारिफयोग्य थियो। त्यहाँको सुन्दरतासँग रमाउँदै गर्दा अँध्यारो हुन लागेकोले हामी पोखराको लागि बाटो लाग्यौं।
पोखरा पुग्दासम्म हामी त्यहाँको सानो बाटो, ती घर, त्यहाँको व्यवस्थापनको तारिफ गरेर थाकेका थिएनौं। झमक्क अँध्यारो भैसकेको थियो। हामीले होटल फोनबाट नै बुक गरिसकेका थियौं। त्यहाँ आफ्नो सामान बिसाएर फेवातालतिर बरालिन पुग्यौं।
रातको १२ बजेको थियो होला, होटल पुग्यौं। दादालाई नेपालको हावा पानीले अलि साथ नदिएर होला रातभरि ज्वरोले सतायो। अब अर्कोदिन काठमाडौं फर्किनु पर्ने पो हो कि भनेर दादालाई चिन्ता थियो। बल्ल त घुम्ने समय मिलेको थियो।
मनदेखि आँटिएमा जस्तोसुकै कार्य गर्न सकिन्छ भनेझैं अर्कोदिन बिहान हामी मुस्ताङको लागि पोखराबाट बाइकमा हिँड्यौं। दादाले औषधि लिनुभयो, केही सहज भएको बताउनु भयो। त्यसपछि सबैको मुहार चम्किएको थियो।
हामी लगभग ३ घण्टा जतिको यात्रापछि ठूला-ठूला चट्टानको बाटोमा पुग्यौं। बाइक बाटोमा रोक्दै फोटो खिचाउँदै अगाडि बढ्यौं।
बाटोमा देखिएका प्राकृतिक सुन्दरतालाई नियाल्दै हामी अघि बढिरह्यौं।
दिनभरि बाइकमा यात्रा गरेको हुँदा सबै निकै थकित थिए। अझै धेरै टाढा पुग्नु थियो। त्यसैले थाकेको शरीर तर पनि मनबाट खुसी सबैले देखाउँदै थिए।
हामी साँझ ७ बजेतिर म्याग्दी पुगेर त्यही बस्ने निधो गरियो। त्यहाँबाट मुस्ताङ रातिमा सम्भव थिएन। भोको पेट र थकित शरीरले थकाइ मार्न खोजेको थियो।
म्याग्दीमा प्रकृतिले दिएको उपहार तातोपानी कुण्ड रहेछ। जहाँ एक व्यक्ति बराबर ५० रूपैयाँ तिरेपछि त्यो कुण्डमा पस्न पाइने रहेछ। त्यहाँको तातोपानीले शारीरिक दुखाइ तथा छाला रोगको अन्त्य गर्ने विश्वास रहेछ।
हामीले पनि कुण्डको आनन्द लियौं। करिब २ घण्टा तातोपानीमा पस्यौं। शरीरले छुन नसकिने तातो भए पनि रमाइ बस्यौं।
होटल पुगेपछि थाहा भयो मुस्ताङ जाने बाटो बन्द छ भनेर। त्यहाँ पहाड फोडेर बाटो बनाइँदै रहेछ। त्यसैले ६/७ घण्टा पैदल जानुपर्ने भो। त्यहाँसम्म पुगेकोले अगाडि बढ्ने निधो गरियो।
अर्को दिन खाना खाएर तातोपानीबाट अगाडि बढ्यौं। बीच-बीचमा धेरै ठाउँमा रोकियौं, बाटो निर्माणको चरणमा रहेछ। हामी केही समयमा रुप्से झरना पुग्यौं।
सुन्दर प्रकृतिले निकै मेहनतले बनाएको जस्तो अग्लो पहाडको चुचुरोबाट निस्किएको चिसो कल्कलाउँदो पानी स्वच्छ, सुन्दर। त्यहाँ हामीले मुस्ताङको बाटो नै बिर्सियौं।
फेरि बाइक चढ्ने समय आएछ। शरीरको पार्टपुर्जा जता छोयो त्यहीँ दुखेको थियो। अगाडि पुगेपछि बाटोको कारणले हामी फर्किनु पर्ने निश्चित भयो। दादा-भाउजु केही दिनमा अमेरिका फर्किनुपर्ने, मुस्ताङ जाने सपना, सबैलाई निकै पीर परेको थियो तर लामो समय हिँडेर जान सक्ने क्षमता रहेन।
हामी पुनः तातोपानी बास बस्ने निधो गर्यौं। पानी पर्न लागेको थियो, बासस्थान भेट्न हामी लाग्यौं।
मुस्ताङको योजना रद्द भएकोले बागलुङ जाने पक्का भयो। त्यसैले हामी फेरि बागलुङको लागि हिँड्यौं। बिहानबाट हिँडेको राति बागलुङ पुगियो।
अब सबैको अनुहार निरास देखिन्थ्यो, कमेडी गरेर प्रदिप दाइले सबैलाई हँसाउनु हुन्थ्यो। निकै मनको सफा, अरूको दु:ख सजिलै बुझ्ने प्रदिप दाइजस्तो मान्छे सबैलाई आवश्यक पर्छ।
अर्को दिन बागलुङ कालिका दर्शनपश्चात बन्जी जम्प गर्ने कुरा भयो। त्यसपछि सबै खुसी भयौं। ५ जनाको लागि त्यहीँबाट बुक गरियो। बन्जीको लागि अगाडि बढियो।
पर्वतको कुस्मा पुग्यौं, निकै रमाइलो लाग्यो। झोलुङ्गे पुलको बीचमा बन्जी तथा स्विङ गर्ने व्यवस्था थियो। बागलुङ र पर्वत दुई जिल्ला जोड्ने लामो झोलुङ्गे पुल ५ सय ६७ मिटर लम्बाई र १ सय २२ मिटरको उचाइमा छ।
लामो बाइकको यात्रामा थकित भएको शरीर त्यस पुलमा हिँड्न सक्ने शक्ति थिएन। बन्जी पनि अग्लो ठाउँबाट। त्यहाँ पुगेर डाँडापाखा हेरेपछि बन्जी गर्न सक्दिनँ जस्तो लाग्यो। अहँ! गर्दिनँ पनि भनें तर पछि गर्छु नै भनेर अगाडि बढेँ।
सबैले निकै आरामका साथ रमाउँदै बन्जी गर्यौं। त्यसपछि पोखरा पुगियो। शरीरलाई अलि सन्चो नभएको कता-कता दुखाइ भएजस्तो भयो। लामो समयको बाइकको यात्रा, त्यसपछि बन्जी गर्दा मलाई अलि सन्चो भएन।
अर्को दिन हामी ११ बजेको फ्लाइटबाट काठमाडौं फर्कियौं।
यात्राका साथी प्रदिप आचार्य, सम्राट लामिछाने, दक्षता लामिछाने र बिश्रान्त कोइरालालाई धन्यवाद। यात्रा रमाइलो रह्यो। निकै सुन्दर र एड्भेन्चर रह्यो सबैको लागि।
जति मजा सामान्य रमाइलो गर्दा छ, त्यसभन्दा बढी जोखिमपूर्ण यात्रा र कार्यमा जस्तो लाग्यो। जिन्दगीको यात्रा जारी छ। अझै टाढा-टाढा पुग्नु छ, एकदिन फेरि मुस्ताङ जानु छ। गन्तव्य अधुरो रह्यो।