करीब बेलुकीको ८ बजिसकेको थियो। पूरै अन्धकार थियो। करीब १४ धण्टा हिँडिसकेकाले केहीबेर आराम गर्ने कुरा भयो।
धेरै थाकेर होला हामी सबै जना बसेकै ठाउँमा निदाएछौं। त्यो एकछिनको निद्रा निकै आनन्ददायी थियो। अनि मनमा लाग्यो मीठो निद्राको लागि भव्य महल र लगजरी बेड हैन, प्रकृतिको काखमा निदाउन पाउनुको मजा नै अर्को रहेछ।
असोज अन्तिमतिरको समय चिसो त त्यति धेरै हैन। तर पनि हल्का घाम अनि कालो कफीसँगै मेरो साथी प्रकाश लिम्बु अनि म हामी गफिँदै थियौ। हामी प्राय:जसो वर्षमा एक दुई वटा नेपालकै विभिन्न स्थानमा राइड गर्ने गर्छौं।
नासा बुलेट क्लबको आयोजनामा यसपालि उनीहरूको एउटा टिम भारतको लद्दाख जाँदै थियो र त्यसैको तयारी पनि भइरहेको थियो। उनी भन्दै थिए- जाम हौ इन्डियाको लद्दाख राइड। यो लदाख राइड सबैले सक्ने राइड हैन टिम मिलेको बेला जाऊँ।
उनी भन्दै गए- जान त जीवनमा गइएला तर यो टिममा यसरी राइड गरेर नेपालदेखि बाइकमा जाने यस्तो मौका नपाइन सक्छ है।
प्रकाशको कुराले मन त लोभ्याइरहेको थियो। मनमा कल्पना भिडियो प्ले भए झै गरी चलिराखेको थियो। रहर थियो एउटा च्यालेन्जिङ एडभेन्चरको। तर पनि त्यो एक महिनाको लामो यात्रा थियो। समय अलि लामो थियो। अफिसमा छुट्टी मिलाउन पनि समस्या लगायतका कारणले लद्दाख राइड मेरो क्यानसिल भयो। प्रकाश लगायतका १० जनाको टिम १० वटा रोएल इन्फिल्ड (बुलेट)बाइक लिएर लाग्यो इन्डियाको लद्दाख यात्रामा।
साथीहरू लद्दाख लागे। मलाई भने लागिरहेको थियो - कुनै राइड त गर्नैपर्छ। अनि यसअघि पनि धेरै समय डोल्पाको फोक्सुडो राइडको विषयमा चर्चा भइनैरहेको थियो। हाम्रो टिममा अनि लाग्यो डोल्पा राइड किन नगर्ने त?
अब डोल्पा राइडको योजना भयो। टिममा रहेका म लगायत सुजन श्रेष्ठ, रमेश शिवाकोटी, प्रज्वल दाहाल, रोमान्स राणालगायतका साथीहरू थियौं। एक लट सल्लाह भयो। डोल्पा राइड फिक्स भयो। करीब दस वर्षअघिदेखि भिजिट नेपालको नारा लिएर राइड गरिरहेका हाम्रा लागि यो राइड पनि उद्देश्य भनेको नेपालको टुरिजम प्रोमोसन नै थियो। र, हाम्रो नारा थियो- टुरिजम प्रमोसन बाई टु ह्वीलर्स भिजिट नेपाल २०२०।
दुई पांग्रे सवारीबाट नेपालको भ्रमण र भिजिट नेपालका लागि नेपाल उपयुक्त गन्तव्य हो भनेर बुझाउनु हाम्रो उद्देश्य थियो। यो बीचमा बाटोमा खाने बस्नेबारेमा अध्ययन गरेर टेक्निकल सपोर्ट लगायतका सबै आवश्यक कुराहरूको बन्दोबस्त भयो। र २०१९ नेभेम्बर १ (कात्तिकक १५) डेट फिक्स पनि भयो। अब भने राइडर कलेक्सनको काम रह्यो। हाम्रो डोल्पा राइड हुने समयसम्म इन्डिया गएको टोली पनि आइपुग्ने भएकाले हाम्रो पर्खाइ उनीहरूको थियो।
इन्डियाबाट आएको पाँच दिनपछि डोल्पा राइड थियो। त्यसैले उताको टिमका को-को डोल्पा जान्छन् भन्नेमा पर्ख र हेरको स्थितिमा थियौं, साथीहरू नेपाल आइपुगे। हामीले डोल्पाको प्रस्ताव राख्यौं। त्यसमध्ये प्रकाश लिम्बु र नाशा बुलेटका हेड मेकानिक्स मिथलेश डोल्पा राइड जाने पक्का भयो। १२ वटा रोएल इन्फिल्ड (बुलेट)बाइकमा १४ जनाको टोली डोल्पा जाने फिक्स भयो।
नोभेम्बर १ राइड जाने दिन बिहानै ६ बजे सबै नाशा बुलेट क्लबमा जम्मा भयौं। विदाइ कार्यक्रम भने पशुपतिनाथको दर्शन गर्दै त्यहीँबाट निस्कने तय भयो। बिदाइका लागि डोल्पाकै स्थानीय तत्कालीन राज्यमन्त्री धनु बुढा हुनुहुन्थ्यो। उहाँ, टुरिजम बोर्डका सिइओ लगायतका व्यक्तिहरू आएर नेपालको भ्रमण गरौं भन्ने हाम्रो उद्देश्यलाई ऊर्जा दिनुभयो। हामी यात्राको शुभकामनाका साथ बिदा भयौं।
हाम्रो राइडको रोड लिडिङ रमेश शिवाकोटीले गरेका थिए भने अन्तिममा हाम्रो टेक्निकल सर्पोटमा रहेका मिथलेश थिए। बीचमा टिम क्यारी गर्दै म लगायत सुजन, प्रज्वल, रोमान्स अनि प्रकाश थियौं।
पहिलो दिन सबैको जोश उत्साह अलि धेरै नै थियो। रमाइलो रमाइलोमै १२ बजिसकेको थियो र आजको खाना कुरिनटारस्थित सिद्धार्थ कटेजमा थियो। मीठो खाना खायौं र केहीबेरको आरामपछि सुजन श्रेष्ठ भाइले ‘ल साथीहरू लागौं है’ भन्न थाले। सबै जना मीठो खानाको लागि सिद्धार्थ कटेज रेष्टुरेन्टलाई धन्यवाद दिँदै लागियो भुटुङटुङ गर्दै।
आजको यात्रा अलि टाढै थियो। लगभग चार सय किलोमिटर लमही दाङसम्मको। त्यसैले, बाइकको रफ्तार अलि बढेको थियो। बुलेटको रफ्तार अनि नारायणगढ-मुग्लिन सडकको चौडा सडक अनि त्रिशूलीको हावा खाँदै हरियाली डाँडापाखा हुँदै चितवनको सालको जंगल काटेर नारायणघाट त थाहै नापाई पुगिएछ। १२ वटा बुलेट सबै बाइकमा नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो। लाइन लागेर बाइक कुदेको फर्केर नर्हेने कमै मात्र हुन्थे होला। अनि थम्सअप गर्दै बेस्ट अफ लक भनेको बाइबाइ गर्दै लभ यू भनेको। आहा! सम्झँदा पनि कति रमाइलो लाग्ने है।
बाटो अझै धेरै थियो। पूर्व-पश्चिम राजमार्ग हुँदै अघि बढ्यौं। बीचमा पर्ने सिजी शाश्वतधामलाई बाटैबाट दर्शन गर्दै यात्रा अघि बढायौं। अब चाहिँ हाम्रा राइडरहरू पनि अलि थाकिसकेका थिए।
करीब तीन सय किलोमिटर कुदिरकेका थियौं। टि ब्रेकको सल्लाह भयो। ३० मिनेटको टि ब्रेकपछि लागियो बुटवल हुँदै दाङको लमहीतर्फ। बुटवल पुग्दा साँझ परिसकेको थियो। त्यहाँ बसिएन। लागियो लमहीतर्फ। अब भने रात परिसकेको थियो। दिनमा भन्दा रातमा ड्राइभ गर्न अलि गाह्रो भएकाले सबै सर्तक थियौं। हामी लाइनमा थियौं। अगाडिबाट मालबाहक ट्रक नाइट बस आउने। त्यो पनि हेर्न लायककै हुने। पूरै गाडी बत्तीले सजाइएका। रमाइलो देखिने भने कतै अनकन्टर जंगलमा मात्र। बुलेटको भुटुङटुङ आवाज, मात्र हामी। त्यो पनि एक किसिमको रमाइलो पल थियो।
यो सँगै दाङको भालुवाङ बसपर्क पुगियो। अलि भोक पनि लाग्न लगेको थियो। नजिकै फलफूल पसलमा केरा बेच्न राखिएको रहेछ। निकै स्वादिष्ट थियो। मजाले खाइयो र लागियो लमहीको होटलतर्फ। होटलमा बसाइ राम्रो थियो करीब चार सय किमि ड्राइभ। थाकिएछ मजाले निदाइएछ।
राइडको दोस्रो दिन बिहानै उठेसँगै मीठो चियाबाट सुरुवात भयो। बाहिर पूरै हुस्सु लागिरहेको थियो। मौसम सितल। बाइक चेकअप सकियो। सुजन भाइ भन्दै थिए- रमेश दाइ तातो तातो सेल छ खाम मीठो छ। मलाई पनि त्यो सेलको बासनाले अघिदेखि तानिरहेको थियो। अनि सँगै आएँ। मेरो अर्को प्रिय भाइ निर्माण देवकोटा पनि टिममा निकै मिलनसार थिए। अनि रमाइला पनि। यसैबीचमा प्रकाश लिम्बुलगायत सबैले सितल वातावरणमा तातो-तातो चियासँगै सेलरोटी मजाले खाइयो।
आजको डेस्टिनेसन थियो जाजरकोटको खलंगा। अब ज्यान तातो भयो। सबै तयार भयौं। रोड लिडर रमेश (अल्लारे) भाइ अघि बढेसँगै निर्माण भन्दै थिए- दाइ म सेकेन्डमा हुइँकिएँ है।
अनि म सुजन भाइ राजेश कार्की भाइ, सञ्जय बुढाथोकी, किशोर केसी, प्रज्वल दाहाल, रोमान्स राणा, राजेन्द्र श्रेष्ठ, प्रकास लिम्बु अनि मिथलेश सरफ अनि साथमा श्रुति मोक्तान र सचिन श्रेष्ठ सबै लाइन लागेर लागियो जाजरकोट।
बिहानै भएर होला हुस्सु फाटेको थिएन। समस्या के हुने रहेछ भने हुस्सुमा हेलमेटको भाइजर लगायो भने पानीले बहिर केही नदेखिने। भाइजर नलगाए मसिना किराहरू आउने। ती किरा आँखामा पस्ने कस्तो अफ्ठ्यारो। तर पनि रमाइलो भने त छँदै नै छ।
अब बाँके राष्ट्रिय निकुञ्जभित्र छिरियो। त्यो भन्दा अगाडि लेखिएको थियो निकुञ्जभित्र पालना गर्नुपर्ने नियमहरू। हामी त्यसैको पालनाका साथ निकुञ्जको बाटो लाग्यौं। घनघोर जंगल, सुनसान बाटो अनि बाटो भने डोरी तानेर सिदा बनाए झैं लाग्ने। मलाई मनमा लागेको निकुञ्जमा केही जंगली जनावर त पक्कै देख्न पाइएला। तर हाम्रो टाइम नमिलेर हो या के हो कुनै पनि जंगली जनावरको दर्शन हुन भने पाएन।
करीब १० बजिसकेको थियो। कोहलपुर बजार पुग्यौं। आज बिहानको खाना होटल सेन्ट्रोल प्लाजा कोहलपुमा थियो। यसको चाँजोपाँजो मित्र भरतबन्धु थापाले मिलाएका थिए। हामी सिधै लाग्यौं होटलतर्फ। होटलमा मीठो खाना खुवाउनुभयो। केहीबेर आराम गरियो र अब ढिला गर्न हुन्न लाग्नुपर्छ भन्ने भयो। किनभने अबको बाटो अलि गाह्रो छ भन्ने नै हो।
केहीबेर फोटो खिचियो र लागियो सुर्खेतको छिन्चुतर्फ। भेरीगंगा नगरपालिका अन्तर्गत रहेको छिन्चुमा त्यहाँका नगर प्रमुख लगायतका व्यक्तित्वबाट स्वागत कायक्रम थियो। हामी त्यहाँ सहभागी भयौं। केहीबेरको भलाकुसारी भयो। उहाँहरूले यात्राको लागि शुभकामाना दिनुभयो। यहीँबाट छुटिने रहेछ रारा र डोल्पा जाने बाटो। हामी डोल्पाको बाटो पहिल्याउँदै लाग्यौं। जाजरकोटतर्फ भेरी नदी तिरैतिर। आहा! कति रमाइलो यात्रा। रोमाञ्चक लागिरहेको थियो।
अघिल्लो दिनको जस्तो बाटो सजिलो थिएन तर पनि एडभेन्चर गर्ने हामीलाई रौनकता थपेको थियो। हामी करीब ७ बजे जाजरकोटको खलंगा पुग्यौं। थाकेका हामी अनि त्यहाँका मित्र पत्रकार हेमन्त केसी लगयत पर्यटन पत्रकार साथीहरूले स्वागतको कार्यक्रम राख्नु भएको रहेछ। स्वागत भनेकै यस्तै रहेछ साथीहरूको। त्यो स्वागतले दिनभरको थकान मेटाइदियो। रात परेकाले सानो कार्यक्रमका साथ भोलि खलंगा घुम्ने बाचाका साथ बिदा भइयो। हामीले होटलमा रुमको व्यवस्था मिलायौं। यो काममा सुजन भाइ र प्रज्वल अलि टाठो थिए। उनीहरूले सबैलाई रुम व्यवस्थापनको काम गरे। मीठो खानाका साथमा भोलिको यात्राको इनर्जीको लागि आज आराम गर्न लागियो।
नोभेम्बर ३ (कात्तिक १७) यात्राको आज तेस्रो दिन हिजोको थकाइले होला भुसुक्कै निदाइएछ। एकैचोटि बिहान उनी जाजरकोट रातिको समायमा पुगिएको थियो। बत्ती बलिरहेको थियो। रमाइलो ने देखिएको थियो। बिहान हेर्दा थाहा भयो कि जाजरकोट अनि जाजरकोटको खलंगा बजार त साँच्चिकैको रमणीय रहेछ। अनि बिहानको चिया नास्तापछि मित्र हेमन्तजी लगायतका साथीहरू पनि आउनु भयो। र, लागियो जाजरकोटको खलंगा बजार अवलोकनतर्फ हामी बसेको होटलभन्दा अलि माथि रहेछ डाँडामा खलंगा दरबार। बिहानै उकालो हिँडाइले बिहनाको वामअप राम्रै भयो। जब खलंगा डाँडामा पुगियो त्यहाँबाट देखिएको रमणीय दृश्य हेर्न लायकको रहेछ। त्यो सँगै त्यहाँ को इतिहास पनि वास्तवमा गर्व लाग्ने रहेछ। तत्कालीन राजाका राज दरबार अझै सुरक्षित रहेछन्। पहिलेको राजदरबारमा अहिले जिल्ला प्रसाशन कार्यालय लगायतका सरकारी कार्यालयहरू रहेछन्। हामी त्यहाँ पुग्दा सिडिओले फूलमाला लगाइदिएर स्वागत गर्नुभयो। सिडिओ साबले खलंगाको इतिहासका बारेमा धरै भन्नुभयो। त्यहाँ दरबार कसरी रहन गयो, त्यो बेलाको राज्य सत्ता कसरी परिचालन हुन्थ्यो, केही जान्ने मौका मिल्यो। अनि हामीलाई ब्रिफिङ गर्दै हुनुहुन्थ्यो त्यहाँका स्थानीय पत्रकार मित्रले। उहाँले अझ विस्तृत रुपमा बेलिविस्तार लगाउनुभयो। अनि त आफ्नो देशको इतिहास यसरी सुन्दा त गर्वले छाती फुल्ने रहेछ नि!
जाजरकोट खलंगा घुम्दाघुम्दै बिहानको १० बजिसकेछ। आजको यात्रा अलि लामो र धेरै चुनौतीपूर्ण थियो। हिजोसम्म त पिच रोडको बाटो थियो। आजबाट रियल एडभेन्चर हुनेमा हामी सबै मानसिक र शारीरिक रूपमा तयार भएका थियौं। यो सँगै रोड लिडर अल्लारेले सबैलाई तयार हुन सिठी लगाए। सँगै सबैले आ-आफ्नो बुलेटमा आवश्यक इन्धन भर्यौं। किनभने आजको यात्रामा डोल्पाको सदरमुकाम दुनैसम्म नै इन्धन पाउने सम्भावना थिएन।
फाइनल सिठी लागेपछि जाजरकोटका स्थानीय अनि पत्रकार मित्रहरूको स्वागत अनि शुभयात्राका साथमा लाग्यौं डोल्पाको दुनैतर्फ, भुटुङटुङ गर्दै।
जाजरकोटबाट अलि ओराले हुँदै हरियाली वन जंगलमा विभिन्न चरा चुरुङ्गीको गीत सुन्दै जाजरकोटको गाउँघर, खोलानालाले मनै लोभ्याइरहेको थियो। भेरीको तिरैतिर अनि बेला-बेलामा बाटोमा भेटिने खहरे खोलाका झोलुङ्गे पुल। यात्रा झनै रोमाञ्चक भइरहेको थियो।
बिहानको १२ बजिसकेको थियो। पूर्वी रुकुमको राडी बजार पुगियो। आज बिहानको खाना यहीँ तय भयो। खानाको लागि अगाडि खबर नगरेकाले केही समय पखर्नुपर्ने भयो। त्यही समयको सदुपयोग गर्दै अगाडि खोला तर्दा भिजेका जुत्ता सुकाउनतिर लाग्यौं। खाना पाकिसक्दा जुत्ता पनि सुकेछ। खाना मीठो थियो सायद भोक पनि धेरै थियो होला। खानाले गर्दा समय अलि धेरै ढिला भएको थियो। करीब ३ बज्न लागिसकेको थियो भने बाटो धेरै लामो अनि अप्ठ्यारो (च्यालेन्जिङ)। त्यसैले, ढिला नगरी हामी सानी भेरीको झोलुङ्गे पुल तरेर लाग्यौं डोल्पातर्फ।
जाजरकोटमा साथीहरूले भन्दै हुनुहुन्थ्यो- झोलुङ्गे पुल धेरै तर्नुपर्ने हुन्छ है। हो रहेछ झोलुङ्ग पुल र खोला त कति हो कति। केही समयसम्म त कति पुल, खोला तरियो भनी गनिँदै थियो। पछि त गन्न पनि छोडियो धेरै रहेछ।
डोल्पा सडक भर्खरै नेपाली सेनाले ट्रयाक खोलेको रहेछ। अफ रोडमा राइड गर्न चाहनेहरूको लागि अत्यन्तै उपयोगी हुने रहेछ। सानी भेरी नै पटक-पटक झोलुङ्गे पुलबाट तर्नुपर्ने रहेछ भने अन्य खोलाहरू त कति हो कति। अनि धेरै त पुल नभएको पुलमा पनि कति उकालो, खुड्किला भएको। उसै त हाम्रो हेभी बाइक गाह्रो। ठ्याक्कै ठाउँ चाहिँ थाहा भएन पुलमा जान सिधै ठाडो उकालो थियो। उकालोमा बाइक ब्याक भएर मजाले लडियो पनि। म भन्दा पछाडि साथी प्रकाश थिए। उनलाई पनि लागेछ। उनी पनि एकछिन त चुप बसे, राम्म्रै भेटेछन्।
म त आफैं लडिहालें। अनि त्यहाँ सबैले उठए र पुल तरेर लागियो। त्यस्तै, अर्को पुल रहेछ त्यहाँ चाहिँ बाइक चलाउन नमिल्ने खुड्किलो पो रहेछ। खोलाबाट तारौं भने खोला ठूलो तार्न नसकिने अनि परेन त फसाद! अनि चार जनाले बुलेट जुरुक्कै उचालेर पनि पुल तारियो। यो बेलासम्म त साँझ पनि परिसकेको थियो। बाटो भने आधी पनि भएको थिएन। जति रात बढ्दै थियो त्यति नै बाटो अफ्ठ्यारो। अन्धकार रातमा तलतिर मात्र भेरीले स्वाँ.. स्वाँ गरेको आवाज। अनि साथमा बुलेटको भुटुङटुङबाहेक अरु केही नभएजस्तो लाग्ने।
रातको करीब १० बजिसकेको थियो होला। अब चाहिँ केहीबेर आरामगर्ने कुरा भयो। सबै रोकियौं र त्यहाँ मात्र भेरीको आवाज थियो। एकछिन त सुनेरै बसियो। हाम्रा साथी भाइहरू सबै रमाइला भएकाले नाच्ने गाउने भने चलिनै रहेको थियो। धेरै बसेर पनि भएन। आज दुनै पुग्ने कार्यक्रम थियो तर दुनै सम्म पुग्ने सम्भावना भने अलि कम भइरहेको थियो।
बीच-बीचमा खोला तर्नुपर्ने अनि खोलाको पानी यति चिसो कि बाइक खोला तारेपछि खुट्टा त चिसोले पोल्ने नि। चिसो हिउँ पग्लिएर आएको पानीमा बाइक खोलामा लडेपछि सबैले मिलेर उठाउँदा चिसोले सास नै रोकिएला कि जस्तो लाग्ने। त्यो बेला त गाह्रो नै भयो। तर अहिले सम्झँदा रमाइलो लाग्ने रहेछ।
अब भने त्रिपुराकोट पुग्न केही वर थियौं। एउटा खोला आयो। जहाँ झोलुङ्गे पुल रहेछ। पुल यति हाइटमा थियो कि तल खोला राम्रोसँग नदेखिने पुलबाट बाइक लिएर पारी जान ठूलै साहस बटुल्न पर्ने थियो। यो पुलमा पनि धेरै समय लाग्यो करीब रातको १२ बजिसकेको थियो। हामी त्रिपुराकोट पुग्यौं। त्यहाँ पुग्दा १ बजेछ। त्रिपुराकोटमा एबिसी न्यूजका मेरा मित्र रामचन्द्र न्यौपानेले हामीलाई खान बस्नको व्यवस्था मिलाउनु भएछ। हामीलाई त्यहाँका प्रहरी मित्रहरूले बस्नका लागि होटलसम्म लैजाने व्यवस्था मिलाइदिनु भयो। हामी बाइक तार्दा चिसो पानीमा भिजेकाहरूलाई ठूलै राहत भएको थियो। खाना खाँदासम्म त बिहानको ३ बजिसकेछ। त्यो थकाई अनि चिसोमा तातो-तातो खाना खाएर सुतेको मस्त निदाइएछ।
बिहान ७ बजिसकेछ। रामचन्द्रजी लगायत अन्य स्थानीय जम्मा भइसक्नु भएछ। त्रिपुरा सुन्दरी नगरपालिकाले हाम्रो लागि स्वागत कार्यक्रम राखेको रहेछ। सबै जम्मा भइसकेकाले हामी पनि हतार-हतार तयार भएर कार्यक्रममा सरिक भयौं। जहाँ मेयरले निकै घतलाग्दो कुरा गर्नुभयो। डोल्पामा रहेका स्याउ, दालजस्ता अर्ग्यानिक खाद्यवस्तुको प्रचार हुन नसकेकोमा गुनासो पोख्नुभयो। आफूहरूले भनेको कुरा माथिल्लो स्थानमा रहेकाले नसुनेको दुखेसो पोख्नुभयो।
उहाँ भन्दै हुनुहुन्थ्यो - तपाईंहरू पत्रकार पनि हुनुहुन्छ रे। यो कुरा केन्द्रसम्म पुर्याइदिनुहोस् है। अनि कार्यक्रम सकेर त्रिपुराकोटमा पुगेपछि बाला त्रिपुरा सुन्दरीको दर्शन नगर्ने भन्ने कुरै भएन। अनि लाग्यौं मन्दिरतर्फ। धेरै पहिलेदेखि सुनेको देवीको बारेका आज प्रत्यक्ष दर्शन गर्न पाउँदा मन निकै आनन्दित भइरहेको थियो।
आजको यात्रा त्रिपुकोटदेखि दुनैसम्मको छोटो थियो। त्यसैले, कुनै हतार थिएन। बिहानको नास्ता गरेर १ बजेतिर दुनैतर्फ लागियो भेरीको झोलुङ्गे पुल तरेर। अघिल्लो दिनको बाटोको तुलनामा त निकै सजिलो थियो। तुरुन्तै पुगियो सुलिगाड। आज समय भएकाले सुलिगाडमा फोटो ब्रेक लिइयो।
हामी २:३० बजे दुनै पुगियो। बाइकको यात्रा दुनैसम्म थियो फाइनल डेस्टिनेशन। सदमुकाम दुनैसम्म मात्र सडक पुगेकाले दुनैमा बाइक राखेर हिँडेर फोक्सुन्डो पुग्ने कार्यक्रम थियो।
दुनैमा भव्य स्वागत कार्यक्रम रहेछ हाम्रो लागि। स्वागत कार्यक्रमपछि उहाँहरूले खानाको लागि लैजानुभयो। त्यो लोकल कुखुराको मासु र लोकल चामलको भात यति मीठो लाग्यो कि जति खाए पनि खाउँ-खाउँ लाग्ने भेरीको तिर हेर्दै धेरै खाना खाएको एक दमै मजा भएको थियो। अनि बाइक दुई दिनको लागि जिल्ला प्रहरी कार्यालयमा पार्क गर्यौं र लागियो आ-आफ्नो तरिकाले दुनै बजार घुम्न।
यात्राको चौथो दिन ट्रेकिङ। त्यसैले बिहानै ६ बजे नै लागियो उकालो फोक्सुन्डो तालतर्फ। दुनैबाट भेरीको तिरैतिर हुँदै सुलिगाड पुगियो त्यहीँबाट सुरू हुने रहेछ। से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अनि निकुञ्ज प्रवेशका लागि त्यहाँ रहेको आर्मी चेक पोष्टमा प्रवेश शुल्क तिरेपछि मात्र निकुञ्ज क्षेत्र प्रवेश गर्न पाइने भएकाले सबैको प्रवेश शुल्क तिर्दासम्म बिहानको ७ बजिसकेछ। अब बिहानको चिया नास्ता यहीँ गर्ने सल्लाह भयो। हल्का चिया नास्ता गरेर छेप्कामा खाना खाने सल्लाहमा बाटो लागियो।
उकाली ओराली गर्दै साथीभाइहरूमा गफिँदै फोक्सुन्डोबाट आएको खोलाको बेग हेर्दै अनि बाटोमा भेटिने रंगिचंगी फूलहरू अनि फोक्सुडो खोला वारिपारिका ठूला-ठूला पहाड हरियाली जंगलले हामीलाई पर्खिरहे झैं लाग्ने। त्यो मनमोहक दृश्यले हिँडेको महसुस नै हुँदैन थियो। तर, धेरै हिँडेपछि त थाकिने। त्यो फूलैफूलको चौतारीमा बसेर थकाइ मार्दै चिसो फोक्सुन्डा खोलाको पानी पिउनुको मजा त यहाँ वयान गर्न सकिन्न होला। अब त बिहानको ११ बज्न लगिसकेको थियो। बिहानै धेरै जाडो हुन्छ कि भनेर लगाएको तातो कपडाले अब चाहिँ गर्मी होलाजस्तो भइरहेको थियो। हिँड्दै जाँदा कहिले ठूला पहाडसँग जम्काभेट हुथ्यो भने कहिले जंगल नै पूरै गाँजैगाँजाको लाग्थ्यो कसैले खेति गरेर छोडेको जस्तो।
बिहान १२ बजे त छेप्का पुगियो। लगभग छ घण्टा हिँडिएछ। थाकिएछ पनि। छेप्कामा खाना पाकिनसकेकाले आराम गर्न समय मिल्यो र केही बेरपछि खाना पाक्यो। खानामा अचार साह्रै मीठो रहेछ सोध्न। मन लाग्यो के-को अचार भनेर? अनि त अचार त त्यहीँ आउँदा बाटोमा भेटिएको गाँजाको रहेछ। पहिले नखाएको भएर होला निकै मीठो र नौलो टेष्ट लाग्यो। २ बजेतिर बाटो लागियो। आजको बसाइ से–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको सम्झना गेष्ट हाउसमा तय गरिएको थियो। फोक्सुडोबाट बगेर आएको खोलाको तिरैतिर अनि हरियो जंगल। त्यसमा पनि बेला-बेलामा साँघुरो बाटोमा खच्चड आउँदा लडाइदेला कि भन्ने डर भने आफ्नै ठाउँमा छँदैछ। बाटोमा थकाइ मार्ने क्रममा फोक्सुडो खोलाको पानी त यति धेरै खाइयो कुरै नगरम्। सारै मीठो चिसो पानी अनि त्यो चिसो पानी खोलाबाट उगाएर ल्याउने काम भने भाइ निर्माण देवकोटाले राम्रोसँग गरे। भन्थे बेला-बेलामा - दाजु पानी त साह्रै चिसो उगाउनै गाह्रो।
धेरैचोटि फोक्सुडो खोला तर्न पर्नै रहेछ। खोलामा आधुनिक पुल भन्दा पनि स्थानीय स्रोतसाधनबाट बनेको काठको पुल रहेछ। पुलको डिजाइन गुणस्तरको हिसाबले मलाई चाहिँ मन पर्यो। रात पर्न लागिसकेको थियो। होटल पुग्न अझै धेरै बाटो बाँकी नै थियो। अब चाहिँ थाक्न लागिएछ। पाइला लम्काउनु पर्ने हो। तर, दिनभरको हिँडाइले लामो पाइला गर्न सकिएको थिएन। दिउँसो हिँड्दा त अलि सफा ठाउँ। छानेर सफा गरेर बसिन्थ्यो। धेरै थाकेर होला बसौं जस्तो लाग्यो भने बसिहाल्ने। थकाइ मार्न पाए पुगि हाल्यो। करीब बेलुकीको ८ बजिसकेको थियो। पूरै अन्धकार थियो। केहीबेर बसौं भन्ने कुरा भयो। अनि त यसो सबै जना बसेकै ठाउँमा ढल्किएछौं। हामी त त्यहीँ बसेकै ठाउँमा निदाएछौं। हातमा टर्च लाइट थियो। भुइँमा टर्च खस्दा पो बिउँझिएँछु। अनि हेर्दा पूरै अन्धकार छ। त्यसमा फोक्सुन्डो खोलाको एकनासले सुसाइरहेको। अनि मनमा लाग्यो - मीठो निद्राको लागि भव्य महल र लगजरी बेड हैन, त्यसका लागि त केवल आफूले गरेको काममा आत्मसन्तुष्टि हुन पर्ने रहेछ जस्तो लाग्यो।
वास्तवमा त्यो केहीबेरको निद्रा निकै मीठो थियो। सबै जर्याकजुरुक उठेर हिँड्यौ। केहीबेरमा होटल पुगियो। सबै जना लामो सुस्केरा लगाउँदै आराम गर्नतिर लाग्यौं।
आजको बाटो नजिक थियो। तर ठाडै उकालो। त्यसैले घाम लाग्नुभन्दा पहिले उकाले काट्नुपर्छ भन्ने लाग्यो। अनि बिहानको चिया खाएर निर्माण भाइ र म भने लागियो उकालो। अरु साथीहरू पनि पछिपछि आउँदै थिए। थोरै बाटो हिँड्नेवित्तिकै घामले त भेटिहाल्यो नि। उकालोमा घाम भएपछि हिँड्न अलि गाह्रो। तर पनि वारिपारिका डाँडापाखा हेर्दै बाटो कटाउन सजिलो नै भइरहेको थियो। पछिपछि प्रकाश, मिथलेश, श्रुति बहिनी आइरहेका थिए। यतिकैमा उकालोकै बीचमा फोक्सुन्डो छहरा आँखै अगाडि आइपुग्यो।
आहा! कति रामाइलो। आँखै अगाडl यति ठूलो अनि रोमाञ्चक झरना। त्यहाँ पुगेपछि फोटो नखिची हिँड्ने भन्ने त कुरै भएन। त्यसैले सबैले खिचियो फोटो। यो झरना आएसँगै ताल धेरै पर थिएन। त्यसैले पाइला तालतिर नै लम्किरहेका थिए। उकालो बाटो, नयाँ बाटो रहेछ। अलि डरलाग्दो नै पो रहेछ। भिरको बाटो वान मिस्टेक गेम फिनिस्ट खालको। तर थोरै मात्र, करीब ५०० मिटर जति। यो पछि भने उकालो बाटो सकियो। अब भने तेर्सो बाटो आयो। पाइला अलि छिटो चलिरहेका थिए। निर्माण भाइ र म भने अलि अगाडि नै थियौं। अरु साथीहरू अलि पछाडि नै थिए। यो सँगै सानो डाँडा काट्नेवित्तिकै फोक्सुनडो तालसँगै जोडिएको रिग्म गाउँ पुगियो।
अब भने मनमा ठूलै राहत मिलेको थियो। किनकि, हामी हिँड्ने बानी नपरेकालाई अघिल्लो दिन करीब १४ घण्टा, अनि आज करीब ४ घण्टाको हिँडाइले ज्यान थाकेको महसुस भइरहेको थियो। रिग्म गाउँको सुरुवातमै एउटा पसल रहेछ। जहाँ चिया खाजा लगायतका समान पाइने रहेछ। निर्माण भाइ र म भने अरु साथीहरू भन्दा अलि अगाडि नै भएकाले केहीबेर आराम गर्दै चिया खानतिर लागियो। त्यहाँ भन्दै हुनुहुन्थ्यो - ताल त आइ हाल्यो नि गाउँको पछाडि त हो ५ मिनेटमा पुग्नु हुन्छ। अनि साथीहरू अलि पछाडि नै भएकाले हामीलाई मनले मानेन। लगियो तालतर्फ।
गाउँको बीचबाट बाटो रहेछ। घरहरू एकै ठाउँमा भएकाले कतै त बाटो भुलेर घोडाको तबेलातिर पनि पो पुगिएछ। तर पनि रिग्म गाउको जनजीवन नजिकबाट हेर्न पाइरहेका थियौं। फरक अनुभव पाइरहेका हामी ताल पुग्नै लाग्दा भाइ सुजन आइपुगे।
फोक्सुन्डो ताल वास्तवमै सुन्दर रहेछ। त्यति ठूलो ताल कति शान्त कति सुन्दर मनै फुरुङ्ग हुने। अब भने हाम्रा पछिका साथीहरू पनि सबै आइपुगे। सबै जम्मा भयौं। एक-आपसमा खुसी साट्यौं। केहीबेरअघि त भोक लाग्ला जस्तो थियो। अहिले त तालको मनमोहक दृश्यले होला भोक पनि हराएछ। कोही साथी पनि भोकको त कुरै गर्दैनन् त। बरु सबै तालको अगाडि मस्त नाच्न पो लागे। धेरै समयको नाच अनि फोटो खिचाइपछि बिहानको खाना होटल हिमालयमा तय गरिएको थियो। खानाको व्यवस्था फोक्सुन्डो गाउँपालिकाका वडाध्यक्ष एवम् होटल सञ्चालक निमा लामाले गर्नुभएको थियो। बिहानको खाना निकै मीठो थियो। खानासँगै केही समयको आरामपछि वडाध्यक्ष निमा लामाले तालको अगाडि राखेर स्वागत कार्यक्रमको राख्नु भएछ। स्वागत कार्यक्रमपछि पनि नाचियो, घुमियो। दिन बितेको त पत्तै भएन।
आज दिन पनि निकै खुलेको थियो। वडाध्यक्ष निमा दाइ भन्दै हुनुहुन्थ्यो- तपाईंहरू लक्की रहेछ। हिजोसम्म घाम लागेको थिएन आज त बिहानैदेखि घाम लाग्यो। खुलेको दिन भएकाले चारैतिरका हिमाल अनि डाँडापाखा राम्रोसँग देख्न पाइरहेका थियौं। काञ्जिरोवा हिमालको काखमा रहेको फोक्सुन्डो तालमा समय सँगसँगै पानीको पनि रंग परिवर्तन हुँदो रहेछ। देख्दा अचम्म लागि रहेको थियो। बिहानदेखि बेलुकीसम्म विभिन्न रंगमा सजिएको ताल अगाडि पुग्दा कस्को मन नरमाउला र? गाउँभन्दा अलि पर फोक्सुन्डो तालको किनारामा प्राचिन गुम्बा रहेछ। सोधी हेर्दा पन्ध्रौं शताब्दीतिर नै बनेको हो यो गुम्बा भन्दै हुनुहुन्थ्यो त्यहाँका स्थानीयहरू। अनि हेर्दा पनि निकै प्राचिन लाग्ने यो गुम्बा निकै आकर्षक रहेछ। यी सबै हेर्दा घुम्दा साँझ पर्न लागिसकेको थियो। तर घुमेर हेरेर भने मन भरिएको थिएन।
बेलुकाको खानाको लागि होटल हिमालयमा सबै जम्मा भइसकेका थियौं। कोही साथीहरू अगाडिदेखि नै रमाइलो गरिरहेका थिए। जाडोमा अगेना अगाडि बसेर आगो ताप्नको पनि मजा नै अर्को। यसैबीच निमा दाइले डोल्पाको स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम आयोजनाको गर्नुभयो। साह्रै रमाइलो हुने रहेछ। सँगै नाच्न कोसिस गरेको अलि पारा आएन। त्यो भन्दा हेरेर मजा लिन नै बेस हुने लागेर ताली बजायर मजा लिइयो सबैले। डोल्पालीको भेषभूषा, रहनसहन, संस्कृति निकै मौलिक थियो।
नेपालमा यस्ता थुप्रै सुन्दर ठाउँहरू छन्। तर प्रचारप्रसारको अभावले त्यस्ता सुन्दर पर्यटकीयस्थलहरू ओझेलमा परेका छन्। सरकारीस्तरबाटै सुन्दरतालाई विकास अनि पर्यटनको लागि प्रचार-प्रसार भएमा यो सुन्दरभूमिमा सुनको जलप लगाएसरह हुने थियो।
हेर्नुहोस् भिडिओ