स्वर्गद्वारी जाने रहर पहिलेदेखि नै थियो।
दाङको देउखुरी घर भए पनि त्यो अवसर जुरेको थिएन। प्युठान र दाङको सीमाना नजिकै भए पनि त्यो अवसर जुर्न लामो समय लाग्यो।
मलगायत क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) का निर्देशक दिनेशराज सापकोटा, वित्तीय अधिकृत नुरा बस्नेत, हिमालय चिल्ड्रेन च्यारेटी नेपालकी कार्यक्रम प्रमुख हिरा निरौला, कर्मचारी मुनमाया रावल, सीपी नेपालका कर्मचारीहरू रिया चौधरी, प्रेसा चौधरी, जुनु चौधरी, मेनुका चौधरी, नौनी चौधरी र मनोज श्रेष्ठसँगै बिहानै ५ बजेबाट यात्रा सुरू भयो।
सीपी नेपालले विगत १२ वर्षदेखि दाङ देउखुरीमा महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आइरहेको छ। हामी सबैको स्वर्गद्वारी यो पहिलो यात्रा थियो।
हाम्रो यात्रा दाङ देउखुरीको गढवा, लमही, भालुवाङ हुँदै प्युठान प्रवेश गरेपछि राप्तिको किनारैकिनार केही चिसो मौसमले मनमा बेग्लै आनन्दको संचार गर्दै थियो।
हामी गढवादेखि ५ घण्टाको गाडीको यात्रापछि प्युठानको भिंगृ प्रवेश गर्यौं।
भिंगृ स्वर्गद्वारी मन्दिरको मुख्य प्रवेशद्वार नै रहेछ। त्यसपछिको करिब आधा घण्टाको घुमाउरो र उकालो पक्की बाटो निकै रमाइलो भयो। त्यही बाटोबाट भिंगृ बजारको समथर भू-भाग राम्रोसँग अवलोकन गर्न सकिने हुनाले मन निकै फुरूङ्ग भयो।
प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ मा अवस्थित स्वर्गद्वारी समुन्द्र सतहदेखि करिब ७००० फिटको उचाइमा अवस्थित सुन्दर, शान्त र रमणीय धार्मिकस्थल नेपालका सातधाममध्ये एक हो भन्ने यसअघि मैले अध्ययन गरेको थिएँ।
सयौं वर्षदेखि वैदिक संस्कार बाँचिरहेको आभाष त्यहाँ पुग्ने जोकोहीलाई पनि हुन्छ।
अझ भनौं भने स्वर्गद्वारीले धेरैलाई स्वर्गको द्वारसम्म पुर्याएको छ भन्दा अनुपयुक्त नहोला। नेपालजस्तै भारतबाट पनि हजारौं हिन्दु धर्मावलम्बीहरू बर्सेनि त्यहाँ पुग्ने गरेको त्यहाँका पुजारीबाट जान्ने मौका मिल्यो। तर कोभिड-१९ का कारण त्यो भने रोकिएको रहेछ।
नेपालका प्राचीन मन्दिरहरूमध्ये एक यस मन्दिरमा पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको हुनाले यसको नाम स्वर्गद्वारी रहन गएको भन्ने किवंदन्ती सोही मन्दिर दर्शन गर्न आउनु भएका एक जना बृद्धले भने पछि थाहा भयो।
साथै परापूर्व कालमा ऋषिमुनिहरूले यही पवित्र भूमिमा आएर तपस्या गरेको र स्वंय भगवान ब्रह्मा समेत यही भूमिमा तपस्या गरेको जनविश्वास रहँदै आएको उहाँले बताउनुभयो।
यो आश्रम २६०० रोपनी क्षेत्रफलमा अवस्थित रहनुका साथै दाङका र देउखुरीका विभिन्न स्थानमा आश्रमको प्रशस्त जग्गा जमिन रहेको भन्ने कुरा थाहा भयो।
स्वर्गद्वारीका विशेषता:
यहाँ स्वर्गद्वारी महाप्रभुको समाधि भव्य रूपमा बनाइएको छ। शिवलिङ्ग स्थापना गरिनुका साथै यज्ञशालाको ठूलो हवनकुण्ड रहनुका साथै त्यहाँको आगो महाप्रभुले आफ्नो मन्त्रको प्रभावमा प्रज्वलित गर्नु भएको भन्ने जनविश्वास रहँदै आएको छ।
यहाँ सामूहिक रूपमा पुजारीहरूले एकसाथ बेदोच्चारण गरी पुजाआराधना र यज्ञ गर्ने रहेछन्। हामी त्यहाँ पुग्दा समेत त्यो कार्य चलिरहेको थियो।
पुजारीका अनुसार १९५२ देखि निरन्तर उक्त यज्ञकुण्ड अहिलेसम्म बलिरहेको छ र दैनिक पूजापाठ भैरहेको हुन्छ। यहाँ वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा ठूलो मेला लाग्ने गर्दछ साथै वैशाख पूर्णिमाको दिन आश्रममा अखण्ड महायज्ञ समेत हुँदो रहेछ।
समर्गमा भन्नु पर्दा स्वर्गद्वारीमा पुगेर पूजापाठ र अवलोकन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
पहाडका टाकुरा वरिपरि जंगल र थुम्कोमा मुख्य मन्दिर जो कोहीको पनि आकर्षणको केन्द्र नै रहेको भान भयो।
सुविधा
स्वर्गद्वारी आश्रम व्यवस्थापनले आश्रममै तीर्थयात्रीका लागि खाना र बस्न सुविधासहित राम्रो व्यवस्था गरेको छ।
त्यहाँ सोलारजडित तातो र चिसो पानीको व्यवस्था हुनुका साथै त्यही उत्पादन गरिएको साग, गाईको दूध, दहि र महिको स्वाद पनि हामीले लियौं।
अहिले त्यहाँ सयौं गाईहरू रहेको एक पुजारीले बताए। ती गाईहरू पनि स्वर्गद्वारीको आकर्षणको केन्द्र हो। यसका साथै वेदपाठशाला पनि स्वर्गद्वारीको आकर्षण हो। जहाँ बेदगुरूहरूद्वारा इच्छुक विद्यार्थीहरूले अध्ययन गर्दा रहेछन्।
कसरी पुग्ने ?
स्वर्गद्वारी पुग्न पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुबाङ हुँदै प्युठानको भिंगृको बाटो प्रयोग गर्न सकिन्छ। भालुबाङबाट ५५ किलोमिटर पक्की सडकको यात्रापश्चात् स्वर्गद्वारी गेट भिंगृमा पुग्न सकिन्छ।
भिंगृबाट साढे १३ किलोमिटर उकालो पक्की सडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट करिब डेढ किलोमिटर सिँढीबाट पैदल उक्लनुपर्दछ। तर त्यसरी हिँड्न नसक्नेका लागि शुल्क तिरेर घोडा सवारीको पनि व्यवस्था गरिएको छ।
यसका साथै मानिसहरू घोराही होलेरी हुँदै स्वर्गद्वारी पनि पुग्ने गर्दछन्। ५६ किलोमिटरको यात्रामा धेरै स्थानमा बाटो बिग्रिएका कारण तीर्थयात्रीहरू भालुबाङ हुँदै भिंगृसम्मको यात्रा सहज रहेको बताउँछन्।