स्कुले विद्यार्थी हुँदा भ्रमण भनेपछि फुरूङ्ग भईन्थ्यो। कस्तो खुशी लाग्थ्यो भने चित्तमा शान्ति र मष्तिस्कमा सन्तुष्टि एकैसाथ मिलेजस्तो।
त्यतिखेर पढाइ भनेको कक्षाकोठामा मात्र। मूल्यांङ्गकन भनेको पेपर पेन्सील परीक्षाबाट मात्र हुन्छ भन्ने सोचले शिक्षकमा घर गरेको थियो होला सायद। हुन त अहिले पनि अनुभूत गर्न सकिने परिवर्तन त कहाँ नै छ र !
किताबमा भएको क्रियाकलापबाहेक परियोजना कार्य गर्न लगाउने, पढाइकै क्रममा नयाँ ठाउँ, नयाँ वस्तु र नयाँ परिवेश चिनाउन प्रत्यक्षीकरण हुने विधि अपनाएको सायदै मात्र भेट्न सकिन्छ। आजभोलि भने कामले धकेलेर होस् या मनले फरक फरक ठाउँ देख्न घुम्न जाने गरेको छु।
पेशाले म शिक्षा सेवाको अधिकृत। मेरो कर्म, धर्म, मर्म र शर्म यसै क्षेत्रमा बगाउने पसिनासँग जोडिन्छ। नेपालको शिक्षा क्षेत्रको उचाइसँग जोडिन्छ। केही नयाँ काम गर्न सकूँ। हिजोभन्दा रुपान्तरण भएको अनुभूति दिन सकूँ भन्ने मनमा हुटहुट भइनै रहन्छ। त्यसैले होला सिक्न मन लागिरहन्छ। नजान्ने भएको अनुभूति भइनै रहन्छ।
कक्षा सञ्चालन भएको ४/५ महिना सम्म कक्षा ११ मा कुन पाठ्यक्रम संरचना कार्यान्वयन गर्ने भन्ने विषयमा अलमलमा रहेको अवस्थामा अदालतबाट हिजोमात्रै फैसला भएको थियो। त्यही फैसलाबाट समेत रोमाञ्चित हुँदै मेरो कर्मथलो कावासोती नगरपालिका नवलपरासीका सामुदायिक विद्यालयका ३४ जना प्रधानाध्यापकसँग पूर्व निर्धारित समय अनुसार नै शैक्षिक अवलोकन भ्रमणका लागि सुर्खेततिर लागियो।
बज्न पर्ने अडियो नबज्ने तर बाँकी गाडीका सबै पाटपुर्जा बज्ने गाडीमा भ्रमण गएको थिएँ म कक्षा ९ पढ्दा। तर यो पटक भने सरहरूले कन्डिसनमा रहेको गाडी खोज्नु भएको रहेछ।
बेलुकी सात बजे कावासोतीबाट छुटेको गाडी सुर्खेततिर हानियो। गाडी सुर्खेत पुग्न १३/१४ घण्टा लाग्ने दुरी थियो तर मन भने सुर्खेतको बड्डीचौरस्थित जनज्योति मा.वि.मा पुगिसकेको थियो।
स्कुले विद्यार्थी हुँदा आमाले दुःखजिलो गरेर दिएको थोरै पैसाले भ्रमणमा निस्किँदा भ्रमण अवधिभर कतिवटा फोटा खिच्न पैसाले पुग्छ होला? फोटा कस्ता आउँछन् होला? पाउरोटी र चिउरा अनि घरबाट लगेको भुटेको मकैले पेट भरेर पैसा बचाएर पनि धेरै फोटो खिच्न र बहिनीलाई केही नयाँ कुरा लगिदिन सकूँ भन्ने सुर्ताले सताइरहन्थ्यो तर आज सुर्ता फेरिएको छ। भ्रमण गर्न जान लागेको विद्यालयको बारेमा सुनेको र पढेको थिएँ। त्यस विद्यालय हेरेर आएपछि हामीले पनि यस क्षेत्रमा उदाहरणीय काम गर्न सकूँ भन्ने आशा थियो, लोभ थियो अनि सुर्ता पनि।
गाडीमा घरी सांङ्गीतिक माहोल हुन्थ्यो त घरी फिल्म हेरिन्थ्यो। म र प्रधानाध्यापक बिच पदसँग जोडिएको दकस नहोस् भन्नाका लागि मैले पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले अन्तरवार्ताको क्रममा भन्नुभएको वाक्यांश सुनाएको थिएँ। उहाँलाई पत्रकारको ‘तपाईलाई उट्पट्याँङ, कामुक र जोकर भन्छन् नि आलोचकहरू’ भन्ने प्रश्नमा उहाँले भन्नुभएको थियो, ‘हामी गर्नैपर्ने जिम्मेवारीलाई हल्का रुपमा लिन्छौ र नगर्दा हुने काम र कुरालाई महत्व दिन्छौं। मैले पाएको मूल जिम्मेवारीलाई महत्वका साथ लिन्छु, जवाफदेही हुन्छु र अन्य कुरामा म हल्का भैदिन्छु, सहज भैदिन्छु, जीवनको आधार तहबाट बाँचिदिन्छु। मान्छेको मप्रतिको हेराइको पछाडि म लाग्दिनँ।’
यसै प्रसङ्ग जोडेर मैले सबै प्रधानाध्यापकलाई भने ‘हजुरहरु आफ्नो पदीय जिम्मेवारीमा जिम्मेवार भैदिनुस्। जवाफदेही भैदिनुस्। बाँकी कुरामा खुलेर हाँस्नुहोस्, मजाले नाच्नुहोस्, भ्रमणलाई आफ्नै स्वादमा ग्रहण गर्नुहोस्।’
यति कुराले पनि प्रधानाध्यामकहरु र म बिच केही मात्रामा रहेको दकसको रेखा मेटियो। त्यसपछि जुनसुकै गीत पनि नाच्ने मान्छेबिना सकिन पाएन। नाच कसैलाई पनि भन्नै परेन। नाच्दै, फिल्म हेर्दै, साथीसाथी बिच मजाक गर्दै र कतिखेर कतिखेर स्क्र्याच भएको सिडी जस्तै झुस्स—झुस्स निदाउँदै सुर्खेत र बर्दियाको सीमाना बबही खोला पुलनजिकै गाडी रोकियो।
बिहान भै सकेकाले बिहानको नित्यकर्मको लागि त्यस क्षेत्रमा गाडी रोकेको थियो। १०/१२ वटा छाप्रा प्रकारका होटलहरू थिए। एउटा होटलको ट्वाइलेट प्रयोग गरेँ। त्यसमा हात धुने पानी र साबुन भेटिनँ। अर्को होटलमा गइ हात धुने पानी र सावुन प्रयोग गरेँ। त्यस होटलमा मान्छे बल्ल उठेका रहेछन्। चुलो सल्काएकै रहेनछन् त्यसैले अर्को होटलमा चिया खाएँ। ट्वाइलेट प्रयोग गरेको होटलमा नै दुई पैसा भए पनि छोड्छु भनेको मिल्दै मिलेन। सायद अरू सर मेडमलाई पनि यस्तै भयो होला।
आस्थाभन्दा ठूलो बल के नै हुँदोरहेछ र यो संसारमा। भ्रमणयात्री सबै मेडमहरू भ्रमणका लागि यात्रा तय गर्नासाथ नै सुर्खेत पुगेपछि पहिला देउती बज्यैको मन्दिर दर्शन गर्न मन सोझ्याउनु भो र सबै त्यतैतिर लाग्यौं।
बाटोमा हामी अधिकांश पुरूषहरुले मनमौजी खाजा खाना खाँदा पनि मेडमहरुले नखाई मन्दिर सम्झिनु भो, देउता सम्झिनु भो। खै मैले ठिक बुझे कि गलत त्यो त मलाई थाहा छैन। मनमा श्रद्धा हुनुपर्छ मन्दिर गईरहनु पर्दैन जस्तो लाग्छ। विश्वास एवम् आत्मबलको सञ्चार गराउँन, हरेक अवस्थामा सम्भावना देख्न सक्ने शक्तिको विकास गर्न,हरेकपरिस्थितिमा सामान्य बन्न सक्ने, दृढमनलाई कमजोर हुन नदिने बन्न सकूँ भनेर मैले मन्दिर सम्झिने गर्छु र कहिलेकाँही जाने गर्छु।
देवतालाई उपाधिको रुपमा लिएको छु। गुणवाचक शब्दको रुपमा लिएको छु। उन्नति, ऐश्वर्य, महानता, सदगुण, लाभ र रक्षा गर्ने संरक्षकका रुपमा विश्वास गरेको छु, ढाडस ठानेको छु, आधार मानेको छु, सम्मानको बिम्ब मानेको छु त्यसैले होला मनले भगवान सम्झन्छु तर पेट खाली राखेरै मन्दिर जानुपर्ने मान्यता राख्दै राखिनँ। मजाले बिहानको खाजा खाइयो र देउती बज्यैको मन्दिर गइयो।
विरेन्द्रनगर बजारदेखि बड्डीचौरसम्मको यात्रा साहसिक नै रह्यो। सुर्खेत जुम्ला रोड। गाडी ठूलो बाटो सानो। घुम्ती पनि त्यस्तै। कर्णालीलाई हेर्ने दृष्टिमा शासकहरुले मन साँघुरो गराएजस्तै बाटो पनि साँघुरो रहेछ। ड्राइभर त्यस क्षेत्रका लागि नौलो थिए। मोडहरुमा दोहोरो गाडी पर्दा ५०-६० मिटर जति नै गाडी ब्याक गर्नु पथ्र्यो। गाडी मात्रै ब्याक हुन्थेन गाडीसँगै हाम्रो वड्डिचौर जाने इच्छा पनि ब्याक हुन्थ्यो। मन सिरिङ्ग हुन्थ्यो। धन्न सुर्खेत भेरीगंगाका शिक्षा प्रमुख धिरेन्द्र शर्मा सरले अल्लि अगाडीको बाटो राम्रो छ भन्दैभन्दै ड्राइभरको मनलाई अगाडि लतार्नु भो। हामीलाई ढाडस् दिनु भो। मजाक गर्न मायुर दिपक धिमिरे सरले भन्नु भो, ‘डाटामा विकास भएको देश हो बाटामा होइन, डाटा र बाटा दुबैमा विकास हुन इमान्दार नेता चाहिन्छ। कर्तव्यनिष्ठ कर्मचारी चाहिन्छ।’ कुरा मज्जाकै लाग्यो। यसरी नै वड्डीचौर पुगियो।
लुरे लुरे। अनुहारमा कान्ति भएका। मुसुक्क हासेर बोल्ने। एक थान मान्छेले बड्डीचौर चोकमा गाडी रोक्नासाथ नमस्कार र स्वागत भन्दै हाम्रो गाडीको नजिक आइहाले। अड्कल लगाउन अब गाह्रो भएन। त्यै पनि सोधियो ‘तपाई जनज्योति मा.वि.को प्र.अ. नारायण सर?’ हो भन्ने जवाफ आयो। बाँकी यात्राको तारतम्य उहाँअनुसार नै चल्यो। सुर्खेतमा खाजा खाएको धेरै समय भैसकेको थियो। कतिले त त्यहाँ पनि खानुभएको थिएन। त्यसैले पहिलो कार्यसूची भोजन ग्रहण बन्यो।
बड्डीचौरमा भर्खर भर्खर सुरु गरेको त्यो होमस्टेको खाना स्वादिलो त थियो नै अर्गानिक र स्थानीय परिकारले झन मन लोभ्यायो। सबैले भन्दै हुनुहुन्थ्यो आज धेरै खाना खाइयो। भनिन्छ, ‘भोजन भन्दा भोक मिठो।’
सायद त्यस दिन भोजन र भोक दुवैले साथ दिए। खाना केही बाँकी रहेन। अड्कलेको खानाले पुग्दै पुगेन। अघिल्लो दिन नारायण सरले फोनमा भनेको कुराले मन मष्तिस्कमा फरक खालको झड्का दिईरहेको थियो। उहाँले भन्दै हुनुहुन्थ्यो, ‘हजुरहरु खाना खाने गरी बड्डीचौर नै आइदिनुस्। दुई पैसा गाउँमै छोडिदिनुस्। सुर्खेत बजारमा खाना खानु भो भने पैसा उतै छोडिन्छ। शहरको पैसा गाउँ आउन गाह्रो हुन्छ।’
ग्रामीण अर्थतन्त्रको विकास कसरी गर्ने ? स्थानीय स्रोत साधन, सिप र श्रमको परिचालन कसरी गर्ने? भन्ने कुरामा त्यो स्तरको बुझाई, त्यो खालको लगावका लागि म नारायण सरप्रति हिजोकै फोनको संवादबाट प्रभावित थिएँ।
खानापछि नारायण सरले वड्डीचौरको फाँटमा कतै विद्यालयकै त कतै लिजमा लिएको जग्गामा विद्यार्थी परिचालन गरेर लगाएको तरकारी खेती, माछा, हाँस, टर्की, मौरी, बाख्रा र कुखुरापालन तथा जडीबुटी खेती र प्रशोधन व्यवस्था देखाउँदै जानुभयो। हाम्रा जिज्ञासा मेट्दै जानुभो। हाम्रो भ्रमण टिमको सदस्य प्र.अ डा. गोपाल लम्साल सरको जिज्ञासा र नारायण सरको जवाफ झलझली सम्झिरहेको छु।
एउटा विद्यालय जहाँ १३५० भन्दा वढी विद्यार्थी छन्। नियमित पठन पाठनका अलवा यतिका धेरै काम गर्नु भएको रहेछ। समय व्यवस्थापन र सहयोग कसरी जुटाउनु भएको छ भन्ने जिज्ञासा थियो। नारायण सरले भन्नु भो, ‘नेपाल आर्मीको सिपाही होस् या नेपाल प्रहरीको जवान राष्ट्रका लागि २४ सैं घण्टा सेवा दिन तयार रहन्छ। संकोच मान्दैन, बेला कुवेला भन्दैन, ओभर टाइम काम गरेँ मलाई सुविधा खै भन्दैन। हामी शिक्षक पनि त्यसरी नै पेशाको जिम्मेवारीप्रति तन र मन दियौं भने सम्भव छ। मेरो लगावले राष्ट्रलाई सहयोग पुग्छ भने म समर्पित हुन तयार छु भन्ने मानसिकता नै सम्भावना र कार्यसम्भवको प्रस्थान बिन्दु हो। जहाँसम्म सहयोग प्राप्त गर्ने कुरा छ त्यो आफूमा भर पर्दछ। यदि हामी योगी भयौं भने सहयोगी प्राप्त गर्न सक्दछौं। दुरदर्शिता, समर्पण, ईमान्दारिता, त्याग र निष्ठालाई आफूमा जोडौं। आफ्नो जीवनपद्धति बनाउँ। क्रमशः जनजनबाट सहयोग र सदासयता प्राप्त हुँदोरहेछ। सबैको आफू भइदोरहेछ। सबै आफ्ना हुँदा रहेछन्।’
यति भनेपछि उहाँ टक्क अडिनु भो। डा. लम्सालसँगै हामी सबै अवाक भयौं। नारायण सरको जवाफ राजनेताको, दार्शनिकको एवं धार्मिक गुरुकोजस्तो लाग्थ्यो। एउटा कर्मी माहुरीकोजस्तो लाग्थ्यो। उहाँको एउटा बानी झनै राम्रो लाग्यो। हामीले राखेका जिज्ञासालाई विद्यार्थी, स्वयंबाट र विद्यार्थीका अभिभावकबाट अभिव्यक्त गराउनु भो। विद्यार्थीहरु त्यहाँको परिवेशको लागि भोक्ता हुन्। अभिभावकहरु सन्तानका माली हुन् , व्यवस्थापक हुन्, उनै भोक्ता र मालीहरुबाट त्यहाँको परिवेश र हाम्रो जिज्ञासाको बारेमा सुनाइदिनुभयो।
करिब ४ घण्टाको त्यहाँको बसाइपछि हामी वीरेन्द्रनगर बजार आयौं। जाँदाभन्दा आउँदा समय कम लाग्यो। सायद ड्राइभरको मनोदशा र अभ्यस्तताले काम गर्यो होला। त्यो रात हामी तीन वटा होटलमा बाँडिएर बस्यौं। कक्षा ९ मा पढ्दाको भ्रमणमा जनकपुर बास बसिएको थियो। खर्च घटाउन सार्वजनिक अतिथि गृहमा बसियो। त्यो रात न लामखुट्टे सुत्यो। न हामीलाई सुत्न दियो तर यो पटक त्यस्तो भएन। ठाउँ फरक, व्यवस्थापन फरक।
थकाइ निकै लागेकाले सुतेपछि एकैपटक बिहान आँखा खुल्यो। त्यो पनि ढोकाको ढकढक आवाजले। तीनवटै होटलमा बसेका हामी गाडीमा जम्मा भइयो र काँक्रेविहारतिर लागियो। काँक्रेविहारको मूलद्धार नियमित रुपमा १० वजे खुल्ने रहेछ। हामी ७:१० मा पुगियो, ढोका खोलिदिन अनुरोध गरियो। खोल्ने मान्छे आउन करिब एक घण्टा लाग्यो। यो एक घण्टाको समय फोटो सेसनमा बित्यो। वान्की वान्कीका फोटा खिचिए। पुरै समूहको। पहाड घर एकैतिर भएकाको समूह। थर मिल्नेहरुको समूह। जात मिल्नेहरुको समूह। लिङ्ग मिल्नेहरुको समूह। हाइट मिल्नेको समूह। वेलुका सँगै खाजा खान जानेहरुको समूह। केही त गर्नै पर्छ भन्नेहरुको समूह। सकेसम्म झारा टारेर जागिर खान पर्छ भन्नेहरुको समूह ...यस्तै यस्तै समूहको फोटो खिचियो। सिंगल फोटा पनि रहर मेट्ने गरी खिचियो। फोटै खिच्चका लागि लगेका चस्मा र कपडाहरुले पनि काम पाए।
स्कुले विद्यार्थी हुँदा फोटो खिच्न पाए खान पर्दैनथ्यो। दशैँदेखि अर्को दशैं पुग्थ्यो त्यो रहर पुरा गर्न। त्यै पनि सिंगल खिच्न कहाँ पाउनु। पच्चीस तीस जनाको परिवार जम्मा भएर खिचेको फोटोमा अगाडि नै बसे पनि आफैंलाई चिन्न गाह्रो हुने। त्यै पनि फोटामा म छु भनेर निकै मजा लाग्थ्यो। कक्षा ९ मा पढ्दा गएको भ्रमणको फोटो केबल यादमा मात्रै छ। आमाले एक छाक घरबाट लगेको खानेकुरा खानु अर्को छाक किनेर खानु भनेर दिएको पैसा थोरै मात्र थियो। मैले भने दुवैछाक घरबाट लगेको मकै भटमास र चिउरा खाएर धेरै फोटा खिच्च लागेँ। रहरहरु पुरा गर्न मन लाग्यो। अरुले एक कपी फोटो खिचेको वाह्र रुपैयाँ भनेका बेला मनोज सारूले दश रुपैयाँमा खिचिदिन्छु भने। मैले दिनपछि धुलाएर आएको फोटो सबैले हेर्न थाले। साथी साथीमा देखाउन थालेँ। मनोजले भने मेरो फोटो दिएन। रिल जलेछ भन्यो। त्यो दिन खाना खानै मन लागेन। जलेको त रिल थियो तर कस्तो रहरहरु जलेजस्तो। उमंगहरु जलेजस्तो भयो। चार महिनापछि मनोजले बल्ल भन्यो, ‘रिल नहाली फ्ल्यास मात्र हानेर तिमीहरुबाट पैसा उठाएँ मजाले पकेट खर्च बनाएँ।’ सुन्ने बित्तिकै त नमज्जा लाग्यो। साथीहरुबिच फोटाको माहोल सकिसकेको थियो। उमङ्गगहरु हराई सकेको थियो। त्यसैले उसप्रति रिस पनि उठेन। आजभोलि कतै भेट्दा मनोज आफैंले तिमीलाई फोटाको पैसा वापस गर्नुछ भन्छ। त्यहीँ नै मज्जा लाग्छ। आत्मीय लाग्छ। बालापनको पूँजीजस्तो लाग्छ। काँक्रेविहारको परिसरमा खिचिएका फोटाहरुसँगसँगै बालापन फ्ल्यासब्याक भएर आयो।
हिन्दु र बौद्धमार्गाी दुबैले महत्वकासाथ लिने काँक्रेविहार लुम्बिनीको विहार पछिको पुरानो र ठूलो विहार रहेछ। ढुंङ्गैढुंङ्गाले बाह्रौ शताब्दीमा बनाइएको यस कलात्मक विहार वि.सं.१९९० को भूकम्पमा भत्किएपछि पुननिर्माणको क्रममा रहेको पाइयो। त्यस विहारको पुननिर्माण कार्यले पनि काठमाण्डौको बाहिरी चक्रपथ र मेलम्चीको पानी ल्याउने योजनाले जस्तै बिलम्बको पराकाष्टा बेहोरेको रहेछ। हजुरबाको पालोमा थालेको पुननिर्माण नातिको पालोमा आउँदा पनि सकिएको रहेनछ।
काक्रेबिहारपछि लाटी कोइली र बुलबुल तालको दर्शनसँगै सुर्खेतका लागि हामीले तय गरेका भ्रमण गन्तब्य सक्यौं।
सुर्खेतमा बिहानको खाजा खाएर घरतर्फको यात्रा सुरु गर्यौं। नारायण सरले भनेझै सकेसम्म खानाको लागि खर्च गरिने पैसा ग्रामीण बस्तीमा नै छोड्न चाह्यौं। त्यसैले बाटोमा पर्ने गाभर भ्याली भन्ने ग्रामीण बस्तीको होमस्टेमा खाना खाँयौं। खाना पछि यात्रा निरन्तर घर तर्फको थियो। कतिपय सरहरुलाई बिजुली पानीले नचायो। कतिपयलाई रहरले नचायो त कतिपयलाई नाच्ने सिपले नै नचायो।
फुलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको
कौसीमा बसी तिमीले हेर्दा मनमेरो हलचल भो...
यो गीतलाई अन्याय भयो होला। दर्शक सर मेडमलाई बेस्वाद लाग्यो होला। तर पनि गीत नसकिन्जेल म नाचि नै रहेँ। कसैलाई पनि नाच भन्नै परेन। स्वतस्फूर्त सबै नाचियो। बरू बसको गल्लीमा सबै एकसाथ नाच्न नअटाएर पालो गर्नुपथ्र्यो। युवाकुमारी मेडमको नाच अनवरत थियो। लाग्छ ८-१० घण्टा उहाँ नथाकिकन नाच्नु भो। उहाँले त्यति धेरै नाच्दा पनि नफाट्ने उहाँले लगाएको जुत्ताको ब्राण्डको नाम सोधेँ। सोही ब्राण्डको जुत्ता आमालाई र मेडमलाई किनिदिने निधो गरेको छु।
पेटभरी नाचियो। मनभरी हाँसियो। मर्यादाको सीमामा रही मन खोलेर गरेको भेज ननभेज कुराले मष्तिस्कलाई पनि हल्का बनायो। मध्यरातभन्दा पछिमात्र कावासोती आइपुगियो। सबैलाई सहज हुने गरी ओराल्दै ओराल्दै गाडी चालक र सहचालक आफ्नो घर पुग्नुभो। यात्रा सकियो ...
सुर्खेतबाट फर्केपछि मनभरी प्रश्नै प्रश्न
कावासोती फर्केपछि जनज्योति मा.वि. वड्डीचौरले झस्काइरहेको छ, निन्द्रा हराम गराएको छ। त्यस विद्यालयले गरेका कार्यसँग मेरो परिवेश तुलना गरीरहेको छु। राष्ट्रिय शिक्षा प्रणाली तुलना गरिरहेको छु। हाम्रो गति सम्झिरहेको छु। मति सम्झिरहेको छु। उक्त विद्यालयका उल्लेख्य कुराहरुले मनभरी प्रश्नै प्रश्न उत्पन्न गराएका छन्।
विद्यालयले विद्यार्थीलाई परियोजना अनुसार ऋण दिने। सोही लगानीबाट विद्यार्थी पढाइ सँगसँगै व्यवसायिक कृषिकर्म गर्ने। कृषिकार्यको खोज अनुसन्धानमा लाग्ने, स्थानीय स्रोत साधनको पहिचान र उपयोगमा जोडिने, समूहमा कार्य गर्ने, बजारको माग र उपभोक्ताको चाहनाको बुझाइ, आयात र निर्यात अनि नाफा-नोक्सान तथा हिसाब रखाइ सबैमा एकसाथ सरिक हुने कस्तो राम्रो अभ्यास। पढाइ पनि कमाइ पनि।
विद्यालयलाई सिप विकास मात्र होइन उद्यमशीलता विकासको ल्याव बनाइएको छ। स्थानीय स्रोत साधन र अवसरलाई चिन्ने चक्षु खोलिदिएको छ। पढाइलाई श्रमसँग जोडिदिएको छ। जीवन पद्धतिसँग जोडिदिएको छ। कम्यूनिष्टले भन्ने जनवादी शिक्षा वा प्रजातन्त्रवादीले भन्ने समाजवादी शिक्षा, दुबैको मर्म यदि गरिखाने शिक्षा हो भने जनज्योतिलाई अनुसरण किन नगर्ने?
सुर्खेतको त्यो ग्रामीण परिवेश जहाँ तीन पुस्ता नै लाहुरे हुन खोज्ने सामाजिक मान्यताहरु, आकाङ्क्षाहरु र मूल्यहरु छन्, त्यहाँ शिक्षालाई त्यो रुपमा लैजान सम्भब हुने तर अन्य ठाउँमा किन नहुने ? निम्नवर्गीय ग्रामीण परिवेशको त्यस विद्यालयले कक्षा १ देखि १० सम्म पूर्णतया निःशुल्क पढाएर स्रोत साधन सम्पन्न शहरिया विद्यालयहरुलाई दरिलो झापड हानेको छ। त्यो झापडलाई ईख र अनुकरणका रुपमा कहिले लिने?
त्यस विद्यालयको एक एक कणमा समुदायको अपनत्व छ। अपनत्व नहोस पनि कसरी। ६ रोपनीमा रहेको विद्यालयलाई आज २० बिगाह क्षेत्रफलमा फैलाउन घर घरबाट दान गरेका छन्। सहयोग गरेका छन्। विद्यालयको भवनहरु बनाउन श्रमदानमा आफैंले इट्टा पारेका छन्। सामुदायिक वन, सामाजिक संघ–संस्थाहरु र स्थानीय सरकार विद्यालयको लागि संधै सहयोगी बनेका छन्। साँच्चै ‘समुदाय विद्यालयको लागि, विद्यालय समुदायको लागि’ भन्ने मर्मको गतिलो उदाहरण प्रस्तुत गरेका छन्। हाम्रो परिवेशमा विद्यालयको उन्नति र अवोन्नतिसँग जोडेर समुदायले आफ्नो उचाइ कहिले नाप्ने?
जनज्योति जहाँ ३० वर्षसम्म एक जना व्यक्ति वि.व्य.स. अध्यक्ष हुनुभएछ। विद्यालयले ४९ औं बसन्त काट्दासम्म केवल तीन जनामात्रै अध्यक्ष हुनुभएछ। विद्यालयले अनुकरणीय गति लिएको छ। समाजले पहिचान पाएको छ। विद्यार्थीले गर्भ गर्न लाएक शिक्षा पाएका छन्। विद्यालयको हितका लागि मलमूत्र पनि त्याग नगर्ने तर सामाजिक रवाफ र राजनीतिक आयतनका लागि पद खोज्ने हामीजस्ता पदभिरूहरूले कहिले सिक्ने त्यस विद्यालयबाट ?
हाम्रो शिक्षा प्रणालीको भोक्ता हामी सबै छौं। आज हाम्रा नानीबाबुहरुमा अध्ययन र जीवनवृत्तिका लागि विदेश जाने सोच र व्यवहार कहालीलाग्दो ढङ्गबाट बढ्नुले समग्र शिक्षा प्रणाली सम्बद्ध यी सवालहरु सोचनीय छन्।हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरुलाई नेपालमा रहेको स्रोतसाधन, अवसर तथा सम्भावनाहरुालाई पहिचान र उपयोग गर्न सिकाउन कतै चुक्यो कि ?
राष्ट्रप्रेम, राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी, युवावर्गको राष्ट्र निर्माणमा रहनुपर्ने भूमिकामा संवेदनशील बन्न सिकाउन कतै चुक्यो कि? हाम्रो देशको शिक्षा विश्वव्यापिकरणको लहर अनुकुलको प्रतिश्पर्धी बन्न सकेन कि? परम्परागत सिप, संस्कार र नेपाली मौलिकतालाई जगेर्ना गर्न शिक्षा पद्धति काविल हुन सकेन कि? प्रयोजनवादी यथार्थपरक दृष्टिकोणबाट होइन पपुलिष्ट नारा र दार्शनिक जडताको मियो समातेर शिक्षा सुधारमा लागियो कि ? म यी र यस्तै प्रश्न र जिज्ञासाको गोलघरमा उभिएको छु। सबै सवालहरुको उत्तर जनज्योतिले नदेला तर पनि त्यस विद्यालयलाई सिकाइको विश्वविद्यालय एवं उत्प्रेरणाको बिम्ब ठानेको छु। अगाडि बढ्ने साहस मानेको छु।
त्यस वड्डीचौरको समाज र कर्मशील प्र.अ. तथा शिक्षकहरु प्रति कृतज्ञ छु।
लेखक कावासाती नगरपालिका, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का शिक्षा अधिकृत हुन्।