एक यौवनाले त आफ्नो केटा साथीको ओठमा ओठ जोडेर लामो चुम्बन लिन थाली। मेरो बिहे भएको थिएन न त कुनै गर्लफ्रेन्ड नै। यौवनको हर्माेन उत्कर्षमा थियो होला। लाजले भुतुक्कै भएँ।
...
म आशाबादी छु कुनै दिन धुले बाटो चिल्लो बन्ने छ र कालीगण्डकी किनारैकिनार मोटरमा सरर तातोपानी, जोमसोम र लोमन्थाङ हुँदै कोरला पुगिएला भनेर।
म्याग्दीको तातोपानीदेखि अलिमाथि कालीगण्डकी नदीको झोलुङ्गे पुल तरेर करिब २ घण्टा उकालो चढेपछि उपल्लो नारच्याङमा पुगेर फ्रेन्च पदयात्री दम्पति र म पारिलो सानो चउरमा बिसाई मार्न बस्यौं। उनीहरूले बिसलेरी मिनरल वाटरको बोतल र मार्स चकलेट बार निकालरे खाए अनि मलाई पनि दिए।
त्यतिबेला म भर्खरै १७ वर्षको अल्लारे थिएँ, चकलेट त के मिनरल वाटर समेत मिठो लाग्ने! अलि थकाई मरेपछि उनीहरु फ्रेन्च भाषामा कुरा गर्न थाले म ज्ञानी भएर केही नबुझे पनि सुनिरहें। ती महिलाले मलाई हेर्दै अँग्रेजीमा भनिन, ‘४० वर्ष अघि मौरिस हर्जोग ऊ त्यो परको मिरिस्ति खोला किनारैकिनार हिँडेर अन्नपुर्ण प्रथम हिमालमा पुगेका थिए।’
विशाल हिमालको नजिकै बसेर चकलेटको स्वाद लिँदै गर्दा आफू पनि बिदेशी पर्यटक भएझैं लागेको थियो। को हो को मौरिस हर्जोग ! तैपनि नम्र भएर ओक्के!’ भनें। अनि उनका पतिले नक्शा हेर्दै यो नजिकै दाहिने तिरको अन्नपूर्ण दक्षिण हो, त्यो परको अन्नपूर्ण प्रथम हो, सामुन्नेको निलगिरि अनि कालिगण्डकी पारि टाढा देखिने धवलागिरि म्यासिफ अनि दाहिने तिरको टुकुचे पिक हो भनेर चिनाए। आफ्नै देशमा मेरै भिरपाखाका बारेमा उनीहरूबाट म सिक्दै थिएँ।
सन् १९९० को मे महिनामा एक फ्रेन्च दम्पति, म र एकजना पोर्टर भाइ पोखराबाट जोमसोम उडेर गएका थियौं। म पहिलोपल्ट जहाज चढेको थिएँ। विश्वकै गहिरो कालीगण्डकीको खोंचबाट उड्दा शाही नेपाल वायसुेवा निगमको ट्विनअटर फुच्चे जहाज यति हल्लेको थियो कि जीवनमा फेरि सानोे जहाज कहिल्यै नचढने प्रण गरेको थिएँ।
जोमसोममा ओर्लनै वित्तिकै अनौठौ र अलौकिक दृश्यका कारण मेरो डर रोमान्चमा परिणत भएको थियो। चिसो मौसम, वरपर नांगा डाँडा, दक्षिणतिर हिमाल देखिने, समतल छाना र गुजुमुज्ज परेका घर भएका पातला बस्तीहरू, सानो बजार, स्थानीय बासिन्दा भन्दा बढी बिदेशी पर्यटक।
जोमसोमबाट मार्फा हुँदै टुकुचे जाने पदमार्गका दुबैतिर स्याउका बंगैंचा थिए। मुस्ताङको टुकुचे गाउँ र घासामा एक एक रात बिताएपछि हामी सबै पदयात्रीले थकाई र बिसाई मार्ने प्रसिद्ध तातोपानीमा आइपुगेका थियौं।
तातोपानीमा ४–५ वटा जति ठूला र अरु केही साना टि हाउस थिए। हामीे एउटा व्यस्त टि हाउसमा गयौं। विदेशी पदयात्रीले सबै टि हाउस भरिभराउ थिए। फ्रेन्च दम्पतिले कोठा पाए तर म र पोर्टर भाई भने पाउरोटी सेक्ने बेकरीको पिठैपिठो भएको भुइँमा सुत्नुपर्ने भयो। त्यो समयमा नेपाली बिरलै पदयात्रामा जाने भएकाले बिदेशीसंग जाने नेपाली कि गाइड हुन्थे कि पोर्टर। मुक्तिनाथ तिर्थयात्रामा जाने हिन्दू बाबाहरू भने देखिन्थे। नेपाली तिर्थयात्रीले त बाटोमा आफैं पकाएर खाने चलन पनि थियो।
झोला भुइँमा राखी गाइड र पोर्टरलाई खाना खुवाउन छुट्ट्याइएको भान्सामा गयौं र अन्य नेपाली गाइड र पोर्टर दाजुभाईसँंग टुक्रुक्क बेन्चमा बस्यौं। तुरुन्तै स्टिलको कपमा चिया र डोनट आइपुग्यो। टि हाउसकी फरासिली संचालिका एक जना महिला हुनुहुँदो रहेछ, सबैलाई थकाली आतिथ्यता दिन सक्ने।
‘बाबुहरू कुन ट्रेकिङ कम्पनीबाट आएको हो कर्याकुरुङ हो कि गणेश हिमाल?’
म अलमल्ल परें। सानोमा ‘कर्याकुरुङ आयो काँक्रा फर्सी रोप’ भन्ने त सुनेको थिएँ तर कर्याङकुरुङ ट्रेकिङ कम्पनी सुनेको थिइनँ।
‘हामी त पोखराबाट आ’को, फ्रेन्च केटाकेटीसँग। तर हामी दुबैजना पहिलोपटक आ’को नयाँ हो।’
अब उनी अलमल्ल परिन्। उनलाई हामीसँग गफिने फुर्सद थिएन। पाहुनाको खातिरदारीमा अत्यन्तै व्यस्त। काठमाडौंमा त्यतिबेला नाम चलेका ट्रेकिङ कम्पनीबाट आएका गाइडले अन्नपूर्णको फन्को (राउण्ड अन्नपूर्ण), जोमसोमबाट आउने र पोखराबाट जोमसोमतिर जाने पदयात्रीलाई प्रायः तातोपानीमा एक दिन आराम गराउँथे भने एकल पदयात्री पनि रोकिने हुँदा तातोपानीको रौनक बेग्लै थियो। ठूला टी हाउसमा नेपाली, इण्डीयन, चाइनिज, तिब्बती, मेक्सिकन, इटालियन, फ्रेन्च आदि खानाका परिकार तयार गर्न जान्ने दक्ष कुक थिए भने साना टि हाउसका सञ्चालकलाई पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले तालिम दिएर पदयात्रीलाई मख्ख पार्न सिकाएको थियो।
यहाँ खोंच भएकाले घाम चाँडै अस्ताए पनि उज्यालै थियो। चिया खाएपछि म सिंढी ओर्लेर गर्जिदैं बगेको कालीगण्डकी किनारमा रहेका तातोपानीका कुण्ड भएको स्थानतिर झरें। विदेशी पदयात्री पर्यटकको भिड थियो। युवती विकिनी र मोनोकिनी लगाएर कोही तातोपानीमा खुट्टा डुबाइरहेका थिए। कोही कुण्डमा टाउको मात्र देखाएर डुबेर आनन्द लिँदै। केही ठिटाहरू आ–आफ्ना गर्लफ्रेन्डको आलिंगनमा बाँधिएर बियरको चुस्कि लिएर मस्त थिए। एक यौवनाले त आफ्नो केटा साथीको ओठमा ओठ जोडेर लामो चुम्बन लिन थाली। मेरो बिहे भएको थिएन न त कुनै गर्लफ्रेन्ड नै। यौवनको हर्माेन उत्कर्षमा थियो होला। लाजले भुतुक्कै भएँ। सायद मेरा गाला गुलाबी भएका थिए होलान् तर गोरागोरीको क्रिडाबाट आँखा हट्न सकेनन्। भिड कम भएको ठाउँमा तातोपानीमा डुबेर थकाई पखालेर बेलुका नमस्ते लजको दालभात खाएर भुइँमा सुत्दा म पुलकित भएको थिएँ।
ती स्वप्निल दृश्य आज पनि पूर्वस्मृतिका रुपमा मेरो मानसपटलमा ताजा छन्। कति स्वच्छ कति स्निग्ध कति रमणीय थिए अन्नपूर्ण क्षेत्रका पदमार्ग। माथि मुस्ताङबाट खच्चडले घाँटीमा झुण्डाएको घण्टी टिङ्टिङ् पार्दै स्याऊ, जडीबुटी पोखरा ल्याउने र पोखराबाट खाद्यान्न बोकेर फेरि मुस्ताङ लाने। खच्चडका कारण पदमार्गमा धुलो भने उड्थ्यो र ट्राफिक जाम हुन्थ्यो। उनीहरूले बिर्सजन गरेको लादीले बाटो ढाकिएको हुन्थ्यो। तर कसैलाई गुनासो थिएन। नेपाल विश्वभर प्रख्यात थियो, पर्वतारोहणका लागि सगरमाथा र पदयात्राका लागि अन्नपूर्ण। पदमार्गमा पर्ने सबै गाउँ गुल्जार र कस्मोपोलिटन थिए।
तर आजको दृश्य फरक छ। आन्तरिक पर्यटकलाई पनि पर्वतारोहणतिर आर्कषित पार्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघको पहलमा १० जना नेपालीलाई मुस्ताङको धम्पुस पिक (६,०१२ मिटर) चढाउने ध्येयले २६ जनाको टोलीसंगै मोटरमा पोखराबाट मार्फा जाँदा तातोपानी पुगेपछि म अलि उद्धेलित भएँ। कुण्ड नजिकै गाडीबाट झरेर तातोपानीमा जाने जाँगर आएन।
फर्कंदा भने पूर्वस्मृतिहरूलाई झक्झक्याउन तातोपानी बजारमा भौतारिन मन लाग्यो। पुरानो बाटो उस्तै छ तर लगभग सुनसान। कोभिडका कारणले पनि होला! केही पुराना टि हाउसले नयाँ रुप लिएका रहेछन, केही पुरानै कायामा ठडिएका थिए भने केही बुढ्यौलीमा अतित सम्झेर टोलाएजस्ता। धेरै ख्याती कमाएको पुरानो टि हाउस भित्र छिरेँ। टेबुल र कुर्सि मानौ पर्यटकको पर्खाइमा छन् तर भित्र पस्दा कोही थिएन।
म पहिलोपटक यहाँ बास बसेको टि हाउस भित्र छिरें। आगो दनदनी बलिरहने केही न केही पाकिरहने चुलो चिसो थियो। कति पर्यटक र उनीहरूका सहयात्री गाइड र पोर्टरलाई यसले आतिथ्यता दिएको थियो होला। सेतो रंगले पोतिएको नेपाली परम्परा र झझल्को दिने घर विस्थापित भएर धमाधम नयाँ संरचना बन्दै रहेछन। मलाई अझै केही समय विताउन मन लागेकाले लटरम्म फलेको सुन्तलाको बोट भएको नयाँ होटल भित्र छिरें अनि तातोपानीको तिर्खा रसिला सुन्तलाले मेटाएँ।
समयको निर्मम पाइलाले तातोपानीको मात्र नभै अन्नपूर्णको फन्को मार्ने पदमार्गमा पर्ने धेरै गाउँठाउँमा हिँडेका लाखौं स्वदेशी र विदेशीका पाइलाको डोब मेटिएको छ। पदयात्रीको लर्काे लाग्ने बाटो अहिले झर्काे लाग्ने जस्तो भएको छ। हाम्रो अधिक महत्वाकाँक्षाले लतक्क पोतिएको यहाँको प्रकृतिको क्यानभास धुलाम्मे बनेको छ। भुदृश्यको पुरानो फ्रेम फुटिसक्यो तर नयाँ तयार भएको छैन, प्रसवमै छ। तर म आशाबादी छु कुनै दिन धुले बाटो चिल्लो बन्ने छ र कालीगण्डकी किनारैकिनार मोटरमा सरर तातोपानी, जोमसोम र लोमन्थाङ हुँदै कोरला पुगिएला भनेर।
(भण्डारी नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख हुन्।)