हाइक फर नेपाल अर्थात् निला सिपाहीहरूको एउटा जत्था, जसले आन्तरिक पर्यटनको प्रचारसँगै थुप्रै कार्यक्रमहरूको समेत आयोजना गर्दै आएको थियो।
कोरोनाको महामारीले गर्दा विश्व नै ठप्प भएपछि केही समय आफ्नो कार्यक्रममा रोक लगाए पनि त्यो पूर्णविराम थिएन।
कोरोनाबाट बच्न नेपाल सरकारबाट जारी गरिएका पूर्ण लकडाउन, आंशिक र आवश्यकता अनुसारको लकडाउनपश्चात, कोरोनाप्रति सचेत बन्दै जीवन अगाडि बढाउन पर्छ भन्ने जनमानसमा सोच र लहर आएपछि भने अब हाइक फर नेपालले पनि आफ्नो कार्यक्रमलाई पुन: निरन्तरता दिन थालेको हो।
पुरानै नियमानुसार बिहान ठिक ७ बजे हामी भृकुटीमण्डपमा भेट्यौं। २ वटा निला बसहरू हामीलाई कुरेर बसिरहेको थियो।
करिब ७:३० बजेतिर ती निला गाडीमा कम्तिमा ५० जना हामी हाइकरहरू उत्साहका साथ अगाडि बढ्यौं।
हाम्रो गाडी एकान्तकुना हुँदै ढोलाहिटी, सुनाकोठी, थेंचो अनि चापागाउँ कटेर लेले बसपार्कमा पुगेर रोकियो।
एउटा सुन्दर बस्तीमा पुगेर गाडी रोकिएपछि हामी केहीबेर चिया पियौं र लागौं आजको यात्रातर्फ।
केही माथि पुगेपछि सधैंझैं एउटा खुला चौरमा ब्रिफिङको काम भयो। यसपल्ट आयोजकका तर्फबाट गणेश शर्मा र दिनेश पौडेल आफैं जानुभएको थियो र साथमा मनिष पनि।
आयोजकको तर्फबाट गणेश शर्माले हाइक फर नेपाल आजभन्दा पाँच वर्ष अगाडि स्थापना भएको र यसको उद्देश्य भनेकै पर्यटन क्षेत्रलाई विकास गर्नु रहेको बताउनुभयो।
त्यसपछि सधैंझैं मनिषले बाटा अप्ठ्यारो भएको र जंगल घना भएकाले जंगली जनावर आउन सक्ने हुनाले समूहमा एक अर्कालाई अप्ठ्यारो नपर्ने हिसाबमा हिँड्न भने।
बाटाको बारेमा निर्देशनसँगै केही नियम बताइएपछि हाम्रो लेले यात्रा सुरू भयो।
अब बिस्तारै हामी घर बस्तीहरूलाई छोडेर उकालो लाग्न थाल्यौं। सुरूमा कच्ची मोटर बाटो केही भिरालो हुँदै हाम्रो यात्रा अब सल्लाघारी अनि शिरुबारी हुँदै अघि बढ्यौं।
अब बिस्तारै हामीले मोटर बाटोलाई समेत छोडेर वनमाराका झाडीहरू भएको जङ्गलतर्फ अघि बढ्न थाल्यौं।
चिसोमा शित झरेका ती उकाली बाटाहरू अनि लकडाउनमा कोठाभित्र गुम्सिएर लगाइएको ज्यान, उकाली चढ्न मुश्किल त थियो नै, तर त्यो उकालीको सुरूआतमात्र हो भन्ने गाइडहरूले भन्नुभएपछि आफूभित्र थप ऊर्जा थप्नुपर्ने हामीले आवश्यक देख्यौं।
निगालो घारी खोटे सल्लाका घारी अनि वनमाराले जकडिएको त्यो बाटो, बीचबीचमा जङ्गली जनावर हिँडेको आवाज आउँदा पनि डर लाग्थ्यो। मान्छेलाई जीवनप्रतिको मोह त त्यतिबेला हुने रहेछ जब त्यो गुमाउने बेला आयो भन्ने भान हुन्छ।
करिब ९ बजेतिरबाट सुरू भएको यात्रा पारिपट्टि हिमालहरू वारिपट्टि भिरालो जग्गा अनि लेलेको त्यो जङ्गलको त्यो पहाडमा झोस घारी र धुलोहरू हुँदै निला सिपाहीहरू अघि बढ्ने हिम्मत गरिरहे।
बीचबीचमा थकाइ मेट्दै त्यो धारिलो उकालो हिँड्दा दिमागमा एउटै कुराले डेरा जमाएको थियो ‘कक्षा १० मा पढेको घनघस्याको उकालो पनि सायद यस्तै थियो होला।’
मनिषको सधैंको निर्देशन हुन्थ्यो “प्रकृतिसँग रमाउन आएका छौं, स्पिकरमा गीत सुन्नुभन्दा पनि चराचुरूङ्गीको आवाजमा रमाऊँ” तर आज त्यो घना बुट्यानहरूभित्र चराचुरुङ्गीको आवाज कम, हाइकरहरूका पदचापले सुकेका पतकरहरूमा टेक्दा आएको छत्र्याक छुत्रुक आवाज र त्यो ठाडो उकालो र रापिलो घामको गर्मीले बढेको सासको आवाज ज्यादा थियो।
हामी हाइकरहरूको पदचाप र आक्कलझुक्कल हिँड्ने बस्तीका मानिसहरूका बाटादेखि बाहेक जङ्गलमा बँदेलहरूले खनेर गएका आलो माटो भेटिन्थे, हुन त हामी जङ्गली जनावरहरूलाई आश्रय दिइरहेका छौं भन्ने भ्रममा छौं, यो यात्रामा स्पष्ट भान के हुन्थ्यो भने, जङ्गली जनावरले चाहिँ हामी मानवहरूलाई राम्रैसँग आश्रय र सहारा दिएका छन्।
लेले जङ्गलभित्रको वनमाराले जकडिएको बाटो, अनि आकाशबाट रापिलो घाम त्यसमाथि उकालीको त्यो बाटो, अझ बाटो पनि यस्तो भिरालो कि कतै अडिएर राम्रोसँग आराम गर्छु भन्न पनि नसकिने। ती बाटा हिँड्दा लाग्थ्यो कि निला सिपाहीहरूको एउटै मान्यता छ “हिरा काट्नु हिरैमा राखेर” किनभने कोरोनाले गर्दा धेरैले पाएका ती दु:ख चाहे मानसिक होस् या शारीरिक, ती दु:ख भुलाउन निला सिपाही तिनै अप्ठ्यारा जङ्गलहरू दु:ख गरी उकालिँदै थिए।
जङ्गलबीच हाइकरहरू
देखिनलाई पारि मनमोहक हिमालहरू छन्, तर अडिएर हेरौं भने आफू उभिएको धरातल नजिकै भिर छ, यस्तो अप्ठ्यारोलाई समेत सहर्ष स्वीकारेर अघि बढिरहेका निला सिपाहीहरू, करिब तीन घण्टाको हिँडाइपछि अन्तत: लेले जङ्गलको डाँडोको टुप्पोमा गएर अडिए।
उकालीको थकान जहाँ पाइला सार्न पनि मुश्किल थियो, तर त्योभन्दा बढी मुश्किल त त्यो डाँडोको टुप्पोमा केही फराकिलो ठाउँ जहाँ बसेर आरामसँगै केही खान मिलोस्, त्यस्तो स्थान खोज्नु थियो।
दु:ख सुख बस्न मिल्ने ठाउँमा डाँडोको टुप्पोमा मध्यान्हको १२ बजे बसेर पारि हिमाल हेर्दै दु:ख भुलाउनु र घरबाट लिएर गएको मीठो परिकार बाँडीचुँडी खानु, निला सिपाहीहरूले जीवन कै सुन्दरपल त्यसबेला भोगिरहेका थिए।
बाटाहरू अप्ठ्यारा र यात्रा कठिन भए पनि हामीले ती बाटा छिट्टै नै पार गरेका थियौं, उकालीको यात्रा सक्न अब करिब एक किलोमिटर बाँकी थियो, त्यसपछि ओराली झर्न धेरै समय नलाग्ने भएपछि त्यो यात्रालाई स्मरणीय बनाउन र हाइक फर नेपालले जोडिदिएको त्यो निला मान्छेहरूबीचको नातालाई अझ प्रगाढ बनाउन चिनाजानीसँगै केही रमाइला पलको आयोजना गरिए।
चिनजानमा थुप्रैको परिचयबाट थाहा भयो कि हाइक फर नेपालले सप्तरङ्गी मालालाई एक ठाउँमा सजाएर एक बनाएको रहेछ हामीलाई।
समग्रमा भन्नुपर्दा अनेकतामा एकताको प्रतीक नै निला सिपाहीहरू, अर्थात् हाइक फर नेपाल चिनजान गर्ने क्रममा नै मनिषको आग्रहमा मलाई भने कविता भन्ने अवसर पनि मिलेको थियो।
हुन त कोरोनाको नयाँ स्वरूप आएको खबर व्याप्त छ, तर आजसम्म बाँच्न जो पाएका छौं, बाँचेका छौं, भोलि कसले देखेको छ र ? तर पनि मृत्युलाई अहिले नै बोलाई हाल्न खासै मन पर्दैन हर कोहीलाई, त्यहाँ प्रस्तुत कविता यस प्रकार थियो।
यो साँझ
काठमाडौं सहर
प्रिय मृत्यु
म सञ्चै छु
तिमी आउने कष्ट नगर!!!
गोधुलीको चिसो बतास
ताराहरू को भव्य तयारी
उदाइराख्ने सूर्यको अस्ताउन पर्ने बाध्यता
खैर
मेरो रंगीन साँझ को यो संघारमा
नभोगी कतै जानु नै छैन
यस्तो गरिमामय मेरो उपस्थितिलाई
मैले इन्कार गर्नै पो मिल्दैन त
हुन त सुन्दरताको खुङखार पारखी हुँ
यो सन्ध्या भन्दा तिमी खुबै सुन्दर शान्त पनि छौं
तर सुन्दरताको आयु र समय हुने गर्दछ
यो सन्ध्याको आयुले
तिम्रो समय अझै पर धकेल्न मन भयो
प्रिय मृत्यु
म सञ्चै छु
तिमी आउने कष्ट नगर!!!
अब एकै छिनमा जून उदाउनेछ
ताराहरूको बाटो गरेर
अघि बस्न लोभ गर्ने घामजस्तै
जूनले पनि आत्मीयता देखाउनेछ
मन भयो भने अर्को मन जोडिन आउँछ
तर मन र माया फरक भएर होला
माया लागेकालाई नजिकै राख्न मन पर्छ
मन परेकालाई अलिकति टाढा
ढुङ्गा सम्झे ढुङ्गै हुन्छ
देउता सम्झे देउता भन्छन्
यो पहाडहरू लाई माया लाएर
म पनि अल्झिबस्न कहाँ सक्छु र?
तर नितान्त निश्चित कुराहरू भइहाल्छन् जसरी पनि
त्यो भन्दा अघि म पनि हेर्न पाऊँ
घामको अर्को उपस्थिति
जहाँ साँझ को माझ सुनिएका चित्कार हरूले
मधुर आवाजको काँचुली फेर्नेछन्
र मैले पनि निर्धक्क भन्नेछु
त्यो साँझ मैले नै भोगें
र आज बिहान पनि!!!
प्रिय मृत्यु
म सञ्चै छु
तिमी अहिले नै आउने चेष्टा नगर!!!
अब बिस्तारै फेरि पाइला अगाडि बढाउनु थियो। उकालीमा सर्न अल्छी गर्ने ती पाइलाहरू घिसारेर भए पनि अघि बढ्नु थियो। करिब आधा घण्टा उकालो हिँडेपछि हामी लेले जंगलको टुप्पोमा पुगेका थियौं, अघि जङ्गलबीचबाट ती वनमारा र निगालो सँगै खोटे सल्लाहरूले छलेर मनलाग्दी हेर्न नपाइएका हिमालका लहरहरू अब भने स्पष्ट हेर्न मिलेको थियो।
वारि निला सिपाहीहरू, पारि निलो आकाश अनि सेताम्य भएर बसेका अन्नपुर्ण लाङ्टाङ हिमालहरू, जीवनमा योभन्दा अर्को आनन्दको पल कुनै हुन्छजस्तो पटक्कै लागेन त्यो पल ।
जङ्गलबाट देखिएका हिमालका दृश्यहरू
उकालीको यात्रा सकेर अब बिस्तारै ओराली झर्नु थियो। उही निगालोको बुट्यान अनि वनमाराको झाडी, गुराँस, बजराँठका मसिना रूख र झिगुनेले ढाकेको त्यो जङ्गलमा अब ओराली झर्न भने ढुङ्गाले बनेका सिँढीका बाटाहरू थिए।
मलाई ढुंगाले बनेको सिँढीको बाटो देख्दा चिसापानी यात्राको याद आउँछ, जहाँ लेले जङ्गलमा जस्तै अनकन्टार जङ्गलमा नेपाली सेनाले बनाएका ढुङ्गे सिँढीका बाटाहरू सफा बनेर लम्पसार छन्।
उकाली चढ्दाको त्यो उत्साह अब ओरालीमा हराइसकेको थियो। हाम्रो हराइसकेको उत्साहलाई घरिघरि ऐंसेलु र चुत्रोका काँढाहरूले गिज्याउँथे। थकानमा मरिसकेका साहसहरूलाई जगाइदिन ती जागा भएर बसेका थिए। हामी ओराली झर्दै गर्दा कोही पर्यटकहरू उकालो लाग्दैथिए, निला सिपाहीबाहेक कोही अर्को मानव अनुहार देख्न नमिलेको त्यो जङ्गलमा कोही मानव आकृति भेट्दा पनि अलिकति मन रमाउने रहेछ।
आजकाल सहर छिरेपछि मलाई जङ्गल हमेसा भयानक शान्ति बोकेको ठाउँ जस्तो लाग्छ। लेलेका जङ्गलहरू शान्त थिए, तर घना भएकोले डरलाग्दा पनि!!!
हुन त हामी गफ लगाउँछौं, आफूलाई साहसिक कार्य गर्न रुचाउने भन्ठान्छौं, तर त्यो जङ्गलको हिँडाइले थाहा भयो ती जङ्गली जनावरको लागि हामीले भन्ठान्ने साहसी जीवन त तिनको दैनिकी पो रहेछ।
उकाली चढ्न गाह्रो थियो अवश्य पनि, तर त्योभन्दा बढी गाह्रो त ओराली झर्न थियो। जसोतसो ती सिँढीका बाटाहरू कटायौं, तर ती हिँडाइ बाध्यात्मक थिए, बाटामा भेटिएका कटुसका फल र खोटे सल्लाका ती सुन्दर फल टिप्न समेत हामीमा जाँगर थिएन। बाटो कटाउन कोही कोही भने अन्ताक्षरी समेत खेलिरहेका थिए।
जङ्गलबीच यात्रा
घना जङ्गल कटिसकेपछि अब लेले मनकामना मन्दिर आइपुगेको थियो। यात्राको अन्तिम बिन्दु भएकोले थकान मेट्नेसँगै सधैं झैं मनिषको नाच जो हेर्ने अवसर मिलेको थियो।
मन्दिर प्राङ्गणमा एउटा सामूहिक तस्बिर लिएपछि आजको यात्रालाई अब बिट मार्न हामीलाई फेरि ती निला बसहरू कुरिरहेका थिए।
हरेक सुरूआतहरूको अन्त्य हुने गर्दछ र हरेक अन्त्यहरू फेरि अर्को सुरूआतको आधार बन्नेछन्। जीवनमा आफूले चाहेकोमात्र कुरा आउने हो भने पनि सायद जीवन खल्लो नै हुन्थ्यो होला।
त्यसैले त समयले मानिसको चाहभन्दा पनि समयको माग र आवश्यकता अनुसार आफूलाई प्रस्तुत गरिदिन्छ।
हामी कसैले चाहेको थिएनौं कि विश्व यसरी महामारीमा परोस्। तर भैदियो त हाम्रो चाहनाविपरीत।
गएको वर्षको चैतबाट सुरू भएको लकडाउन ३ महिनासम्म चल्यो, त्यसपछि मानिसका आवश्यकता अनुसार हुन थाले।
कोरोनाले नराम्रोसँग पछारेको हामी, भर्खरै त अलिकति फेरि उठेर हिँड्न खोजिरहेछौं। हाम्रा अनेकौं सपना थिए जो यसै बहानामा शहीद भए।
तर जीवनमा सफलता मिल्ने भनेको नै निरन्तरताले हो। भलै हामीलाई सपनाहरूबाट रोक्न कोही बाधा किन आइनपरोस् तर हामीले त्यसमा पनि डटेर अघि बढ्ने हो भने सफलता हामीबाट टाढा रहन्न।
नेपाल पर्यटन वर्ष २०२० मनाउने हाम्रो सपना तुहिएको जरूर हो तर यसबाट हामी भने टाढा गएका छैनौं भन्ने कुराको प्रमाण हाइक फर नेपालले पुन: लिएको यो कदमहरूले स्पष्ट पार्दछ।
महामारी बावजुद पनि जीवन अघि बढ्नुपर्छ र हाम्रा सपनाहरू पूरा हुनुपर्छ भन्ने सोच लिएका निला सिपाहीहरूले अन्तत: यात्रा जारी राखे।
आशा छ यो कदमले भोलि नेपालको पर्यटन क्षेत्रमा एउटा दरिलो जग बसाल्नेछ।
तस्बिर स्रोत: मनिष रुचाल हाइक फर नेपाल