हिँड्ने भनेपछि जतिखेरै तयार हुने राजाराम फुयाँल, हिँड्न पाए भात खानै भुल्ने किरण ओझा, हिँडाइमा जित्न नसक्ने फूर्तिला अनि रसिला भाइराजा महर्जन, मासुको झोलसँग भात खाएपछि हिडेर नथाक्ने हँसिलो अनि लजालु स्वभावका राजु नेपाल र म, जो आमासँग अचेल त नलडी हिँड्छु नि मम्मी भनेको नसकिँदै पिलित्त चिप्लने मान्छेबीचा सूर्यकुण्ड छिचोल्दै गोसाइकुण्डसम्मको रोमाञ्चक यात्रा तय भयो।
गोसाइकुण्ड जाने बाटो धेरै भएकाले लामो समयसम्म त कताबाट जाने भन्नेमै बित्यो। सबै मार्गको फाइदा बेफाइदा केलाउँदै अन्त्यमा निर्णय भयो सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकामा अवस्थित कुटुङसाङ हुँदै सूर्यकुण्ड उक्लिएर गोसाइकुण्ड जाने।
योजना बनाउँदैमा आधाजति काम फत्ते गरिसकेको महसुस गरेका हामीलाई नतिजा हात लाग्यो शून्य। तारादेवीले गाएजस्तै भयो, सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जिवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन।
योजना बनाउने साथीहरू नै विभिन्न कारणले उपस्थित हुन नसक्ने भए। सबैजना जान नसके पनि हामी पाँच जनाले भने योजना पूरा गरेरै छाड्ने पक्षमा हात उठायौं।
सुरूमा हाम्रो संकल्पसँग पौंठेजोरी खेल्न आइपुग्यो गोकर्णेश्वरमा अवस्थित शिव चोकमा रहेको हेलम्बु टिकट काउन्टर। अन्य समयमा बिहानको सात बजे बस छुटे पनि अहिले भने नौ बजे मात्रै गाडी जाने व्यवस्था रहेछ। बिहान सात बजेको बसमा चढेर दिउँसो २ बजेसम्म कुटुङसाङ पुगिसक्ने र त्यहाँबाट चार घण्टाको उकालो हिँडेर मागिनगोठ पुगेर पहिलो दिनको यात्रालाई विश्राम दिने भन्ने हाम्रो योजनाले सुरूमै फेल खायो।
यात्राका क्रममा यस्ता सानातिना कुरा त भहाल्छ नि, गोसाइकुण्ड त पुगेरै छाडिन्छ। अन्ततः मंसिर २७ गते बिहानै झोला पोको पारेर हामीले खुट्टा उचालिछाड्यौं।
शनिबारको दिन परेकाले काठमाडौंका कुनाकाप्चामा परेका हामीलाई गोकर्णेश्वरमा रहेको हेलम्बु टिकट काउन्टर पुग्नै धौधौ पर्यो। तर पनि ज्यानले हार मानेन, तोकिएको समय भन्दाअघि, बिहानको साढे आठ बजे हामी बसपार्क पुगिछाड्यौं। बिडम्बना के भइदियो भने नौ बजे छुट्नुपर्ने गाडीले करिब साढे १० बजे मात्रै बसपार्कमा हर्न बजाउन सक्यो।
यात्राको सुरुवातमै लोदर लागेको देखेर मनले हार मानिसकेको थियो तर पनि हामी बस चढ्यौं। कच्ची बाटोमा ढलपल गर्दै, कतै टायर फुटाउँदै त घुम्तीमा ब्याक गर्दै घस्रिएको गाडी करिब साढे पाँच बजेतिर मात्रै कुटुङसाङ पुग्यो। काठमाडौंदेखि करिब ६० किलोमिटरको दुरी तय गर्न हामीलाई झण्डै आठ घण्टा लाग्यो।
करिब २५ सय मिटरको उचाइमा अवस्थित कुटुङसाङ पुग्दा सूर्य डाँडामाथि हामीलाई पर्खेर बसिरहेको रहेछ। ढिलो पुगेका कारण रिसाएर रातै अनुहार बनाएको थियो, ओर्लिएर राम्रोसँग फोटो समेत खिच्न नपाई ठुस्किएर हिँडिहाल्यो। हाम्रो स्वागत गर्ने जिम्मा पायो चिसो सिरेटोले।
गोसाइकुण्ड नाम गरेको होटलमा बस्ने भयौं यात्राको पहिलो दिन हामी। होटलका साहु साहुनी निकै रमाइला। हामीलाई मिठो आतिथ्यताको आभास दिलाए।
यात्रा गर्दा हरेक ठाउँमा नयाँ कुरा चाख्न रहर लाग्छ मलाई। त्यहाँ पनि चाखियो, भोलु। भोलु भन्नाले, कुखुराको फुललाई घिउमा पकाएर, जिरा झानेर मकैको छ्याङमा मोथेर तयार पारिएको पेय पदार्थ। यस्तो हल्का नशा भएको पेय मैले र भाइराजा दाइले मात्रै चाख्यौं, अरुले हेरेरै चित्त बुझाए।
भोलिपल्ट बिहान अर्थात् मंसिर २८ गते हामी चौंरीको घिउ र नुन राखेको चिया खाएर बाटो लाग्यौं, साथमा तातो पानीसँग राजु नेपाल दाइले बोकेको सातु पनि बुत्याउन बाँकी छाडेनौं।
कुटुङसाङदेखि मागिनगोठसम्मको यात्रामा हामीलाई साथ दिन आइपुगे तेन्जिङ शेर्पा। तेन्जिङ उनका ठूलाबा मान्छे मरेकाले काठमाडौं जानुपर्ने भएकाले ठूलीआमालाई साथी बस्न जान लागेका रहेछन्। मागिनगोठमा उनैको ठूलीआमाको होटलमा हामीले बिहानको खाना खाने तय भयो।
लाजले भुतुक्क हुने तेन्जिङ कक्षा सातमा पढ्ने रहेछन्। बाटोभरि उनिसँग बात मार्दै हिँडियो। केही शेर्पा भाषा पनि सिकाए उनले। उच्चारण गर्दा बिग्रिएको देखेर सम्झाए, चिन्ता नलिनु, हाम्रातिर सोल्टी सोल्टीनी र सम्धी सम्धिनी भने सबैजना खुसी हुन्छन्। मौकाको फाइदा उठाउँदै बाटोभरी तेन्जिङलाई सोल्टी भनेर जिस्काएँ, उनी लाजले तीन ठुन्का परे।
करिब ४ घण्टाको उकालो हिँडेपछि हामी मागिनगोठमा रहेको मागिनगोठ होटलमा पुग्यौं। समुद्री सतहदेखि करिब ३३ सय मिटरको उचाइमा रहेको उक्त होटलमा सबैभन्दा मिठो मुलाको सुकुटी अचार खाइयो। केही साथीले कुखुराको मासु र भात दन्काए, किनभने नफर्केसम्मका लागि मासु खाने ठाउँको अन्तिम बिन्दु त्यही नै थियो। त्यस्तै, हामी केहीले भने शुद्ध शाकाहारी भोजन ग्रहण गर्यौं।
मागिनगोठसम्मको यात्रामा हामी सोचेभन्दा ढिलो भइसकेकाले एकैछिन पनि थकाइ नमारी दौडियौं। त्यहीँबाट पानी जमेर बरफ बनेको दृश्व पनि देख्न सुरू गरियो। झरनाहरू टक्क पहरामै बसेको देखेर दंग पर्दै हाम्रो टोली अगाडि बढ्यो।
जति यात्रा अगाडि बढ्दै गयो, हाम्रो दोधारेपन पनि बढ्दै गयो, त्यो दिन कहाँ बस्ने भनेर। बाटोमा आकलझुकल भेटिएका मानिसहरूले ठाडेपाटीको होटलमा मान्छे भएको, घोप्टे र धुपीचौरमा मान्छे नभएको र त्यो दिन फेदी पुग्न नसक्ने कुरा बताए। बाटोमा दाउरा काट्न हिँडेका शेर्पाका बाबु छोराले त झनै हाम्रो हिँडाइको पाराले घोप्टेसम्म पनि पुग्न नसक्ने बताए।
हामी करिब साढे तीन बजेतिर ३७ सय मिटरको उचाइमा अवस्थित ठाडेपाटी पुग्यौं। घाम डुब्न अझै दुई घण्टा बाँकी थियो, एउटा मात्रै खुलेको होटलको साहुनीसँगको कुराकानीमा उनले घोप्टेमा मान्छे छ या छैन थाहा नभएको बताइन्। उनी त्यही दाउरा काट्न हिडेका शेर्पाको पत्नी रहेको कुरा बेलुका मात्रै हामीले थाहा पायौं।
चिसो याममा मान्छे नभेटिए अलपत्र परिएला भन्ने डरले हामी त्यो दिन त्यहीँ बस्यौं। साढे तीन बजे नै यात्रालाई विश्राम दिँदा, भोलिको दिन सम्झेर मन अत्तालिएको थियो। टोलीका साथी किरणको आँखै झ्यालमा थियो, साँझ पर्दै गएपछि घोप्टेमा पिलिक्क बत्ती बलेको देख्दा उनको अनुहार कागती निचोरिएजस्तै भयो। उनैको मन बुझाउनका लागि भए पनि हामीले त्यसलाई भ्रम मान्यौं।
भोलिपल्ट अर्थात् मंसिर २९ गते अँध्यारैमा हिँड्न सुरू गर्यौं। बिहान साढे पाँच बजे नै लाइट बाल्दै ठाडेपाटीबाट ठाडै डरलाग्दो ओरालो झर्यौं करिब ढेड घण्टा लाएर। सूर्य उठेर आँखा मिच्दा हामी घोप्टे पुग्नै आँटेका थियौं।
३७ सय मिटरको उचाइबाट झरेर हामी ३४ सयमा पुगेका थियौं। घोप्टेको होटल पुग्न थोरै उकालो उक्लनुपर्ने रहेछ। त्यही समयमा एउटा युवक लुखुरलुखुर ओरालो झर्दै गरेको भेटिए। उनी मेलम्ची पुग्न झरेका रहेछन्, घोप्टेमा रात बिताएर। उनको कुरा सुनेपछि थाहा भयो ठाडेपाटीका साहुसाहुनीले त हामीसँग झुट पो बोलेछन्।
हुन त नेपाली भाषामा बोलेअनुसार उनीहरूले बोलीबाट झुट बोलेका थिएनन्। ठाडेपाटीको होटल साहुनीले घोप्टेमा मान्छे छ कि छैन थाहा छैन, धुपचौरमा चैं छैन, फेदीमा छ भनेकी थिइन्।
अरुतिर मान्छे छ कि छैन थाहा पाउने तर घोप्टेमा मात्रै थाहा नपाउने भन्ने कुराले नै हामीले दालमा कालो भएको थाहा पाउनुपर्ने थियो, तर हिममानवले झुट बोल्न जान्दैनन् भनेर हामी ढुक्क बनेका थियौं। पैसाले हिममानवलाई पनि झुट बोल्न सिकाएको महसुस हामीलाई ठाडेपाटीको होटलका साहुसाहुनीले गराए।
घोप्टेमा कामी लामाको होटल भने बन्द रहेछ। त्यहीँ पुगेर थाहा भयो, अफ सिजनमा पनि हरेक गन्तव्यमा पालो गरेर होटल चलाउनैपर्ने नियम रहेछ। सबै होटल बन्द नगर्ने बरु पालो पालो गरेर एक-एक वटा चलाउने नियमअनुसार घोप्टेको एउटा होटल खुला रहेछ।
ठाडेपाटीको साहुको बानीबेहोरा ठिक नलाएर तातो पानी समेत नखाई हिँडेको हाम्रो टोलीले घोप्टेभन्दा केही माथि पुगेर आफूले बोकेको सातु, कफी र बिस्कुट खायो अनि ढिला नगरी यात्रा सुरू गर्यो।
हामीले यात्राका लागि भनेर ड्राई फ्रुट्स, फलफूल र केही खानेकुरा बोकेका थियौं। ठाउँ-ठाउँमा बस्दै आराम गर्दै बोकेका खानेकुरा खाँदै डरलाग्दो भिरको बाटो हिँडेर फेदी पुग्यौं। फेदी पुग्दा घडिले साढे १२ बजायो भने, हाम्रो बाह्र बज्यो।
फेदीमा ढिला नहोस् भनेर हामीले साहुजीलाई चाउचाउ पकाउन लगायौं। साहुजीले उक्लनुपर्ने ठाडो उकालो देखेर टिठ्याउँदै आफ्ना लागि पकाएको भात हामीलाई दिए। चाउचाउसँग सागआलुको तरकारी र भात गमका गम बजायौं।
फेदीका साहुजीले हामीलाई माया गरे। खासमा उनले गुन तिरेका रहेछन्, लकडाउन परेर आफू काठमाडौंमा अड्किएका बेला, इन्द्रेणी कार्यक्रम चलाउने कृष्ण कँडेलले दिएको चामल र नुन तेल खाएर दिन बिताउँदाको गुन। हामीले मनमनै कृष्ण कँडेललाई धन्यवाद दियौं।
हामीलाई चाउचाउ र भात खुवाएको होटलमै ऐतिहासिक कुरा पनि भेटियो। वि.सं. २०५१ सालमा थाई एयरलाइन्सको बिमान दुर्घटना हुँदाको एक टुक्रा अवशेष। पहिले विमानको पखेटा पनि ल्याएर राखेको तर त्यो उनीहरूले फिर्ता लगे पनि एउटा टुक्रा अझै बाँकी रहेको होटलका साहुजीले सुनाए।
गफको लतारो अझै लम्बिँदै थियो, अगाडीको नाकै ठोकिने उकालोले घचघच्याइरह्यो, अब हिँड्, नत्र गाह्रो पर्ला।
करिब साढे एक बजेतिर हामी उकालो लाग्यौं। कमिलाको हिँडाइको तालमा हिँड्न सुरू गरेका हामीलाई वेश क्याम्पसम्म पुग्न नै दुई घण्टा लाग्यो, त्यहाँबाट अरु साढे दुई घण्टा लगाएर सूर्यकुण्ड पुगियो।
यहाँ सुनाउँदा त सजिलै पुगिएजस्तो लाग्छ, तर त्यहाँ निकै सास्ती खेप्नुपर्यो। १२ बजेपछि उच्च भू-भागमा जाँदा गज्जबको सिरेटो हान्ने कुरा थाहा हुँदाहुँदै पनि हामी एक बजेतिर मात्रै उकालो लागेका थियौं।
अगाडि पनि भनिहालें, हाम्रो योजना सुरूदेखि नै बिग्रिसकेको थियो। सात बजेको गाडीमा काठमाडौंबाट २ बजे कुटुङसाङ पुग्ने, त्यहाँबाट ४ घण्टाको उकालो उक्लेर मागिनगोठमा पहिलो दिन बिताउने, भोलिपल्ट सिधै फेदीमा पुगेर बस्ने र तेस्रो दिन बिहानै सूर्यकुण्ड उक्लेर गोसाइकुण्डमा खाना खाने र लौरी बिनामा बस्ने। चौंथो दिन ठूलो स्फ्रूबेसी हुँदै स्याफ्रूबेसी झरेर जीप रिजर्भ गरेर काठमाडौं फर्कने।
सुरुवाती दिनदेखि नै बिग्रिएको योजनाका कारण हामीले फेदीको करिब ३७ सय मिटर उचाइदेखि ४७ सय मिटरसम्मको उचाइ हिँड्दा निकै सिरेटोको सामना गर्नुपर्यो। वेश क्याम्पमा हुण्डरीले घरको छानो उडाएको विरक्तिलो दृश्य हेर्दै अगाडि बढ्दा त पाइला त्यतै रोकिएला जस्तो भएको थियो। चिसो यति थियो कि, सूर्यले पनि ताप दिन नसकेर आत्मसमर्पण गरेको थियो। चिसो घामको अनुभव लियौं हामीले त्यतिबेला।
त्यसो त जसरी पनि सूर्यकुण्ड टेक्नुको विकल्प थिएन हामीसँग। मनले धेरैपल्ट, यता पनि एउटा होटल त बनाउनुपर्ने हो भन्ने सोचेको सोच्यै गरिरह्यो। जति नै सोचे पनि वास्तविकता गोसाइकुण्ड नपुगी बस्ने बास थिएन।
सुरू-सुरूमा पानी जमेर बनेका बरफ देखेर रमाइलो लागेपनि जति माथितिर उक्लँदै गयो, ती तादी खोलामा जमेका सेता बरफले सात्तो लैजान थाल्यो। त्यहाँ पाइला परे शरीर सग्लो हुने सम्भावना कम थियो। बरफमा हिँड्न मिल्नेखालको जुत्ता नभएकाले थोरै बरफ टेके पनि सिलित्तै चिप्लिन्थ्यो। काँचजस्तै बनेका बरफमा बजारिए उठेर हिड्न सक्ने हैसियत बाँकी हुँदैनथ्यो। भर गरेको लौरीसमेत उक्त बरफको नदीअघि लाचार थियो।
हामी जसोतसो ४७ सय मिटरको उचाइमा पुग्दा, हातका औंलाहरू चल्न छाडिसकेको थियो। दाँत किटकिटाएर बोल्न दिएको थिएन। चिसोले ठिर्यारएका औंलाहरूले फोटो खिच्ने सामथ्र्य समेत नराख्ने बनेका थिए। त्यसैमाथि साथमा लगेका ग्याजेटले पनि साथ छोडेको थियो। हामी सूर्यकुण्ड पुग्दा, त्यहाँको तापक्रम माइनस १० डिग्री सेल्सियसमा झरेको थियो।
सूर्यकुण्डको वरपर पुग्दा कुण्ड जमेर हलचल गर्ने नसक्ने बनेको रहेछ। सेता हिउँका थुप्रा पनि कुनाकाप्चामा जम्मा भएर बसेका रहेछन्। हामी पुग्दा घाम अस्ताइसकेकाले सबै कुण्डलाई धित मरुञ्जेल हेर्न पाएनौं। बरु बस्ने बास नपाइएला भनेर एकछिन पनि नरोकिई गोसाइकुण्डतिर झर्यौं।
हिँड्दाहिँड्दै झमक्कै भयो। बाटो छेकेर बसेका बरफका टुक्रालाई झुक्याएर गोसाइकुण्डको लेकसाइट होटलमा पुग्दा हाम्रो शरीरका पाटपूर्जाको अवस्था सलामत छ भन्नेमा ढुक्क हुन सकिएन।
होटलमा एक विदेशी पाहुना, ती पाहुनाका शेर्पा पथपर्दशक, नेपाली सेनाका पूर्वकर्णेलका परिवार पनि रहेछन्। आगोको छेउछाउ बसेर गफ मार्न सुरू गरेपछि भने थकान गायब भयो।
भोलिपल्ट अर्थात् मंसिर ३० गते बिहान उठ्दा ज्यान चंगा थियो। गोसाइकुण्ड जाडोले कुक्रुक्क परेको थियो। कुण्ड पूरै बरफ बनेकाले त्यसको एकता भंग गरेर घरमा जल ल्याउने सपना अधुरै रह्यो।
त्यहाँबाट बिहानको जोश जाँगरका साथ हिँड्न सुरू गरेका हामी सबैलाई चकित पार्दै ओरालो झर्यौं। हाम्रो हिँडाइको रफ्तार देखेर त्यहाँका स्थानीय नै दंग परे। किनभने गोसाइकुण्डबाट करिब सात बजेतिर हिँडेका हामी १२ बजेतिर त ठूलो स्याफ्रु नै झरिसकेका थियौं।
ठूलो स्याफ्रुमा थोरै बाटो बिराउँदा हामी सोनम तामाङको आँगनमा आइपुग्यौं। उनले आलु उसिनेर पिरो नुन खुर्सानीसँग खुवाइन्। त्यही उसिनेको आलुले हामीलाई सजिलै स्याफ्रुबेसीसम्म झर्न मद्दत गर्यो।
स्याफ्रुवेशीमा हामीले प्रमोद भट्टराई चालक रहेको जीप रिजर्भ गरेका थियौं। साढे दुई बजेतिर त्यही जीपमा चढेर हामी काठमाडौं आयौं। अँ साँच्ची, काठमाडौंका लागि जीपमा चढेपछि, त्रिशूलीमा आएर खसीको मासुको झोलसँग तातो भात बजाउने सपना पनि पूरा भएको थियो हाम्रो राजाराम सरको।
अन्त्यमा, यहाँ छुटाउन मन नलागेका केही कुरा छन्। यात्रा योजना बनाएजस्तो हुँदैन। बरु यात्रा गर्दैजाँदा आउने परिस्थितिले आफैं योजना बनाउँदै जान्छ।
परिस्थिति र योजनाबीच चिसो सम्बन्ध भएकाले हामीले बाटोमा समस्या झेल्नुपर्यो। योजना सुरूमै असफल भएपछि नेतृत्वको जिम्मा परिस्थितिलाई दिनुपर्ने रहेछ। हामी ठाडेपाटीबाट आरामसँग सात बजे हिँडेर फेदी आएर त्यो दिन बिताएको भए या फेदीमा आएपछि त्यो दिन बरु थाई एयरलाइन्स दुर्घटना भएको ठाउँ घुमेर भोलिपल्ट बिहानीको समयमा आरामसँग सूर्यकुण्ड उक्लेको भए सुन्दर तालहरूमा फोटो समेत नखिची कुलेलाम ठोक्नुपर्ने थिएन।