दक्षिण कोरियाको राजधानी सिओल पुग्ने जोकोहीले पनि यो हाङगाङ नदी देखेकै हुन्छन् र यसको व्यवस्थापन र सुन्दरताको प्रशंसा गरेकै हुन्छन्। ईन्छन अन्तर्राष्ट्रिय विमानस्थल होस् वा किम्पो अन्तर्राष्ट्रिय विमानस्थल जताबाट सहर प्रवेश गरेपनि यो नदी पार गर्नै पर्दछ। सिओल जाँदा र फर्कदा सम्झनामा पर्ने भनेकै यही हाङगाङ नदी हो। सिओल सहर सात/आठ सय मिटर अग्ला पहाडबाटहरुबाट घेरिएको छ।
सिओल सहरलाई उत्तर र दक्षिण गरेर यही हाङगाङ नदीले दुई भागमा बाँडेको छ, र उत्तरको भागलाई गाङबुक र दक्षिणको भागलाई गाङनाम भनिन्छ। हाङगाङको मुख्य दुई उद्गम नदीहरु उत्तरी हान र दक्षिणी हान सिओल सहरको पूर्विभागमा आएर मिलेपछि पूरा हाङगाङ नदी भएर बग्छ। सिओलको करिब एक करोड बीस लाखभन्दा बढीको आवादीलाई खानेपानीको मुख्य श्रोत यही हाङगाङ नदी हो। यो हाङगाङ नदीलाई बहुउद्धेश्य प्रयोजनमा समेत प्रयोग गरिएको छ।
सिओलको विकासलाई हाङगाङ नदीको चमत्कारको रुपमा पनि लिइएको छ। हाङगाङ नदीको दक्षिणी भाग अर्थात अहिलेको विकसित योयुदो वा गाङनाम खण्ड १९८६ भन्दा अघि खेतीयोग्य भूमि थियो र प्रायः नदी डुबानमा परिरहने क्षेत्र थियो। १९८६ मा भएको एसिया कप र १९८७ मा भएको ओलम्पिक प्रतियोगिताको लागि खेल ग्राम, रंगशाला आदिको निर्माण गर्दा यसै क्षेत्रमा गरिएको र हाङगाङ नदीमा ठूला आधुनिक पुलहरुको निर्माणले यो ठाउँको विकासमा गति लिएको हो।
नदीको समानान्तर वहुलेनको चौडा सडकहरुको निर्माणले नदीलाई व्यवस्थित गर्ने काम समेत गर्यो। सहरको सुन्दरतम हाङगाङ पार्क र योयुदो पार्क समेतको निर्माण गरियो। नदीलाई सौन्दर्यकरणका साथ व्यवस्थितकरण समेत गरियो। अहिले यो नदीमा रिभर क्रुज समेत गरिन्छ। सिओलको यो उत्तर र दक्षिण सहरलाई जोड्न सत्ताइस वटा आधुनिक पुल समेतको निर्माण गरिएको छ।
योयुदो पार्कको नजिकै मुलुकको राष्ट्रिय सभाको भवन रहेको छ भने ६३ तले अग्लो भवन सहित कोरियाको आर्थिक केन्द समेत विकासित गरिएको छ। त्यसैले यो योयुदोलाई सिओलको म्यानहाटन पनि भनिन्छ। योयुदोभन्दा केही किलोमिटर माथि गाङनाम के-पपको लागि प्रख्यात रहेको छ। साथै यसै क्षेत्रमा विश्वको पाँचौ अग्लो ५५५ मिटरको लोत्ते वर्ल्ड टावर समेत रहेको छ।
हाङगाङ नदी सिओल सहरको मध्ये भागबाट आग्ने भएकोले यो सहरको लाइफ लाइन जत्तिकै रहेको छ। यो नदी पूर्वबाट पश्चिम भएर बग्दछ। नदीको व्यवस्थापन महानगरले गर्दछ। समय-समयमा पानीको गुणस्तर परीक्षण गरिने र पानी झारपात वा लेउ लागेको देखेमा तुरुन्त त्यसको उपचार गरिने रहेछ।
नदीमा फोहर मिसाउन पूर्णत प्रतिबन्ध गरिएको छ र सहरबाट निकास हुने फोहर पानीलाई प्रशोधन गरेर शुद्ध पारेपछि मात्र नदीमा बिसर्जन गरिन्छ। हाङगाङ नदी सिओलको पूर्विभागमा रहेका पहाडहरुबाट निस्केर समथर भाग हुँदै बग्दछ। यो नदीबाट सहरलाई आवश्यक पर्ने विद्युत उत्पादन समेत गरिएको छ। नदी सहरी प्रवेश गर्नुभन्दा केही माथि नदीको पानीलाई पम्पिङ प्रणालीबाट लिफ्ट गरी केही सय मिटर अग्लो डाँडामा बनाईएको विशाल रिजर्भोएरमा जल भण्डार गरिन्छ।
जलभण्डार गर्ने काम दिनभरी गरिन्छ र साँझ विद्युतको माग बढी भएको समयमा यही पानीलाई प्रयोग गरी विद्युत उत्पादन गरिन्छ। त्यसै गरी यही नदीबाट साइफोन प्रविधि प्रयोग गरेर पनि विद्युत उत्पादन गरिएको छ। यस प्रणालीमा नदीको एउटा भागबाट पानीलाई जमिनमुनि खनिएको टनेलमा छोडिन्छ र विद्युत उत्पादन गरिन्छ। यसरी छोडिएको पानी पुनः नदीको सतहमा आउछ र नदी यथास्थितिमा बगिरहहेको हुन्छ।
यसरी कोरियाले हाङगाङ नदीलाई बहुउपयोग गरी यसबाट प्रचुर फाइदा लिएको छ। श्रोतको बुद्धिमत्ता तरिकाले आधुनिक ज्ञान, विवेक र ट्यकनिक समेतको प्रयोग गरी वातावरणीय फाइदा लगायत आर्थिक फायदा समेत लिएको छ। नदीको अधिकतम प्रयोग र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने यो एउटा दृष्टान्त हामीहरु साामु रहेको छ।
यी माथिका कुराहरु भए हाङगाङका र यसैसंग जोडिएको आफूसँग सम्बन्धित बिर्सनै नसकिने केही स्मरणका कुरा पनि गरौँ। शिर्षकमै भनिएको छ हाङगाङमा उँधोमुन्टो। उँधोमुन्टो भनेपछि पानीमुनी टाउको र खुट्टा सिधामाथि।
हाङगाङ सिओलको लागि खानेपानीको मुख्य श्रोत हो भनेर भनि नै हालियो। बढ्दो जनसंख्या र पानीको अतिरिक्त मागको लागि आपूर्तिको लागि केही न केही योजना बनी नै रहने भयो। सहरलाई आवश्यक खानेपानी आपूर्तिको व्यवस्थाको लागि हाङगाङ नदीको दक्षिणी भङ्गालोको उच्च भागमा ड्याम बनाई पानी भण्डारण गर्ने र सोबाट विद्युत उत्पादन सहित खानेपानी आपूर्ति गर्ने गरी बनाईएको योजना सम्पन्न भई कोरियाका राष्ट्रपतिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको थियो।
सोही कार्यक्रममा उपस्थितिको लागि राजदूतावासका केही कर्मचारी र राजदूतहरुलाई आमन्त्रण गरिएको थियो। कुटनीतिक अतिथिहरुलाई लाने, ल्याउने र मनोरञ्जन गराउने जिम्मा त्यहाँको पर्यटन बोर्डलाई दिइएको थियो। ड्यामबाट बन्न जाने जलभण्डारमा पर्यटनसंग सम्बन्धित जलविहार लगायतमा कृयाकलाप गराउने उद्धेश्य पनि रहेको हुनुपर्दछ र त पर्यटन पनि प्रवर्द्धन गर्ने उद्धेश्यले यो भ्रमणको संयोजन गर्ने जिम्मा पर्यटन बोर्डले पाएको थियो।
कार्यक्रमबमोजिम तोकिएको समयमा सबै आमन्त्रित अतिथिहरुलाई दुई वटा बसमा राखेर कार्यक्रम स्थलतर्फ लगियो। उद्घाटनको समय ५ बजेको तोकिएको थियो र हामीहरु त्यहाँ समयभन्दा निकै अघि पुगेका थियौँ। मुख्य बाँध रहेको स्थान र उद्घाटन स्थलभन्दा पाँच/छ किलोमिटर माथि लगेर हामीलाई छोडिएको थियो जहाँबाट जलभण्डारले भरिएको नदी शान्त र सुन्दर देखिएको थियो।
हावाको गतिले पानीको सतहमा ल्याउने तरङ्ग, लगर र नदीको छेउछाउको हरियालीले वातावरण मोहित थियो। नदीका किनारमा राखिएका रङ्गीचङ्गी प्लाष्टिकका डुङ्गाहरुलाई पानीको लहरले यता र उता गरी हल्लाई रहेको थियो। नदी किनारमा लाइफ ज्याकेटको थुप्रो राखेको पनि देखियो।
इच्छा हुने र पानीसँग डर नहुनेहरुले यो डुङ्गाबाट क्यानोइङ गर्दै जान सक्नुहुन्छ भनियो र नसक्ने र क्यानोइङ गर्न इच्छा नहुनेहरुलाई बसबाट नै कार्यक्रम स्थल पुर्याइने भन्ने भयो। यसमा दुईटा मात्र छनौट थियो, या त क्यानोइङ गर्ने या डराएर बसमा बस्ने। अब डराएर भाग्ने कुरा त भएन। सानोमा राप्तीमा पौडी खेलेको अनुभव छदै थियो। तर यो क्यानोइङ भन्ने चिज कहिल्यै गरिएको थिइएन।
नदीको गहिराई पाँच/सात मिटर छ भनिएको छ र यस्को ओल्लो छेउदेखि पल्लो छेउसम्मको दूरी त्यस्तै दुई सय मिटर जति हुँदो हो। केही गरी डुङ्गा पल्टियो भनेपनि यति जाबो त बाँगटे हानेर पनि तर्छु नि भन्ने आँट पनि थियो। त्यसैले नडराई यो क्यानोइङ गरेर जान्छु भनने सोच बनाइयो र लाइफ ज्याकेट समातियो।
क्यानोइङ, यो प्लाष्टिकले बनेको एकजनाले मात्र खियाउने डुङ्गा हो। यसलाई सन्तुलित गरी चलाउन वहानाले यता र उता गरी खियाउनु पर्दछ। जीवनलाई सन्तुलनमा राख्न जति गाह्रो हुन्छ यो वहानाले डुङ्गा सन्तुलनमा राख्न त्यति नै गाह्रो। अभ्यासले सिक्ने त हो। तर नदीको बीचभागमा गएर सन्तुलन बिग्रियो भने, या नदीको भुल्का वा भुँमरीमा परियो भने सिपालुले मात्र सुरक्षित रही आफू र डुङ्गा किनारा लगाउन सक्दछ।
पहिलो चोटि क्यानोइङ गर्दै गर्दा मलाई भने अभ्यास गर्नु पनि थियो र त्यसबाट प्राप्त हुने रोमाञ्चकता पनि लिनु थियो। हुन त खोलामा हेलिएपछि कि त खोलाले जित्छ कि आफूले। जसरी जीवन चलाउन सबै परिबन्ध मिलाउनु पर्दछ त्यसै गरी यो डुङ्गा खियाउन पनि केही परिबन्ध मिलाउनु पर्ने रहेछ।
लाइफ ज्याकेट लगाउने मात्र होइन कि जस्तै गर्मी भएपनि यसको जिपर खोल्न नहुने रहेछ। शरीरलाई सन्तुलनमा राख्नु र वहानालाई आवश्यकता बमोजिम खियाउनु पनि यसको तरिका रहेछ। यो डुङ्गामा बसेपछि दुवै खुट्टाहरु साँघुरो ठाउँमा बन्दी हुन्छन् त्यसैले जुत्ता लगाउन नहुने रहेछ। जुत्ता खोलेर बसमा राख्दा हराउला र भरे नाङ्गै खुट्टा होला भन्ने चिन्ता लिइयो र जुत्तै सहित खुट्टालाई डुङ्गामा घुसारियो र वहाना खियाउन थालियो।
थुप्रै विदेशी र केही कोरियनहरु सम्मिलित यो नौका बिहारमा रङ्गीचङ्गी डुङ्गा सहितको यात्रा रमाइलो थियो। केहीबेर नदीको किनारा-किनारा अभ्यास गर्दै विस्तारै मुलधारतर्फ लागियो। हामीहरुलाई स्वागत गर्नको लागि पानी मै पनि बेलुनहरुले सजाइएको स्वागतद्वार निर्माण गरिएको थियो। गन्तब्यको नजिक, स्वागतद्वारको नजिक, बाजागाजाको ध्वनी। किनारामा पुग्न करिब पचास मिटर जति बाँकी हुँदा के भयो थाहा छैन, एक्कासी डुङ्गा घोप्टियो। अर्थात् म आफै घोप्टिए टाउको सिधा पानी मुनि र डुङ्गा म माथि।
मेरो खुट्टा डुङ्गामा अट्कियो। जति प्रयत्न गर्दा पनि खुट्टा निस्किएन। डुङ्गाबाट खुट्टा निस्किए पो म पानी माथि निस्कनु। पानी मुनि उँधोमुन्टो लगाएर बाँच्ने संघर्ष कति मिनेट गर्न सकिन्छ र? अब जीवनको अन्त्य निश्चित थियो। मृत्यु आँखै अगाडि थियो र मेरो बाँच्ने प्रयत्नको अन्तिम प्रहार। अब मुख खुल्यो-खुल्यो भन्ने अवस्थामा जाँदै गर्दा खुट्टाले अन्तिम संघर्ष गर्दै थियो। नियति हो या संयोग खुट्टा फुस्कियो र म डुङ्गाबाट बिच्छेद भएँ। टाउको फुत्त बाहिर निकाल्न पाएँ र म बाचेँ।
विश्वाससम्म त ठीकै हो तर अतिविश्वास घातक हुने रहेछ। सक्छु भनेर मात्र पनि नहुने रहेछ गर्न सक्नु पर्ने पनि रहेछ। संकटमा मानिसले बाँच्नको लागि आफूमा भएको सबै उर्जा प्रयोग गर्दौ रहेछ। जीवन भनेको बाँच्नु नै हो भने मृत्यु र जीवनको फरक निमेस मात्र हुने रहेछ, एउटा आकस्मिकता। जीवन र मरण पनि एउटा आकस्मिकता मात्र रहेछ।
चस्मा, मोबाइल र क्यामेरा हाङगाङमा बिसर्जन गरेपनि सास बिसर्जन गर्न परेन। जीवन उन्मुक्तिको सास फेरिरहेछु अहिलेसम्म।