(सुरज सुवेदीको काठमाडौंदेखि अप्पर मुस्ताङसम्मको मोटरसाइकल यात्रा अनुभव शृंखला)
मोटरसाइकलमै लोमान्थाङ जाने भनेर सुनाउँदा जोमसोम दुईखाले प्रतिक्रिया दिन्छ।
पहिलो ‘बाटो अप्ठ्यारो छ’।
दोस्रो, ‘पुगेपछि स्वर्ग छ।’
आफूले भोगेअनुसार प्रतिक्रिया आउँछन्। सानोमा पढेको कथा सम्झिन्छु। भर्खरै खोला तरेर आएको खरायोले ‘खोला डरलाग्दो छ, नजानू’ भन्छ। घोडाले ‘खोला ठूलो छैन, घुँडा पनि भिजाउँदैन’ भन्छ।
लोमान्थाङका लागि हामी खरायो र घोडा दुवै हुन सक्छौं। दुवै हुन तयार भएर नै हिँडेका पनि हौं। तै पनि सुनेका त्यस्ता प्रतिक्रिया आफैंमा बहस गर्छन्। खरायो भन्छ नजा, घोडा भन्छ जा।
हामी जोमसोमको चर्चित मोःमो पाउने सोलुखुम्बु होटलमा आएका छौं।
त्यहाँ भेट हुन्छ ट्रेकिङबाट फर्किएको एक समूह।
‘लोमान्थाङ जसरी पनि जानू। विदेशीहरू मरिहत्ते गर्ने ठाउँमा यहीँ आइपुगेर पनि नजाने हुन्छ?’ उनीहरू हामीलाई उठेर दौडिहालुँ बनाउँछन्।
‘मुक्तिनाथ त २० प्रतिशत मुस्ताङ पो त’ अर्का दाइ सुकुटी टोक्छन्।
भर्खरै तिलिचो ताल पुगेर आइपुगेका उनीहरू। फोटो देखाउँदै भन्छन् ‘यति बेला तिलिचो सबैभन्दा सुन्दर छ।’
फोनमा फोटो।
आकाशझैं निलो तिलिचो। किनारमा सेताम्मे हिउँ ओढेर सुतिरहेको। सिराने छ निलगिरि हिमाल। निलो पानी र निलो आकाश एक अर्कामा प्रतिबिम्बित भएझैं लाग्छ। ४९१९ मिटर अल्टिच्युडमा विश्वकै सबैभन्दा भव्य निन्द्रा।
हामीलाई गइहालुँ हुन्छ।
‘यही निलगिरिको उतापट्टि त हो!’ जवाफ आउँछ। जानु अन्तै छ। समय कम।
नजाने गाउँको बाटो सोध्न पनि मजा आउने रहेछ।
बिहानै जोमसोमको चिसो। र, सँगै चिसिएको बाटो। राती दौडिएका साना खोल्सा बाटोमै जमेका। हामीलाई घामको पर्खाइ छ। सायद वरफलाई पनि।
हिजो जोमसोम पुग्नु थियो। आज लोमान्थाङ पुग्नु छ। दौडिँदै छौं। जीवनको गन्तव्य हरेक दिन फेरिने त हो।
जोमसोमको शिरैमा उभिएको निलगिरि बाटो हेरिदिन तयार छ।
कागबेनी पुग्छौं। भूषण दाहालले फिल्ममा खिचेको सहर। पहिला अर्कै स्वरूपमा देखेको कुनै चिज वास्तवमा भेट्दा फरक महशुस हुन्छ। लामो समय च्याटमा कुराकानी गरेको साथीलाई पहिलोपल्ट भेटेको जस्तो।
कालिगण्डकीको किनारमा कागबेनी ट्राफिक झैं बसेको छ। मानिसको गन्तव्य अनुसार बाटो देखाउँछ। कसैलाई उकालो मुक्तिनाथ। कसैलाई लोमान्थाङ। कसैलाई डोल्पा।
मलाई चौबाटो मन पर्छ। त्रिवेणी मन पर्छ। बाटोलाई बाटोसँग जोड्ने काम कठिन छ तर गरेका छन्। नदीलाई नदीसँग जोड्ने काम कठिन छ तर बगेका छन्।
कागबेनी सचेत गर्छ ‘अगाडि सानो खोला छ। तर्दा ध्यान दिनू।’
खोला तर्नासाथ उमङ्ग नयाँ हुन्छ। आँखा छक्क पर्न थाल्छन्। बाटोमा वरपर भएका भित्ताहरू उपल्लो मुस्ताङको ब्रोसर भएर बाँडिन्छन्। वा भनौँ लामो समय पर्खिएको कुनै फिल्मको टिजर जस्तो बज्छन्।
हावाले कुँदेको ठूला ठूला पहाड दरबार भएर एकपछि अर्को गर्दै आइरहन्छन्, गइरहन्छन्। मोटरसाइकल दौडिरहन्छ।
भित्ता हामीलाई रोक्दैनन्। गाउँमा पाहुना आएको मन पराउने मान्छे जस्ता। कसरी सहयोग गरूँ भनेर पर्खिरहेका झैं लाग्ने। तर मभन्दा सुन्दर आँउदैछ भन्न तम्तयार।
मान्छे यही कुरा कति व्यक्तिको लागि भन्न सक्छ?
खोला पुग्छौं। जुत्ता फुकालेर चढ्छौं। थाहा छैन अगाडि कति जुत्ता खोल्न बाँकी छ। यस्ता खोला धेरै आउँछन् भन्ने सुनेका छौं। अगाडि के हुन्छ थाहा नभएको यात्रा अर्कै रोमाञ्चक हुने रहेछ।
छुसाङ पुग्दा खोला फेरि तर्नुपर्छ। दोभानको पारिपट्टि अजंगको पहाड फेरि दरबार भएर स्वागत गर्छ। कस्तो कलात्मक स्वागत हो? कति वर्ष लाग्यो होला उसलाई बन्न? के के ले योगदान गरे होलान् उसको शरीर बनाउन?
हामी मूर्ति कुँद्ने मान्छेलाई बिर्सिन्छौं। पहाडले बिर्सिएको होला कि नहोला?
सुन्दरता कहिल्यै एक्लै हुनु हुँदैन। पेन्टिङ, कविता, कथा, उपन्यास केही पनि एक्ला हुँदैनन्। ती बन्नुको कारण छ। इतिहास छ। पात्र छन्। हाम्रो इतिहास एउटा पात्र सम्झिएर पात्रहरूलाई भुल्छ। पढ्नेहरू उसैलाई सिङ्गो इतिहास सम्झिन्छन्।
पहाडलाई आफ्नो इतिहास सम्झना होला कि नहोला? कालिगण्डकी नजिकै साक्षी छ। यदि पहाडले इतिहास सम्झिएन भने ऊ पहाडलाई नै तान्दिन्छ। फुटाइदिन्छ। बगाइदिन्छ।
पहिरो लडेको त सुन्नुभएको होला।
जे होस् हामीलाई अहिले उसको सुन्दरताले मोहित बनाएको छ। क्यामरा निकाल्छौं। आँखामा खुलेजति ऊ क्यामरामा खुल्दैन। खैर उसको इच्छा।
कसैलाई ऊ जस्तै हुन दिनु पनि खुसी हो।
कालिगण्डकी फेरि भेटिन्छ। तर्नुपर्ने गरी। ऊ दुइटा अजंगका ढिस्काहरूको बीचबाट छिरेको छ। माथिपट्टि दरबारका जस्ता झ्याल छन्। पुरै पहाडमा कुँदिएका झ्याल।
त्यहाँ कोही बस्थ्यो?
नदी बगेर आएतिर हेर्छौं। दुइटा खैरा पहाड बीचबाट निलो आकाश देखिन्छ। सुन्दर क्यानभासको सुन्दरता छोडेर भागेको जस्तो लाग्छ कालिगण्डकी। किन भाग्यो? यदि ऊ अडिँदो थियो त कतै पुग्ने थिएन। हामीलाई कतै पुग्नु छ। पुग्नेहरू हिँड्नुपर्छ।
अनि उक्लिन्छौं। अघि देखिएको पहाडका झ्याल तल तल देखिन थालेका छन्। बगरबाट देखिएको दृश्य रिभर्स हुन्छन्। एउटै चिज फरक फरक ठाउँबाट हेर्दा फरक फरक देखिने। ती फरक फरक तरिकाले सुन्दर छन्।
काठमाडौंले देशलाई किन एकठाँउबाट मात्र हेर्न खोजेको?
उकालो लागेको सङ्केत दिएसँगै बाटो अप्ठ्यारो सुरु हुन्छ। गेगर भएको उकालो र धुलो। मोटरसाइकल स्पिड नलगे नचढ्ने। स्पिड लगे ढुङ्गामा ठोक्किने डर। हाम्रो परीक्षा सुरु हुन्छ।
मुटु हरेक टर्निङमा आत्तिन्छ।
समर डाँडा पुग्नेबेलामा खुट्टा भास्सिने धुलो। हामीमध्ये अधिकांशको मोटरसाइकल भासिन्छ। ओर्लिएर ठेल्छौं।
देवराज दाइको मोटरसाइकल कसरी दौडिन्छ? अप्ठ्यारो आउनासाथ आफू कटेर हामीलाई तान्न आउनुहुन्छ। सूत्र ‘अलिक परैबाट स्पिड लिनू।’
पहिला विज्ञान किताबमा पढेको नियम हो। आज यत्तिका वर्षपछि पहाडको उकालोले सिकाउँदैछ।
अलिक माथि दुईतिर जाने बाटो आउँछ। कता हो बाटो? हामी चक्काको डोब भएतिर पछ्याउँछौं। कोही हिँड्दैन मात्र, कसैको लागि सङ्केत छोडेर जान्छ। कोही जानु भनेको बाटो देखाउनु पनि हो। जानेहरूलाई धन्यवाद।
मोटरसाइकललाई अल्टिच्युडले असर गर्न थालेको छ। उकालोमा चढ्ने गेयर १ मा आइसक्यो। थोरै ढेल्नुपर्यो भने १ घण्टा काम गरे जति स्याँस्याँ हुन्छ। सगरमाथा चढेको एक भिडियो हेरेको सम्झिन्छु। आरोही भन्थ्यो ‘तीनपल्ट सार फेरेर एक पाइला चढ्थ्यौं।’
अल्टिच्युडमा यात्रा सजिलो छैन। हरेकपल्ट उक्लिँदा नयाँ मौसम। हावाको नयाँ वेग। तर त्यसले ल्याउने दृश्य अलौकिक छ। त्यो दृश्यको लागि मानिस उकालो चढ्छन्।
आफू हिँडिसकेको बाटो फर्किएर हेर्न रमाइलो हुन्छ। तर त्यो बाटो देख्न पनि त अगाडि त हिँड्नै पर्छ।
डाँडामा एक छिन बस्छौं। दृश्य अवलोकन गर्छौं। फोटो खिच्छौं। यी सबै थोक कसरी भए सोचेर छक्क पर्छौं। पहाड पहाड किन भयो? क्षितिज क्षितिज किन भयो?
यो भूगोल कसरी बन्यो?
दक्षिणतिर देखिएको हिमाल सामान्य लाग्न थालेका छन्। उत्तरतिर देखिने आकाश अद्भुत लाग्न थालेको छ। बानी हुने रहेछ जे कुरा पनि। सुरुमा अनौठो लागेका धेरै चिज सामान्य लागिरहन्छन्।
हरेक दिन अनौठो लागेर नै हामी बाँचिरहेको होला।
भित्तातिर उभिएका काला चट्टानलाई हेर्छौं। अहिले खाली छन्। हिउँ भरिन्छन् छिट्टै। प्राकृतिक यस्तै नियम छ। कोही कसैसँग लामो समय छुट्टिएकै हुँदैन। भेट्ने समय लम्बिनु छुट्टिनु हैन।
बाटो अप्ठ्यारो र सजिलो दुवै छ। सजिलो हुँदा असाध्यै सजिलो र अप्ठ्यारो हुँदा असाध्यै अप्ठ्यारो। सजिलो बाटोले अप्ठ्यारो बाटोको लागि शक्ति बचाउँछ।
ठाडो भिरबाट खोल्सो झरेको छ। पानी बाटोमा आउनुभन्दा अलिक माथिबाटै गाईको थुन जस्तो भएर जम्न थालेको। चुहिँदा चुहिँदै जम्नु कस्तो विरोधाभास। तल बाटोमा पुग्दासम्म ती वरफको ढलान भइसकेका छन्। कति चिप्लो वरफ? मोटरसाइकल पुग्नासाथ पछाडिको चक्का चिप्लियो।
जुत्ताको सोल त झन् चिप्लो। मुस्किलले त्यसलाई कटेपछि ठूला ठूला ढुङ्गामा बगिरहेको पानीको यात्रा। कति चिसो?
कुनै चिजले स्वरूप परिवर्तन गरेपछि खतरा हुने रहेछ। पानी वरफ भइसक्दा यस्तो खतरा।
त्यस्तै बाटो अर्को पनि आउँछ।
जोमसोममा खरायोले भनेको अप्ठ्यारो बाटो यही रहेछ। त्यसलाई तर्दै गर्दा एउटै कुरा मनमा आउँछ ‘यो बाटो फर्किने कसरी?’
तर त्यसलाई बिर्सिन समय लागेन। एकैछिनमा बाटो तेर्सो लागिहाल्यो। अनि क्षितिजसम्म देखिने फरक फरक रङ्ग भएका पहाड स्वागतमा उभिइहाले। ती भन्दा पर मुस्कुराइरहेका हिमाल।
ती हामी सँगसँगै हाँस्छन्। पछिपछि गुड्छन्।
सम्झन मिल्ने कुनै सुन्दर सपनाको यात्रा जस्तो। हरेक दस मिनेट गुड्दा सिङ्गै पहाडको आर्किटेक्चर फेरिने। रङ्ग फेरिने। आकाश उस्तै हुने तर मुनिको क्यानभास फेरिने।
अब आकाश आकाश छैन। समुद्र भइसकेको छ। निलो…।
यस्तैमा स्याङ्वोचेन ३७७० मिटर अग्लो नमस्कार गर्छ।
खाना खाँदै गर्दा भेटिन्छन् मानिसहरू। कोही हिँड्दै गरेका। कोही मोटरसाइकलमै जाँदै गरेका। कोही फर्किँदै गरेका।
फर्किनेसँग बाटोको बारेमा प्रश्न हुँदैन। जानेसँग हुन्छ। सोध्छौँ।
‘कति छ अब लोमान्थाङ पुग्न?’ जवाफले नजिकै हो भन्दैन।
विदेशीसँग ट्रेक गरिरहेका दाइ बोल्छन् ‘तपाईंहरू त आजै पुग्ने होला। हामी त तीन दिनमा पुग्ने हो।’
निस्किन्छौं। बाटोमा अझै सरप्राइज रोकिएको छैन। फेरि पनि दृश्यहरू देखेर हेल्मेट भित्रैबाट ‘वाउ’ भन्नै चिच्चाउँछौं। छाती ढक्क फुल्छ। शब्द निस्किँदैन।
शताब्दीका उत्कृष्ट ल्याण्डस्केप पेन्टिङहरू सजिएको कुनै भव्य आर्ट ग्यालरीमा तपाईंलाई यात्रा गराइदियो भने के हुन्छ? के के मात्र हेर्नुहुन्छ? त्यसको बारेमा केही बोल्न लगायो भने के गर्नुहुन्छ?
धेरैपल्ट आँखा आँखा नभएर क्यामरा भइदियोस् लाग्छ। क्यामरा क्यामरा नभएर आँखा बनोस् झैं हुन्छ। दुइटै हुन सक्दैन। आँखा रेकर्ड नगरी फोटो खिच्छ।
अत्याधिक खुसीमा वाक्य बन्दैन। छातीभित्र कतै आनन्दमय कुतकुती लगाउँछ र श्वास बनेर निस्किन्छ बोली। पहिलोपल्ट प्रेमिकालाई अँगालेको जस्तो।
उपल्लो मुस्ताङमा यस्तरी अडिएको के यो संसारको सबैभन्दा शक्तिशाली क्षितिज हो?
बाटो निक्कै समय उकालो चढ्छ र फेरि खोलालाई भेट्न ओरालो झर्छ। कालिगण्डकी पर छोडिइसक्यो। उसलाई भेट्न हिँडेका खोलाहरू भेटिन्छन्।
साँझ पर्न लागेको सङ्केत हावाले लिएर आउँछ। झितिजको रङ्ग क्रमशः गाढा हुँदैछ। पर उभिइरहेका पहाडी दरबारका झ्याल बन्द भएको जस्तो लाग्छ। बाटोमा भेटिने साना साना बस्ती बास बस्ने तरखरमा देखिन्छन्। हाम्रो मोटरसाइकल पनि हतारमा दौडिन्छ।
‘अब एक घण्टा’ बाटोमा भेटिएको दिदीको आवाज अन्तिमपल्ट धैर्य जाँच गर्छ।
नपुगिने डरले हतार लगाएको छैन। कतिबेला भेटौं भन्ने डरले हतार लगाएको छ। हतार रमाइलो चिज हो।
हिँड्ने बेलामा गुगलमा खोजेको हो लोमान्थाङको बारेमा। तर आफैं पुगेर आँखाले नदेखुन्जेल ठाउँ नौलो नै हुन्छ।
फोटोमा चिनेको जस्तो हुँदैन ठाउँ। फोटोमा चिनेको जस्तो हुँदैन मान्छे।
हाम्रो हतार घरिघरि धुलोमा लड्न खोज्छ। बाटो तलको जस्तो अप्ठ्यारो छैन। सम्म छ र ग्राभेल पनि। तर हावाले उडाएर एकैठाँउ जम्मा पारेको धुलो झुक्याउनेगरी सम्म देखिन्छ। चक्का झुक्किन्छ।
कहिल्यै नगएको ठाउँको हरेक थोक नौलो हुन्छ। हामीलाई त्यो चुनौती पनि मन पर्छ।
त्यसपछि आउँछ एउटा डाँडो। नजिकै टेलिफोनको टावर उभिएको छ। रोकिन्छौं। तल हेर्छौं।
एउटा सहर सुतिरहेको छ। जीवन चिच्याउँछ ‘गुगल म्यापमा देखेको लोमान्थाङ यही हो।’
देख्ने ठाउँबाट पुग्ने ठाउँ सम्मको गन्तव्य सबैभन्दा लामो भइदिन्छ।
बास बस्छौं।
होटेल तारा चलाउने दिदीको नेपाली भाषा अरूको भन्दा राम्रो छ। पोखरामा पढेकी। कुनै एनजीओको लागि सामाजिक परिचालक भएर काम गरेकी। एनजिओ फर्कियो। उनी गाउँमै बसिन्।
लोमान्थाङमा घुम्ने ठाउँहरूको बारेमा बताइदिन्छिन्।
‘बिहान भित्रको सहर र गुम्बा घुम्नू। ९ बजेदेखि ११ बजेसम्म मात्र घुम्छ गुम्बा। त्यसपछि कोरला गए पनि हुन्छ।’
‘तपाईं घुमाइदिनुहुन्छ नि?’
‘तपाईंहरू वहाँदेखि हाम्रो ठाउँ हेर्न आएको छ। हामीले नघुमाउने भन्ने पनि हुन्छ त?’
मिठो आतिथ्यतामा खाना मिसिन्छ। लहरै बसेर फलामको चुलोमा आगो ताप्छौं।
आज मुस्ताङको दोस्रो रात। ३८०० मिटर उचाइको चिसोमा। सपना देख्नु जरुरी छैन।
बस् दिनभरको यात्रालाई रिवाइन्ड गर्नुछ।
क्रमशः
सबै तस्बिरः सुरज सुवेदी