सौराहा जाँदै हुनुहुन्छ भने राति जानुस् - कम्तीमा घाम डुबिसकेपछि।
जंगल रातमै जंगलजस्तो देखिन्छ।
होटलवालालाई टाँडीसम्म लिन डाक्नुहोला। राति यहाँ गाडी पाउन मुश्किल पर्छ।
म टाँडी झर्दा रातको साढे ८ बजेको थियो। होटलवाला लिन आएकाले चिन्ता थिएन।
अँध्यारोमा टाँडी चोकबाट सौराहा जाने बाटो मनोरम लाग्छ। सडक विभागले बाटोछेउ राखेको ‘क्याट्स आइ’ को चमकले रंगीन। चराको चिरबिर र कीराको किरकिरले संगीतको काम गर्छ। चरा र कीरासँग कुकुर पनि ताल मिलाउन खोज्छ। बतास चिसो हुन थालेको छ। काठमाडौंको धूलोबाट जाँदा यही बतास भित्रैसम्म तान्न मन लाग्छ।
सडक छेउछाउ बस्ती छ। कुनै घर सिमेन्ट ढलान छन्। कुनैमा जस्ता त कुनैमा खरका छाना। घरका फरक बान्कीले बसोबासको विविधता झल्काउँछ। बस्ती घना छैन। नौ नबज्दै धेरै घरका बत्ती निदाइसक्छन्। चारैतिर फराकिला खेत। दिउँसो यही बस्ती मान्छेको ओहोरदोहोरले बाक्लो गाउँ लाग्छ। राति बल्ल जंगलजस्तो देखिन्छ।
यो बाटोमा धेरै सहरीकरण आइनपुगोस्। यहाँ पनि ६ लेनको 'हुइम' नचलोस्।
‘यहाँ त दस बजे नै सबै सुतिसक्छौं,’ म बास बसेको होटल मालिक भन्दै थिए।
उनी आफैं मलाई लिन आएका थिए। दसैं मनाउन घर गएका कामदार फर्केका रहेनछन्। ‘हिजो त पाहुना घुमाउन पनि आफैं गएँ,’ उनले भने, ‘पहिले गाइड थिएँ, सजिलै भयो।’
उनी पर्यटन क्षेत्रमा लागेको २५ वर्ष भएछ। जागिरबाट बचाएको र ऋणपान गरेर पाँच वर्षअघि होटल खोलेका रहेछन्।
‘सधैं घरपरिवारबाट टाढा बसेर भएन, घुमिरहन पनि सकिन्न,’ उनले यति भनी नसक्दै हाम्रो सवारी घत्र्याक्क भयो।
करिब ६ किलोमिटर यात्रा झिमिक्कै पूरा भएछ। सडक विभागको चमक सकियो। म बसेको होटल र सौराहा चोकको मोड छुट्टियो। अबको बाटो ग्राभेल। गुडिरहेको सवारीले धूलो जिस्क्याउन थाल्यो। एक किलोमिटरजति पार गरेपछि बल्ल झिलिमिली देखियो। घरका छतदेखि बगैंचासम्म। होटलहरूको बस्ती सुरु भएछ।
होटलको आँगनमै एक विदेशी पर्यटक चिया पिउँदै थिए। दुई चिनियाँ तन्नेरी युवती ठूल्ठूलो स्वरमा हाँस्दै गफमा मस्त। अर्का एक जना (सायद अमेरिकी) होटल मालिकलाई देखेर भन्दै थिए, ‘ओ यू आर ब्याक?’
‘माइकल, माइ डियर ब्रो’ भन्दै होटल मालिकले उनीसँग अंकमाल गरे। दुवै घनिष्ट साथीझैं लाग्थे।
चिया पिउनेले भने, ‘आई टोल्ड हर टु ब्रिङ एनोदर जिन्जर टी। बट सी डिड्न्ट।’
‘ओ माइ ब्रो, सी नो अन्डरस्ट्यान्ड इंग्लिस,’ होटल मालिकले सक्दो जानेको अंग्रेजीमा जवाफ फर्काउँदै जिन्जर टी मगाइदिए।
सबैले खाना खाइसकेका रहेछन्। दस बजे नै सुत्ने ठाउँमा म पुग्दा सवा ९ बजेको थियो। पेटका मुसा भोकले रन्थनिएका थिए।
‘तपाईं आउनुहुन्छ भनेर खानासेट तयार राखेका छौं। तर अर्डरअनुसार जे पनि बनाउँछौं,’ होटलमालिकको यो भनाइ मेरो सुविधा थियो वा उनको, मैले बुझिनँ।
कुइँकुइँ पेट शान्त पार्न खानासेट जति छिटो र दरिलो भोजन अरू हुन्थेन।
सौराहामा शान्त हरियाली बगैंचा भएका थुप्रै होटल छन्। आफूलाई चाहिने सुविधाअनुसार कोठा छान्नुहोला। यसले अनाहक खर्च जोगाउँछ। होटल बुकिङ गर्दै छुट माग्न नबिर्सनू। हामी नेपालीहरू छुट माग्न हच्किन्छौं।
सौराहामा जहाँ मान्छेको चहलपहल सकिन्छ, त्यहाँबाट चरा र कीराकिरीको रनवन सुरू हुन्छ। सँगै राप्ती सुसाएको ‘ब्याकग्राउन्ड म्यूजिक’। हरियालीसहितको होटल भए चराहरू झनै नजिक। कोठाबाट बाहिर निस्केर यी आवाज अनुभूति गर्नुहोला। पक्कै मीठो निद्रा पर्नेछ।
बिहान धेरै बेर नसुतेकै राम्रो, सौराहाको वास्तविक अनुभूति गर्ने भए।
सबेरै उठेर पैदलै सौराहा बजार घुम्नुहोला। होटलका लहरसँगै खाली खेत र थारु समुदायको सेरोफेरो। घरमा पालिएका हात्ती। यी हात्ती बिहानैबाट ड्युटीमा खटिन्छन्। बिरामी पर्दा मात्र हो घरमा स्वाँस्वाँ गर्दै बस्ने। ड्युटीका लागि यिनले तालिम पाएका हुन्छन्।
सौराहाको विशेषतामध्ये एक हो, हात्ती सफारी। हात्तीको ढाडमा बसेर जंगल घुम्ने। चितवन घुम्नुस्, हात्ती चढ्नुस् - यो नारा सौराहा पर्यटनमा चर्चित छ।
एउटा हात्तीमा माउतेसहित एकपटकमा चार जनासम्म बस्न सक्छन्। एक–डेढ घन्टा हात्तीसँग ढलपलाउँदै यात्रा गर्नु सहज भने हुन्न।
मेरो अगाडि ठिंग उभिएको हात्ती थकित देखिन्थ्यो। ढाडमा ठूलो चोट लागेको लुरे हात्ती। खुट्टा सामान्य डोरीले बाँधेको। फुत्केर जाने रहर पनि नभएझैं। पातलो टेन्टमुनि सुँड यताउता चलाइरहेको निरीह देखिन्थ्यो ऊ।
‘अरू सबै ड्यूटीमा गइसक्यो। यो अलि बिरामी भएर यहीँ छ,’ थारु समुदायका एक पुरुष भन्दै थिए, ‘नजिक नजानू है।’
ध्रुवे हात्तीले छ जना मान्छे मारिसक्यो- यस्तो खबर सुनेकी म टक्क रोकिएँ। एकाबिहानै हात्ती जिस्क्याउन पुगेका स्थानीय थारु केटाकेटीको दौडाइ कसले रोक्ने? सायद उनीहरूलाई हात्तीको बानी परेको छ। हात्ती पनि केटाकेटीको खितखितमा रमाउन जानेको छ।
एउटा चोकमा बारले घेरिएको ठूलो गैंडा छ। यसलाई ‘गैंडा प्रतिमा’ भन्छन्। अलि अगाडि हात्तीको प्रतिमा। सौराहाको विशेषता यी दुई मूर्तिले छर्लंग पार्छन्।
चोकमा बिहानै चहलपहल छ। क्याफे, ह्यान्डीक्राफ्ट सामान, नेपाली कपडाको ‘डिस्प्ले’। पसलको सिसामा सूर्यको कलिलो किरणले पहेँलो चमक दिन्छ।
सौराहामा हेर्नुपर्ने र गर्नुपर्ने धेरै छन्।
चरा, हात्ती नुहाएको, हात्ती र घडियालको ह्याचिङ क्षेत्र हेर्न सकिन्छ। जंगल ‘वाक’ मा जान सकिन्छ। नजिकै थारू गाउँ छ। त्यसमाथि राप्ती नदीमा डुंगा सयर। जंगलबीचका अग्ला टावरमा बसेर प्रकृतिको स्वाद।
जीप सफारी पनि चर्चित छ। दसैं विदामा घुम्न आउनेको लर्को थियो। विदेशीभन्दा आन्तरिक पर्यटकको घुइँचो। जीपमा जंगलभित्र दौडन नपाउनेहरू धेरै थिए।
हामी तीन जनाको टोलीलाई होटलले जीप सफारी सुरु हुने ठाउँसम्म पुर्यायो। अघिल्लो रात देखेको दुई चिनियाँ युवती र म। डुंगा चढेर पारि जीप भएको ठाउँसम्म जानुपर्ने रहेछ।
गाइडलाई भेटाउँदै होटलका भाइले भने, ‘मोटी दिदीलाई राम्ररी घुमाऊ है।’
उनको संकेत दुईमध्येकी एक चिनियाँ युवती थिइन्। हाँस्दै प्याट्ट कुटिन्। चिनियाँ मात्र बोलिरहेका उनीहरू अंग्रेजी पनि राम्रै बोल्दा रहेछन्। दुई–चार शब्द नेपाली पनि बुझ्ने। दुई दिनको बसाइमा ती भाइले ‘मोटी’ को अर्थ बुझाइसकेका रहेछन्।
एक मिनेट पनि लाग्दैन डुंगामा पारि पुग्न। त्यही एक मिनेटमा नदी किनार भुरा माछा पौडिएको हेर्न मज्जा हुन्छ। हामीसँगै आएकी एउटी सानी नानीलाई मैले माछा देखाएँ। ऊ डराएजस्तो गरी हच्की।
ओहो, कति धेरै जीप! हरियै भए पनि जंगलबीचमा परैबाट छुट्टिने।
एउटा बँदेल चालकहरूले दिएको खानेकुरामा मग्न थियो।
‘यो सानैमा घाइते भएर यहाँ आएको। अहिले यहीँ बस्छ। मान्छेसँगै। डराउनुपर्दैन,’ गाइडले सम्झाए।
एघार जना अट्ने जीपमा एक जना युरोपेली, दुई चिनियाँ र बाँकी नेपाली पर्यटक। जंगल बीचै बीच जीप हुइँकियो। धूलो उडाउँदै।
जंगल घना छ। तर, जीप हिँड्ने बाटोबाट महशुस हुन्न। वारिपारि रुख रोपिएको सडकमा गुडेझैं लाग्छ।
‘तपाईंहरूको लक छ भने जनावर देख्नुहुन्छ, नभा देख्नुहुन्न,’ उनले भने।
सौराहा आउनु अघिल्लो दिन यहाँ घुमेर गएका एक परिवार भेटेकी थिएँ। उनीहरूले सुनाएका थिए, ‘खास केही जनावर देखिएन। गाइडले चाहिँ चितुवा देखियो भन्दै थिए। हामीले भने देख्न सकेनौं।’
उनीहरूको भनाइ सम्झेर प्वाक्क बोलेँ, ‘हामीले नदेखे पनि तपाईंले त पक्कै देख्नुहुन्छ।’
उनले जवाफ फर्काएनन्। दोहोर्याए, ‘लक भए देखिन्छ।’
‘लक’ को आशामा हामी घाँटी र आँखा तन्काउन थाल्यौं।
बाटा छेउछाउ अग्लाअग्ला पातला बोट थिए। ती सबै रातभरको हुरी बतासले ढलेजस्ता देखिन्थे।
‘दिस इज इलिफेन्ट ग्रास। दे इट,’ गाइडले भने।
यसको नेपाली नाम उनलाई थाहा छैन रे। बाटोमा जीप गुड्न अप्ठ्यारो हुन्छ भनेर डोजरले ढालेको रहेछ।
‘यो बाटोमा डोजर पनि गुड्छ?’
‘किन नगुड्नु? मज्जाले। यो घाँस पन्छाउन पर्यो नि,’ उनले जवाफ दिए।
डोजर कहाँ–कहाँ मात्र पुग्दैन!
‘घाँस र झाडी बढेकाले जनावर देख्न मुश्किल हुन्छ,’ घाँटीमा झुन्डाएको दूरबिन आँखामा टाँस्दै गाइड भन्दै थिए।
उनी नेपालीमा कमै बोल्थे। उनको लक्ष्य हामी नेपालीभन्दा युरोपेली र चिनियाँ पर्यटक थिए।
आधा घन्टा भइसकेको थियो जीप गुडेको। एक बजेको चर्को घाम। ‘मोटी’ भन्दा हाँसेर प्याट्ट होटलका भाइलाई पिट्ने चिनियाँ युवती टाउकोमा ज्याकेट ओढेर उँघ्न थालिसकेकी थिइन्।
‘ओ, लुक द्याट लिजर्ड,’ जीपको घ्यासघ्यास मात्र सुनेर एकोहोरिएका हामीलाई गाइडको बोलीले झस्कायो।
उनले हातमा बोकेको सानो ढुंगा जीपमा ट्याकट्याक ठोके। चालकले इसारा बुझे। जीप रोकियो।
‘ऊ त्यहाँ रुखको प्वालमा हेर्नुस् त,’ दूरबिन मतिर तेर्स्याउँदै गाइडले भने।
पावरवाला चस्मामाथि दूरबिनको लेन्स राखेर हेर्न मलाई कम्ता सकस परेन। तै केही देखिए पो।
दूरबिन निकालेर नियालेँ। आधा टाउको निकालेर रुखको थामकै रङको ‘लिजर्ड’ टुल्ल हेरिरहेको थियो।
‘ओ लुक्स लाइक टर्टल,’ छेउमा बसेका युरोपेलीको आवाज पहिलोपटक सुनियो।
‘स्थानीय नाम?’ मैले गाइडलाई सोधेँ।
‘सुनगोही,’ उनले भने।
त्यसको आकार भने ठूलो छेपारो जत्रो मात्र थियो।
सुनगोहोरोसम्म सुनेकी थिएँ। केटाकेटी बेला झन्डै सानो घडियाल आकारको सुनौलो रङको सुनगोहोरो देखेकी पनि थिएँ। जनावर हेर्न हिँडेको सफारीमा भेटिएको पहिलो जीवको नाम भने मलाई अनौठो लाग्यो।
सबैको चासो मेटाएझैं गर्दै गाइडले चालकलाई अघि बढ्न इसारा गरे।
युरोपेली पर्यटक युक्रेनका रहेछन्। काठमाडौंबाट मोटरसाइकलमा सौराहा हुँदै पोखरा जान लागेका। उनी जीप यात्राभन्दा हिँड्नु बेस हुन्थ्यो भन्दै थिए।
नभन्दै बाटामा पैदलयात्रा गरिरहेका पर्यटक भेटिए। विदेशीहरू ‘हाइ’ भन्दै चिच्याउन थाले। उनीहरूको हाइ–हेल्लोको प्रतिध्वनी जीपको घ्यारघ्यारमा बिलायो।
जंगलमा रुखका फेद कमै देखिन्थे। बनमाराले ढपक्कै ढाकेको। चार–पाँच वर्षमा सबै ढाक्छ भन्दै थिए गाइड। मास्न पनि नसकिने। दस–बाह्र इन्च मोटा लहराले रुखलाई टनक्क बेरेका थिए, टुप्पैसम्म।
लौकीकद। ती लहराको स्थानीय नाम रे। यिनको विशेषता पनि गाइडले सुनाए। सबै लहरा देब्रेतिरबाट मात्र रुखमा लपेटिने रहेछन्। नभन्दै २०–३० वटा याद गर्दा त्यस्तै थिए। यसमा अम्बाजस्तै कालो फल लाग्छ रे। स्थानीयले उसिनेर, तरकारी वा अचारका रूपमा खान्छन्। काँचै खाँदा नि हुने गाइडले बताए।
अगाडि अर्को जीप रोकिएको थियो। पर्यटकहरू कोही सिटमा चढेका थिए। कोही भुइँमै झरेर क्यामराका लामा–लामा लेन्स तेर्स्याइरहेका। हाम्रो जीप पनि नजिकै गएर रोकियो। गाइडले हामी सबैलाई चुप लाग्न भने।
के भयो?
वाह! एउटा वयस्क गैंडा झाडीबीच आफ्नो पेट भर्दै रहेछ। मुखको बाक्लो छाला लफ्र्याक–लफ्र्याक पार्दै घाँस चपाउँदै थियो। उसको स्वाँस्वाँ प्रस्टै सुनिन्थ्यो। ऊ खानमा यति मस्त थियो, आफ्ना अगाडि उभिएका दुइटा जीप, २२–२५ जना मान्छेका नजर परिरहेका छन् भन्ने वास्तै गरेन।
बिहानको सफारीमा एउटा गैंडाले हानेर जीप कुच्याएको गाइडले सुस्तरी सुनाए।
गैंडा घाँस खाइरह्यो। दुइटा जीप फेरि हुइँकिए। अलि पर पुगेपछि दोबोटोमा छुट्टिए।
हामी जाने बाटो आधा दिनको सफारी रुट। अर्को जीप पूरा दिनको। हाम्रो रुटमा अझै अगाडि बढेपछि फेरि अर्को बाटो आयो।
‘यो पुरानो बाटो हो, रुख ढलेर बन्द भएको,’ गाइडले सुनाए।
यहाँ जीप गुड्ने बाटा एउटा–दुइटा मात्र रहेनछन्। बीचबीचमा स–साना खोला आउँथे। खोलामाथि काठेपुल। सबै काठ सालका हुन् रे। डोजर थाम्न सक्ने बलिया हुन्छन् रे। गाइडले भनेका।
अघिल्लो दिन भेटेका सौराहा पर्यटक परिवार फेरि सम्झेँ। उनीहरू एक घन्टा जंगलमा अड्केका थिए। यस्तै एक पुलमा जीप फसेर।
‘काठ त यति बलियो हुन्छ हो, रेल पनि धान्छ। तर हाम्रो गोबरमेन्ट इज सो ब्याड। पुल बनाउँदा राम्ररी बनाउँदैन। यतिका धेरै पैसा छ, कच्चा माल राख्छ,’ उनको जनजाति लवज बल्ल सुनियो।
यहाँ सालका रुख धेरै देखिन्थे। सिमलका पनि। केही अलि पातला रुख खिङ्ग्रिङ्ग सुकेका थिए। लौकीकदभन्दा मोटामोटा लहराले अजिंगरले बाख्रा लपेटेझैं रुखलाई कसेका थिए। हेर्दै बुझिन्थ्यो– अम्बाको रुखजत्रै मोटो लहराले रुखको सास निचोरेको छ।
यसको नाम रहेछ ‘महाइ’। धेरै रुख यसको चपेटमा परेका रहेछन्। गाइडले भनेअनुसार यसमा बदामजत्रा फल लाग्छन्। यी फलबाट तेल बनाइन्छ।
त्यसपछि हामी पुग्यौं, कसारा। यहाँ घडियालको 'ह्याचिङ फार्म' छ। घडियाल जन्मन्छन्, हुर्कन्छन्। तारबारले छेकेर स–साना पोखरी बनाइएको छ। छेउछेउमा बालुवा भरिएको। माउ र बच्चा घडियाल मस्त लम्पसार घाम तापिरहेका। अल्छी गर्दै घिस्रिरहेका। कुनै त यस्तरी नचलमलाई बसेका, सास फेरेकाले मात्र जिउँदा छन् भन्ने थाहा पाइने।
पन्ध्र मिनेट समय यिनलाई दिनुभयो भने बल्ल मजा हुन्छ।
‘मम्मी त्यसको मुख कति चुच्चो,’ सानी नानी बोली।
बाटो छेउछाउ झाडीमा फाट्टफुट्ट मृग पनि उफ्रिरहेका थिए। ती बेफिक्री रमाइरहेको देख्दा लाग्थ्यो, शिकारीको गन्ध आसपास छैन। कुन कुनामा ङ्यार्र गर्दै घुमिरहेको होला! बीच बाटोमा गाडी र मान्छे देखेर पन्छिएको होला!
फर्किने बेला दुइटा जीप सँगै परे। चराका आवाज दबिए। धूलोले नाकमुखै छोप्नपर्यो। मृगको एक झुन्डलाई बाँदरले जिस्क्याइरहेको थियो। एक रुखबाट अर्को रुखसम्म फैलिएको लहरामा बुरुकबुरुक उफ्रिँदै थिए बाँदर।
‘यो तपाईंहरूले स्वयम्भू र पशुपतिमा देखेजस्तो बाँदर होइन,’ गाइडले भने, ‘राम्ररी हेर्नुस्। यी जंगली हुन्।’ उनी हामीलाई जंगलको मजा दिन खोज्दै थिए।
युक्रेनी पर्यटक बाँदर देखेर खुबै रमाए। क्यामरा तन्काए। पूरा यात्रामा उनी सबभन्दा रमाएको यही बेला देखेँ।
‘बाँदर हाम्रा पुर्खा हुन्,’ एक नेपाली पर्यटक बोले।
युक्रेनी के बुझेर हो हाँसे।
रुटमा केही ताल पनि पर्दा रहेछन्, ठूला पोखरीजस्ता। किनारबाट ढलेर पानीमा आधा डुबेका रुखमा चरा बसेका थिए। पारि सिङ भएको मृग डुल्दै थियो।
‘यो मृगको एक जात हो, यसको भालेको मात्र सिङ हुन्छ। यी हातको औंलाजस्तो गुजुमुज्ज परेका सिङ,’ गाइडले दुई हातका औंलालाई कचौरा आकार बनाउँदै देखाए।
जनावरहरू, विशेषगरी गैंडालाई पानी खान सहज होस् भनेर कृत्रिम पोखरी पनि बनाइएको थियो। बीचबीचमा भएका खोलाको पानी सायद उनीहरूको जीउ डुबाउन पनि पुग्दैन थियो। खोला कुलोभन्दा ठूला देखिन्नन्। जीप र डोजरको ओहोरदोहोरले धमिलो।
यहाँ 'अनुमतिविना प्रवेश निषेध' छ। धेरै ठाउँमा यस्तै लेखिएको भेटिन्छ। सेनाका क्याम्प छन्। जमिनबाट दुई–तीन फिट उठाएर काठका घर बनाइएका छन्। ती घरमध्ये एकको मुनि एउटा ठूलो मृग थियो। हेर्दाहेर्दा सानो पाठो पनि लुटपुटिन आयो।
‘यो घाइते भएर यहाँ आएको। यहीँ बस्छ। सिजनमा जंगलतिर जान्छ। पछि फर्किन्छ,’ गाइडले भने, ‘यसको बच्चा ठूलो भएपछि जंगलै जान्छ। माउ भने यहीँ बसिरहन्छ।’
सबै समूह छाडेर यो माउ मृग किन यहीँ बस्दो हो? सायद घाउ भरिएको छैन वा मान्छे नै उसलाई आफ्नो समूह लाग्न थालेको छ।
‘इलिफेन्ट ग्रास’ का टुप्पा लचक–लचक बनाउँदै सुगाहरू त्यसको बीउ खाँदै थिए। सुगाको चुरचुर र कसरत हेर्नलायक। जीप रोक्न लाएर भए पनि एकछिन नियाल्नुहोला।
‘मम्मी प्यारोट,’ सानी नानी फेरि बोली।
‘दिस आर नो प्यारोट। दियर आर नो प्यारोट हियर। दिस आर स्मल। नेम इज प्यारोलेट,‘ गाइडले अंग्रेजीमै बुझाउन खोजे।
घाम पश्चिम कुनामा ढल्किन थालेको थियो। साढे ५ भन्दा पछि जंगलमा बस्न नपाइने भन्दै जीप हुइँकियो। चार घन्टाको उफ्राइले सबै लथ्रक्क पर्न थालेका।
जुन बाटो आएका थियौं, अब हामी त्यही बाटो फर्किँदै थियौं। सबै शान्त। जीपको डन्डामा बसेर रमाइला संवाद गरिरहेका गाइड पनि सिटमै बसेका थिए। सायद उनी पनि थाके।
‘बोल्न छाड्नुभयो नि,’ मैले भनेँ।
‘कसैले मेरो कुरा सुनेन, कसैले जवाफ फर्काएन, अनि एक्लै के बोल्नु,’ उनले जवाफ दिए।
‘आज हाम्रो लक रहेनछ है, ओर्लेर हेरौं न,’ मैले भनेँ।
‘हुन्न, हुन्न। यहाँ क्यामरा छन्। खिचिक्क फोटो खिच्छ। जीपमा जानेहरू ओर्लिन पाइँदैन,’ उनले भने।
‘हिँड्नेहरू चाहिँ?’
‘उनीहरू परमिट लिएर आका हुन्छन्।’
‘कहाँ छ त क्यामरा?’
निकै बेरसम्म क्यामरा नदेखिएपछि मैले जिस्क्याएँ, ‘एउटा फोटो मेरो पनि खिचौं भनेको, क्यामरै देखिएन।’
उनी घाँटी तन्काउन थाले।
‘ऊ त्यहाँ हेर्नुस्,’ उनले रुखमा चुच्चो परेर अडिएको क्यामरा देखाए।
मैले क्यामरातिर फर्केर 'चिइइज' भनिदिएँ।
‘त्यहाँ मागेर मलाई पठाइदिनुस् है,’ मैले यसो भन्दा उनी मज्जैले खित्का छाडेर हाँसे।
जीप रोकियो। अघिको बँदेल फेरि सुँसुँ गर्दै नजिक आयो। सानी नानी डराई।
हामीलाई फेरि राप्ती पारि जानुपर्ने थियो। एक मिनेटको डुंगा सयर गरेर। किनारमा बिहानभन्दा धेरै मान्छे थिए। फर्किने तयारी गरिरहेका।
पाँच बजिसकेको थियो। यो याम र यो समय त्यहाँ पुग्नुभो भने फर्किन हतार नगर्नुहोला। अरूलाई जान दिनुस्। आफू चिसो बलौटे किनार उभिएर पश्चिमतिर टोलाउनुस्।
सुन्तले गोलो घाम डाँडामुनि जान हतारिँदै हुन्छ। त्यसको चहकले अनुहारमा न्यानो महशुस हुन्छ। त्यसमा राप्तीको सौन्दर्य। पहेँलपुर आकाश। चिसो बतास।
प्रकृतिको स्वाद लिइसकेपछि, किनारका क्याफेमा बसेर एक कप कफीको स्वाद लिनुहोला। जति नै हतार भए पनि।
डाँडाले घाम लुकाएपछि राप्ती सुसाउन थाल्यो। जंगल बल्ल जंगलजस्तो देखियो।
त्यसैले त भनेको, सौराहा जाँदै हुनुहुन्छ भने राति पुग्ने गरी जानुहोस्- कम्तीमा घाम डुबिसकेपछि।
जंगल रातमै जंगलजस्तो देखिन्छ।
सबै तस्बिर: चेतना गुरागाईं/सेतोपाटी