२०७५ कात्तिक ४ गते दैलेखको यात्रा गरिरहेको थिएँ। जुम्लाबाट सुर्खेत हिँडेको गाडीले दैलेख सदरमुकाम जाने बाटो सियाकोट जिरो प्वाइन्टनेर छोड्यो।
त्यहाँबाट दैलेख चुप्रासम्म जानलाई करिब एक घण्टा न गाडी भेटियो न किया वा अटो नै। त्यो झण्डै एक घण्टाको अवधिमा सुर्खेतबाट आएका लगभग सबै गाडी दैलेख नगएर जुम्लातिरै गए। दुई तीनवटा भेटिएका थिए ती सबैमा ठाउँ खाली थिएन। अगाडि बढ्न पाइएन। त्यसैले पनि देख्नु परेको हो सबै गाडी जुम्लातिरै हानिएको।
त्यसबेला सुर्खेततिरबाट आएका अधिकांश मोटरसाइकल पनि जुम्लातिरै गए। ती मोटर साइकलमा सवार करिब नब्बे प्रतिशत बढी रारा जाने थिए। उनीहरू सबैले त्यहीँनेर रोकिएर रारा जाने बाटो कुन हो? भनी सोधिरहेका थिए।
दुई ठूला रिजर्भ गाडी पनि रारा जाने गरी आएका थिए। बाटोमा खाना खाने ठाँउमा पनि केही मान्छेहरु गाडी लिएर पारिवारिक घुमफिरमा रारातिरै गएको देखिएको थियो। रारा भ्रमण जाने मान्छेहरुको ठूलो लर्को देखेपछि दुई वर्ष अगाडि आफैं पुगेको राराको बारेमा नलेखि त्यसै बस्न मनले मानेन।
२०७३ साल असोज १८ देखि २१ गते सम्म हामी सिंजाको गोठीजीउलामा थियौं। हामी मतलब उमेश न्यौपाने, गोरख शाही, गोविन्द शाही र म। त्यतिबेला हामी भलिबल प्रतियोगिताको आयोजक भएर गएका थियौं। प्रतियोगिता सकियो। योजना बजार फर्किने थियो। तर, गोरख शाही भने मलाई रारा जाने योजना बनाऔं भनिरहेका थिए। म मानिरहेको थिइनँ। मलाई घर फर्कन पाए हुन्थ्यो जस्तो लागिरहेको थियो। पछी रारा जाऔं भनेर जिद्धि गर्नेमा उमेश थपिए। उमेशलाई पछ्याउने गोविन्द पनि भए। उनीहरु सबैमा जेठो म थिएँ। त्यसैले उनीहरु स्वभाविक रुपमा मसँग जिद्धि गरिरहेका थिए।
बहुमत रारा जानेहरुकै थियो। त्यसैले म जस्तो अल्पसंख्यले उनीहरुले भनेको नमानी सुखै थिएन। भित्रभित्र जानै पर्छ की के हो भन्ने लाग्न थालिसकेको थियो तर पनि बाहिर भने नजाने मुड प्रस्तुत गरिरहेको थिएँ। जेठोबाठो मै भएकाले निर्णय मैले नै दिनुपर्ने थियो। गोरखले फेरि मैलाई फकाउन लागे। हामी योजना बनाऔं। धर्मेन्द्र र जगतलाई पनि बोलाऔं टिम गज्जबको हुन्छ। दशैं आउन्जेल हामी फर्किसक्छौं। दशैं आउन पनि केही दिन मात्र बाँकि थियो।
धर्मेनद्र अधिकारी र जगत अधिकारी जुम्ला पाथरखोलाका हुन्। धर्मेन्द्रसँग मेरो पहिलेदेखिको चीनजान र मित्रता हो। जगत भने नाम सुनेको तर भेट्नैपर्ने एक पात्र थिए। त्यसैले उनीसँग भेट हुने र धर्मेन्द्रसँग पनि लामो समयको यात्रा गर्न पाउने अनि हामीसँगै भएका सबै साथिहरुसँगको संगत पनि लम्बिने भएकाले पनि रारा जानै पर्छ जस्तो लाग्न थाल्यो।
पछि मैले सबैलाई हामी जान्छौं भन्ने निर्णय सुनाए। त्यसपछि केटाहरु खुसी भए। अब धर्मेन्द्र र जगतलाई खबर गर्नुपर्ने थियो। पाथरखोला फोन लाग्दैन थियो। खबर पठाउने कुनै माध्यम थिएन। फोनमा धर्मेन्द्रको नम्बर हानेर खुब ट्राई गरीयो। मुर्ख प्रयासले फोन लाग्नेवाला थिएन। तर एउटा सम्भावना भने जिवित थियो। पाथरखोलाको स्वास्थ्य चौकि नेरको डाँडामा फोन लाग्थ्यो। यदि धर्मेन्द्र त्यहाँसम्म संयोगले भए पनि आइदिएमा फोन लाग्ने सम्भावना काएमै थियो। त्यसैले पनि मुर्ख प्रयास जारी थियो।
जति गर्दा पनि लागेन फोन। अब उपाय केही थिएन। के गर्ने? केटाहरुलाई जानकारी सम्म पनि नदिएर हिँडियो भने भोलि गाली खाइने। उनीहरुलाई छुकछुक, हामीलाई गाली। कोही मान्छेलाई त्यहाँ पठाएर लिएर आउन पनि सम्भव थिएन। उपाया केही लागेन। आशा निराशामा बदलिने बेलामा पनि आशाको एउटा त्यान्द्रो बाँकी नै थियो। कतै धर्मेन्द्र त्यो स्वास्थ्य भौकी भएको डाँडोमा आए पो हाल्ने हुन की।
यदी बिहान सात बजेदेखि दश बजेसम्म उनी त्यो डाँडोमा आइदिए भने मात्र पनि उनीहरुलाई खबर सम्म भए पनि गर्न सम्भव थियो। त्यसैले उनको मोबाइलमा सम्भावननाको एउटा म्योसेज टाइप गरेर छोडियो ‘धमेन्द्र हामी रारा जाने योजनामा छौं। यदि तपाईले यो म्यासेज पाउनु भएको छ भने प्लिज तपाई र जगत जी आउनुहोस् गाोठी जीउला साँझसम्म। भोलि बिहान हिड्ने हो।’
सम्भावनाको संयोग मिलेकै मान्नुपर्छ। दिउँसो तिर स्काईको नम्बरबाट फोन आयो। फोन केटाहरुकै थियो। हामीले जसरी भएपनि साँझसम्म पुग्न भन्यौं। केटाहरुले पैसा छैन भने। हामीले अरु कुरा छोड खुरुक्क आउ भन्यौं। केटाहरुले भनेको माने। साँझ केटाहरुसँग हाम्रो भेट गोठी जीउलामा भयो। त्यही दिन चिनेको तर भेट नभएको अनि भेट्न चाहेको साथी जगत अधिकारीसँग भेट भयो। भेटपछि हामी सब खुसी भयौं।
साँझ गोठी जीउलामै बस्यौं। खानाको बन्दोबस्त गोविन्द शाहीले गरे। उनी त्यहींका हुन्। उनले पनि आफ्नो घरमा कुरा मिलाए। उनको घर परिवारका सबैले अनुमती दिए। भोलिपल्ट बिहान हिड्ने बेलामा उनको घरको स्टोरमा राखिएका स्याउ हाम्रो झोलामा राख्यौं। गोठी जीउलाको बजारमा केही सुख्खा खाने कुरा किन्यौं। चिउरा, चाउचाउ, विस्कुट हल्का पेय पदार्थ आदि। पछिल्लो समय जुम्ला सदरमुकाम पछिको सबैभन्दा ठूलो बजार उही हो। त्यहाँ लगभग सबै सामाग्रीको उपलब्धता छ। त्यहाँको बजार विस्तारले सबै सामान किन्न लेक काटेर बजार आउनुपर्ने बाध्यता टरेको छ। जिल्ला भरी स–साना बजारको विस्तार हुनुले जुम्ला बजारको व्यापार पनि विस्तारै कम भएको छ।
सबै कुराको बन्दोसस्त पश्चात हामी हिड्यौं। त्यती बेलासम्म सात बजिसकेको थियो। हाम्रो योजना चुचामारे लेकबाट पैदल हिड्ने थियो। करिब छ, सात घण्टामा रारा पुगिन्छ भन्ने सुनेका हामी कसैलाई पनि त्यो बाटोहुँदै रारा गएको अनुभव थिएन। बाटोमा भेटिएका मान्छेसँग सोधपुछ गर्दै जाउला भन्ने हामीलाई लागेको थियो। सबैभन्दा पहिला हामी सिंजा कनका सुन्दरीको लुम गाउँ पुग्यौं। उकालो धेरै नै थियो। सास फुल्लाउदै पसिना चुहाउदै ओखरपाटा पुग्यौं।
कनका सुन्दरीमा पर्ने ओखरपाटा एक सुन्दर गाउँ हो। त्यहाँका सबै घर होचा छन्। ती होचा घर जाडो छल्नलाई बनाइएका परम्परमगत शैलीका हुन्। त्यहाँका सबै मानिसहरु मेहेनती छन्। चामलबाहेक लगभग सबै खानेकुरा आफ्नै बारीमा फल्छ। चामल किन्ने पैसा पनि जडिबुटी लगायत बालीनाली बेचेर कमाउँछन्।
यसका अतिरिक्त हामीले ओखरपाटामा एउटा नयाँ कुरा देख्यौं। त्यो हो गाँजा खेती। जसलाई त्यहाँका मानिसहरु भाँगो खेती भन्छन्। भाँगो खेती पुरै खेतियोग्य जमिनमा नगरेर बाली लगाएको जमिनको वरीपरी गर्ने गरिन्छ।
ओखरपाटाका मानिसहरु भाँगो खेती अत्तर (चरेस) बनाउन र त्यसको अवैध निकाशीको लागि गरिरहेका छैनन्। भाँगो खेतीले त्यहाँका सबै गाउँलेलाई एउटा कुरामा आत्मनिर्भर बनाएको छ। त्यो हो उनीहरुले वर्षभरी खाने तेल। उनीहरुका खेतबारीको छेउछाउमा लगाएको भाँगोबाट उनीहरु तेल बनाउँछन्।
त्यो तेल वर्षभरीलाई पुग्छ। त्यती बेला हामीसँग कुराकानीको क्रममा एक जना युवाले बताएका हुन्। हामीले उनीसँग कुरा त गर्यौं तर उनको नाम सोध्न भुलेछौं। पछि घर आइसकेपछि हामीलाई पढाएका गुरु मक्क बहादुर बुढा क्षेत्रीसँग सोध्यौं। उहाँले हो भन्नुभयो। उहाँको घर लुम हो। ओखरपाटाको लगभाग सबै कुरा उहाँलाई थाहा रहेछ।
त्यसरी लगाएको भाँगोबाट केही केटाहरुले अत्तर पनि बनाउने रहेछन्। तर त्यसको अवैध ओसारपसरा नभई त्यहाँका मान्छेहरु काम बढी गरेर निकै थाकेको बेला थकाई मेटाउन प्रयोग गर्ने रहेछन्। छुटपुट भैरहेको यो कामले व्यापकता नपाओस भन्ने हाम्रो मत थियो। कालो धन कमाउने व्यापारीले त्यहाँका युवाहरुलाई प्रयोग गर्न नपाउन भन्ने विषयमा हामीले छलफल गर्यौं। सरकारले ओखरपाटाको भाँगो खेतीलाई प्रतिबन्ध लगाउन सक्छ। त्यस्तो कदम नचालेकै राम्रो। बरु अत्तर बनाउने कामलाई निरुत्साहित गर्नु राम्रो हुनेछ। हामी ओखपाटाबाट उकालो लाग्यौं। त्यहाँका मान्छेले भने अनुसार रारा जाने बाटो पछ्याउदै हिड्यौं।
उकालो चड्दै गर्दा बिहानको सिरेटोले चिसो बड्न थाल्यो। जकेट लगाए गर्मी नलगाए चिसो हुने भयो। बडो दोधारको बीचमा यात्रा भैरहेको थियो। अवलोकन गर्दै गरेका दृश्यहरुलाई स्मार्ट फोनको क्यामेराले कैद गर्दै हिड्यौं। केटाहरुले दिने पोज कम्ताका थिएनन्। थकाइ लाग्यो भने बस्थ्यौं। बोकेर लिएका खानेकुराहरु खान्थ्यौं। बाटोमा पसलहरु थिएनन्।
ओखरपाटा भन्दा माथि बस्ती थिएन। बिहानको खाना खान सम्भव भएन। त्यसैले खानाको ठाउँ लिइका थिए चाउचाउ, विस्कुट र चिउरा जस्ता रेडिमेट खानाले। पानी बाटोमा जतिपनि भेटीने। काडमाण्डौं जस्तो पाइलाइपिच्छे एक बोतल पानीमा बिस रुपिया खर्च हुने चान्सै थिएन। बोतल खाली थिए। केटाहरु पानी भेटेकी भरिहाल्थे। छोटो छोटो दुरीमा पानी भेटीहाल्थ्यो। भरेको पानी बचेको बच्यै हुने।
स्याउ पनी टन्नै थिए। ती सब थोक खाँदै हिडेका थियौं। बाटोमा हामी गोविन्दलाई जिस्काउथ्यौं। गोविन्दको स्टोरका स्याउ हामीले सकाइदियौं। विचरा गोविन्दलाई खुब पिर लागेको होला यस्तैयस्तै भन्दै। गोविन्द केही बोल्दैनथे। फिसिक्क हाँसिदिन्थे। रसिला स्याउ, हँसिलो मुस्कानले हाम्रो यात्रालाई ताजा बनाएको थियो। थकाई मेटाएको थियो। हिड्न सहज भएको थियो।
बाटोका प्राय ठाउँको बारेमा हामीलाई थाहा थिएन। अधिकांश ठाउँका नाम थाहा नपाइकनै हामी हिड्यौं। पछि त्यहाँबाट रारा आउनेजाने गरेका मान्छेहरुसँग सोधेपछिमात्र धेरै ठाउँको नाम थाहा भयो। लामो उकालोपछि लुम काँध भेटियो। थोरै ओरालो पछि भेटीने ठाउँको नाम गोरुसैन खाड रहेछ। त्यो समथल भू–भाग नै त्यस क्षेत्रका भेडा, बाख्रा चर्ने चरन रहेछ। त्यही बसेको थियो रारा राष्ट्रिय निकुञ्जको आर्मी। हामीले त्यहाँ गएर बाटो सोध्यौं। त्यहाँका जवानले बताइदिएको बाटो पछ्याउदै अगाडि बढ्यौं।
अब भने हामी चुचामारेको लेकको फेदमा हुन्छौं। फेद निकै रमणीय छ। त्यहाँका हरेक दृश्यले मन लोभ्याउछन्। मसिना पाखाहरु, मनमोहक जडिबुटीको सुगन्ध, अनेकौं झारपात। ती सबैमध्ये सम्झन लायक थियो जेउडे धुपी। त्यसको आकार बिछट्टै राम्रो। पुरै गोलो आकारको बनोटमा। यस्तो लाग्थ्यो पुरै कम्पासले गोलो बनाएर कसैले काटेको होला। तर त्यो कसैले नकाटेर आफै बनेको थियो। हामी हाम्रो क्षेत्रको पाटनतिर घुम्दा पनि त्यस्तै आकारका जेउडे धुपी खुब देखेका थियौं। हामी सबैले पालैपालो सिंगल र सामुहिक फोटो सेसन नै चलायौं।
अब भने हामीलाई चुचामारेको लेक काट्नु थियो। जति छिटो लेक काटियो त्यती नै आरामदायी यात्रा सुरु हुने। तर ठुलै सकस त बाँकी नै थियो पुरै लेक काट्न। भर्खर फेदमा भएका हामीले लेक काटि सकेको सपना देख्न सक्थ्यौं तर त्यसलाई हकिकदमा बदल्न करिब डेड घण्टा पुरै सगरमाथा चड्ने जतिको उकालो हिड्न त बाँकी नै थियो।
हामी पुरै तयारीका साथ लेक चड्न लागेका थियौं। पाइलाहरु अगाडि बढिसकेका थिए। लेकमा अक्सिजनको कमी हुने हुनाले लेक लाग्ने सम्भावना कायमै थियो। जति उकाले हिड्यो त्यती चिसो पनि बढ्ने। चिसो छल्न जकेट लगाएको र झोला बोकेको हुनाले शरिरबाट पसिना पनि छुटेकै थियो। करिब डेड घण्टा हिडी सकेपछि चुचामारेको लेक पुग्छौं। लेकको टुप्पामा पुगेपछी हामीले ठुलै खुसीयाली मनायौं। यस्तो खुसीयाली मानौ हामीले सगरमाथा नै चढी भ्याएका थियौं।
चुचामारेको लेख पुरै चुच्चो परेको तिखो छ। लेकको नाम चुचामारे किन रहयो ? भन्नेबारेका केही किस्साहरुपनि छन्। ती मध्येको एक भनेको चुचे नाम गरेको एकजना मान्छे त्यही मारेको हुनाले पनि त्यस्तो नाम रह्यो भन्नेहरुपनि छन्। केही किस्सा केटाकेटीका ठट्यौलीसँग पनि सम्बन्धित छन्।
चुचामारेबाट करिब सय मिटर हिडेपछि छकल्यापानी भेटीन्छ। त्यहींबाट निकै टाडा रहेको राराताल देखिन्छ। वरीपरी ठूलो जंगल छ। त्यही जंगलको बीचमा छ रारा ताल। पुरै निलो देखिने। त्यो देख्नेवित्तिकै सबैको खुसीको सिमै रहेन। केही थकान चुचामारेको लेक काटिसकेपछी मेटियो बाँकी रहेको सबै टाढैबाट देखिएको रारातालले मेटाइदियो। निलो, सफा र शान्त तालले मन पुरै लोभ्याइसकेको थियो। कतिबेला त्यहाँ पुगौं भैरहको थियो। यस्तो लाग्थ्यो त्यहींबाट उडेरै रारा ताल पुगौं।
एकछिन हामी अलमलिन्छौं। त्यहाँबाट रारा ताल पुग्ने बाटो भेटीदैन। करिब सय मिटर जति यताउता कतैपनि बाटो देखिएन। डोरेटा बाटाजस्तो थुप्रै देखिए। तर ती मध्ये रारा पुग्ने बाटो कुन हो ? पहिल्याउन सकिएन। केही सिप चलेन बाटो भेटाउनलाई। उपाय केही लागेन। चुचामारेको लेक सम्म फोनले काम गरको थिएन। त्यहाँ फोन लाग्ने रहेछ। मैले मेरो गुरु मक्कर बहादुर बुढाक्षेत्रीलाई फोन गरें। त्यहाँको अलमल बताए उहाँले अलीअगाडि जाउ भन्नुभयो। नभन्दै केही समयपछि रारासम्म पुग्नलाई बनाएको मज्जाको बाटो भेटियो। त्यसपछि ताल देखिन छोड्यो। लामो ओरालोपछि केही सहज उकालो त्यसपछि भटिने रहेछ राराताल। हामी हिडेको ओरालोलाई भुडान्नाचौर ओरालो भनिने रहेछ। ठाउँठाउँमा आराम गर्न प्रतिक्षालयहरु बनाइएका थिए। हामी ती प्रतिक्षालयको उपयोग गर्दै हिड्छौं।
प्रतिक्षालयमा बसिरहेको बेला उमेश गीत गाँउछन्। रमाइलो गर्छन्। उमेशको स्वर मिठो थिएन तैपनी उनी खुलेरै गाउँथे। गोविन्द र जगतको गीतमा खास रुची देखिएन। गोरखको मुखबाट गीतको गी पनि आउदैन थियो। धर्मेन्द्र कवि र गजलकार दुबै थिए। उनले त्यहीं भनेका थिए। एउटा मिठो गजल।
कोही हिँड्छन् दशैको खसी बोकेर।
मजदुर हिँड्छ उसैको रसि बोकेर।
गर्न नसकिने के छ र ? देश परिवर्तन गर्न
हामी नै लाग्नुपर्छ कलम मसि बोकेर।
यस्तै यस्तै........
हाम्रो वाह! वाह!! र तालीको पर्रा नै छुट्छ। धमेन्द्रले हामीलाई रिफ्रेस गराउछन्। म पनि कहिलेकाहीं गीत गाइदिन्थे। त्यतीबेला मैले गाएको गीतको पनि सम्झना छ।
जेठो भाई नेपाल गयो, कान्छो भाइ काँसी जा।
ढुक्क मनले माया लाइजा, मुसुक्क हाँसी जा।।
केटाहरु सब मैलाई हेर्दै हाँसीदिन्छन्। वाह! वाह!! गर्दै ताली बजाइदिन्छन्। म त पुरै लाजले भुतुक्कै।
धर्मेन्द्रको गजल दशैंसँग सम्बन्धित प्रगतिशिल थियो। मेरो गीत अलि हावा तालको।
करिब एक घण्टाको ओरालो हिडिसके पछि माझ घट्ट भेटिन्छ। त्यो रारातालबाट आएको खत्याड खोलाको पानी हो। त्यसपिछ हामी थोरै बिना कष्टको उकालो चड्छौं। त्यहीं भेटीन्छ मुर्माटप जाने बाटो। मुर्मा टप भ्यु टावर भएको ठाउँ हो। त्यहाँबाट मुगुका अनेकौं दृश्यहरुको अवलोकन गर्दै आनन्द लिन सकिन्छ। हामी उतातिर नलागी रारातिरै जान्छौं। करिब पन्ध्र मिनेट हिडेपछि भेटिन्छ हिमाली भेगको समुद्र। नेपालकै ठूलो ताल रारा।
हामी गरनतव्यमा पुग्ने वित्तिकै हामी सबै एकै साथ कराउँछौं। या.... हु....। पश्चिम नेपालको एक आकर्षक पर्यटकीय गन्तव्य मुगु जिल्लामा अवस्थित रारा तालमा। जसको वर्णनमा जतिसुकै शब्दहरु खर्च गरेपनि कमै हुन्छ।
राराको सुन्दरताको वर्णन गर्ने प्रयास राजा महेनद्रलेपनि गरेका हुन। राराकी सुन्दरी नामको कविता लेखेर। पछि उनकै नाम राखेर रारालाई महेन्द्र ताल पनि भनियो। मैले पनि एउटा गीत गाइदिन्छु रारातालको वर्णन गर्न।
जति हेर्यो हेरौँ लाग्ने, रारा ताल तालै हो।
न उकालो न ओरालो, हिँड्नु छालछालै हो।।
जब हामी रारा ताल पुग्छौं हाम्रा आँखाहरु कत्तिपनि थाक्दैनन्। हेरिरहन मन लाग्छ। ताल नजिकबाट पुरै ताल देख्न सकिदैन। पुरै ताल हेर्नलाई वरिपरी हिडिरहनु पर्छ तालको छालैछाल(छेउछाउ)। यसरी हिडिरहँदा उकालो ओरालो केही पर्दैन। थकान कत्तिपनि हुदैन।
२०६३ असोज ३ गते १० कक्षा पढ्ने बेलामा हामी हाम्रो विद्यालयका शिक्षक सहित रारा भ्रमण गएका थियौं। त्यसको ठिक दश वर्षपछि जाँदा रारा तालमा फरक केही थिएन। फेरिएका एक दुइटा होटल मात्रै थिए। काठको डुङ्गाको ठाउँमा रबरका डुङ्गा थिए। त्यस बाहेक राराको रुपमा कुनै फेरबदल भएको थिएन। राराको सुन्दरता उत्तिकै थियो जुन मैले दश वर्ष अघि देखेको थिएँ। पानी उत्तिकै सफा जुन दश वर्ष अघि पनि पिउन मिल्ने नै थियौं। माछा उसैगरी छालमा खेलीरहेका थिए जुन दश वर्ष अघि पनि खेलिरहेका थिए। साँच्चै रारामा पाइने माछा निकै मिठो हो, असला जातको। यसरी दश वर्षको अवधिलाई तुलना गर्दा रारा अहिलेपनि भर्जिन छ भन्ने लाग्यो। त्यसैले राराको भर्जिनीटीलाई कायम राख्नुपर्ने आवश्यकाता खट्कीरहको छ। यदी ताल कथमकदाचित फोहोर भयो, संरक्षण गर्न सकिएन भने ताल कुरुप हुने मात्र होइन हामी रारा भन्दै नाक फुलाउनेको नाक पनि काटिनेछ।
रारा राष्ट्रिय निकुञ्जले जुम्ला र मुगु जिल्ला गरी १५८३ हेक्टर क्षेत्रफल ओगटेको छ। मुगु जिल्लाको हुटुमा अवस्थित रारा ताल समुद्री सतहदेखि २९९० मिटर उचाइमा रहेको नेपालको सबैभन्दा ठूलो ताल हो। १६७ मिटर गहिरो रारा तालको लम्बाई ५.१ किलोमिटर छ भने चौडाई २.७ किलोमिटर छ। १० हजार छ सय बयासी घनमिटर पानीको उपलब्धता भएको तालको पानी सिधै पिउन मिल्ने छ। तालबाट बाहिर निस्कने पानी खत्याड हुँदै मुगु कर्णालीमा मिसिन्छ।
चैत बैशाखमा एक खालको र भदौ, असोज, कात्तिकमा अर्को खालको मौसम दुबै रारा भ्रमणको लागि निकै उपयुक्त मानिन्छन्। असार, साउनमा तालले फरक खालको सुन्दरता दिन्छ। वरपरी भएका फुलहरु फुलेर तालको सोभा बढाइदिन्छन्। अति वर्षाद हुने समयमा कुहीरो र हुस्सुले ताल ढाक्दा दृश्यको सुन्दरतामा केही कमी भएता पनि असार साउनमा लेक चड्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ। मंसिर, पुस, माघमा ताल निकै सफा देखिने भएपनि चिसो अत्यधिक हुन्छ। तर यो समय साहसिक पर्यटकको निम्ती उपउक्त छ। यति हुँदा हुँदैपनि रारा भ्रमण्का निम्ति योजना बनाइसकेपछि कुनै मौसम कुरिरहन आवश्यक छैन। जुनसुकै समयपनि आफू अनुकुल बनाएर जान सकिन्छ।
सरकारले ताल, त्यसवरपर १०७४ प्रकारका वनस्पति, २१४ जातका चराहरु र ५१ जातका स्थनधारीको संरक्षणको लागि पनि निकुञ्ज बनाएको देखिन्छ। निकुञ्ज क्षेत्रभित्र अनेकौं प्रकारका जडिबुटीहरु पनि पाइन्छन्। यी सबैको संरक्षणले ताल संरक्षण हुन सहयोग मिल्छ भने मुगु जिल्लाले असंख्य पर्यटकहरु भित्र्याउदै मनग्य लाभ लिन सक्छ।
धर्मेन्द्र, गोरख र जगत विज्ञानका विद्यार्थी हुन। उनिहरु आफ्नो अध्ययन अनुसार तालको बनोट, माछाहरुको उत्पती आदिबारे बोल्थे। उमेश कृषि विज्ञानको विद्यार्थी हुन। उनी त्यहाँ वरपरका वनस्पती र झारपातहरुबारे बोल्थे। गोविन्द र म कमर्शका विद्यार्थी र शिक्षक हामी त्यहाँको सुन्दरताबाट समाजिक मुनाफा लिन सकिने विषयमा बोल्थ्यौं। जे होस हामी सबैले एक अर्काका कुरालाई खाएका थियौं। मन पराएका थियौं।
करिब चार घण्टा रारा तालसँगको सामिप्यता पछि हामी गमगडी हिड्न लागेका थियौं। निकुञ्ज आर्मीको जवानले हामीलाई नजानुस् ढिलो भैसकेको छ, बाटोमा भालु लाग्छ, डर अलि बढी हुन्छ भनेका थिए। हामी छ जनाको टीम भएकाले त्यति डर हुन्न भन्यौं। उनले हामीलाई त्यहाँबाट निस्कन दिए। हामी हिड्यौं। भालु र हिम चितुवा निकुञ्जको अर्को आकर्षण हुन। गमगडी मुगु जिल्लाको सदरमुकाम हो। उमेशसँगै पढेका एकाजना साथिले हाम्रो लागि त्यतै होटेलको बन्दोवस्त गरिदिएका थिए। राति नौ बजेतिर हामी होटलमा पुग्यौं। झण्डै १५ घण्टाको अवधिमा हामी जुम्ला गोठी जीउलाबाट रारा ताल हुँदै गमगडी हिडेरै पुग्न सक्यौं।
भोलिपल्ट बिहान गमगडी सदरमुकामका विभिन्न ठाउँ अवलोकन गर्यौं। बजारको कालिका माविको चैरबाट चारैतिरका डाँडापाखा र हिमालहरु हेर्यौं। लेकहरु हेर्यौं। हामीले दिउसो चड्नुपर्ने गुच्चीको लेक हेर्यौं। सबभन्दा बढी चंखेलीको लेक हेर्यौं। चंखेलीको लेक हुम्ला र मुगुको सिमाना हो। त्यतिमात्र नभई नेपाली रुपिया रु.१ को नोटमा अंकित लेक पनि चंखेली नै हो। दुखद संयोग मान्नुपर्छ यतिबेला नेपाल राष्ट्र बैंकले रु.१ को नोट छाप्न छोडेको छ। नोट एक रुपियाको त्यही छाप्न दुई रुपिया खर्च हुने भएकाले पनि उक्त नोट छाप्न छोडेको भन्ने खबर छ।
बिहानको चियापछि हामीले फेरि सुख्खा खानेकुरा नै बोकी जुम्लाको लागि हिड्यौं। गमगडीबाट उकालो लाग्यौं भने बजार वरपरका केही गाउँ बाहेक बाटोमा अरु बाख्लो बस्ति छैन। बाटोमा भेटीने गाउँ पिना हो। पिनाभन्दा माथि रुईंसेडी छ। पिनाको एउटा रमाइलो किस्सा मैले पहिला सुनेको थिए। पिनाका एकजना सुनारको घर, वरिपरी पुरै फोहोर, घरको आगनैनेर बच्चाबच्चीहरुको दिशा, बारीमा भैसी बाँधेको मुल ढोकानेर घरमुली शुल्पामा तमाखु हालेर बसेको, त्यहीं नजिकैबाट एकजना विदेशी हिडेको घरको छतमा चार तारे झण्डा देखेछ। उस्ले अचम्म मानेछ। यस्तो बस्तीमा कम्तिमा कम्युनिष्ट पुगेका हुन्छन् भन्ने उस्को मत रहेछ। मैले साथिहरुलाई त्यतीबेला त्यही सुनाएको थिए। बाटोमा हामी गफ गर्दै हिड्यौं। गुच्चीका लेक चड्न माहाभारत नै भयो। जुम्ला र मुगुको सिमानामा रहेको गुच्चीको लेख जुम्लाबाट चड्न सजीलो तर मुगुबाट निकै कठिन छ। सास फुल्लीएर हैरान हुने। ठाडो उकालो भएको। अघिल्लो दिनको निकै लामो पैदल यात्रा हिडेका हुनाले पनि हामीलाई गुच्चीको लेक माहाभारतै भयो। लेक चड्ने न्युनतम समय भन्दा दोब्बर लगायौं।
हामी जुम्लाको बुम्रमाडीचौर गाविस हालको कनकासुन्दरी गाउँपालिकाको माथिलो भागसम्म पुग्यौं। त्यसपछिको थारै उकालोपछि भुलभुले भेटिन्छ। भुलभुलेबाट ओरालो लागिसकेपछि चौथा पुग्यौं। चौथा मुगुमा मोटरबाटो नपुग्दै रारा जाने बाटोको बासस्थान हो। त्यसैले त्यहाँ होटल व्यवसाय गरी बसेका थुप्रै मान्छेहरु थिए तर आजभोलि त्यो व्यापार खस्केकोले त्यहाँ होटलहरु कम भएका छन्। त्यहाँ पुगुन्जेलसम्म अवेर भैसकेको थियो त्यसैले हामी त्यहीं बस्यौं।
भोलिपल्टा बिहान सिंजाका साथिहरु धर्मेन्द्र, गोरख, जगत र गोविन्द त्यहीबाट सिंजातिर लाग्छन्। म र उमेश जुम्ला बजार लाग्छौं। हामीलाई बजार पुग्न अझ अर्को लेक काट्नुपर्ने थियो। चौथाबाट न्याउरीगार्ड हुँदै खाली र त्यहाँबाट डाँफे लेक काटेर जुम्ला पुग्ने हो। डाँफे लेकबाट पुरै जुम्ला बजार देखिन्छ। त्यहाँ पुग्ने वित्तिकै जुम्ला पुगेजस्तै लाग्छ। त्यसको करिब दुइ घण्टापछि हामी जुम्ला बजार पुग्छौं। हाम्रो पैदल यात्रा औपचारिक रुपमै सकिन्छ।
अहिले रारा भ्रमण्को उपयुक्त मौसम छ। पछिल्लो समय रारा घुम्ने पर्यटकहरुको संख्या विगतको तुलनामा ह्वात्तै बढेको छ। कालीकोटको नाग्म बजारबाट जुम्लाको पुरैं सिंजा हुदै मोटरमै रारा पुग्न सकिन्छ। पछिल्लो समय जहाँ जहाँ बाटो पुगेको छ त्यहाँ पुरै स्याउ खेती छ। आरु, ओखर, नास्पती सबैको लागि उपउक्त वातावरण भएको भूगोल त्यही हो। भदौ, असोजको समयमा पाइला पाइलामा आरु, ओखर, स्याउ, नास्पती खाँदै रारा पुग्न सकिन्छ।
रारा जाने बेला दृश्यावलोकनका साथै इतिहासको पनि अध्ययन गर्न पनि सकिन्छ। नेपाली भाषाको उद्गम थालो सिंजा उपत्यका त्यहीं बाटोमै पर्छ। माहाभारत कथाका पात्रहरुक वनबास जाँदा बसेको बेलाका अनेकौं दृश्यहरु त्यतै पाइन्छन्। साथै ऐतिहासिक सिंजा साम्राज्यको अभिलेखहरु त्यहीं बाटौमै पर्छन् भने विराट दरवारको कला कौशल पनि त्यहीं देखिन्छ। विराट दरवारको त्यहीवेलाको काला कौशललाई हेर्ने हो भने सभ्यताको विकास त्यतैबाट भएको मान्न सकिन्छ। एउटा स्थिर राज्य नभई सभ्यताको विकास हुन सक्दैन। त्यसैले रारा भ्रमणकै क्रममा यी अमूल्य सम्पदाको अवलोकन को साथै सिंजा सभ्यताको अवलोकन गरी ऐतिहासिक शिक्षा लिन पनि नभुलौं।