जीवन एउटा यात्रा हो, रोमाञ्चक यात्रा पनि जीवन हो!
नयाँ ठाउँ घुम्ने रहर कसलाई हुन्न होला?
यही रहरले हामीलाई पूर्वी नेपाल पुर्यायो।
चारआली, जोरकलश, टुकीडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, दार्जिलिङ, रङपु, ग्याङटोक, छ्वाङगो लेक (तलाउ), नाम्ची, टिस्टा तिरैतिर, सिलिगुडी र काँकडभिट्टा हुँदै पुनः चारआलीसम्मको फन्को निकै रोचक छ।
पहिलो दिनःइटहरीबाट निजी वा रिजर्भ सवारीमा बिहान ७ बजे निस्किने हो भने इलामको कन्याम चिया बगान घुमेर बिहानको खाना खान सुन्दर पहाडी सहर फिक्कल पुगिन्छ। इटहरीबाटै ताप्लेजुङ जाने सार्वजनिक गाडी पनि समात्न सकिन्छ, बिहानै ४ बजे। महेन्द्र राजमार्गमा सुन्दर सहर दमक, कन्काई नदी, बिर्तामोड हुँदै ८० किमी यात्रामा चारआलीसम्म पुगेपछि उत्तर मोडिन्छ, इलाम यात्रा।
मैदानी भाग सकिएर पहाडी उकालोको जोरकलश पुग्दा दक्षिणतिर देखिने तराईसम्म फाँट, उत्तरतिरका पहाड र केही समयअघिको गर्मीको महसुस मन्द शितल हावाले लिई दिँदा यात्रा आनन्दको सुरूवाती अनुभव यहीँबाट प्राप्त भयो। प्रायः जसो यात्रीलेझैं बिहानको नास्ता हामीले पनि यहीँ गर्यौं।
टुकीडाँडा भन्ने ठाउँमा श्री पाथीभरा देवीको दर्शन गर्न पाइने। कस्तो रमाइलो भने एकातिरबाट दर्शन गर्न टुप्पोमा पुग्यो अनि अर्कोतिरबाट उत्रियो! यहाँका पहाड कचौरा घोप्ट्याए जस्ता, अति सुन्दर। श्री पाथीभरा देवीको दर्शन पनि तपाईंको रोजाईमा भर पर्ने– ताप्लेजुङ। यही इलाम या चारआलीमा पनि आजकल त।
दार्जिलिङको पहिचान टी (चिया) र टुरिजम (पर्यटन) हो। पश्चिम सिक्किमको नाम्चीमा रहेको चिया बगान त झन् एउटा समुद्रझैं लाग्दछ र दौडिरहेको गाडीबाट लामो समयसम्म आँखामा समानान्तर। तर प्राकृतिक सुन्दरताले भने कन्यामको चिया बगानमाथिका दुईभन्दा पनि माथि छ– अनुपम र स्वर्गीय आन्नदले भरिपूर्ण छ। हामी इलाम बजार हुँदै माइपोखरी घुमेर आज यतै बस्ने सोचाइमा थियौं तर फिक्कलका स्थानीयले त्यहाँ पुग्न अझै ६० किमी जति रहेको र इलामदेखि माइपोखरीसम्मको कच्चीमा हामीसँग भएको साधनले नतान्ने सुझाव दिएपछि आजको गन्तव्य दार्जिलिङलाई बनाउने निर्णय गरियो।
मानव जीवनमा सूचनाको महत्त्व त भनिरहनै परेन। यात्रामा त झन् सूचनानै सबथोक हो। म, मेरी श्रीमती, कान्छो छोरा र छोरी (भदैनी) यहाँबाट सिमापारिको यात्रामा निस्किने बेला भएकाले अब सूचना र सावधानीको मात्रा त बढाउनै पर्यो। एनटिसी मोबाइलबाट ००९१ अगाडि राखेर दार्जिलिङका होटलमा फोन गर्दा जति चोटि पनि ‘यो सेवा निषेधित गरिएको छ’ मात्रै सुनियो। १४२४ को कोडले पनि पारा ल्याएन। अन्य देशको यात्रामा जाँदा यात्रा सहज बनाउन त्यो देशको सीम कार्ड बोक्ने चलन छ तर हतारमा जति कोसिस गर्दा नि हामीलाई यो सम्भव भएन यसपालि।
चारआलीबाट फिक्कलसम्म सार्वजनिक यातायातका साधन बाक्लै भएनि फिक्कलबाट भने पशुपतिनगरसम्म शून्य जस्तै हुने रहेछ। हामी दिउँसो २ बजेतिर पशुपतिनगर पुग्यौँ। भारतीय नम्बर प्लेट भएका गाडी स्टेन्डमा नरोकिएर अलि परै पुगेछौँ हामी। वेस्ट बंगाल र ठट भन्या चाहिँ दार्जिलिङ डिस्ट्रिक हुने रहेछ। त्यहाँ थुप्रै यात्रा सहयोगी भेटिए।
‘हउ दाजु अन्त दार्जिलिङ हिड्नु भा’को? लास्टै ढिलो भो नि त ल! गोटा गाडी त अब पाउन्न हो। आफ्नै नेपाली दाजुभाइ हो सस्तोमा हामी गाडी रिजर्भ गरिदिन्छौं क्या! अहिले त दार्जिलिङमा होटल प्याक हुन्छ हो अन्त हामीले होटल पनि यहीँबाट बुक गरिदिन्छौ हो।’ यस्तै यस्तै धेरै भट्भट्याए एउटा सहयोगी युवाले। एउटाबाट ग्राहक ‘डिल’ नभए पछि अर्कोले अर्कै ‘अफर’ लिएर आउने रहेछ। गोटा गाडी भनेको दश सिट भएको सुमो वा त्यस्तै भ्यानमा प्रति यात्रु सय रुपैंया भारूका दरले पशुपतिनगरदेखी ३० किमी परको दार्जिलिङको गाडी स्टेन्डसम्म पुर्याउने रहेछ– फेरि दार्जि्लिङमा होटलसम्म पुग्न अर्को ट्याक्सी चाहिन्छ।
त्यो पनि दार्जिलिङको पहाडमा भारतका अन्य सहरमा जस्ता मिटर ट्याक्सी वा ‘उभर’ जस्ता सस्ता साधनको परिकल्पना हुने कुरै भएन। पशुपतिनगरमा सहयोगीहरूको सहयोगबाट बच्न राम्रै मेहेनत गर्नुपर्ने रहेछ। यो क्रम दार्जिलिङसम्मै कायम रहन्छ। आफ्नै नेपाली दाजुभाइ अनि मिठासपूर्ण नेपाली भाषाले यो सहयोगको काममा मलजल गर्ने। मैले केही भारतीय रूपैयाँ विराटनगर र इटहरीका आफना मित्रहरूबाट पहिलै जोहो गरेको थिएँ। तर भारतमा कार्डले काम नगर्ला कि भन्ने डरले पशुपतिनगरमा अलिकति साट्ने अनुभव पनि बटुलियो । सटही दर भारु ६०० बराबर नेपाली ९६० भए पनि १००० नै दिनु पर्छ ‘सहयोगी’ मार्फत् सीमामा।
बेलुकी साढे चार बजेतिर हामी ‘दार्जिलिङ गेष्ट हाउस’को सबैभन्दा माथिको बार्दलीसहितको कोठा लिएर ‘चेक इन’ भयौं जहाँबाट हरिया डाँडा चारैतिर देखिने रहेछ। मेरा पुराना दार्जिलिङवासी मित्र श्री सुरज मोक्तान जो बीसौं वर्ष पहिले काठमाडौँको एलआरआई स्कूलमा मसँगै पढाउनु हुन्थ्यो, उहाँको रचना र संगीतको एउटा गीत छ– दार्जिलिङको डाँडै डाँडा..। हो मित्र यो तपाईंको शहर त तपाईंले भनेझैँ रहेछ– दार्जिलिङको डाँडै डाँडा...
गेष्ट हाउसका प्रोपराइटर उत्तम गुरुङसँग अघि ट्याक्सी ड्राइभर दाइले भनेका ठाउँ र मैले पहिले नै अनलाइनमा खोजेका दार्जिलिङमा घुम्न लायक ठाउँको ‘लिस्ट’ सहित भोलिको ट्याक्सीको लागि कुरा गरेँ। बल्ल पो थाहो भो त यी दिउँसोका ट्याक्सी ड्राइभर दाइ त झन खतरा ‘सहयोगी’ पो रहेछन् बा! अर्थात धेरै महंगा अनि टाइगरहिल र रक गार्डेनको बारेमा उनले भनेको गलत रहेछ। उत्तमजीले अर्को ट्याक्सी सस्तैमा खोजिदिनु भो भोलिको लागि।
मैले बाहिर कुरेको दिउँसोको ट्याक्सी ड्राइभरलाई ‘क्यान्सिल’ गरेको भन्न छोरालाई पठाएँ।
दोस्रो दिनःहोटल कर्मचारीले पनि आफनो कर्तव्य पूरा गरे, बिहान ४ बजेनै हामीलाई उठाएर। ५ः३० को सुर्योदयका लागि सवा चार बजे नै सुमो होटलबाट निस्कियो । हामीलाई लाग्यो सायद टाइगरहिल पुग्नेमा हामी नै पहिलो हुन्छौँ कि! तर कति चलायमान र ब्यस्त छ दार्जिलिङ– बाटोमा जाँदा त्यो अँध्यारोमा पनि बिजुलीका पोल ठडिएझैँ प्रशस्त महिलाहरू तातो कफीका थर्मश बोकेर गाडी कुरिरहेका या पैदलै हिँडेका भेटिए।
हामीलाई थाहा भयो उनीहरू टाइगरहिलमा कफी बेच्न हिँडेका रहेछन्। टोपी, स्विटर, ज्याकेट यस्तैयस्तै व्यापार हुने रहेछ त्यहाँ। हाम्रो ‘रिजर्भ’ गाडीले कफी बेच्ने एक महिलालाई गुरुजीकै स्वेच्छामा ‘लिफ्ट’ दियो टाइगरहिलसम्म। गुरुजीलाई कफी ‘फ्री’ अनि कफीवाली दिदीलाई भाडा ‘फ्री’– यो नियमित हुने रहेछ। अरू दिदीहरूले बाटोमा हात दिँदा गुरुजीले दिदिपिच्छे नै गाडी त ‘स्लो’ गरे तर, ‘डोल्मा दिदी पो छ त हो लास्ट सिटमा आज’ भनेर बाँकीलाई ‘लिफ्ट’ दिएनन्।
दिदीहरू र गुरुजीहरु, प्रायः सबैले सबैलाई चिन्ने तर ‘लिफ्ट’ भने कहिले कोसँग थाहा नहुने रहेछ। कफीवाली दिदीले दौडिरहेको गाडी भित्रै कफीको पहिलो कप ‘अफर’ गरिन्। गाडीबाट उत्रिएपछि बढीमा १० मिनेट हिँड्नु पर्ने त्यो पनि भिडको कारणले मात्र रहेछ। टाइगरहिल पुग्न पहिलो हुन भनी देखेको हाम्रो सपना भीडमै हरायो। कफीवाली दिदीले उनको साथमा भएको सानो ‘टर्च लाइट’ले हामीलाई टुप्पोसम्म ‘गाइड’ गरिन्।
अगाडि पूर्वतिर ठूलो चौर र पहिलै भीड। पछाडितिर ‘अन्डर कन्स्ट्रकसन’ पारापिट। पारापिटको अन्तिम लहर जो सबैभन्दा अग्लो हुने भै हाल्यो, उनले त्यहाँ लगेर हामीलाई उत्तरपट्टि उभिने सल्लाह दिइन् र भनिन्– ‘अबको आधा घन्टामा पूर्वतिर ‘सनराइज’ र उत्तरतिर कञ्चनजङ्घा हिमाल हेर्नु ल दाजु! लौ तातो कफी खानुस्। कतै नगई यहीँ उभिनु ल। मेरो नाम डोल्मा हो। फेरि कफीवादमा दोहोर्याउने हो भने मेरो नामले कराउनु ल। अरूको कफी नखानु है। यहाँ त बबाल पो हुन्छ त नि नत्र! म त यतै हुन्छु नि हो। यसरी उनले फेरि कफी ख्वाइन् र पैसै नलिई हामीबाट भीडमा हराइन्।
फेरि कफी खान मन लागे नि डोल्मा दिदी जसको हामी ऋणि थियौँ उनी कतै देखा परिनन्। अरूको पनि खान मन लागेन र हामी ओरालो झर्यौँ। डोल्मा दिदी त फेरि उकालो पो आई राखेकी रहिछन् त! पछि थाहा भो हामीलाई उनले छोडेको ठाउँमा नभेटे पछि अत्तालिएर गाडी ‘पार्क’ गरेको ठाउँमा गइछन् र ड्राइभरलाई , ‘मेरो पैसा मागेर राख्दी राख ल त्यो मान्छे त भीडमा कता गो कता अन्त नि भनेर आइछन्। उनको सान्तवनाका लागि पनि हामीले फेरि कफी पियौँ र सबै पैसा तिरेर डोल्मा दिदीसँग बिदा भयौँ। रमाइलो कुरा चाहिँ ग्राहक जो पर्यटक नै हुन् र व्यापारी दुवै सूर्योदयको केही समयमै यहाँबाट फर्किहाल्ने रहेछन्– सुनसान टाइगरहिल! यस्तो व्यस्त दार्जिलिङले कसरी धान्यो होला १०५ दिनको आम हड्ताल।
‘इन्जिन’ तताउन ‘स्टार्ट’ गरेका ‘टोय रेल’का टाउका र ‘लिक’ हेर्दै हामी ‘गोर्खा वार मेमोरियल’ वा भनौँ ‘बतासिया लुप’ पुग्यौँ। प्रकृतिले त दिएकै छ अञ्जुली भरी दार्जिलिङलाई। झन् बृटिस साम्राज्य विस्तार ताकाको भारतमा सय वर्षभन्दा नि पहिले नै उनीहरूकै ‘रिक्रियसनल निड’ले यो ठाउँलाई ‘पहाडकी रानी’ बनाएकै हुन्।
यसैको परिणाम हो आजको दार्जिलिङ जिइरहेछ टी र टुरिजमको नाममा। गर्मी समयमा शितल बतास चल्ने भएर होला यो डाँडोको नाम ‘बतासिया लुप’ राख्या। हुन त रेलले यसको वरिपरि फन्का मार्ने भएकोले ‘लुप’ पनि हुने नै भो। ‘बतासिया लुप’मा घन्टौँ बिताउन सकिने भएनि झन्डै आधा घन्टा काफी हुन्छ यो ठाउँ घुम्न। अनि हामी घुम मोनास्ट्री गयौँ। जहाँ ९३ वर्षे एक आमाको दिनचर्या हाम्रा लागि अत्यन्त प्रेरणादायी रह्यो।
फर्किँदा ‘राजा पढेको स्कूल’ अर्थात सेन्ट जोसेफ स्कूल बाटैमा देखी हाल्यौँ। बिग्रेर बसेको केवलकार, ‘टेन्जिङ रक एचएमआइ’, बुलुम फिल्ड चियाबगान आदि सबै बाटोमै पर्ने भए। जापानिज बुद्धिस्ट टेम्पल, जापानिज पिस प्यागोडा दिउँसो वा बेलुकीपखको एकाध घन्टा राम्ररी नै बित्छ र बित्यो पनि।
सपरिवार चौरस्ता घुमेपछि बेलुकीपख हल्का सपिङ भो दार्जिलिङमा। भोलिको सिक्किम यात्राका लागि हामी बसेका होटलका उत्तमजीले भन्नु भो, दार्जिलिङदेखि ग्यान्टोकसम्म जाने दशसिट भएका सुमो हुन् र यहीबाट भरिएर जाने हुन् ‘डाइरेक्ट’। ‘रिजर्भ’मा तीन–चार हजार लिन्छ। तपाईहरू बाहेक छ सीट खाली जाने हो। बरू ‘गोटा’मा दुई सय पचासका दरले जानुस् । अरु ‘पेसिन्जर’ हाल्न दिनुस् ! हिड्ने र पुग्ने समय पनि उही हो । किन बढी पैसा खर्च गर्ने । भोलि बिहान बरू होटलबाटै तपाईंहरुलाई ‘पिक अप’ गर्छ छ बजे ।‘ सल्लाह स्वीकारियो । यहिंबाट भोलिको लागि ‘होटल लोनार्क एन्ड पेलेजर’, लालबजार, ग्यान्टोकको लागि होटल बुक पनि गरियो।
दार्जिलिङमा हामी बसेको होटलकै छेउमा रहेछ भारत सरकारले तेन्जिङ नोर्गेलाई बनाइदिएको घर। तर आजकल घरमा कोही छैनन् रे। हामीले टाढैबाट त्यो घरको फोटो खिच्यौँ घाम अस्ताउनुअघि। त्यसै अतित याद आयो (बालककालमा रेडियो नेपालबाट सुनेको गीत, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ अनि सम्झेँ यो गीतका गीतकार जो कोही स्रष्टा हुन् जसको मलाई नाम थाहा भएन तर उनले यो फोटो खिचेका भए आज वा म उभिराखेको घरबाट त्यो घर वा तेन्जिङलाई नै देखेको भए। यो एउटा कल्पना न हो आखिर।
तेस्रो दिनबिहान सातै बजे होटलबाटै सिक्किम जाने सुमोमा चढ्यौँ। गाडीका बाँकी ६ जना यात्रु पनि एउटै परिवारका र बुटवलबाट सिक्किम घुम्न जाने हुनुहुँदोरहेछ। गफगाफले त झनै बाटो छोट्याइ हाल्यो। बाटोको अवस्था त पशुपतिनगरदेखि सबैतिर राम्रो छ। बीचबीचमा चियापानी लगायतमा त गुरूजीले रोकेकै हुन गाडी। त्यसमा पनि टिस्टा नदीको पूलको बीचमा पनि हाम्रो अनुरोधमा रोकिदिए। तस्वीर खिचायौँ सम्झनाका लागि। ‘पश्चिम किल्ला काङ्गडा पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामु कहिले हामी झुकेथ्यौँ’ भन्ने गीत मनको पृष्ठभूमिमा आइहाल्यो। सायद बहादुरी पूर्खाप्रतिको श्रद्धा–सुमन होला यो।
नौ बजेको हाराहारीमा हामी सिक्किमको रङ्पु पुग्यौँ जुन पश्चिम बंगाल र सिक्किमको सीमानामा रहेछ। नागरिकता वा पासपोर्ट देखाएर प्रतिलिपि बुझाई सामान्य सोधपुछपछि हामीले ‘अन एराइभल भिसा’ पायौँ सिक्किमका लागि। बाटोमा सिक्किम मणिपाल विश्वविद्यालय, प्रशस्त औषधि कारखानाहरू, विनोद चौधरीको वाइवाइ चाउचाउ कारखाना लगायतका उद्योग नदी किनारमा प्रशस्तै देख्न पाईने रहेछ। बिहान एघार बज्दा ग्याङटोक पुग्यौँ हामी।
ग्याङटोकको ‘लोकल भिजिट’का लागि आधा दिन काफी छ। पहाडी झरना र बिजुली निकालिएको ‘वनझाँक्री फल्स एन्ड इनर्जी पार्क’ ग्याङटोकमा सबभन्दा बढी पर्यटक तान्ने अति सुन्दर स्थल मानवनिर्मित नै हो। हनुमानटोक, गणेशटोक र यो सँगैको ‘भ्यू टाउर’, ‘पान्ट कन्जरभेटोरी’, गुम्बाहरू र बाटामा भेटिने प्रशस्त झरनाहरू नै यहाँका पर्यटकीय गहना हुन्।
ग्याङ्टोक बजारको मुख्य भागमा रहेको ‘महात्मा गान्धी रोड’ जहाँ सवारी साधन माथि प्रतिबन्ध छ– यो त भव्य यूरोपियन शहरको झल्को दिने खालको रहेछ। पार्कमा रहेका फलैँचामा बस्न खाली ठाउँको लागि नै पालो कुर्नु पर्ने। गान्धीजीको शालिक अगाडि र जताततै तस्वीर लिनेहरूको भीड। समुहमा गफिनेदेखि पुस्तक पढेर बसेका सम्म भेटिए। एम्जी रोडको मोहिनीमा हामी पनि यसरी पर्यौं कि दुई रातको ग्याङ्टोक बसाइमा दुवै बेलुकी हामीले पनि फलैंचामा बसेर घन्टौँ बिताइदियौँ– मनलाई रमाउन दियौँ।
अत्यन्त सफा छ ग्याङ्टोक बजार! भाषा र संस्कार दुवैमा अब्बल छ यो ठाउँ। मानिसहरू अनुशासित र ‘सिस्टम’ बनेको बसेको सजिलै देख्न सकिन्छ। जीवनस्तर माथि उक्लिसकेको छ। सुरक्षा व्यवस्था भरपर्दो छ। राजनितिक स्थायित्व कति छ भने २३ वर्षदेखि पवन कुमार चाम्लिङ मुख्य–मन्त्री छन्। दुई दिने बसाईमा उनलाई मन पराउने बाहेकका मानिस नै भेटेनौँ हामीले। ‘हाइड्रो पावर’मा धनी छ सिक्किम। नेपाल र भारतका पर्यटक नै काफी छ सिक्किमलाई, गोरा पर्यटक भनेका त यसो थपथापमा पर्छन्।
चौथो दिनबिहानै हामी ४० किलोमीटर टाढाको ‘छ्वाङगु’ लेकको यात्रामा निक्लियौँ। जहाँबाट पाँच किमी दुरीमा चाइना बोर्डर छ। तर विदेशीलाई जान दिने भनेको यहि लेक (तलाउ) सम्म मात्र हो। हामीले एकदिनअघि नै एक व्यक्ति बराबर तीन पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपी र रङपुमा प्राप्त एक किसिमको ‘अन एराइभल भिसा’ को प्रतिलिपि होटल मार्फत एजेन्टलाई बुझाएकोले आज ८ बजेसम्ममा अनुमति पत्र प्राप्त भयो। जुन हामीले बाटोमा आर्मिको ‘चेक पोइन्ट’मा देखाएपछि अगाडि जाने अनुमित पायौँ । बाटोभरि आर्मीका क्याम्पै क्याम्प! प्रायःजसो आर्मीका गाडी र नगन्य मात्रमा पब्लिकको गाडी आउने रहेछ बाटोमा।
बाटाका धेरै जसो ठाउँमा सुरक्षा संवेदनशीलताका कारण फोटो खिच्न पनि प्रतिबन्ध रहेछ। ‘दोक्लाम डिस्प्युट’ को कारणले यो बाटो सामरिक रणनीतिक महत्त्वको त रहेछ र आजकल त सिलिगुडीदेखि चाइना बोडरसम्मकै ‘आर्मी मुभमेन्ट’ले झन्डै युद्ध स्थलकै पो छनक नै दिने रहेछ। १२,००० फिटको उचाइमा रहेको ‘लेक’ नोभेम्वरतिर हो भने त चारैतिरका पहाडमा हिउँसहित जम्ने नै भयो। तर यो मौसममा भने हामीले कतैपनि हिउँ भेटेनौ। दश बजेतिर हामी पुग्दा झन्डै सयवटाभन्दा बढी चौरी देख्यौ यी सबै पर्यटक ‘राइड’का लागि रहेछन्। लेकमा धेरै रमाइलो भयो। त्यसमाथि जाडो त हुने नै भयो। भरमग्दुर ‘इन्जोय’ गरेर १ बजेसम्ममा त हामी ‘ब्याक टु ग्याङटोक भैसकेका थियौँ।
पाँचौं दिनग्याङटोकबाट ८०किमि टाढाको ‘साउथ’ सिक्किमस्थित नाम्ची (चारधाम)को लागि बिहान चारै बजे हामी हिँड्यौं। रङपु पुगेपछि भने अस्ति आउँदाको बाटो छोडेर हामी दाहिनेतिर मोडियौँ। टिस्टा नदी जुन ठूलो भएर नै होला त्यो बेला हाम्रा पूर्खाले नि नतरेको। यसमा दर्जनौंभन्दा बढी ठाउँबाट बिजुली निकालिएको रहेछ–नाम्ची जाँदा र फर्किँदा बाटो फरक पर्ने हुनाले अलग–अलग ठाउँबाट टिस्टा दुईचोटी तरिन्छ, झन् काँकडभिट्टाको बाटो नेपाल फर्किँदा त टिस्टा किनारै किनारको यात्रा कम रमाइलो हुन्न। नाम्चीको लागि टिस्टा तरेपछि पहाडतिर घरहरू पातलिने त भएनै तर सबै जसो गाँंमा पनि घरघरमा निजि गाडी, जागिर, हराभरा शान्त सिक्किम– मानव र प्रकृति मिलेपछि के चाहियो र !
उकाली ओरालीसँगै बृहत चिया बगान भएर बिहानी घामको किरणसँगै मन्द शितल (चिसो) हावा भएपछि यात्रामा केही क्षण नरोकिन सम्भव भएन। त्यसमा पनि आजको ड्राइभर दाइ ‘धुव्र बस्नेत’ त साह्रै सजिला र जम्माजम्मी तीन पुस्ता अघि मात्रै नेपालका भोजपुरबाट सिक्किमेली भएका रहेछन् अनि सिक्किमबासी हुनुको अर्को विशेषता नै इमान्दारीता र सहयोगी जे देख्यो त्यही भन्ने हो। यदि कोहि गरिब छ भने सिक्किममा उसलाई तीन वटा बिजुली बत्ति, केहि मात्रामा चामल पनि फ्रि र अन्य सुविधा। बाँकी त आफू पनि गर्नु पर्यो नि। त्यो पहाडी राज्यमा इन्धन पनि सस्तो।
अब आफैँ अन्दाज गर्नुस् सिक्किमको जीवन स्तर। एउटा कुरा चाहिँ सुटुुक्क भनौँ है– सिक्किममा बाहिरका भन्दा स्थानीयलाई धेरै अवसर भएकाले हाम्रा नेपाली दाजुभाइले राम्रै काम पाएका रहेछन् त्यहाँ। हामी घुमन्ते जस्तो ‘अन एराइभल भिसा’ या ‘डकुमन्ट’मा गए विदेशी भई हालिन्छ। बरू सुटुक्क छिर्यो, काम गर्यो, कमायो। शत प्रतिशतले नेपाली बोल्ने र ८० प्रतिशत नेपाली मूलका भएको ठाउँमा के को पीर?
सिक्किमलाई ‘इस्ट, वेस्ट, नर्थ, साउथ’ भनेर बाँडिएको छ। ‘नर्थ’ सिक्किम हिमाली विचित्र फूलहरूको लागि प्रख्यात छ रे– नगएको ठाउँको के बयान। राजधानी ग्यान्टोक रहेको ‘इस्ट’ सिक्किम हो । केही वर्ष अघिसम्म बाहिरी दुनिँयाले नामै नसुनेको नाम्ची ‘चारधाम’को स्थापनाले अहिले सिक्किमकै मुख्य पर्यटकिय आकर्षक केन्द्र बनेको छ। हुन त नाम्ची सहज यात्राका लागि भने अझै पनि गाडी ‘रिजर्भ’मै जानु पर्छ।
जगन्नाथ, रामेश्वरम, द्वारका, बद्रिनाथ लगायत चारधामको प्रतिकात्मक मन्दिरहरू लगायत किरात धर्मावलम्बीहरूको मन्दिर सहितको विशाल क्षेत्रफलमा फैलिएको ‘चारधाम’ घुम्न कम्तिमा पनि २ घन्टा छुट्याउनु पर्ने हुन्छ। भीमकाय सेतो रंगको शिव मूर्ति एकछिनमा घाम लागेर हेर्नै गाह्रो हुनेगरी टल्किने र तुरुन्तै कुहिरोले छोप्दा विलय भएको क्षण त साँच्चै धर्मस्थलमा भगवानले दर्शन दिदै अन्तर्ध्यान भएझैं यो लुकामारी मनमा अमीट भएर रहन्छ। हाम्रो चारधाम यात्रा अविस्मरणीय रह्यो। नाम्चीकै ‘हिलटप मोनास्ट्रि एन्ड स्टाच्युट’ त तपाई छुटाउनै सक्नु हुन्न नि।
यसरी नाम्चीबाट ओरालो लागेको यो शरदको यात्रा, टिस्टा तिरैतिर, सिलिगुडी र काँकडभिट्टा हुँदै पुनः चारआलीसम्मको ‘सेलरोटी’ पकाएपछि समापन भयो।