उम्मेदवार दिनु अघिदेखि कर्णालीमा गठबन्धन दलबीच भएका सहमति दैलेखका अधिकांश पालिकामा कार्यान्वयन भएका छैनन्।
पूर्वसहमति कार्यान्वयनमा कतिपय ठाउँमा गठबन्धनको नेतृत्व गरेको दलले नै भाँझो हालेको छन् भने कतिपय पालिकामा गठबन्धनभित्रका अरू दल अटेरी बनेका छन्।
गठबन्धनको पूर्वसहमति सामान्य रूपमा कार्यान्वयन नारायण नगरपालिकामा मात्र भएको छ। अरू १० पालिकामा कार्यान्वयन हुन सकेको छैन।
माओवादीले मेयरमा उम्मेदवारी दिए पनि नारायण नगरपालिकामा गठबन्धनमध्येका कांग्रेस र समाजवादीले भने दलबीच भएको पूर्वसहमतिको कार्यान्वयन गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय दैलेखले उपलब्ध गराएको तथ्यांक अनुसार नारायण नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गंगाराम बस्नेत, माओवादी केन्द्रबाट दानबहादुर महतारा, कांग्रेसबाट निर्मला कुमारी खड्का थापा, नेपाल मजदुर किसान पार्टीबाट रत्नबहादुर श्रेष्ठ र एमालेबाट लोमन शर्मा मेयर पदका उम्मेदवार छन्।
उपमेयरमा राप्रपाबाट ईन्द्राकुमारी शर्मा रेग्मी, एमालेबाट तप्तबहादुर खड्का र समाजवादीबाट सावित्री मल्ल उम्मेदवार छन्।
यो नगरपालिकामा कांग्रेसले मेयर र समाजवादीले उपमेयर पाउने सहमति भएको थियो। नेकपा एकीकृत समाजवादी र कांग्रेसले यी दुई पदमध्ये एउटामा मात्र उम्मेदवारी दिएका छन्।
गठबन्धनको पूर्वसहमिति कार्यान्वयन नभएका १० पालिका
आठविस नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउने पूर्वसहमति थियो। तर मेयरमा गठबन्धनमध्ये कांग्रेसको मात्र उम्मेदवारी भए पनि सहमतिअनुसार माओवादीको उपमेयरमा उम्मेदवारी छैन। बरू कांग्रेसले उपमेयरमा पनि उम्मेदवारी दिएको छ।
अन्तिम नामावलीअनुसार आठविसमा कांग्रेसबाट प्रेमप्रकाश शाही, मजदुर किसान पार्टीबाट धनबहादुर सिजापती, राप्रपाबाट देवेन्द्रबहादुर विष्ट, एमालेबाट तर्कबहादुर बडुवाल उम्मेदवार छन् भने उदयराम विश्वकर्माले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।
उपमेयरमा एमालेबाट कल्पना कुमारी थापा, कांग्रेसबाट निशा थापा, मजदुर किसान पार्टीबाट ललिता कुमारी बडुवाल, राप्रपाबाट विमला कुमारी जैसी र सन्दीप कुमार विकले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
दुल्लु नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउने पूर्वसहमति थियो। यहाँ पनि पूर्व सहमति कार्यान्वयन भएको छैन। उपमेयरमा कांग्रेस र माओवादी दुवैको उम्मेदवारी परेको छ।
मेयरमा राप्रपाबाट गणेशप्रसाद उपाध्याय, समाजवादीबाट पवन खनाल, कांग्रेसबाट भरतप्रसाद रिजाल, एमालेबाट रूद्रबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी कुमार विक र ओमबहादुर कार्की स्वतन्त्र उम्मेदवार छन्।
उपमेयरमा समाजवादीबाट खजुरा सुजी, माओवादीबाट टेकबहादुर खड्का, राप्रपाबाट नन्दकला योगी, एमालेबाट विना कार्की र पूर्णबहादुर थापा स्वतन्त्र उम्मेदवार छन्।
गुराँस गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिने गठबन्धनबीच पूर्वसहमति थियो। यो पालिकामा नेकपा एकीकृत समाजवादीको कुनै उम्मेदवारी नभएपछि गठबन्धनका मुख्य दुई दलले नै सहमति कार्यान्वयन गरेका छैनन्।
भागबण्डा भएका माओवादी र कांग्रेसले प्रमुख पदमा एकल उम्मेदवारी दिएका छन्।
अध्यक्षमा माओवादीबाट कृष्ण गिरी, कांग्रेसबाट खेमराज ओली, एमालेबाट टोपबहादुर विसी, राप्रपाबाट तपेन्द्रबहादुर सिंह ठकुरी, मजदुर किसान पार्टीबाट उदयजंग शाही उम्मेदवार छन् भने पदमबहादुर मल्ल र विश्व बुढा स्वतन्त्र उम्मेदवार छन्।
उपाध्यक्षमा कुशुमकुमारी शाही माओवादीबाट, दीपाकुमारी विसी कांग्रेसबाट, पार्वती ओली मजदुर किसान पार्टीबाट, सिवा कुमारी खड्का एमालेबाट, सिता शाही राप्रपाबाट र सम्झना कुमारी विक स्वतन्त्र उम्मेदवार छन्।
नौमुले गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउने पूर्व सहमति भएपनि यहाँ माओवादी र समाजवादीबीच अन्तमा तालमेल भएको छ। माओवादीले अध्यक्षमा उम्मेदवारी दिँदा उपाध्यक्षमा दिएको छैन। समाजवादीले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएको छ ।
नौमुलेमा छविराम सुवेदी माओवादीबाट, भदे बुढा मगर कांग्रेसबाट, शसिराम विश्वकर्मा एमालेबाट अध्यक्षका उम्मेदवार छन् भने विद्या प्रसाद शर्मा र कर्णाबहादुर खत्री स्वतन्त्र उम्मेदवार छन्।
उपाध्यक्षमा समाजवादीबाट गंगबहादुर शाही, एमालेबाट गीता चन्द, कांग्रेसबाट अमृता सिंह र कृष्णा कुमारी चन्द स्वतन्त्र उम्मेदवार छन् ।
डुंगेश्वर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षका लागि गठबन्धन दलबीच भएको पूर्व सहमति कार्यान्वयन भएको छैन । यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीले पाउने पूर्वसहमति थियो । जसअनुसार माओवादीबाट उपाध्यक्षमा मात्र उम्मेदवारी रहेपछि काँग्रेसबाट भने अध्यक्ष र उपाध्यक्ष दुवैमा उम्मेदवारी छ ।
अध्यक्षमा अनिराम ओली मजदुर किसान पार्टीबाट, नगेन्द्र बहादुर मलल काँग्रेसबाट, लक्ष्मण खड्का राप्रपाबाट र सुन्दर कुमार केसी एमालेबाट उम्मेदवार छन्।
उपाध्यक्षमा कांग्रेसबाट एलिजाकुमारी थापा, एमालोबाट कलावती न्यौपाने, माओवादीबाट कृष्णा शाही विक, मजदुर किसान पार्टीबाट देवीकला जैसी, समाजवादीबाट रविन्द्रकुमार डाँगी क्षेत्री, राप्रपाबाट रिता बोहरा र विस्नाकुमारी खत्री स्वतन्त्र उम्मेदवार छन् ।
महाबु गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष र काँग्रेसले उपाध्यक्ष पाउने पूर्वसहमिति थियो । यो पालिकामा पनि गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएन । यो पालिकामा गठबन्धनभित्रका मुख्य दलहरुले एकल उम्मेदवारी दिएका छन्।
महाबुमा समाजवादीबाट जंगबहादुर शाही, राप्रपाबाट रजबहादुर शाही, काँग्रेसबाट लछुमन गुरुङ, मजदुर किसान पार्टीबाट दुधकुमारी सिंह, एमालेबाट सेतुदेवी उपाध्याय उम्मेदवार छन्। दिनेश बहादुर सिंह र विष्णुकुमार बुढा स्वतन्त्र उम्मेदवार छन्।
यस्तै उपाध्यक्षमा समाजवादीबाट पूण्यप्रभा दसौंदी, कांग्रेसबाट मञ्जुकुमारी शर्मा, एमालेबाट दुर्गा कुमारी सिंह र मजदुर किसान पार्टीबाट झुमा थापा मगर उम्मेदवार छन् ।
भैरवी गाउँपालिकामा पनि समाजवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने पूर्वसहमति भएको हो । यसमा उपाध्यक्षमा सहमति अनुसार उम्मेदवार भएपनि कांग्रेसले अध्यक्षमा उम्मेदवारी कायम राखेर भाँजो हालेको छ।
अध्यक्षमा समाजवादीबाट जगतप्रसाद आचार्य, कांग्रेसबाट रिता कुमारी शाही र एमालेबाट सर्वराज महतारा छन् भने उपाध्यक्षमा माओवादीबाट ऐनबहादुर कठायत, काँग्रेसबाट देवी भण्डारी र एमालेबाट पदम कुमारी विष्ट उम्मेदवार छन् ।
चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि गठबन्धनभित्रका दलहरुले एकल उम्मेदवारी कायम राखेका छन् । पूर्वसहमति अनुसार यहाँ पनि समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने थियो।
चामुण्डामा कांग्रेसबाट गणेश कुमार शाही, माओवादीबाट जगदिश शाही, समाजवादीबाट मनिषा कार्की र एमालेबाट सूर्यबहादुर शाही मेयरका उम्मेदवार छन् । उपमेयरमा माओवादीबाट कमला थामी मगर, एमालेबाट नन्द कुमारी विष्ट, समाजवादीबाट नमन कुमार शाही, कांग्रेसबाट मनसरा कुमारी शर्मा उम्मेदवार छन्।
पूर्वसहमति अनुसार माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाएको ठाँटीकाँध गाउँपालिकामा दुवै दलको उलको दुवै पदमा एकल उम्मेदवारी परेको छ ।
ठाँटीकाँधमा माओवादीबाट उमेशकुमार थापा, कांग्रेसबाट रक्ष बहादुर शाह र एमलोबाट लक्ष्मीदेवी शाह अध्यक्षका उम्मेदवार छन्। उपाध्यक्षमा एमालेबाट देविराम बडुवाल, माओवादीबाट विजुकुमारी थापा, कांग्रेसबाट भद्रा कुमारी शाही उम्मेदवार छन्।
यस्तै सहमति भएको भगवतीमाई गाउँपालिकामा पनि दुवै दलको एकल उम्मेदवारी कायमै छ ।
भगवतीमाईमा माओवादीबाट गणेशबकादुर थापा, कांग्रेसबाट दशरथ खड्का र एमालेबाट शान्तिप्रसाद शर्मा अध्यक्षका उम्मेदवार छन् भने उपाध्यक्षमा एमालेबाट बसन्ता शाही, माओवादीबाट मनिषा सोनी विक र कांग्रेसबाट मिनाकुमारी खड्का उम्मेदवार छन् ।