रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखको लागि नेकपा एमालेले मोहन चापागाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
उपप्रमुखमा भने एमालेले वर्तमान उपप्रमुख समेत रहेकी जिल्ला कमिटी उपाध्यक्ष जगेश्वरदेवी चौधरीलाइै नै दोहोर्याएको छ।
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको शनिबार बसेको सचिवालय बैठकले चापागाईँलाई नगरप्रमुख र चौधरीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
२०३० सालमा रूपन्देहीको तिलोत्तमा नगरपालिका- २ शंकरनगरमा जन्मिएका उनी दुर्गादत्त उच्च माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरू गरेका थिए। २०४६ सालमा अनेरास्ववियु रूपन्देहीको सदस्य भइसकेका थिए। २०४६ सालको आन्दोलनमा सहभागी भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा समेत राखेको थियो। पछि अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेका थिए। चापागाईंँ ३० वर्षदेखि पत्रकारीतामा संलग्न रहँदै आएका छन्।
चापागाईँ नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष, केन्द्रीय सदस्य, भइसकेका छन्। रेडियो लुम्बिनीको अध्यक्ष हुँदै सामुदायिक रेडियो प्रशारक संघ अकोरावका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन्।
प्रेस चौतारी नेपालको रूपन्देही अध्यक्ष र केन्द्रीय उपाध्यक्ष हुँदै उनी नेकपा एमाले रूपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष पनि भइसकेका छन्।
नेकपा एकीकरण र विभाजन हुँदाको नगरभित्रका पार्टी कार्यकर्तालाई समेटेर राख्न सकेको भन्दै नेताकार्यकर्ताले उनको तारिफ गर्छन्।चापागाईँ नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज छन्।
अघिल्लो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बन्ने पक्का भइसकेपछि एमालेले चापागाईँको नाम हटाएर बासुदेव घिमिरेलाई नगरप्रमुखको उम्मेदवार बनाएको थियो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका बासुदेव घिमिरेले नगर प्रमुखमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं हालका गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइरामकृष्ण खाणलाई पराजित गरेका थिए।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र जनमुक्ति पार्टी मिलेर चुनाव लड्दा घिमिरेले खाणलाई झण्डै २ हजार ३ सय मतान्तरले जितेका थिए। मेयरमा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए।
उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरि विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन्।
नेपाली कांग्रेस र जनमुक्तिको गठबन्धन रहेको तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९, १०, १६ र १७ गठबन्धनले जितेको थियो भने अरू १३ वटा वडा एमालेले जितेको थियो।
यस पटकको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट रामकृष्ण खाण नै पाँचदलीय गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बन्ने पक्का भएको छ।
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालको गृहनगरसँगै नगरपालिकाको ६ वटा वडा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र बाँकी ११ वटा वडा एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माको निर्वाचन क्षेत्रभित्र पर्छन्।
तीन वटा संघीय निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकाका-१ देखि ६ सम्मका वडा पौडेल निर्वाचित क्षेत्र नं २ मा पर्छ भने १३ र १४ नं वडा भुसाल निर्वाचित भएको निर्वाचन क्षेत्र नं ३ र बाँकी रहेका ९ वटा वडा विश्वकर्मा निर्वाचित भएको क्षेत्र नं १ मा पर्छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६ सय ७३ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७ सय ४७ छ।