समकालिन नगरप्रमुखलाई त्यहीँबाटै बिदाई गर्दा चित्रबहादुर कार्की भने दोस्रो पटक पनि नगरप्रमुखको उम्मेदवार बन्न पाउने भाग्यमानीमा परेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा रूपन्देहीको सैनामैनामा एमालेबाट नगर प्रमुखमा निर्वाचित कार्कीलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको शनिबार बसेको सचिवालय बैठकले कार्कीलाई नै नगरप्रमुखमा दोहोर्याउने निर्णय गरेको हो।
एमाले उपाध्यक्ष विष्णु पौडेलका विश्वास पात्र मानिने कार्की, पौडेल जलश्रोत र रक्षामन्त्री हुँदा उनको स्वकीय सचिव रहेर काम गरेका थिए।
हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभाग प्रमुख हुन्। २०४६ साल पुस १३ गते नेकपा एमालेको सदस्यता प्राप्त गरेका कार्की २०४९ सालमा पर्रोहा गाउँकमिटी उपसचिव, २०५४ मा गाउँकमिटी सचिवहुँदै ईलाका कमिटी उपसचिव, सचिव, क्षेत्र नं. ४ को सचिवालय सदस्य र क्षेत्रीय अध्यक्ष भएका थिए।
२०७१ सालमा क्षेत्र नं. ४ को ईन्चार्ज भएका कार्की २०७३ सालमा रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य भएका थिए।
२०२१ सालमा बुवा रत्नबहादुर कार्की र आमा रत्नकुमारी कार्कीको कोखबाट म्याग्दीको बेनीमा जन्मिएका कार्की हाल सैनामैना वडा नं. ३ मुर्गियाका बासिन्दा हुन्।
पर्रोहा माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका कार्कीले बुटवल बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका छन्।
नगरप्रमुखको पहिलो पाँच वर्षे कार्यकालमा घोषणापत्रमा समेटिएअनुसारका अधिकांश काम पुरा गरेका कार्कीले नगरपालिकाको मात्र होईन प्रदेश र संघीय सरकारका दर्जनौं योजना आफ्नो नगरपालिकामा लैजान सफल भएका थिए।
सैनामैनामा प्रादेशिकस्तरको बसपार्क, रंगशाला, बुटवलदेखि कपिलवस्तुको बाणगंगा नगरपालिकासम्मका पालिकाको फोहोर व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्र, सैनामैनाका महत्वपूर्ण बजारमा लाग्दै आएका साप्ताहिक हाट बजारलाई पक्की र स्थायी संरचना निर्माण लगायतका आयोजना कार्कीको नेतृत्वमा भएका महत्वपूर्ण आयोजना मानिन्छन्।
त्यस्तै कालोपत्रे सहितको चक्रपथ निर्माण र नगरपालिकामा सञ्चालन गरिएका आयोजनाका कारण विस्थापित बनेका अति विपन्न १० घरपरिवारलाई निःशुल्क आवासको व्यवस्था गरि कार्कीले प्रशंसा बटुलेका थिए।
स्पष्ट तर खरो स्वभावका कार्की पार्टी भित्र मात्र होईन जनप्रतिनिधिको रुपमा पनि बोलेर मात्र होईन काम गरेर देखाउने जनप्रतिनिधिको रुपमा चिनिन्छन्।