स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो पाँच वर्षे कार्यकालमा उत्कृष्ट बन्दै देशभर चर्चा कमाएको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले जगेश्वरदेवी चौधरीलाई नै उपमेयरको उम्मेदवार बनाएको छ।
नगरप्रमुख बासुदेव घिमिरेको नेतृत्वमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौधरी उपप्रमुखमा निर्वाचित भएकी थिईन्।
नगरप्रमुखमा घिमिरेले १९ हजार ८४ मत प्राप्त गरि विजयी हुँदा चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरेकी थिईन्।
तिलोत्तमामा यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेस र जनमुक्ति पार्टीको गठबन्धन थियो। जसअनुसार नगरप्रमुखका उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए भने उपमेयरकी उम्मेदवार जनमुक्तिकी गिता सारू मगरले १६ हजार ६ मत प्राप्त गरेर पराजित भएकी थिईन्।
भूमिगत कालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेकी उनी परिवारकै प्रेरणाले कम्युनिष्ट पार्टीप्रति सानैदेखि झुकाव भएको बताउँछिन्।
बुवा सर्वजित थारू र आमा फुलरानी थारूको कोखबाट साविक टिकुलीगढ ७ (हालको तिलोत्तमा नगरपालिका १४) मा जन्मिएकी चौधरी बुवा र काकाकै प्रेरणाबाट राजनीतिमा प्रवेश गरेकी थिईन्।
जगेश्वरीका बुवा सर्वजित पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा सहभागि थिए। बुवा सर्वजित २०४९ सालमा एमालेबाट टिकुलिगढ गाविसको वडा नं. ७ को वडाअध्यक्ष निर्वाचित भईसकेका थिए। त्यस्तै काका अनरजित थारू पनि २०५४ सालमा टिकुलीगढ गाविसको उपाध्यक्ष निर्वाचित भएर काम गरेका थिए।
बुवा र काका जनप्रतिनिधिमा निर्वाचित भएर काम गरेको देखेकी चौधरीलाई आफू पनि जनताको सेवामा लाग्नुपर्छ भन्ने भावना आईरहन्थ्यो। उतिबेला थारू समुदायबाट महिलाहरुलाई राजनीतिमा हिँड्न त्यति सहज थिएन। त्यसैमा जगेश्वरीलाई कस्तो घरमा विवाह हुने हो, विवाह पछि राजनीति गर्न पाईन्छ पाईदैन भन्ने चिन्ताले सताईरहन्थ्यो। त्यसैले पनि उनले २०४६ सालदेखि नै अनेरास्ववियूमा आवद्ध भएर काम गर्दै आए पनि पार्टी सदस्यता भने अलि ढिलो लिईन्।
विवाहपछि पनि उनले राजनीतिलाई पछाडि छोडेर हिँड्नु परेन। सानैदेखि लगाव रहेको राजनीतिले उनलाई विवाह पछि पनि पछ्याईरह्यो। टिकुलीगढबाट गंगोलियाका रोहित प्रसाद चौधरीसँग विवाह गरेपछि चौधरीको राजनीतिक यात्रा अझ फराकिलो बन्दै गयो। रोहित पनि एमालेमै संगठित भएर काम गरिरहेका थिए।
विवाहपछि रोहितले जगेश्वरीलाई राजनीतिमा अगाडि बढाएर आफू घरपरिवारको जिम्मेवारीमा लागे।
घरपरिवार र श्रीमानको सहयोगबाट २०५१ सालमा गंगोलिया-१ मा एमाले वडा सचिव भएर काम गर्न सुरू गरेकी चौधरी गाउँकमिटि सहसचिव, सचिव, अनेमसंघको गाउँकमिटिको अध्यक्ष, जिल्ला सदस्य, कोषाध्यक्ष भएर काम गरिन्।
२०६३ सालदेखि भने उनी एमाले रूपन्देहीको सदस्य बनिन्। त्यसपछि सचिवालय सदस्य, सचिवहुँदै अहिले एमालेको जिल्ला उपाध्यक्ष छिन्। २०६६ सालमा अनेमसंघको छैंठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य निर्वाचित चौधरी अहिलेसम्म कुनै पनि पेशा व्यवसायमा आवद्ध नभई निरन्तर राजनीतिमै सक्रिय छिन्।
एसएलसीसम्मको अध्ययन गरेकी चौधरीले यसअघि जनप्रतिनिधि भएर ५ वर्ष काम गर्दा जनताका समस्या नजिकबाट बुझ्ने मौका पाईन्।
पहिलो कार्यकालमै दुई वर्ष लगातार देशभरकै उत्कृष्ट नगरपालिकाको पगरी गुथ्न सफल तिलोत्तमाकी उपमेयर चौधरीले दोस्रो पटक पनि उपमेयरकी उम्मेदवार बनेकी छन्। उनले आफ्नो पहिलो कार्यकालमा सुरू गरेर पुरा गर्न बांँकी कामलाई पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछिन्।
‘हामी निर्वाचित भएर आउँदा नगरपालिका शुन्यमा थियो, भाडाको घरबाट प्रशासनिक काम सुरू गरिएकोमा अहिले सुविधासम्पन्न आफ्नै प्रशासनिक भवन निर्माण भएको छ। १७ वडामध्ये ७ वटाका मात्रै आफ्नै भवन थिए, अहिले थप १० वटा निर्माण गरेर १७ वटै वडामा आफ्नै भवन निर्माण भईसकेका छन्’, उनले भनिन्, ‘अबको काम शिक्षा, स्वास्थ्य, सरसफाईको क्षेत्रमा सुरूआत गरेका अभियानलाई दिगो बनाउनुपर्ने छ।’
कोभिडका कारण केही गर्नैपर्ने कामहरू पुरा गर्न नसकिएको र महिला र विपन्न वर्गलाई आर्थिक रुपमा सम्पन्न बनाउनुको साथै मानवीय विकास आफ्नो मुख्य एजेण्डा बन्ने उनको भनाई छ।
‘सडक, नाली बनेर मात्रै समग्र विकास भएको मान्न नसकिने रहेछ, अब मानिसको चेतनाकोे विकास गर्न जरूरी छ, गाउँघरमा भईरहने महिला हिंशा, हत्या र आत्महत्यासम्मका घटनाहरु मानवीय विकास भए मात्रै कम हुँदै जान्छन्’, उनले भनिन्, ‘मानवीय विकासका लागि हरेक टोल विकास समिति, विद्यालय, आमा समूहबाटै सचेतना जगाउने गरि एजेण्डा बनाएर लाग्नेछु।’
लगातार दुई पटकसम्म देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ट बनेको तिलोत्तमाको पहिचानलाई जोगाईराख्ने चुनौती भने अब निर्वाचित भएर आउने जनप्रनितिनिधिलाई छ।
चौधरी यो चुनौतीलाई पुरा गर्ने क्षमता आफूमा रहेको र सोही अनुसार दोस्रोपटक पनि पार्टीले उपमेयरको उम्मेदवार बनाएको दाबी गर्छिन्।