आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन २२ दिन मात्र बाँकी छ। दलहरू आ-आफ्ना उम्मेदवार छनोट प्रक्रियामा व्यस्त छन्। रूपन्देहीमा उम्मेदवारीका आकांक्षीहरू टिकट आफ्नो हातमा पार्ने दाउमा आफू आबद्ध दलका नेताहरूसँग आफ्नो पक्षपोषण गरिरहेका छन्।
कतिले त उम्मेदवारीकै लागि दल बदल गरेका छन्। यसअघि चुनाव जितेर पाँच वर्ष काम गरिसकेकाहरू दल बदलेरै पनि फेरि उम्मेदवार बन्न चाहन्छन्। दलमै रहेका पालिका प्रमुखहरू यसपालि पनि दोहोरिन चाहेका छन्। त्यसमाथि नयाँ उम्मेदवारको पनि उस्तै लर्को हुने भएकाले दलहरूलाई उम्मेदवारी टुंग्याउन सकस भएको देखिन्छ।
२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट रोहिणी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित सनोजकुमार यादव एक महिनाअघि नेकपा एमाले प्रवेश गरे। पालिकामा उनको राम्रो प्रभाव रहे पनि यसपटक उनको दल जनता समाजवादी पार्टी (जसपा) बाट टिकट पाउने पक्का नभएपछि एमालेमा प्रवेश गरेका हुन्।
यादवले एमालेबाट उम्मेदवार बन्ने शर्तमा दल बदल गरेको स्थानीय केही एमाले नेताहरूको भनाइ छ। यादव एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाउन कम्मर कसेर लागेका छन्।
नेकपा माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हिरा केवटले पनि दल बदल गरेका छन्। माओवादी केन्द्र र एमालेको एकीकरणपछि बनेको नेकपा विभाजनपछि उनी एमालेमा थिए। उनले केही महिनापछि विज्ञप्ति निकालेर आफू माओवादी केन्द्रमै रहेको जनाएका थिए।
एक महिनाअघि केवट रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवका साथ एमाले प्रवेश गरे। निर्वाचनको मुखमा एमाले प्रवेश गरेका केवटले पनि आफू एक पटक अध्यक्ष पदमा दोहोरिन चाहेको बताएका छन्।
गाउँपालिकाले किसानका लागि छुट्याएको बजेट आफ्नी श्रीमतीको मत्स्य फर्ममा लगाएको भनेर केवट आलोचित भएका थिए। उनी अहिले सकेसम्म आफूले अध्यक्ष पदको टिकट लिने र नपाए श्रीमतीलाई उपाध्यक्षको टिकट दिलाउने प्रयासमा छन्।
स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका मनमोहन चौधरीले पनि दोहोरिन चाहन्छन्।
हालै उनी एमाले प्रवेश गर्न चाहेका भए पनि एमाले नेताहरूले नै बाटो छेकेको भन्ने गाइँगुइँ चलेको थियो। अन्ततः उनी दोहोर्याएर मेयर पदमा उम्मेदवारीको टिकट पाउने शर्तमा जसपा प्रवेश गरेका छन्। चौधरी टिकटका लागि नेताहरूसँग भेटघाटमा व्यस्त छन्।
उता रूपन्देहीको दक्षिण क्षेत्रमा पर्ने सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले पनि अध्यक्षमा दोहोरिने चाहना देखाएका छन्।
तत्कालीन मधेसी जनअधिकार फोरमबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका शुक्लाले पाँच वर्षमा दुई पटक दल बदल गरेका छन्।
मधेसी जनअधिकार फोरम र नेपाली कांग्रेसको एकीकरणपछि शुक्ला नेकपा एमाले प्रवेश गरे।
अहिले निर्वाचनको मुखमा माओवादी केन्द्र प्रवेश गरेका छन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका थिए। शुक्ला पनि दोहोर्याएर अध्यक्षको टिकट पाउने प्रयासमा छन्।
सत्तारूढ पाँच दलीय गठबन्धनले देशभर तालमेल गरेर निर्वाचनमा जाने निर्णय गर्दै आपसमा भागबण्डा गरे पनि कुन दलले कसलाई उम्मेदवार बनाउँदैछ अझै टुंगो लागेको छैन। नेकपा एमालेले गठबन्धनका विरूद्ध कतिपय स्थानमा साना दलहरूसँग मिलेर जाने निर्णय गरेको छ तर उसले पनि सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छैन।
यही वैशाख १२ र १२ गते देशभर एकसाथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
पार्टी परिवर्तन गर्नेहरूमात्र होइन रूपन्देहीका सबै पालिकाका जनप्रतिनिधि आफ्नो दलबाटै फेरि दोहोरिएर चुनाव लड्न प्रतिस्पर्धामा छन्।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रूपन्देहीमा सबै पालिका प्रमुखहरू दोहोरिन इच्छुक देखिएका छन्। यसैअनुसार उनीहरू नेताहरूसँग आ-आफ्नो पक्षपोषणमा लागि परेका छन्।
गठबन्धनभित्र मात्र होइन, एउटै दलभित्र पनि एउटै पदमा धेरै जना आकांक्षी अगाडि आएपछि नेताहरू पनि दबाबमा छन्। उपयुक्त पात्र छनोट गरेर अन्य आकांक्षीहरूलाई पनि मिलाएर जाने चुनौतीमा नेताहरू छन्।
पाँच वर्ष स्थानीय तहको जनप्रतिनिधि भएकाहरूले नै फेरि पनि आफैं उम्मेदवार बन्ने आकांक्षा देखाएपछि पहिलो पटक जनप्रतिनिधि बन्न चाहनेहरू निराश देखिन थालेका छन्।
दोहोरिन चाहने तर आफूले पार्टीको टिकट पाउने सम्भावना नदेखेका आकांक्षीहरू दल परिवर्तन गरेर दोहोरिने दाउमा लागेका हुन्।
अधिकांश दलमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर सत्ताको स्वाद चाखेकाहरू जसरी पनि दलबाट उम्मेदवारीको टिकट हात पार्ने प्रयासमा छन्।
अध्यक्ष वा मेयर पदमा दोहोरिन चाहने जनप्रतिनिधिहरूले आफूले गर्न चाहेर पनि बाँकी रहेका काम पूरा गर्ने र पाँच वर्षको अनुभवले अझ राम्रो काम गर्ने जिकिर गर्ने गरेका छन्।
आफ्नो कार्यकालमा विपक्षीबाट मात्र होइन पार्टीभित्रै समेत आलोचित बनेका सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी अधुरा योजनालाई मूर्तरूप दिन पनि पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गर्दैछन्।
पाँच वर्षमा जनताले देख्ने गरी काम नगरेको र जनताको आवश्यकताभन्दा बाहिरका काम गरेको आरोप अधिकारीमाथि छ। उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
अधिकारी आठ करोड रुपैयाँभन्दा बढी खर्च गरेर भारतसँगको सीमानाका बेलहियाबाट डेढ किलोमिटर भित्र डण्डामा प्रवेशद्वार बनाएकोमा आलोचित छन्। सहरको फोहोर उठाउन ध्यान नदिएको आरोप उनीमाथि छ।
नेपाली कांग्रेसबाट मायादेवी गाउँपालिकाको अध्यक्ष निर्वाचित ध्रुबनारायण चौधरी दोहोरिन चाहन्छन्।
उनले सोतोपाटीसँग भने, ‘पाँच वर्षको कार्यकाल काम सिक्दैमा गयो, अब एक पटक निर्वाचित भएर आउन सके काम गरेर देखाउन पाइने थियो।’
कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादव पनि दोहोरिन चाहन्छन्। उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। अहिले जसपामा छन्। उनी ७० वर्ष पूरा भएका छन्।
रूपन्देहीका एकमात्र उपमहानगरपालिका बुटवलका प्रमुख शिवराज सुवेदी पनि एक पटक दोहोरिन चाहन्छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका सुवेदी पार्टी महासचिव शंकर पोखरेल निकट मानिन्छन्।
मेयरमा दोहोरिन लागि सुवेदी आफ्नो पक्षपोषणमा कम्मर कसेर लागेका छन्।
देशभरका नगरपालिकामध्ये राम्रो काम गरेको भनेर प्रशंसा बटुलिरहेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे दोहोरिन चाहन्छन्। गत निर्वाचनसम्म घनश्याम भुसालको पक्षमा रहेका घिमिरे पार्टीमा उत्पन्न विवादपछि विष्णु पौडेलको पक्षमा खुलेका छन्।
पौडेलकै विश्वासपात्र मानिने सैनामैना नगरपालिका मेयर चित्रबहादुर कार्की पनि दोहोरिन चाहन्छन्।
उनी पनि रूपन्देहीमा राम्रो काम गर्ने पालिका प्रमुखको रूपमा मानिन्छन्। उनी आफूले सुरू गरेका अधुरा काम पूरा गर्न एक पटक पार्टीले आफूलाई टिकट दिनुपर्ने जिकिर गर्दैछन्।
एमालेबाटै निर्वाचित कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरी पनि दोहोरिन चाहन्छन्।
नेपाली कांग्रेसबाट निर्वाचित देवदह नगरपालिकाका मेयर हिरा केसी, गैंडहवा गाउँपालिकाका अध्यक्ष बच्छु केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशवानन्द बनियाँ पनि दोहोरिन चाहन्छन्।
रूपन्देहीमा दोहोरिन चाहने उपमेयर, वडा अध्यक्ष र सदस्यहरू पनि छन्। केही उपाध्यक्ष र उपप्रमुखहरू अध्यक्ष तथा प्रमुख बन्न चाहे पनि त्यो नपाए उही पदमा दोहोरिन चाहन्छन्।