नेपाल कांग्रेस जनकपुरधाम उपमहानगरका सभापति मनोज साहले पार्टी परित्यागको घोषणा गरेका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
२०७४ को चुनावमा जनकपुरको मेयरमा पराजित साह यसपालि मेयरका आकांक्षी थिए। सत्तारूढ गठबन्धनले जनकपुरको मेयर जनता समाजवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरेका हुन्।
मधेस कांग्रेसको उर्वर भूमि रहेको र त्यसको राजधानी जनकपुरमा कांग्रेस उम्मेदवार नबनाउने कुरा आत्मघाती रहेको साहले बताए।
उनले उपमहानगरका २५ वडामै जाँदा कांग्रेसका मतदाताले जसपालाई मत नदिने बताएको दाबी गरे।
‘सबै साथीहरूको सल्लाह बमोजिम कांग्रेस र रूख छाप जोगाउन हामी उम्मेदवारी दिँदैछौं,’ साहले भने।
उनले स्वतन्त्र उम्मेदवार बने रूख चिन्ह नहुने भए पनि सबै कांग्रेसी मतदाताले आफूलाई मत दिने बताए। गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले गठबन्धनको विरूद्धमा लाग्नेलाई कारबाही गर्ने अभिव्यक्ति दिएको भन्दै उनले आफू कांग्रेसको सदस्य नै नरहे कसैले कारबाही गर्न नसक्ने बताए।