स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन जनप्रतिनिधिहरूले राजीनामा दिन थालेका छन्।
फेरि उम्मेदवारी दिन पार्टीबाट सिफारिस भइनसके पनि आफूहरू दोहोरिने आशामाले राजीनामा दिएका हुन्। कतिले भने पार्टीबाट टिकट पाउने निश्चित भएपछि मात्रै राजीनामा दिने तयारी गरेका छन्।
बिहीबार दिउँसो कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्कालगायत सबै वडाध्यक्षले राजीनामा दिएको घोषणा गरेका छन्।
कीर्तिपुरका जनप्रतिनिधिहरूले बिहीबार एक विशेष कार्यक्रम नै आयोजना गरी राजीनामा दिएको घोषणा गरेका हुन्।
‘हाम्रोबाट मैले, उपमेयर, सबै वडाध्यक्ष, चार जना बाहेक कार्यापालिका सदस्यले आज राजीनामाको घोषणा गरेका छौं,’ मेयर महर्जनले सेतोपाटीसँग भने, ‘भोलिदेखि लागु हुने गरी राजीनामाको घोषणा गरेका हौं।’
उनका अनुसार उपमेयर, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मेयरसमक्ष राजीनामा बुझाएका हुन्।
प्रष्ट व्यवस्था नभएको हुँदा आफूले भने नगरपालिकामा राजीनामा दिने र त्यसलाई प्रमुख प्रशासकीय अधिकृतले लिने उनले बताए।
‘पहिलो कार्यकालमा मैले वाचा गरेका केही काम गर्न बाँकी छ। दुई वर्ष कोरोनाको समस्याले गर्दा दोहोरिन चाहेका हौं,’ उनले भने, ‘केही कामहरू अधुरै रह्यो। आम जनताको पनि चाहाना हो जस्तो लागेको छ।’
कीर्तिपुर नगरपालिकामा मेयर, उपमेयर र सात वडा नेकपा एमालेले जितेको थियो। त्यस्तै, तीन वटा वडा नेपाली कांग्रेसले जितेको थियो। तर एक जना वडाध्यक्षको कार्यकाल नसकिँदै मृत्यु भएको थियो।
यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले पनि राजीनामा बुझाएका छन्।
उनले उपमेयरसमक्ष राजीनामा दिएका हुन्। पार्टीले उम्मेदवार सिफारिस नगरे पनि मेयर टिकट पाउने आशमा राजीनामा दिएको उनले बताए।
‘यसपालि पनि उम्मेदवार हुँ भनेर निर्णय भइसकेको त छैन। तर पनि मैले आज राजीनामा दिएँ,’ उनले भने, ‘म फेरि मेयरको दाबेदार हो। वडा नम्बर ७ र ११ का वडा सदस्यले पनि राजीनामा दिएका हुन्।’
उनले माओवादी केन्द्रबाट मेयरमा जितेका हुन्। अरू केही वडाध्यक्षले पनि राजीनामा दिने तयारी गरेको तर दिइनसकेको उनले बताए।
‘कार्यकाल सफल रह्यो। सबै पार्टीका साथीहरूले हाइहाइ गर्नुभएको छ। पूर्ण सफलता पाएको छु,’ उनले भने,‘कसैले पनि विरोध गर्नुभएको छैन।’
निर्वाचन आयोगले चैत २५ गते जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ९ को धारा ३६ मा फेरि उम्मेदवारी दिन राजीनामा दिनुपर्ने व्यवस्था छ।
यसअघि त्यस प्रावधानले स्थानीय तहमा जिम्मेवारविहीन हुने भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए। सर्वोच्चले मंगलबार रिट खारेज गरेको थियो। रिट खारेज भएसँगै फेरि उम्मेदवारी दिन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको हो।
काठमाडौंको उपमेयर समेत रहेकी हरिप्रभा खड्गी श्रेष्ठले भने मेयरको टिकट पाउने निश्चित भएपछि मात्रै राजीनामा दिने बताइन्।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिको बुधबार बसेको बैठकले उनीलगायत पाँच जनाको नाम मेयरको लागि सिफारिस गरेको छ।
उनीसँगै सिर्जना सिंह, नीलकाजी शाक्य, सुसन वैध र प्रगतिमान रंजितको नाम सिफारिस गरेको हो।
कसले टिकट पाउने हो भन्ने टुंगो लागिसकेको छैन। त्यसकारण राजीनामा बुझाइनसकेको उनले बताइन्।
‘आज महानगरबाट मसहित पाँच जनाको नाम सिफारिस भएको छ। मैले टिकट पाउने भएछु भने म राजीनामा दिन्छु,’ उनले भनिन्, ‘मेरो मेयर बन्ने इच्छा छ। टिकट पाइनँ भने १५ दिनकै लागि भए पनि मेयर बसेर नयाँ कार्यकालको नेतृत्वलाई स्वागत गरेर म बिदा हुन्छु।’
ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ पनि फेरि नेकपा एमालेबाट चुनाव लड्ने सोचमा छन्। तर टिकट पाउने नपाउने टुंगो नलागेको हुँदा राजीनामा नदिएको उनले बताए।
‘दाबेदार त हो। तर टिकटको टुंगो नलागेको हुँदा राजीनामा दिइसकेको छैन। पक्का भए दिन्छु नत्र दिन्नँ,’ उनले भने।
भरतपुर महानगरपालिकामा मेयरको टिकट पाउने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद विजय सुवेदीले पदबाट राजीनामा दिएका छन्।
सुवेदीले बिहीबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।
प्रदेश सांसद सुवेदीलाई नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयर उठाउने भएको छ।
भरतपुरमा गठबन्धनले माओवादी केन्द्रलाई मेयर दिएको छ। उनले गठबन्धनका संयुक्त उम्मेदवार सम्भवतः रेनु दाहालसँग प्रतिस्पर्धा गर्नेछन्।