खेलराज पाण्डे २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरपालिकाको प्रमुखका प्रतिस्पर्धी थिए।
माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको सहयोगमा नेपाली कांग्रेसका बुटवल नगर सभापति समेत रहेका पाण्डे नगर प्रमुखका प्रतिस्पर्धी बनेका थिए।
नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष समेत रहेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत ल्याएर बुटवलको नगर प्रमुखमा निर्वाचित हुँदा पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका थिए। त्यतिबेलासम्म नेपाली कांग्रेसको दोस्रो पटक बुटवल नगर सभापतिको भूमिका निभाइरहेका पाण्डेले नगर प्रमुखमा पराजित भए पनि निर्वाचित भएकाहरूलाई फूल माला लगाइदिएर बधाई दिए।
कतिपय क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवारहरूकै बीचमा अस्वस्थ प्रतिस्पर्धाका कारण कुटपिटका घटना समेत भइरहँदा नगर प्रमुखमा पराजित बनेका पाण्डेले निर्वाचित सुवेदीलाई फूलमाला लगाइदिँदै अंगालो मारेर बधाईसहित सफल कार्यको शुभकामना दिए।
निर्वाचनको बेला दुबैजना आमनेसामने भए पनि निर्वाचन परिणाम घोषणापछि उपविजेताको रूपमा उपमहानगरपालिकाको हरेक सकारात्मक काममा सघाउने प्रतिवद्धता गर्दै उनले सुसंस्कृत राजनीतिक संस्कार प्रस्तुत गरे।
तिनै पाण्डेलाई नेपाली कांग्रेस बुटवल नगर समितिले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि बुटवल उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार उठाउन सर्वसम्मत् सिफारिस गरेको छ।
सत्तारूढ पाँचदलीय गठबन्धनको भागबण्डामा बुटवल उपमहानगरपालिकाको नगरप्रमुख नेपाली कांग्रेसको भागमा परेपछि कांग्रेस नगर समितिले पाण्डेको नाम सर्वसम्मत् रूपमा सिफारिस गरेको हो। नगरसमितिले गरेको सिफारिसलाई जिल्ला कार्यसमितिले अनुमोदन गर्नुपर्ने छ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा पाण्डेले नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको राजनीतिक संयन्त्रमा रही स्थानीय निकायको काम बुझ्ने मौका पाए।
अहिले पनि नेपाली कांग्रेसको नगर सभापति रहेका पाण्डेको यो तेस्रो कार्यकाल हो। सामान्य परिवार, प्रष्ट तर प्रतिपक्षीहरूका बारेमा खरो रूपमा प्रतिक्रिया दिने व्यक्तिगत स्वभाव रहेका पाण्डे पार्टीभित्र मात्र होइन फरक पार्टीमा समेत सुखदुःखमा सबैलाई समान रूपमा सहयोग गर्ने नेताका रूपमा चिनिन्छन्।
पार्टीका नेता कार्यकर्ता मात्र होइन सर्वसाधारण जसले निमन्त्रणा गरेको भए पनि विवाह, ब्रतबन्ध, पारिवारिक शुभकार्य, भोजभतेर तथा मृत्यु संस्कारमा समेत सहभागी हुने पाण्डेको व्यक्तिगत स्वभाव सबभन्दा राम्रो पक्षको रूपमा लिइन्छ।
आफूले चिने जानेका र भेटघाट भएकाहरूलाई विवाह उत्सव र जन्मदिनको अवसरमा समेत भेटेर, टेलिफोन गरेर वा सामाजिक सञ्जालमार्फत् भए पनि शुभकामना दिएर उनले धेरैको मन जित्न सफल भएका छन्।
२०२६ साल फागुन ५ गते बुवा लिलाबल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालिगण्डकी २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरका बासिन्दा हुन्।
१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरू गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाटै राजनीतिक यात्रा सुरू गरेका थिए।
आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए।
त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए।
विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध भएका पाण्डे २०५९ सालमा नेपाल तरूण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरूण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए।
२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्।
श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित छन्। तिनै पाण्डेलाई गठबन्धनबाट नेपाली कांग्रेसले नगर प्रमुखको रूपमा सर्वसम्मत् रूपमा उम्मेदवार सिफारिस गरेको हो।
नेपाली कांग्रेसले पाण्डेलाई सर्वसम्मत् रूपमा उम्मेदवार सिफारिस गरी जिल्ला कार्यसमितिमा पठाए पनि बुटवलमा पछिल्लो डेढ दशकयता एकछत्र नेतृत्व गर्दै आएको नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
एमालेले यसअघि नै वर्तमान नगरप्रमुख शिवराज सुवेदीसहित यसअघिका मेयरका आकांक्षी गोपाल राना र बाबुराम भट्टराई, एमाले पोलिटब्युरो सदस्य सावित्रा अर्याल, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, हालको उपप्रमुख गोमादेवी आचार्य र वडा नं. १६ का वडाअध्यक्ष रामप्रसाद रेग्मीको नाम सिफारिस गरेको थियो।
एमालेले उपमहानगरपालिकाको मेयर/उपमेयरहरूको टुंगो पार्टी केन्द्रबाट लगाउने भए पनि अहिलेसम्म कस्ले बाजी मार्छ भन्ने अनुमान समेत गर्न सकिँदैन।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्छ।
२०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघिय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए।
लुम्बिनी प्रदेशको मुकाम तथा पश्चिम क्षेत्रकै आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको नेतृत्वलाई राजनीतिक दलहरूले प्रतिष्ठाको रूपमा लिने गर्छन्।
देशका हरेक ठूला र महत्वपूर्ण आन्दोलनहरू समेत बुटवलबाटै सुरू हुने विगतको राजनीतिक इतिहास छ। अहिले पनि स्थानीय तहको निर्वाचन नजिकिएसँगै बुटवलको राजनीतिक माहोल तातिएको छ।
२०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेकासामु बुटवलको नेतृत्व कुनै पनि अवस्थामा जित्नुपर्ने दबाब र चुनौती छ।
स्थानीय तहको निर्वाचनको परिणामले प्रदेश र संघीय निर्वाचनको परिणामलाई समेत प्रभाव पार्ने भएकोले एमाले बुटवलको नेतृत्व कुनै पनि अवस्थामा नफुत्काउने योजनाका साथ शक्ति प्रयोग गर्नेछ।
विगत डेढ वर्षदेखि एमालेविरूद्ध एक ठाउँ भएका पाँच दलीय गठबन्धन यस पटकको निर्वाचनमा एमालेको शक्ति भत्काउने योजनामा लागेको देखिन्छ।
नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारमा सर्वसम्मत् रूपमा सिफारिस गरिएका पाण्डेले आफू बुटवलका समस्याबाट नजिक रहेकोले ती समस्या समाधानका लागि गठबन्धनबाट आफ्नो उम्मेदवारी रहेको बताउँछन्।
‘लामो समय सामाजिक कार्यकर्ताको रूपमा बुटवलवासीसँगै रहेर काम गरिरहेको छु, अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या बुटवलको प्रमुख समस्या हो, समृद्ध बुटवल निर्माणका लागि बुटवललाई धुलो, धुवाँ र प्रदूषणमुक्त गर्नुछ, आर्थिक समृद्धिका लागि साना व्यवसायीहरूलाई व्यापार/व्यवसायमा प्रोत्साहित गर्नुछ, त्यसको लागि उनीहरूलाई चर्को करको भारबाट मुक्ति दिलाउनु छ। म निर्वाचनमा जाँदा मुख्य यी नै मुद्दा लिएर घर-घरमा जाने छु,’ पाण्डेले भने।
नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले बुटवल नगर समितिले पाण्डेको नाम सर्वसम्मत् रूपमा जिल्ला समितिमा सिफारिस गरेको र जिल्ला समितिले रायसहित प्रदेश कमिटीमा पठाउने बताए।
‘नगरबाट आएका नामहरू काट्ने र थप्ने अधिकार जिल्ला समितिलाई छैन, नगरबाट सिफारिस भएर आएको पाण्डेको नामलाई हामीले प्रदेशमा पठाउने हो, त्यसपछि मात्रै प्रदेशले अनुमोदन गरेपछि नाम टुंगो लाग्छ।’