धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई ठूला पार्टीका पदाधिकारी चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महोसठबीच यो क्षेत्रमा दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ। संघीय सरकारमा मन्त्री रहिसकेका दुवै नेताको मधेश प्रदेशमा राम्रो प्रभाव छ।
२०७४ सालको निर्वाचनमा २५ सय ४१ मतको अन्तरले महासेठले यादवलाई हराएका थिए। ६१ वर्षीय महासेठले २२ हजार ५३२ मत ल्याएउँदा ६० वर्षीय यादवले १९ हजार ९ सय ९१ मत ल्याएका थिए।
तेस्रो स्थानमा तत्कालिन् संघीय समाजवादी फोरमबाट महाजन यादवले १९ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए।
यी तिनै प्रतिष्पर्धीका बीचमा मधेसका २७ वर्षिय हाँस्य कलाकार कृष्ण महतो पनि चुनावी मैदानमा उठेका छन्।
धनुषाको बटेश्वर गाउँपालिका १ स्थित चित्रपुरका स्थानीय उनले रेडियोग्राफी पढेका छन्। महतो गएको चुनावमा लगातार दुई महिनासम्म नेताहरूको प्रचारप्रसार गर्दै हिँड्थे।
यसपालि भने उनी नेताहरूसँग दिक्क छन्। पार्टीका नेताहरूसँग दिक्दारी महसुस गरेको एउटा घटनाले गर्दा हो। चार पाँच वर्षअघि एक जना नेताको प्रचार गर्न जाँदा उनीहरूलाई झुटो बोलेको भन्दै जनताले लखेटेका थिए। त्यो पनि एक ठाउँमा होइन तीन चार ठाउँमा।
त्यसपछि उनी झस्किए। अनि उनले नेताहरूका प्रचार सामाग्री बनाउन छोडिदिए।
‘नेताहरूले चुनाव जितेर गइसकेपछि पाँच वर्षसम्म गाउँमा मुखै देखाउन आएका थिएनन्। वाचा गरेर गएका न सडक न स्कुलको भवन बन्यो। शिक्षकको अभावले स्कुलमा पढाई नै हुन सकेन। अस्पताल बनाउने प्रतिवद्धता गरेर गएका नेताहरू इँटा पनि खसाल्न सकेका थिएनन्। यस्ता कुराले पनि मलाई दिक्क लगायो,’ उनले भने।
गत स्थानीय निर्वाचनमा पनि नेताहरूले समाजिक सञ्जाल र सडकमा प्रचारप्रसार गरिदिन उनलाई धेरै आग्रह गरे। तर उनी मानेनन्।
त्यसैले यसपालिको चुनावमा उनी आफैं कस्सिएका हुन्।
अचेल उनी एक्लै गाउँ—गाउँमा गएर आफ्ना एजेण्डा सुनाउँदै मत मागिरहेका छन्। अरू उम्मेदवारको जस्तो राजनीतिक संगठन र पृष्ठभूमि नभएका कृष्णले तीन वटै पार्टीकै मत काटेर भोट लिने छन्।
यता तिनै उम्मेदवारका अघिल्लो चुनावका सहयात्री यसपालि साटिएका छन्।
महेन्द्रको साथमा रहेका कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव यसपालि एमालेबाट ४ को प्रदेशसभा ‘क’ मा उम्मेदवार छन्।रघुवीरका साथमा रहेका मधेश प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतो भने एकीकृत समाजवादीबाट सत्ता गठबन्धनतर्फका ४ को ‘ख’ बाट उम्मेदवार छन्।
महाजनको साथमा रहेका जसपा नेता शेष नरायण यादव भने कांग्रेसबाट ४ को ‘ख’ मा उम्मेदवार छन्।
यस क्षेत्रमा जम्मा पाँच वटा पालिका पर्छन्।
ती मध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ भने क्षिरेश्वरनाथ नरपालिका एमालेले जितेको छ।
यस क्षेत्रमा जम्मा ४२ वटा वडा पर्छन्। गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २५ हजार १९५ मत पाएका छन् भने एमाले उम्मेदवारले २३ हजार ६३० मत पाएका थिए। जसपाले ८ हजार ३७८ पाएको छ।
एकीकृत समाजवादीले ८ हजार १६४, माओवादी केन्द्रले ४ हजार ४३४, लोसपाले २ हजार १८४ र जनमत पार्टीले १ हजार ९५० मत पाएका थिए।
यसरी कांग्रेस, एकीकृत समाजवादी, माओवादी र लोसपाको मत जोड्दा प्रतिनिधिसभामा महेन्द्र बलिया देखिन्छन्। चारवटै दलको मत जोड्दा ३९ हजार ९७७ मत पुग्छ।
गठबन्धनको यो भोट बाँडिएन भने रघुवीरलाई जित्न मुस्किल देखिन्छ। यसअघि माओवादीसँग मिल्दा २२ हजार भोट ल्याएर जितेको एमालेको भोट स्थानीय चुनावसम्म आइपुग्दा बढेको छ। अहिले एमालेको भोट मात्र साढे २३ हजार पुगेको देखिन्छ। जसपाका महाजनभने प्रतिस्पर्धामा पछि देखिन्छन्।
यो क्षेत्रमा यसपालि पनि नागरिकताको विषय पेचिलो चुनावी एजेण्डा बनेको छ।
बुवाको जन्मसिद्ध नागरिकता भएका कारण छोराछोरीले नागरिकता नपाएको समस्या पनि धनुषा जिल्लामै यस क्षेत्रमा सबैभन्दा बढी छ। एमालेकै मिलिमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेको आम बुझाईका कारण पनि यो मुद्दाले पनि रघुवीरलाई समस्या हुने आँकलन गरिएको छ।
महेन्द्र, महाजन र कृष्णा तिनैजना उम्मेदवार यो मुद्दालाई जोडतोडले उठाइरहेका छन्।
तर त्यो मुद्दाले खासै फरक नपर्ने एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष यादवको दावी छ।
‘विपक्षी नेताले भ्रम छर्दैहुनुहुन्छ। नागरिकता अध्यादेश केपी ओलीले नै ल्याएका थिए तर कांग्रेसले विरोध गर्यो। अहिले जति भ्रम फैलाउने कोसिस गरे पनि यो मुद्दाले केही फरक पर्दैन,’ उनले भने, ‘रघुवीरजीले यतिधेरै विकास गरिदिनुभएको छ कि अन्य उम्मेदवारसँग उहाँको तुलनै गर्नुहुन्न। धर्मिक, स्थल, पुल, सडक, स्वास्थ्य संस्था निर्माण गर्नुभएकाले रघुवीरजी जित्दै हुनुहुन्छ।’
पाँच दलीय गठबन्धन उम्मेदवार महेन्द्र जित्ने सबैभन्दा ठूलो आधार रहेको कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार शेष नरायण यादवले बताए।
‘प्रतिगमनकारी शक्ति जसले सदन विघटन गरे, संघीयता समाप्त गर्ने प्रयास गरेका उसलाई जनताले मत दिँदैन्। मधेसका युवालाई नागकिरता बिहीन बनाउने पार्टीलाई जनताले भोट दिँदैन। त्यसैले महेन्द्रजीको जित सुनिश्चित छ,’ उनले भने।
कृष्ण भने दलका सबै उम्मेदवारले जनताका समस्या विर्सिएको आरोप लगाउँछन्।
‘नाटक गर्ने क्रममा जनतका दुःख, पीडा नजिकबाट देखे। लागुऔषध, महिला अधिकार, रोजगार, विदेश जाँदाको पीडा साँच्चिकै कस्तो हुँदो रहेछ महसुस गरे,’ उनले भने, ‘देशमा धेरै आन्दोलन भयो तर भ्रष्टाचार, बेरोजगारी, आर्थिक तंगी ज्यूँकात्यूँ छन्, स्वास्थ्य उपचार यति महँगो भयो, पढाई र दबाइमा यतिधेरै विचौलिया र भ्रष्टाचार हावी भए कि साधारण जनतालाई कमाएर त्यहीँ चुकाउन जिन्दगी बित्दो रहेछ।
यी सबै मुद्दाको समाधान राजनीतिक रूपमा मात्र सम्भव भएको र स्वच्छ राजनीति गर्न दबाब होस् भनेर स्वतन्त्र राजनीतिमा आएकाले जनताले आफूलाई राम्रै भोट दिने दाबी कृष्णको छ।