गत साता बुधबार दिउँसोसम्म लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव आफूहरूबीच ‘मित्रवत प्रतिस्पर्धा’ हुने बताउँदै थिए।
मधेसका यी दुई प्रभावशाली नेता प्रतिनिधि सभाका लागि सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार छन्।
सोही दिन बेलुकीपख सत्ता गठबन्धनले महिन्द्र रायलाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गर्यो।
गठबन्धनका तर्फबाट विज्ञप्ति जारी गरी सर्लाही –२ मा प्रतिनिधि सभाका लागि महिन्द्र राय तथा प्रदेश सभाका लागि सर्लाही–२ ‘क’ मा सुनिल साह र ‘ख’ मा कौशलेन्द्र किशोर राय यादव साझा उम्मेदवार रहेको जनाइएको छ।
गठबन्धनको विज्ञप्तिपछि लोसपा चिढिएको छ।
उक्त निर्णयको प्रतिवाद गर्दै बिहीबार लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर गठबन्धनको निर्णयमा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा लोसपा र सत्ता गठबन्धनको नेतृत्व गर्ने दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीबीच यही असोज २२ गते भएको सहमति विपरीत सत्ता गठबन्धनको निर्णय आएको उल्लेख गरिएको छ।
प्रतिनिधि सभाका लागि यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने र प्रदेश सभाका लागि ‘क’ मा कांग्रेसका जंगीलाल राय र ‘ख’ मा लोसपाका मेथुर चौधरी उम्मेदवार रहने आधिकारिक सहमति भएको पनि लोसपाको विज्ञप्तिमा जनाइएको छ।
यादवलाई सत्ता गठबन्धनमा सुरूदेखि नै रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले आफ्नो आधिकारिक उमेद्वार बताएपछि महतोले एक्लै यी दलको सामना गर्नुपर्नेछ। अर्कोतिर एमाले गठबन्धनको उमेद्वार छँदैछ।
लोसपाको अपेक्षा सत्ता गठबन्धनले यादवलाई आधिकारिक उमेद्वार भन्दैन, त्यति भएपछि कांग्रेससहित गठबन्धन दलका अन्य नेता कार्यकर्ताले स्थानीय रुपमा आफ्नो इच्छा अनुसार यादव वा महतोलाई सघाउने छन् भन्ने रहेको देखिन्छ।
तर सत्ता गठबन्धनको विज्ञप्ति नै आएपछि गठबन्धन दलका कार्यकर्ताले यादवलाई समर्थन गर्नुपर्ने, उसको पक्षमा चुनाव प्रचार-प्रसार गर्नुपर्ने अवस्था आएको छ।
त्यसैकारण लोसपा चिढिएको छ। ‘मित्रवत’ भनिएको प्रतिस्पर्धा एकाएक ‘शत्रुता’मा परिणत हुन थालेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग गठबन्धन गरेपछि लोसपा सत्ता गठबन्धनमा सामेल भएको थियो।
महिन्द्र राय जसपाका नेता हुँदा पनि सत्ता गठबन्धनमै थिए। जसपा विभाजन हुँदा उनी बाबुराम भट्टराईको पक्षमा लागेर सत्ता गठबन्धनमै रहे। लोसपा सत्ता गठबन्धनमा गएपछिको भागबण्डामा सर्लाही–२ मा सहमति जुटेको थिएन। यहाँ राजेन्द्र र महेन्द्र राय दुवैले दाबी गरेपछि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो।
यसै अनुसार एउटै गठबन्धनबाट राजेन्द्र र महिन्द्र राय दुवैले दलबलसहित उम्मेदवारी दिए। राजेन्द्र आफ्नै दलको चुनाव चिह्नमा उम्मेदवार भए, महिन्द्र रायले माओवादी केन्द्रको चिह्न लिएका छन्।
मधेसकै एजेन्डा अघि सारेर राजनीति गर्ने दुवै नेता ९ वर्षपछि एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिन पुगेका छन्।
महिन्द्र राय यादव वामपन्थी पृष्ठभूमिका नेता हुन्। उनी पञ्चायतविरूद्ध भूमिगत राजनीति गरेका व्यक्ति हुन्। २०४८ सालदेखि नै संसदीय चुनावमा भाग लिँदै आएका छन्। २०४८ सालमा नेपाल मानन्धर भन्ने पार्टीबाट सर्लाही १ मा चुनाव लडेका उनी पराजीत भएका थिए।
त्यसपछि सोही क्षेत्रबाट २०५१ साल र २०५६ सालमा उनी नेकपा एमालेबाट विजयी भए। २०६४ पछि उनले मधेस केन्द्रीत राजनीति सुरू गरेका हुन्। २०६४ मा तत्कालिन तराई-मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेका थिए।
महतो भने २०४८ सालदेखि नेपाल सद्भावना पार्टीको राजनीतिमा लागेका थिए। त्यसअघि उनी व्यापार-व्यवसायमा थिए। सुरूदेखि नै उनी संसदीय चुनावमा सहभागी भए।
सर्लाही २ बाट २०४८ सालको संसदीय निर्वाचनमा पराजित महतो २०५१ सालमा पनि चुनाव उठे। त्यो बेला पनि हारे। २०५६ सालमा भने उनले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर जित हासिल गरेका थिए।
२०६४ मा नेपाल सद्भावना पार्टी फुटेर बनेको सद्भावना पार्टीबाट उनी संविधानसभा निर्वाचन लडेका थिए। त्यो बेला सर्लाही ४ बाट उनी विजयी भए।
यी दुवै नेता २०७० सालमा सर्लाही –२ मा प्रतिस्पर्धीको रूपमा भेट भए। २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा दुवै नेताले आपसमा प्रतिस्पर्धा गरेका थिए।
त्यतिबेला तत्कालीन तराई मधेस सदभावना पार्टी (तमसपा) का अध्यक्ष महिन्द्र रायले ११ हजार ५३४ मत ल्याएर तत्कालीन सदभावना पार्टीका अध्यक्ष राजेन्द्रलाई २ हजार ७४४ मतान्तरले पराजित गरेका थिए।
नेकपा एमालेका रामनारायण साह ८ हजार ३४८ मत पाएर तेस्रो स्थानमा थिए। यसपालि रामनारायण जनता समाजवादी पार्टी (जसपा) सँगको गठबन्धनबाट एमालेका उम्मेदवार छन्।
राजेन्द्र र महिन्द्र राय दुवै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा फरक-फरक निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। महेन्द्रले सर्लाही–२ बाट कांग्रेस उम्मेदवार जंगीलाल रायलाई पराजित गरेका थिए। राजेन्द्र सर्लाही छोडेर धनुषा–३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेर विजयी भएका थिए। यसपालि भने महतो अनिल झालाई धनुषा ३ छोडेर सर्लाहीमै फर्किएका हुन्।
सत्ता गठबन्धनले महिन्द्र राय आफ्नो आधिकारिक उम्मेदवार रहेको जनाएपछि उनका समर्थक उत्साहित भएका छन्।
गत स्थानीय तह निर्वाचनमा सर्लाही–२ का ८ वटै पालिकामा प्रमुख पद कांग्रेसले जितेको छ। यो निर्वाचन क्षेत्रमा पर्ने ४९ वटा वडामा कांग्रेसका उमेद्वारले २४ हजार ६२०, माओवादी केन्द्रले ७ हजार ७३७ र एकीकृत समाजवादीले २ हजार २२१ मत ल्याएका थिए।
अर्कोतिर जसपाका वडाका उमेद्वारले १९ हजार ६४२ मत ल्याएका थिए। एमालेका उमेद्वारले ७ हजार ७ सय १५ मत ल्याएका थिए।
लोसपाका वडाध्यक्षको जम्मा मत भने १२ हजार ३६६ मात्र पुग्छ।
यसरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा ३४ हजार ५ सय ७८ मत छ भने एमाले नेतृत्वको गठबन्धनको पक्षमा २७ हजार ३ सय ५७ हजार मत छ।
महतोको लोसपा यी दुवै गठबन्धन भन्दा धेरै मतले पछाडी छ। सत्ता गठबन्धनले आफ्नो आधिकारिक उमेद्वार नतोकेको अवस्थामा कांग्रेस लगायतका मत आफूतिर तान्ने रणनीतिमा महतो थिए। गठबन्धनले विज्ञप्ति नै निकालेपछि अब दलप्रति प्रतिबद्द मत आफूतिर तान्न महतोलाई सजिलो हुने छैन। यसले उनको प्रतिनिधिसभामा पुग्ने बाटो झनै कठिन देखिएको छ।
अर्कोतिर गठबन्धनको बिज्ञप्ति आएपछि महिन्द्र यादव र उनका कार्यकर्ताले भने राहतको सास फेरेका छन्।
यादवले चुनाव जित्ने प्रमुख आधार गठबन्धनको मत रहेको उनका स्वकीय सचिव सत्यप्रकाश यादवले बताए। त्यसबाहेक यादवको सादगी व्यक्तित्व पनि चुनाव जित्ने एउटा आधार रहेको बताए।
उनले भने, ‘२०७० तमसपा नयाँ पार्टी भएर पनि आफ्नो व्यक्तित्वको प्रभावले उहाँ (महिन्द्र राय) ले चुनाव जित्नुभयो। यसपालि उम्मेदवारी दर्ता गराउन जाँदा देखिएको मतदाताको उत्साहले नै चुनाव जित्ने तय भइसक्यो।’
उता महतोका स्वकीय सचिव विन्दकिशोर साह स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा संसदीय निर्वाचनको परिणाम भविष्यवाणी गर्नु गलत हुने बताउँछन्।
२०७४ सालको संसदीय निर्वाचनमा पराजित भएका कांग्रेस नेता जंगीलाल राय यसपालि प्रदेश सभाका लागि सर्लाही–२ ‘क’ बाट उम्मेदवार छन्। सत्ता गठबन्धनले भने उनलाई साझा उम्मेदवार मानेको छैन। कांग्रेसले उनलाई उमेदवारी फिर्ता लिन भनेको छ।
लोसपा भने उनैलाई कांग्रेसको आधिकारिक उम्मेदवार मानेर चुनाव प्रचारमा लागेको छ। जंगीलाल कांग्रेसका उम्मेदवार रहेकाले भन्दै यस क्षेत्रमा कांग्रेसको मत उनीसँगै महतोलाई जाने विन्दकिशोरको दाबी छ।
उनले भने, ‘यस क्षेत्र (सर्लाही–२) मा प्रतिनिधि सभाको पिलर नेता तीन जना हुनुहुन्छ। तीमध्ये एकजना पिलर (जंगीलाल) प्रदेश सभामा उठ्नुभएको छ। उहाँ राजेन्द्रजीसँग हुनुहुन्छ।’
यसरी कांग्रेसका 'बागी' उमेदवारसँग मिलेर महतो चुनावमा होमिएकाले पनि दुवैपक्षबीच शत्रुता बढेको हो।
राजेन्द्र स्वास्थ्यमन्त्री हुँदा सर्लाही–१ मा धेरै काम भएको र उनकै प्रयासले जनकपुरधाम मधेश प्रदेशको राजधानी तोकिएको विन्दकिशोरले बताए।
चुनावको सुरुवाती चरण भएकोले कसैको पक्षमा स्पष्ट माहोल भने देखिएको छैन। अन्तत: मतदाताको मत को तिर ढल्कन्छ र उनीहरुले कसलाई छान्छन् भन्ने प्रष्ट छनक देखिन अझै केही समय लाग्नेछ।