विज्ञापनको छायाङ्कन मुक्तिनाथमा हुँदै थियो। त्यस बेला ६०-६५ वर्षका देखिने एक तीर्थयात्री मुक्तिनाथको सिँढी चढ्दा थाकेको दृश्य लिनु थियो। हामीले दृश्यले मागे जस्तै देखिने व्यक्ति भेटेर कुरा पनि गरिसकेका थियौं। ३७०० मिटरभन्दा अग्लो उचाइमा रहेको मन्दिर चढ्दा जो कोही तन्नेरी थाक्न सक्थे। उहाँ त झन् ६७ वर्षको हुनुहुँदो रहेछ। अप्ठ्यारो नहोस् भनेर सकभर धेरै पटक नगरी दृश्य खिचिसक्ने सोच थियो। तामझाम मिलाएर ‘क्यामरा रेडी, एक्सन’ त भनियो तर बाले थाक्न मान्नुभएन। बाको उज्यालो अनुहारमा थकानको एक धर्सो पनि देखिएन। हामीले खिच्दै गयौं तर बालाई थाकेको अभिनय गराउन कुनै उपाय लगाउन सकेनौं।
सिँढी तलबाटै फेरि चढ्दै आउँदा त केही अलग होला सोचेका थियौं। बा भने जस्ताको तस्तै देखिए। छायाङ्कन हेर्दै माथि चढ्ने यात्रीहरूको बरू सास बढेको देखिन्थ्यो। बालाई थाकेको नमूना देखाउन तल र माथि गरिरहेका निर्देशक आफै पानी पिउन थालिसकेका थिए। क्यामरा तेर्स्याइ बसेका साथी ‘चिसोले हात चल्न छोडिसक्यो त’ भन्दै गुनासो गर्दै थिए। लाइट्स समाएर उभिने भाइलाई उभिनु पनि कसरत गरेझैँ भइसकेको थियो। निकै समय बितेपछि मैले बालाई प्रश्न गरेँ, ‘ए बा, तपाईं चाहिँ थाक्नु हुन्न कि क्या हो?’
बाले मुस्कुराउँदै जबाफ दिए, ‘६७ वर्षसम्म थाकिनँ। तिमीले एकछिन थाक्न सिकाएर थाक्छु त?’
वि.स २०१५ सालमा तेह्रथुम जिल्लामा जन्मिएका टेक बहादुर सुवेदीलाई जीवनका अनेक उकालोले कहिल्यै गलाएन। उकालोलाई नै अँगालेर अघि बढेको मान्छेलाई थकानले पछि सार्न नसक्ने रहेछ।
जिम्मेवारी र सङ्घर्षको भार बिसाएर आराम खोज्ने उमेरमा उनी अझै दौडन चाहन्छन्। टेक बहादुरलाई चिनजानेको जम्मैले एउटै सल्लाह दिन्छन्- ‘अब यो उमेरमा धेरै मेहनत गर्नु हुँदैन है।’
आफैलाई जिद्दी ठान्ने टेक बहादुर कसैका कुरा सुन्दैनन्। हाल ट्राभल एजेन्सीमा कार्यरत उनी यात्रुहरूलाई मिठो खाना पकाउँदै खुवाउँदै गर्दैछन्। हिमाली क्षेत्रमा पर्ने नेपालको मुक्तिनाथदेखि भारतको बद्रीनाथ, केदारनाथ, गंगोत्री, यमुनत्री गर्दै अधिकांश धार्मिकस्थल पुगिसकेका उनी उकालोसँग डराउँदैनन्। बाटामा कसैलाई अप्ठ्यारो परे यात्रीहरूको भार आफै बोकेर भए पनि तीर्थस्थलसम्म पुर्याउँछन्। आफूले पकाएको खाना अरूले मिठो गरी खाएको देख्दा उनलाई हिमालको चिसोमा पनि न्यानो निद्रा लाग्छ। त्यहीबाट कमाएको पैसाले नै उनले आफ्नो घर चलाउँदै आएका छन्।
टेक बहादुरले १३ वर्षको हुँदादेखि घरबाट भागी काम गर्न हिँडेका थिए। आर्थिक समस्याले घरलाई पिरोल्न थालेपछि उनले घर बसिरहनु जायज सम्झिएनन्। कदमा सानो हुँदा बल लगाउनु पर्ने काम नदिने भएकाले उनी दाजुका कपडा लगाएर काम माग्न जाने गर्थे। कामकै क्रममा उनी झापा, सिक्किम, आसाम र भुटानसम्म पनि पुगे। उनले अवैध काम बाहेक हरेक किसिमका काम गरी भ्याए। त्यस बेलादेखि परिश्रम र मेहनतसँगै साइनो जोडेका उनी अहिलेसम्म परिश्रम र मेहनतकै भरमा बाँच्न चाहन्छन्।
हिजो उमेर बढाएर काम खोज्ने उनी आज कसैले सोध्दा आफ्नो उमेर घटाएर बताउँछन्। आफूभन्दा कम उमेरका तीर्थयात्रीहरूका अघि उनी झन् कान्छो बनिदिन्छन्। उनलाई डर छ- कतै उमेर सुनेर मान्छेले उनको कामलाई नपत्याउलान् कि? उनलाई उमेरको गणितभन्दा आफ्नो काम प्यारो छ।
चुनौतीका अग्ला पहाडहरू सम्झँदा उनी २०४५ सालको भाइटीकाको दिन सम्झने गर्छन्। घरमा आफ्ना तीनवटै छोरी भाइटीकाको दिन सजिएर बसेका थिए। आफन्तको छोरालाई सप्तरङ्गी टीका लगाइदिने बेला हुनै लागेको थियो। भाइ मानेर कसैलाई आफैले उनेको माला लगाइदिने रहरले तीनवटै बहिनी दङ्ग परेका बेला केटाका बुबा दैलो हिर्काउँदै घरभित्र प्रवेश गरे। उनले तुच्छ शब्द प्रयोग गर्दै छोरालाई लिएर हिँडे।
‘यो छोरा नभएको घरमा टीका लगाइस् भने पछि तेरो पनि छोरा हुँदैन। यस्ता कुपुत्रको घरमा टीका लगाउनु हुन्न।’ तिखो काँडाझैं यी दुई वाक्य उनको हृदयमा सधैंका लागि गाडिएर बस्यो।
छोरीहरूले उनेका माला आँगनमै रोइरह्यो। छोरीहरूको पिलपिल आँखाले बालाई प्रश्न सोधिरहेका थिए। बाको निरीह अनुहारले कुनै जबाफ दिन सकेन। गाउँभरि त्यस घटनाले चर्चा पायो। बिस्तारै छोरीहरूको अघिपछि डुल्ने साथीहरू पनि कम हुँदै गए। छिमेकी र पाहुनाले टेक बहादुरको घरको दैलो ढकढक्याउन छोडे। खेल्ने, कुद्ने उमेरमा छोरीहरूलाई घरको चार भित्ता नै प्यारो बन्दै गयो। एक्लिँदै गएका छोरीहरूलाई देखेर टेक बहादुरले एक दिन वाचा गरे। आफ्ना तीन वटै छोरीलाई राखेर उनले वचन दिए, ‘तिमीहरूले आफ्नै भाइलाई टीका लगाउन पाउने छौ।’
सामान्य आयआर्जन भएका टेकबहादुरको घरमा ७ वटी छोरी जन्मिए। टेक बहादुरको जिद्दी स्वभाव उनकी श्रीमतीले नबुझेको हैन तर घर खर्च जुटाउन मुस्किल होला भनी श्रीमतीले उनलाई हजारौँ पटक एउटै कुरा सम्झाइन्। अभागी होस् भनी दुनियाँको मुखबाट सुनेर पनि नथाकेका टेक बहादुर अपहेलित भएर बाँच्न सक्दैन थिए। छोरीहरूलाई दिएको वचनले उनलाई हरेस खान दिएन।
२०५४ सालमा टेकबहादुरको परिवारको वर्षौंदेखिको निम्तो स्वीकार्दै खुसीले उनको घरमा पाइला टेक्यो। भाइ जन्मिएको खुसीले दिदीहरू जम्मै गाउँलेहरूलाई खबर सुनाउँदै गाउँको चक्कर लगाउन थाले। टेक बहादुरले छोराको भव्य न्वारनको तयारी गरे। गाउँमै पहिलो पटक खसी काटेर कसैको न्वारन हुँदै थियो। टेक बहादुरलाई नीच शब्द प्रयोग गर्ने आफन्त र छिमेकीहरूलाई उनले विशेष निमन्त्रणा दिए। कुपुत्र कहलिएका टेक बहादुरले छोराको न्वारनमा आफ्नो नाम फेरे। घरको चिनारी फेरे। परिवारको परिचय फेरे। हेपाइले उक्किँदै गएको घरको छानोबाट आँसु चुहिन रोकियो।
पहिलो सन्तानका रूपमा छोरी जन्मँदा खुसी भएका टेक बहादुरलाई समाजको पुरातन सोचले खुसी भइरहन दिएन। आफ्नै परिवार तिरस्कारको सिकार बनिरहेको देख्दा उनले आफूलाई पनि समाजकै नीति नियममा ढाल्नुपर्यो।
उनले समाजलाई कसिलो थप्पड हिर्काउँदै आफ्ना सातैवटी छोरीलाई पालैपालो स्कुल भर्ना गरे। खुट्टामा उभिन सिकाए। कर्मको पाठ पढाए। कुनै छोरीलाई आफू छोरी भएकोमा कमजोर महसुस गर्न दिएनन्। आफूले गरेको परिश्रमको फल ८ वटै सन्तानमा बराबरी बाँडे। सबैका रहरहरूलाई उत्तिकै महत्त्व दिए। आज हजुरबुबा बनिसकेका टेक बहादुरले नाति कमाउँदा होस् या नातिनी कमाउँदा- उनको मुस्कानको रङ्ग कहिल्यै धमिलो हुँदैन।
मुक्तिनाथमा चिसो हावा चल्न सुरू भइसकेको थियो। बालाई थाकेको अभिनय गर्न लगाएर हामीले पनि बाको कथा सुन्दै थकाइ मार्यौं। थाकेका त हामी सबै थियौं- मन्दिर उक्लिँदै गरेका, मन्दिरबाट तल झर्दै गरेका, मन्दिर आउँदै गरेका वा मन्दिर आउनै नपाएका। घुम्ती नै पिछे थाके पनि थकाइलाई बिर्सी फेरि उठ्न सक्ने यहाँ कति होलान्? पछाडि नफर्की पाइला चाल्ने यहाँ कति होलान्? जो जीवनको लडाइँमा अविरल लडे तिनै त होलान् नि नथाक्ने मान्छे। टेक बहादुर सुवेदीजस्तै। हामी क्यामराहरू झोलामा राख्दै निस्किने तयारीमा लाग्यौं।
बाले निस्किने बेला भन्नुभयो, ‘अघि अभिनय राम्रो भएको छैन भने फेरि खिच है। म थाकेको छैन।’