बुधबारबाट (सन् २०२४ दिसेम्बेर २७-३० सम्म) एसियाली जनसंख्या सम्मेलन सुरु भएको छ।
विशेषगरी नेपालको जनसंख्या सँगसँगै एसियाको जनसांख्यिकी अवस्थाका विभिन्न पक्षका बारेमा थाहा पाउनका लागि यो सम्मेलन अति महत्त्वपूर्ण छ। यसै सन्दर्भमा छैटौं एशियाली सम्मेलन नेपालले गर्न लागेको हो।
यो अन्तर्राष्ट्रिय सम्मेलन वास्तवमा जनसंख्या र विकाससँग सम्बन्धित सम्पूर्ण विज्ञहरूको लागि एउटा महान चाड जस्तै हो। यसलाई अन्तर्राष्ट्रिय स्तरमै पहिचान दिने गरी सम्पन्न गर्नुपर्ने हामी सबैको दायित्व हुन्छ। वास्तवमा जनसंख्या र विकास भनेको एकै सिक्काका दुई पाटा हुन्।
जनसंख्याका हरेक पाटाहरूले विकासका पक्षहरूमा प्रभाव पार्ने हुन्छ। सम्मेलनमा १७ वटा विषयमा छलफल गर्ने कार्यसूची छ। ३४ देशका प्रतिनिधिहरूले यो सम्मेलनमा विभिन्न विषयमा प्रष्तुीकरण गर्दै हुनुहुन्छ। ती विषयहरू जनसंख्या विकास र वातावरणसँग गाँसिएर आएका छन्।
वातावरण अझ महत्त्वपूर्ण रूपमा आउनेछ। वातावरणका विविध पक्षले जनसंख्या र विकासमा ठूलो प्रभाव छोड्ने हुँदा त्यो पक्षलाई हामीले महत्वका साथ हेरिरहेका छौं।
जनसंख्याको संरचनागत पक्षभित्र जन्म, मृत्यु बसाइसराइका विस्तृत पक्षमा हामीले अध्ययन गर्छौं। विस्तृत पक्ष भन्नेबित्तिकै त्यसको आकार, वितरण, बनावट, संरचनागत कुराहरू छन् त्यसका विविध पक्षका आधारमा विकासका प्रत्येक तह निर्धारण गरिएका हुन्छन्। त्यसैले जनसंख्याको विकासका विभिन्न क्षेत्र र तहमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।
जनसंख्याका तथ्यगत कुराहरूलाई आधार बनाएर मात्र हामीले कुनै पनि कार्यक्रम तय गर्न सक्छौं त्यसका लागि नीति बनाउने कुरा सबैभन्दा महत्त्वपूर्ण हो। जसमा जनसंख्या नीतिचाहिँ राष्ट्रलाई कुन बाटोमा अगाडि बढाउने भन्ने सन्दर्भमा तय गरिने नीति हुन्। ती नीति हामी जनसंख्या विज्ञहरूले प्रमाणमा आधारित नीति बनाएर सफल पार्न सक्छौं।
प्रमाणमा आधारित नीति बनाउने भन्ने विषय जनसंख्याका तथ्यांकहरूलाई केलाएर मात्र सम्भव हुन्छ। त्यसैले जनसंख्यासम्बन्धि यो सम्मेलनले एसिया बाहेक अन्य अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशेष महत्त्व राख्नेमा म विश्वस्त छु। अहिले केही न केही रूपमा सम्मेलनमा संग्लग्न देशहरूका जनसंख्याको अवस्था र यहाँको जनसंख्याको व्यवस्थापनका अनुभव आदानप्रदान पनि हुनेछन्।
आफ्ना अनुभवहरू आदानप्रदान गर्ने यो अवसरबाट हामीलाई पनि नीतिगत रूपमा तत्कालै मुलुकले निर्माण गर्दै गरेको जनसंख्यासम्बन्धि नीति बनाउनका लागि सहज बाटो खुल्ने आशा गर्न सकिन्छ। यही सन्दर्भमा हाम्रो राष्ट्रिय जनगणना २०७८ का तथ्यांकहरू विष्लेषण गरेर बाहिर आउने क्रम जारी छ।
अझै धेरै तथ्यांकहरू बाहिर आउने क्रममा छन। त्यसमा हामीले २१ ÷२२ वटा थेमेटिक रिपोर्टहरू बनाएका छौं। र यो सम्मेलनमा ती विषयका निष्कर्षहरू पनि छलफलका विषयहरू रहनेछन्। योजनाकारहरूलाई ती विषयहरू धेरै महत्त्वपूर्ण हुने हामीले अपेक्षा राखेका छौं।
नेपालमा बुढ्यौली
नेपालमा ज्येष्ठ नागरिकको जनसंख्यालाई हेर्दाखेरि निरन्तर रूपमा बुढ्यौलीको संख्या बढेको देखिन्छ। बुढ्यौली इन्डेक्स पनि त्यही किसिमले बढेर गएको छ। इन्डेक्स भन्नाले हामीले ० देखि १४ को जनसंख्यासँग ६० वर्ष भन्दा माथीको जनसंख्याको अनुपात कति छ भन्ने तथ्यांकीय गणना हो । यहाँ ०– १४ वर्षको सन्दर्भ किन आउँछ भने हाम्रो प्रजनन् दर निरन्तर घटिरहेको छ।
औषत आयु भने बढिरहेको छ। त्यसका विभिन्न पूर्वाधारहरू छन्। विगतको प्रजनन्को वृद्धिले गर्दाखेरि हामी जनसांख्यिक लाभांसको स्थितीमा छौं। अझै २४ –२५ वर्ष त्यो रहन्छ। त्यो सन्दर्भमा हेर्ने हो भने निरन्तर रूपमा हाम्रा ज्येष्ठ नागरिक बढीरहेका छन्। अहिले पनि हामीले हेर्यौं भने ३.३ प्रतिशतका दरले प्रतिवर्ष ज्येष्ठ नागरिको जनसंख्या बढिरहेको छ।
जबकि समग्र जनसंख्या वृद्धिचाँही ०.९७ प्रतिशत छ। यो अवस्थाले के देखाइरहेको छ भने ज्येष्ठ नागरिक को मात्राका सन्दर्भमा जसरी विकसित देशहरूले जनसांख्यिक स्थितिका सवालमा गम्भीर उतार चढाव भोग्दै आउन बाध्य भयका छन् त्यसैगरी नेपालले पनि त्यही स्थिति भोग्ने सम्भावना देखिदै आएको छ। अहिले विकसित देशहरूमा बुढ्यौलीको जनसंख्या तीव्र गतिमा बढेर गइरहेको र यसलाई एउटा चुनौतिको रुपमा सामना गरिरहेको अवस्था छ। धेरै कुराहरू उनीहरूले हामीलाई सिकाइरहेका पनि छन्।
बुढ्यौली जनसंख्या बढ्दै जाँदा उनीहरूलाई कसरी सम्बोधन गर्नुपर्छ त्यो ज्ञान अहिले हामीले उनीहरूबाट प्राप्त गरिरहेका छौं। उनीहरूको जस्तै हाम्रो देशमा पनि बुढ्यौलीको जनसंख्या बढीरहेको अवस्थामा छ। त्यो ज्ञानबाट हाम्रो देशका बुढाबुढीहरूलाई कसरी संरक्षण गर्ने? उनीहरूलाई के कस्ता सुविधाहरू दिनुपर्छ भन्ने विषयमा पाइला चाल्दै अगाडि बढ्नुपर्ने अवस्था नेपालमा बन्दै गइ रहेकोछ। अहिले हामीसँग १०.२ प्रतिशत ६० वर्षभन्दा माथीको ज्येष्ठ नागरिकको जनसंख्या छ।
यो संख्या ६५ वर्ष भन्दा माथीको भने ६.९ प्रतिशत रहेको छ। यो झन्डै ७ प्रतिशत ६५ वर्ष भन्दा माथीको जनसंख्यालाई हेर्दा हामी अब बुढ्यौली समूहमा प्रवेश गर्यौं। भन्ने संकेत देखिन्छ। त्यसले गर्दा पनि हामी यस अनुभवबाट हाम्रो देश बुढ्यौलीमै प्रवेश गरेकाले अबका दिनहरू हाम्रा लागि चुनौतीपूर्ण छन्। त्यसैले यी विषयहरूलाई हामीले यस सम्मेलनमा सेयर गरेर उनीहरूको सहज निकास निकाल्ने आशा राखेका छौं।
एशियाली जनसंख्या र वातावरण प्रदूषण
एसियामा ४८ वटा देशहरू रहेका छन्। सन् २०२४ मा विश्वको हालको जनसंख्या ८ अर्ब २० करोड पुग्ने अनुमान छ। त्यसमा झन्डै ६० प्रतिशत जनसंख्या एसियामा रहेको छ भने ६० वर्षमाथिको बुढ्यौली जनसंख्यासमेत १३ प्रतिशत रहेकोछ। त्यसो हुनाले एसिया जनसांख्यिक दृष्टिकोणबाट वास्तवमा विश्वकै केन्द्र हो। त्यसकारण यो सम्मेलनले धेरै ठूलो महत्व राख्छ। जनसांख्यिक दृष्टिकोणबाट विश्वलाई कसरी हेर्ने वातावरण र विकाससँग अन्तरसम्बन्धित कुराहरूमा पनि हाम्रो फोकस हुन्छ।
वातावरण अहिले विश्वव्यापी रुपमा एउटा चुनौतीको विषय बनिरहेको छ। त्यसमा अझ बढी सजगता अपनाउनुपर्ने छ। किनकि एशिया बढी जनसंख्या भएको महादेश हो भने यहा नै बढी स्रोत साधनको प्रयोग पनि भै रहेको छ। विश्वमा हरेक वर्ष उत्सर्जन हुने प्रदूषण मध्ये १४ प्रतिशत प्रदूषण त सयुक्त राज्य अमेरिकाले फालिरहेका छ भने यो दर हाम्रा छिमेकि देश चीन र भारतको झन्डै ४३ प्रतिशत रहेको अनुमान छ। यसकारण एशिया यसका लागि बढी जिम्मेवार हुनुपर्ने देखिन्छ। यसले विश्वमा धेरै जनसंख्या बोकेका देशहरू अझ बढी जिम्मेवार हुन जरुरी छ भन्ने संदेश दिएको छ । त्यसो हुनाले यो सम्मेलनमा यी पक्षहरूलाई पनि हामीले उजागर गर्नुपर्ने छ।
सरकारलाई पनि यो सम्मेलनले जनसंख्याका विविध पक्षको बारेमा एउटा सटिक नीति निर्माण गर्नको लागि जानकारीहरु उपलब्ध गराउने अपेक्षा गर्न सकिन्छ। यत्रो जनसांख्यिक विज्ञ समूह, सोसल साइन्टिस्टहरू सबैको भेलाबाट निस्कने निष्कर्षले सरकारको नीति निर्माणका तहमा यसको विशेष महत्त्व रहन्छ भन्ने हामीले अपेक्षा गरेका छौं।
सामाजिक सुरक्षाको सन्दर्भमा नेपालले सन् २००२ मा स्पेन को राजधानी मड्रिड भएको दोश्रो अन्तर्रास्ट्रिय बुढ्यौली सम्मेलनमा सहभागिता जनाएपछि नै नेपालमा पनि सामाजिक सुरक्षाका सन्दर्भहरू विशेष रुपमा उठेका छन्। बुढ्यौलीको त सन्दर्भ महत्त्वपूर्ण भइहाल्यो। यसमा चाहिँ आगामी दिनमा वृद्धवृद्धाहरुलाई कसरी सहज पार्न सक्छौं? कसरी उनीहरूलाई सुरक्षा प्रबन्धको व्यवस्था गर्न सक्छौं। कसरी उनीहरूको जीवनलाई सहज बनाउन सक्छौं भन्ने विषयमा चाहिँ थुप्रै चर्चाहरू गर्दै सामाजिक सुरक्षाका क्षेत्रमा विशेष गरेर तीन वटा बुँदाहरूलाई विशेष रूपमा पास गरिएको पाइन्छ।
ति विषयमा वृद्ध र विकास, वृद्ध जीवनको सुधार कार्य, उनीहरुको जीवन सुरक्षा र स्वास्थ्य वातावरणबारे विस्तृत चर्चा गरेको पाइन्छ्र त्यसैले ती विषयहरू आफैमा विश्वको एउटा अनुभवबाट प्राप्त विषय भएकाले जापान, चीन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत अरू विकसित देशहरूको बुढाबुढीहरूको व्यवस्थापनको अनुभवबाट हामीले पनि बुढ्यौली जीवनलाई कसरी सार्थक गर्न सकिन्छ त भन्ने सवाल यो सम्मेलनका लागि पनि त्यतिकै महत्त्वपूर्ण हुनेछ।
आखिर हाम्रो जीवनको अन्तिम समय पनि बुढ्यौली भएरै गुज्रने हो। हामीले पनि त्यही अवस्था भोग्नुपर्ने हुनाले अहिले हामीले उहाँहरूलाई सहजता दिन सकेनौं भने भोलि हामी वृद्ध हुँदा पनि त्यो सहजता प्राप्त नगर्ने स्थिति बन्छ। त्यसो भएको हुनाले त्यो खालको नीतिगत व्यवस्था हामीले गरेर जानुपर्छ। वृद्ध भत्ता त्यसैगरी निश्चित रोगहरूमा निःशुल्क उपचार जस्ता विषयहरूमा पनि सरकारले ज्येष्ठ नागरिकका हितमा काम गरिरहेको छ र गर्दै जानु जरूरी छ। नेपालको अर्थव्यवस्थाले यो सहज रुपमा धान्न नसक्ने अवस्था भए पनि उहाँहरूलाई एउटा टेको दिने काम चाहिँ सरकारले गरेको छ। यो सकारात्मक छ। आर्थिक विकासमा फडको मारेर मात्रै यो जीवन सुखी पार्न सकिने हुँदा हामी सबैको ध्यान यतातर्फ सजगताका साथ् जानु आजको सन्दर्भमा त्यतिकै महत्त्वपूर्ण छ।
(शर्मा त्रिवि जनसंख्या अध्ययन केन्द्रीय विभागमा कार्यरत छन्)