जेठ महिनाको २८ गते साँझ सात बज्नै लागेको थियो। मोबाइलमा इन्कमिङ कलको रिङ बज्यो। हेरेँ, मैले अध्यापन गर्ने विद्यालयको व्यवस्थापन समिति अध्यक्षको रहेछ।
सामान्य शिष्टाचार लगत्तै ‘तपाईं विद्यालयको हेडमास्टर बनिदिन पर्यो’ भन्ने उहाँको प्रस्ताव थियो।
मैले जवाफ दिएँ- ‘एक जना प्रधानाध्यापक हुँदाहुँदै किन म बन्न पर्यो र सर?’
‘हैन उहाँको अन्तै सरुवा भइसकेको छ, उहाँको ठाउँमा अर्को मान्छे नआउँदासम्म तपाईंले सम्हाल्न पर्यो’ भन्नुभयो।
मैले सुझाउँदै भनेँ, ‘मभन्दा वरिष्ठ अर्को सर हुनुहुन्छ उहाँलाई बनाऊँ सर, ऐन नियम मुताबिक गर्दा नै राम्रो हुन्छ।‘
‘उहाँका केही कानुनी उल्झनहरू छन्, ती उल्झनहरूको टुङ्गो नलाग्दासम्म उहाँलाई दिन मिल्दैन,’ उहाँको जवाफ थियो। (केही दिनपछि उहाँको केसमा म आफैले पनि बयान दिनुपरेको थियो।)
मैले सोचेर भन्छु नि सर भनेँ।। उहाँले हुँदैन तत्काल निर्णय दिनुहोस् भन्नुभयो। मैले हुन्छ भनिदिएँ।
जेठ मासको उखरमाउलो गर्मीका कारण तराईका सबै विद्यालय एक सातादेखि बन्द थिए। सरुवा भएर जाने सरबाट भोलिपल्टै बरबुझारथ लिनुपर्ने। उहाँबाट बरबुझारथ लिइयो। बैंक खाताको नामसारी लगायतका कामहरू बिदाकै समयमा सिद्ध्याइयो।
लागेको थियो अब विद्यालयको कायापलट नै गर्छु।
जब असार चार गते विद्यालय सञ्चालन भयो, मलाई पहिलो गाँसमै ढुङ्गा लागेको अनुभूति भयो। बिहानीको प्रार्थना सभामा त जम्माजम्मी तीस प्रतिशत शिक्षकको उपस्थिति!
केही दिनपछि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०८० को परीक्षाफल प्रकाशित भयो, नतिजा शून्य! लौ मार्यो, नतिजा शून्य ल्याउने गाउँपालिका अन्तरगतको एक्लो विद्यालय।
एकातिर आर्थिक अनुशासनको पाटोलाई लिएर पूर्ववर्ती केही प्रशासकहरूले बेहोर्नु परेको कानुनी उल्झनले जनसहभागितामा आएको ह्रास, अर्कोतिर शैक्षिक गुणस्तरको कन्तबिजोग नतिजा!
समुदाय विश्वस्त हुने गरी आर्थिक पारदर्शिता कायम गर्नु र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु प्रमुख दुई चुनौती थिए मेरो अगाडि। यसका लागि सर्वपक्षीय सहयोग र सहभागिताको खाँचो थियो। तर अवस्था आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भने जस्तै थियो।
पहिलो दिनदेखि नै मलाई असफल बनाउने प्रयास विद्यालय भित्रकै केही अल्छी तिघ्रो स्वादे जिब्रो गरेका मान्यवरहरूबाटै सुरु भयो। सामूहिक बिदा बस्ने, बहानाबाजी गरेर आधा दिनमै बिदा माग्ने, तोकिएको जिम्मेवारी पूरा नगर्ने आदि इत्यादि हतकन्डाहरू अपनाउन थालिए।
मेरो पहिलो दिनको उद्घोष बमोजिम म शिक्षा ऐन र नियमावलीले गरेको व्यवस्थाअनुसार कडाइका साथ चल्न थालिहालेँ। अब उहाँहरूको रणनीति फेरियो। अस्थायी, करार वा अनुदानका कोटामा कार्यरत शिक्षकहरूलाई बिदा बसाल्ने। ऐन, नियमको कैचा कस्दै गएपछि ती सबै हत्कण्डा निस्प्रभावी भए।
विद्यालयमा हुने आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन महिनाको अन्तिम दिन सो महिना भरिको आर्थिक क्रियाकलापको प्रतिवेदन लेखापालले विद्यालय व्यवस्थापन समिति समक्ष पेस गर्नुपर्ने व्यवस्थाको सुरुआत गरियो र समुदायलाई संविधानले दिएको सूचनाको हक प्रयोग गरी विद्यालयको आर्थिक तथा अन्य गतिविधिको वस्तुनिष्ठ जानकारी लिन सार्वजनिक रूपमा अपिल गरियो।
विद्यालयको आर्थिक पारदर्शिता प्रशासकको एक्लो प्रयासले सम्भव कुरा हो तर शैक्षिक गुणस्तर सुधार शिक्षक, अभिभावक र विद्यार्थी सबैको संयुक्त प्रयासबाट सम्भव हुने कुरा हो। तर यहाँ त शैक्षिक गुणस्तरको मामलामा विद्यार्थी मात्रैलाई अपराधीकरण गर्ने परिपाटी रहेछ। शिक्षक मित्रहरूसँग छलफल गर्दाको निष्कर्ष त्यहीँ थियो- विद्यार्थीले नपढेर नतिजा बिग्रियो। यो विद्यालय परिवर्तन गर्न सम्भव छैन।
हो, आजकल विद्यार्थीहरूमा अध्ययन संस्कृतिको ह्रास आएको छ, त्यो सत्य हो। सबै विद्यार्थी परीक्षामा सफलै हुन्छन् भन्ने मान्यता मेरो पनि हैन तर सबका सब विद्यार्थी परीक्षामा असफल हुनुमा के विद्यार्थी मात्रै दोषी हुन्छन् त?
फ्रान्सेली शासक नेपोलियन वोनापार्टको भनाइलाई विश्वास गर्ने हो भने असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्रै हुन्छ। हामी वर्षौँ यहीँ शिक्षण पेसामा छौँ कुनै प्रयास बिनै विद्यालय परिवर्तन गर्न सकिन्न भन्ने निष्कर्षमा पुगेर हामी आफैलाई कसरी मूर्खको कोटीमा राख्न सक्छौँ? ल एक पटक कोसिस गरौँ, इमानदार कोसिस! मेरो अनुरोध थियो।
एउटा टोली नेताको हैसियतले गर्ने काम मबाट हुनसक्ने जति गरियो। विभिन्न विषयका विज्ञ प्रशिक्षक ल्याएर शिक्षक पेसागत क्षमता विकासका कार्यक्रम सञ्चालन गरियो। सिकाइलाई सञ्चार प्रविधिसँग जोडियो। परीक्षा प्रणाली स्तरकृत गरियो। विद्यार्थीहरूको क्षमता विकासका लागि विभिन्न संघ संस्थाहरूसँग समन्वय गरी उपलब्धिमूलक कार्यक्रम सञ्चालन गरियो। एसइई ग्रेड वृद्धि परीक्षामा शून्य परिणामबाट जोगियो। कमसेकम विद्यार्थीहरूमा आशाको सञ्चार गराउन सकियो।
विद्युतको प्लस माइनस सर्किटको संयोजनबाट बत्ती बले जस्तै समाजमा पनि सकारात्मक र नकारात्मक सोच भएका मानिसहरू हुन्छन् र सदियौँदेखि ती दुई पक्षको संघर्षबाटै समाज अगाडि बढेको छ। कुनै पनि क्षेत्रको विकास र उन्नतिका लागि त्यो क्षेत्र प्रणालीअनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता छ। जब म प्रणालीअनुसार दृढतापूर्वक अगाडि बढ्न थाले समाजको एउटा पक्षलाई मन परेको रहेनछ। त्यो पक्ष जसरी पनि विद्यालयको वातावरण बिगार्न हात धोएरै लाग्यो।
विद्यालयले उन्नतिका पाइलाहरू अगाडि बढाउँदै गर्दा समाजमा अनावश्यक भ्रमहरू छर्ने कार्यमा उद्धत थिए उनीहरू। वास्तविक तथ्यको कसीमा जब एकपछि अर्को भ्रमहरू खारेज भएर गए तब समाजले उनीहरूको फर्मान स्विकार्न छोड्यो।
मेरो तीन महिनाको प्रयासले विद्यालय प्रणालीअनुसार चल्न थालेको छ। प्रणालीअनुसार चल्दा सबैलाई सहज भएको छ। विद्यालयले समुदायको विश्वास आर्जन गर्न थालेको छ। शैक्षिक सत्रको बिचमा भए पनि विद्यार्थी सङ्ख्यामा थोरै वृद्धि भएको छ। विद्यालय प्रशासनबाट सम्पादित हुनुपर्ने सबै कामहरू निर्दिष्ट समयभित्रै सम्पन्न भएका छन्।
माध्यमिक तहको रिक्त दरबन्दीमा रिक्त भएको बिस दिन भित्रै शिक्षक ल्याइएको थियो। उहाँको आगमनसँगै नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेको थिएँ। उहाँबाट नयाँ वातावरण बुझ्न केही समय दिन अनुरोध भएअनुसार केही दिन स्वीकार गरेको थिएँ। अब उप्रान्त उहाँको नेतृत्वलाई सहर्ष स्वीकार गर्दै विद्यालय परिवार अगाडि बढ्ने छ। एक अर्काको खुट्टा हैन हात तान्दै अगाडि बढ्यौँ भने एक दिन गर्व गर्न लायक विद्यालय बनाउन सकिन्छ।