झिसमिसे बिहानीमा मर्निङ वाक गर्ने क्रममा त्यही भिडबाट आएको एउटा आवाज टक्क कानमा ठोक्कियो 'यी भाडामा बस्नेकोमा पनि कति मान्छे आएका'।
मैले यसो मुन्टो घुमाएर त्यो आवाज आएकोतिर एक नजर लगाएँ तर त्यहाँ धेरै महिलाहरू थिए यो कसले भन्यो भन्ने चाहिँ ठम्याउन सकिनँ। त्यो आवाजले मलाई आजभन्दा एक दशक अगाडिको मेरो डेरावाला चक्करे जीवनलाई एकपटक सम्झिने अवसर दियो।
सुरूमा हाम्रो बुद्धनगरको दुई कोठे डेराबाट काठमाडौंको बसाइँ सुरू भएको थियो। एउटा कोठामा म र मेरो श्रीमान अनि एउटा मेरो बच्चा बस्ने अनि अर्का एक कोठामा किचन र आमा सुत्नको लागि एउटा बेड। आमालाई किचनमा अलि अप्ठ्यारो भएको महसुस गरी हामीले त्यहाँबाट कोठा सर्ने निधो छिट्टै नै गरिहाल्यौं।
भर्खर काठमाडौं आएको आफूलाई कुनै आइडिया थिएन। श्रीमानलाई कोठा खोज्न भनेको उहाँले यही ठिकै छ डेरा पनि कहाँ भनेजस्तो सबै मिलेको पाइन्छ र एडजस्ट गर्ने हो भनेर टारिदिनु भयो। सीतापाइलामा मेरो नन्दबहिनी बस्नु हुन्थ्यो, उहाँलाई फोन गरेर सहयोग मागेँ। त्यसको एक दुई दिनमा नन्द बहिनीले फोन गरेर कोठा हेर्न आउनु भन्नुभयो।
म कत्ति पनि ढिला नगरी त्यहाँ गएँ। सीतापाइला चोकदेखि करिब २ किमी बाहिर नन्दबहिनी बस्ने नजिकै एउटा घरमा दुई वटा बेडरूम, किचन र लिभिङ रूम सहितको व्यवस्थित फ्ल्याट देखेर हुन्छ भनिदिएँ। कोठा भाडा ठिकै थियो बिजुली, पानी केही पनि तिर्न नपर्ने।
श्रीमानलाई सीतापाइलामा कोठा पाइएको सबै जानकारी गराएँ। उहाँले ठिकै छ तर बिजुलीको पनि पैसा तिर्न नपर्नेमा पछि विवाद हुन्छ कि भन्नुभयो।
मैले त्यस्तो केही हुँदैन घरबेटी आफैले बिजुलीको पैसा तिर्न नपर्ने भनेका छन् भनेर कोठा सर्ने तयारी गर्यौं र कोठा सरियो।
साउन र भदौ गरी दुई महिना त ठिकै थियो असोज लाग्दा नलाग्दै हामी बाहिरबाट आएका त्यसमा सीतापाइलाको खुला स्थान भएकोले चिसो ह्वात्तै बढेको महसुस भयो। बच्चा सानो भएकाले पनि उसका लागि तातोको व्यवस्था गर्नैपर्ने भयो र एउटा हिटरको व्यवस्था गरियो।
बिजुलीको पैसा तिर्न नपर्ने भएपछि चिसोको समय बच्चाको बहानामा हिटर लगातार चल्न थाल्यो। अब विवाद यहीबाट सुरू भएको थियो। सायद घरबेटीलाई लागेको थियो भाडामा बस्नेले बत्ती त बाल्ने हुन् बिजुली सित्तैमा दिँदा आफ्नो खाली भएको कोठा पनि भाडामा जान्छ भन्ने तर हिटर, अनि अत्यावश्यक पानी तताउने भाँडो आदि आदि त्यही आएर जोहो गरेकोमा घरबेटीलाई चित्त बुझेको थिएन।
हामी चुपचाप बसेका थियौं, दसैं आयो। नन्द बहिनी अनि उहाँका श्रीमान र अन्य पाहुनासहित दसैंको खानपिन पनि गरियो। मान्छेहरू पनि बुढीआमा भएकाले काठमाडौं भएका सम्भव भएसम्म त्यहाँ आए। भिडभाड नै भयो।
त्यसको भोलिपल्ट घरबेटीले मलाई बोलाएर अल्कोहलले आफ्नो घर बर्बाद भएको बेलिविस्तार लगाए र अन्तिममा यहाँ बस्नको लागि अल्कोहल निषेध गर्न भनियो। मेरो श्रीमानले अल्कोहल नियमित नलिए पनि बेला बेलामा लिनुहुन्थ्यो त्यो पनि साथीभाइको जमघटमा।
घरबेटीलाई परेको जस्तो अल्कोहलले मेरो परिवार बर्बाद नै पनि भएको थिएन र यो पनि बुझेकी थिएँ अल्कोहललाई मानिसले खाँदासम्म त्यसले केही पनि बिगार्दैन जब अल्कोहलले मानिसलाई खान थाल्छ त्यसले नराम्रो घटना निम्ताउने हो।
अझ भनौं यी भौतिक वस्तुहरू जबसम्म मानिसले यिनलाई चलाउँछन् त्यहाँसम्म ठिक हुन्छ जब यी वस्तुले मानिसलाई चलाउन थाल्छन् तब मान्छेको जीवनलाई यिनले चक्कर कटाउँछन्, फनफनी घुमाउँछन्। तर पनि अल्कोहलको सेवन स्वास्थ्यका लागि हानिकारक नै हो।
तै पनि बल्ल बल्ल पाइएको व्यवस्थित कोठा अनि तुरून्तै अर्को व्यवस्था गर्न गाह्रो हुने भएकाले घरबेटीले राखेको शर्त श्रीमानलाई सुनाए। घरबेटीको शर्त स्वीकार्न गाह्रो हुने कुरा मलाई पहिला नै थाहा थियो भयो त्यस्तै। उहाँले आफ्नो कोठाभित्र यो खाने, त्यो नखाने भन्ने पनि हुन्छ? तुरून्त अर्का कोठा खोज्न भन्नुभयो।
त्यसको केही दिनमै कसो कसो सतुंगलमा दुई वटा कोठा पाइयो। घुम्दै फिर्दै रुम्जाटार हामी बुद्धनगरको कोठाको अवस्थामा फेरि आयौं र त्यसैलाई व्यवस्थित गरी बस्ने निधो गर्यौं। यति समयसम्म मलाई पनि महसुस भयो कि कोठा राम्रो र धेरै भएर मात्र हुँदैन रहेछ, काठमाडौंमा कोठामा बस्नेहरूको स्वतन्त्रता पो ठूलो कुरा रहेछ।
यहाँको बसाइँमा को घरबेटी को डेरावाला त्यस्तो केही महसुस नै भएन। आफ्नो स्वतन्त्रता, अनि घरबेटी र डेरावाल बीचको आत्मीयताका बीचमा बसेका थियौं। बिडम्वना घरबेटीको आर्थिक अवस्था बिग्रेको कारण त्यो घर बिक्रीमा राखियो र केही समयमै घर बिक्री भयो। अब फेरि त्यहाँबाट पनि झोलीझाम्टा बोक्नुपर्ने अवस्था आइहाल्यो।
सतुङ्गलकै फ्रुटी फ्याक्ट्री पछाडि कोठा पाइयो। अहिले सम्मको अनुभवबाट सकेसम्म सबै कुरा पहिला नै क्लियर गरेर कोठामा बस्ने मनसाय थियो। घरबेटीले अहिलेको भाडा दुई वर्षसम्म नबढाउने, पानी बिजुली आदिको सबै स्पष्ट पारिदिए।
२०७२ सालको भुइँचालोको समय त्यहीँ बित्यो। त्यस विपतको समयमा घरबेटी र वरपरका छरछिमेक सबैको साथ र सहयोग पनि रह्यो। सबै राम्रै चलेको थियो। अब मेरो भाइ पनि काठमाडौंमै पढ्ने भनेर त्यहीँ आयो।
भाइ आएको २–४ दिनमै घरबेटीले मलाई बोलाए। केही सल्लाह होला भनेर गएको सिधै भाडा अब अर्को महिनादेखि बढेको छ भने। मैले कोठा लिँदा भएको मौखिक सम्झौता सम्झाउन खोजेँ र भर्खर ५–६ महिना मात्र यहाँ बसेको समय भएको पनि सम्झाएँ तर उनले तपाईंकोमा मान्छे थप्नु भएछ अब त्यति भाडामा हुँदैन भन्ने जबाफ दिए।
अब भएन आज आमा मात्र हुनुहुन्छ भोलि बुवा पनि आउनु होला। फेरि पढाइको लागि अझै यहाँ आउन तम्तयार भएर बसेका हाम्रा जिम्मेवारीमा रहेका अरू पनि थिए र होलान्। आज एउटा मान्छे थप हुँदा भाडा बढ्यो भोलि अरू थपिए भने त पक्कै निकाल्छन् नै होला भनेर केटाकेटीको कलेज पायक पर्ने गरी र सम्भावित मान्छेको संख्या खुलाएरै कोठा खोज्न भाइलाई नै भनेँ।
अब सतुङ्गलबाट डेरा यात्रा मोडियो टीकाथली ललितपुरतर्फ। त्यहाँ भर्खर बनेको घरमा दुई वटा बेड रूम, एउटा लिभिङ रूम, किचन, बाथरूम सहितको एउटा फ्ल्याट पाइयो। त्यहाँको भाडा कति भन्दा पनि पहिला मान्छे यति जना हुन्छन्, बुढीआमा भएकोले पाहुनाहरू पनि आइरहन्छन्, भोलि समस्या त हुँदैन नि भनेर कुरा राख्यौं।
घरबेटीले सजिलै भने 'मान्छे भएको ठाउँमा मान्छे त आइहाल्छन् नि हामीलाई केही समस्या छैन। भाडा यति हो लौ बस्ने भए बैना बुझाएर जानुस्'।
आहा! हामीलाई चाहिएको यत्ति थियो। खुसी भएर फेरि कोठा सरियो।
करिब ९ महिना त्यहाँ बसेका थियौं। हुन पनि अब भाइ र अरूसहित हाम्रो परिवारमा ठूलो संख्या भयो। त्यहाँ आउने जानेको पनि त्यस्तै ठूलो संख्या। एकदिन घरबेटीले खै ढल बिग्रियो १५ दिनलाई कोठा खाली गरिदिनु पर्यो भने। अनि तपाईंहरू कहाँ जानुहुन्छ त त्यो समयमा भनेर हामीले भनेको हामीलाई त यही मिलाउँछौं भन्ने जबाफ आयो।
अब तेत्रो जमात १५ दिन कहाँ लगेर व्यवस्थापन गर्ने त्यसमाथि सामानहरू अलि अलि गर्दै थपिएकै थियो।
फेरि घरबेटीले १५ दिनको लागि भनेर यहाँबाट निकाल्ने योजना भएको प्रष्टै देखिन्थ्यो किनकि यहाँ पनि दुई वर्षसम्म भाडा नबढाउने सहमति त थियो नै।
अब नयाँ डेरावाला आउँदा भाडा बढाएर लिन पाउने आशा सायद घरबेटीमा जागे होला। यिनीहरू नै बसे भने त दुई वर्षसम्म यही भाडा हो बढाउन भन्ने कसरी?
अब फेरि घर घर कोठा खोज्न हिँडियो।
इमाडोल एरियाभरी सोध्दै जाँदा सबैको प्रश्न हुन्थ्यो कति जना बस्ने हो? हाम्रो संख्या सुनायो कि तेत्रा त बस्न मिल्दैन पानी सकिन्छ, सेप्टिक ट्यांकी भरिन्छ आदि आदि।
काठमाडौं आएको दुई अढाइ वर्षमा काठमाडौं उपत्यका एक चक्कर लगाइयो डेरावाल भएर।
वास्तवमा काठमाडौंमा डेरामा बस्नेहरूको यो सहरमा घर नभएको हो, आफन्त, सम्बन्धहरू र पारिवारिक जिम्मेवारी त पक्कै हुन्छन्। कतिपय आफ्नो पारिवारिक जिम्मेवारी घरबेटीलाई दोषी देखाएर उम्कन पनि मिल्दैन। उनीहरूका आफन्तहरू वा छरछिमेकीहरू भेटघाटका लागि मान्छे जहाँ छ त्यहीँ आउने नै भए।
कोही घुमघामको लागि काठमाडौं आउँछन् त्यसै मौकामा भेटघाट गर्न आउँछन्। कोही औषधि उपचारको लागि आउँछन् र एक रात त्यहीँ आफन्तकोमा बिसाउँछन्।
फेरि काठमाडौंमा यहीकै बासिन्दा या बाहिरबाट आएका जसले पनि ठूलो रकम खर्च गरेर घर बनाउँछन्, त्यही भाडालाई आम्दानीको स्रोत ठानेर, तर यिनीहरूलाई नै नमिठो व्यवहार गरेको देख्दा अचम्म लाग्छ। यो सहरमा घर पनि एउटा व्यवसाय हो जसबाट आम्दानीको आशा गरिएको हुन्छ। अब व्यवसायमा घरधनी मात्रै भए ग्राहक बहालमा बस्ने भएनन् भने पनि उनीहरूको व्यवसाय चल्दैन। आम्दानीको स्रोत नै बन्द हुन्छ। गरिएको ठूलो लगानीबाट निरन्तर प्रतिफल पनि आउँदैन।
कीर्तिपुरमा एक जना मेरी बहिनीकोमा साथीहरू आएको घरबेटीले आफ्नै यति नराम्रो व्यवहार देखाइन् रे कि त्यसै दिन भएका सरसामान बोकेर कोठा सारेँ भन्दै थिई। विद्यार्थी जीवनमा सरसामान धेरै नहुँदा यो सम्भव भएको हो नत्र भन्दा बित्तिकै त्यो पनि सम्भव कहाँ हुन्छ र?
आखिर यदि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय नभएको भए त्यहाँको आम्दानीको स्रोत घर नभएर अर्का आम्दानीको विकल्प खोज्न पर्दथ्यो होला र पनि तिनै बहालमा बस्ने माथि त्यस्तो दुर्व्यवहार गर्न घरधनीलाई कुनै अप्ठ्यारो लाग्दैन।
बहालमा बस्नेहरूको यहाँ यो सहरमा घर जग्गा नभए पनि आ–आफ्नो स्थानमा सम्पत्ति पनि होला घर पनि होला तर तिनीहरूको केही नभएको जस्तो गरी व्यवहार गरिन्छ।
बहालमा बसेकोले समयमा आफूले तिर्नुपर्ने पैसा तिरेर बसेको छ भने उसकोमा मान्छे कति आउँछन् कति जान्छन् भनी चप्पलै गन्नुपर्ने त पक्कै होइन होला, अनि सामान्य पारिवारिक मिलन आफूलाई लागेका खानपिनको व्यवस्था गर्ने सम्मको सामान्य स्वतन्त्रता बहालवाला नागरिकलाई पनि मिल्न पर्ने हो कि!
कतिपय घरधनीले बहालमा बस्नेलाई परिवारसरह पनि मानेका हुन्छन् र विश्वास पनि गरेका हुन्छन् तर बहालवालाले यो आफ्नो अस्थायी बसाइँ हो भनी लापर्वाही पनि गरेको देखिन्छ।
मेरो एक जना भाइको घरबेटीले उनीहरूलाई पनि सजिलो होस् भनेर आफ्नो किचनको फ्रिज ती भाइहरूलाई पनि प्रयोग गर्न मिल्ने गरी राखिदिएका थिए तर ती भाइकोमा आएका आगन्तुकले फ्रिजनै फुटाइदिएर हिँडेछन्।
एक जना घरबेटी दिदी भन्दै हुनुहुन्थ्यो–बहालमा बस्नेहरूले आफ्नो घर होइन भन्दै ड्याङ्ग ड्याङ्ग भित्तामा किला ठोक्दा आफ्नो मुटुमै किला ठोके जस्तो हुन्छ।
कतिपयले आफू बसेको कोठा, आफूले प्रयोग गर्ने बाथरूम सफा नगरेका घटनाहरू पनि छन्, यसमा बहालवालाहरूले पनि सोच्नुपर्ने हुन्छ।
ठूलो लगानीमा बनेको घरको ढोका र भित्ता ड्याङ्ग ड्याङ्ग पार्दा उनीहरूलाई त चित्त दुख्छ नै स्वयं बहालवालालाई पनि त्यसले सन्तुष्टि त दिँदैन। जसको सामान क्षति भए पनि क्षति गर्ने कार्य राम्रो होइन भनेर आफू बस्दासम्म त्यस सम्पत्तिको सरसफाइ र संरक्षण गरिदिनु बहालवालाहरूको पनि जिम्मेवारी हो।
फेरि चाहे एक महिना होस् वा एक वर्ष जति बसे पनि आफूले प्रयोग गर्ने कोठा, बरण्डा, बाथरूम सफा गरी बस्नु स्वयं आफ्नो लागि पनि राम्रो हो यसमा आफू अस्थायी र अर्काको सम्पत्ति भनी त्यसको क्षति हुने कार्य गर्नु पनि उपयुक्त हुँदैन।
प्रशस्त सम्भावना भएका कारण त्यही सम्भावनाको खोजीमा विभिन्न जिल्लाबाट मानिसहरू यस सहरमा भित्रिने गर्दछन्। ठूलो संख्यामा भित्रिने जमातलाई आवासको आवश्यकता पर्दछ भने जसका कारण यहाँ घरमा गरिएको लगानी घरधनीको निरन्तर आम्दानीको स्रोत पनि बनेको छ।
यस किसिमको दुई पक्षीय व्यवसायलाई दुबै घरधनी र डेरावाला मिलेर सौहार्दपूर्ण, आत्मीयतासहित हरेकका व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्दै एक अर्काको परिपूरकको रूपमा विकसित गर्न सके यस काठमाडौंलाई सुन्दर, सबैका लागि आनन्दित र व्यवस्थित सहरको रूपमा विकास गर्न सकिन्छ।