'भर्खर त १९ वर्ष लागेकी छौ, कति जागिरको लागि मरिहत्ते गरेर पढेको पढ्यै गरेकी! यो उमेरमा रमाइलो नगरेर कहिले गर्ने हो?'
'हामी नारीहरू आफ्नो जीवनमा आत्मनिर्भर बन्नुपर्दछ। हजुर १० वर्ष पहिले स्नातक सकेको मान्छे घर गृहस्थी भनी अल्झिनुभयो। अहिले ३५,३६ वर्षको उमेर भएपछि प्रतिस्पर्धाको समयमा आयोग लड्दा नाम निकाल्न कति गाह्रो भएको छ। म त पढाइसँगै स्थायी जागिर नभएसम्म त बिहे नै गर्दिनँ।'
आफूसँगै ट्युसन पढ्न आउने दिदीहरूलाई आत्मनिर्भर हुनुको महत्त्व बताउँदै सबैलाई पढ्नको लागि प्रोत्साहन गर्दथेँ। बाबा पनि स्थायी शिक्षक भएको हुँदा मैले पनि सानैदेखि शिक्षक बन्ने लक्ष्य राखेको थिए। कलेज घरबाट टाढा भएको हुँदा दिदीको घरमा बसी कलेज र शिक्षक सेवा आयोगको ट्युसन पढ्दै जसरी भए पनि पहिलो पटकमै आयोगमा नाम निकाल्नु पर्दछ भनी निरन्तर मेहनत गरी पढ्थेँ।
दिदीको घरमा बस्दा दिदीले कहिले गाली गर्दै, कहिले सम्झाउँदै जागिरको महत्त्व सम्झाउँदाको पल अझै पनि मन मस्तिष्कमा ताजै छ। सोहीअनुसार निरन्तर मेहनत र आफूसँग भेट भएका सम्पूर्ण महिला दिदीबहिनीहरूलाईलाई जीवनमा जति नै कष्ट परे पनि आत्मनिर्भर बन्नुपर्ने सल्लाह र प्रोत्साहन गर्दथेँ।
सकारात्मक सोच, दृढ विश्वास र निरन्तर मेहनतले सार्थकता पनि पयो। नभन्दै २०७१ सालको शिक्षक सेवा आयोगमा पहिलो प्रयासमै २० वर्षको उमेरमा स्थायी शिक्षक बन्ने लक्ष्य पूरा भयो। लक्ष्य पूरा भएकोमा यति खुसी थिएँ कि जुन व्यक्त गर्न शब्द नै पर्याप्त छैनन्।
बाबाआमाकी एक्ली छोरी, घरमा खासै दुःखकष्ट केही गरेकी थिइनँ। घरबाट ३ घण्टा टाढा जहाँ पुग्न २ घण्टा हिँड्नुपर्ने, ढुक्कले एक छाक खाना पनि मुस्किल, उही बस्ने अनुकूल वातावरण पनि नभएको ठाउँमा जागिरको नियुक्तिले मनमा बेचैन उत्पन्न हुन सुरू भयो। जागिर निल्नु न ओकल्नु जस्तो भयो मलाई। तर आफ्नो आत्मनिर्भर बन्ने सपना पूरा भएको हुँदा जति नै दुःख कष्ट परे पनि जागिर गरेरै छाड्ने अठोट गरेँ।
केही समय दुःख गरेपछि विस्तारै सरुवाको प्रक्रिया पूरा गरी सुगम वा घरपायक ठाउँमा जान सकिन्छ नि भन्ने सल्लाह पाएपश्चात शिक्षण पेसामा कर्तव्यनिष्ठ बनी लागिपरिरहेँ।
सरुवाको प्रक्रिया पनि कहाँ सजिलो छ र, दुवै तिरको विद्यालय, विद्यालय व्यवस्थापन समिति, वडा, पालिका तथा जिल्ला लगायतका सयौं जनालाई बिन्ती गर्दा पनि मुस्किलले सरुवा हुन सकिने। त्यही पनि आफूलाई राहत होला भनी सम्बन्धित ठाउँमा आफ्ना दुःख पीरहरू राखिरहेँ। त्यसको एक वर्षपछि सरुवा भयो, तर पहिलेको विद्यालय पुग्दा ३ घण्टा लाग्दथ्यो भने अहिले डेढ घण्टा। ठिकै छ यति भए पनि केही राहत भयो भनी सहयोगी सबैप्रति आभार प्रकट गर्दै सुख दुःख जीवन निर्वाह गर्दै गएँ।
भगवानले दुःख बुझ्नु भएछ कि, त्यही विद्यालय नजिकको ठाउँमा बिहे भयो। दुखी जागिरे जीवनमा घरपायक बनेको हुँदा केही राहत महसुस गरेकी थिएँ।
घर परिवारबाट पनि एकदमै सहयोग गर्नुहुन्थ्यो। स्नाकोत्तरको पढाइ पूरा भएसँगै अब प्राथमिक तहमा मात्र अल्झेर नभइ निम्न माध्यमिक र माध्यमिक तहमा पनि नाम निकाल्नु पर्छ भनी आयोग तयारी गर्दा निम्न माध्यमिक तहमा नाम पनि निस्कियो।
केही समय मात्र घरपायक जागिरको सुखद अनुभूति लिएकी म थोरै मात्र तलबको अन्तर रहेको उपल्लो तहमा नाम निस्कँदा घर छाडी जाने कि प्राविमै सीमित रही बस्ने कुराले अत्यन्तै दोधार बनायो। जति नै दोधार बने नि निर्णय लिनु पर्ने दिन नजिक आइसकेको थियो।
क्षमता, योग्यता र मेहनतमा विश्वास गर्ने म उपल्लो तहमा नाम निस्कँदा नियुक्ति नलिइ बस्न मनै मानेन। आफ्नै जिल्लामा नै नियुक्ति लिने अवस्था मिलेको हुँदा जे जस्तो परे पनि सहने दृढ विश्वासका साथ आफ्नै जिल्लाको एक दुर्गम ठाउँको एक माध्यमिक विद्यालयमा नियुक्ति लिई जीवनको अर्को अध्याय सुरू गरेँ।
२ वर्षकी सानी छोरी, विदेशिएका श्रीमान, त्यो अपरिचित ठाउँ, पातलो बस्ती, जङ्गल नजिक पुराना असुरक्षित लाग्ने घरहरू, बर्खामा गाडी पनि मुस्किलले जाने त्यस्तो ठाउँमा आफ्ना दिनचार्या कति कष्टकर साथ बिताएँ व्यक्त गर्दा आँसु यसै छचल्किएर आउँछ। असहज समयमा पनि त्यहाँ एउटै घरमा बस्दा सहयोग गर्ने म्याडम, छिमेकी, गुरुबा गुरुआमाहरूलाई मनैदेखि सम्झन चाहन्छु।
यातायात सहज हुँदो हो त त्यति कष्टकर समय पनि हुँदैनथ्यो होला। उमेरमा कच्चा नै थिएँ । त्यो दुर्गम स्थान, बिरामी सानी छोरी, दूरको अस्पताल, गर्भवती आफू, विदेशी श्रीमान, घर परिवारबाट टाढा बसी एक्लै सहनु साँच्चै नै पीडादायक थियो मेरा लागि।
परिवर्तित आधुनिक जमाना, शिक्षित भनाउँदा मानिस, आत्मनिर्भर महिला भनिएता पनि समाज अझै अन्धविश्वासमा नै जरो गाडेर नै बसेको छ कि जस्तो लाग्दछ। पहिलो सन्तान छोरी भएको हुँदा जसरी पनि दोस्रो सन्तान जन्म दिनै पर्ने, त्यही पनि छोरो नै हुनुपर्ने जस्तो समाजको र परिवारको अप्रत्यक्ष रूपमा दबाब रहेको महसुस गर्दथेँ।
मुस्किलले रहेको कोखको सन्तान पनि दुर्गममा हुँदा सकुशल जन्म दिन सक्दिनँ कि भन्ने मनमा छटपटी थियो। जागिर छाड्न नसके पनि सरुवा गरी घरपायक वा केही सुगम स्थानमा जान सके जीवन केही सहज होला कि भन्ने झिनो आशा थियो। आफूलाई माया गर्ने, समस्या बुझिदिने सम्बन्धित व्यक्तिहरूलाई रोई, कराई आफ्नो पीडा व्यक्त गरिरहेँ। तर भने जस्तो सजिलो कहाँ हुँदो रहेछ र!
कसैले केही क्षण सहानुभूति दिए पनि कसैले तिमीभन्दा अझै दुःख पाएका पनि छन्, पहुँच, पावर छ भने कोसिस गर, यहाँ जसको शक्ति उसको भक्ति रहेछ भन्ने जस्ता तितामिठा वचनहरू सुन्दै आएँ। निम्न माध्यमिकको दरबन्दी नै कम हुने, आफ्नो विषय मिलाएर सरुवा गर्ने काम सजिलो पनि थिएन। जसरी भए पनि सरुवा हुनै पर्दछ भनी सम्बन्धित सबैलाई आफ्ना पीडा सुनाई राखेँ। भगवानले पुकार सुनिदिएछन्, केही सहज ठाउँमा तर घर अपायक ठाउँमा सरुवा हुने अवस्था सृजना बन्यो। भगवान रूपी सहयोगी व्यक्तिहरूलाई हृदयदेखि हार्दिक नमन टक्र्याउन चाहन्छु। साथै छोरो पनि जन्मियो।
चाहें जस्तो सबै नभए पनि अब त केही राहत होला भनी जीवन चलाइराखेको थिएँ। सुत्केरी बिदा सकिएसँगै घर आपायक विद्यालयमा छोरो कसरी हुर्काउने भन्ने फेरि अर्को पीडा बल्झिहाल्यो।
भनिन्छ जीवन संघर्ष हो, जीवनमा आएका उतार चढावलाई धैर्यताका साथ अनुशरण गर्दै गए एकदिन सुखको श्वास फेर्न सकिन्छ। तर मेरो जागिरे जीवनभरि कहिल्यै आनन्दको अनुभूति गर्नै नै पाइनँ। आत्मनिर्भर त के, कमाएको पैसा केही बचत गर्नु नसकी उल्टो घरपरिवारबाट माग्नु पर्ने स्थिति सृजना हुँदै गयो। त्यो चार महिनाको छोरो घरमा छाड्न पनि नमिल्ने, घरको सदस्य मेरो डेरामा आइर हेरिदिने पनि कोही नहुने, नमिल्ने साथै विद्यालयमा लैजानु पनि नमिल्ने, जागिर छाड्न पनि नसक्ने हुँदा विद्यालय नजिकै डेरा खोजी छोरो हेरिदिने मान्छे कसो नभेटिएला भनी विद्यालय नजिक सबैलाई आग्रह गरेँ। मासिक १० हजार रुपैयाँ दिने गरी मान्छे राखेँ। पर्याप्त स्याहारको कमीले छोरो दिन प्रतिदिन बिरामी हुँदै गयो। उपचार खर्च, कोठा भाडा, हेरालो खर्च तथा घरायसी खर्च मेरो जागिरले धान्ने अवस्था थिएन। तर पनि मन बुझाइ राखेँ। सपनाको जागिर र बुढेसकालको सहारा हुर्काउँदाको पीडा जे जति भए पनि एकदिन मेरो पनि उज्यालो छाउला भनी पर्खिरहेँ।
जागिरको १० वर्ष बित्नै लागे पनि अझै पनि घर अपायक नै छु। मुस्किलले भेटिएको छोरो हेरिदिने मान्छेले पनि अब मैले नभ्याउने भएँ भन्दिने बित्तिकै फेरि अर्को बज्रपात पर्न पुग्यो। विद्यालय जाने उमेर नहुँदासम्म जे जति कष्ट आइपरे पनि सहेर जागिर र सन्तान सँगसँगै हुर्काउनु नै थियो।
एकपटक रोइ कराइ अलि सहज ठाउँमा सरुवा भए पनि साना छोराछोरी हुँदा, १० वर्षसम्म पनि घर अपायक भएको हुँदा राहतको कुनै अनुभूति गर्नै नै पाइनँ। फेरि घर पायक ठाउँको सरुवाको लागि मैले सयौं मानिससँग बिन्ती गर्नुपर्ने हुन्छ। बिन्ती गरेर मात्र सरुवा हुने र घर परिवार सँगसँगै रहने अवस्था हुने थियो भने जति नै झुकेर बिन्ती गर्दथेँ तर पटक-पटक मेरो मात्र बिन्ती सुनिदिने अब कोही छैनन्। एकछिन सहानुभूति देखाए पनि बल्ल खाइस् भन्नेको केही कमी पनि छैन यहाँ।
म सरकार, शिक्षासँग सम्बन्धित निकाय तथा व्यक्तिलाई यो शिक्षक सरुवा प्रक्रिया अत्यन्त सहज बनाउन अनुरोध गर्न चाहन्छु कि पहुँचवाला व्यक्ति एकपटक मिलाए पछि सधैं सुगम स्थानमा र पहुँच नहुने व्यक्ति जीवनभर रोएरै दुर्गम ठाउँमा जीवन कटाउनु पर्ने अवस्थाको अन्त्य होस्। मानिसलाई नाम निकाल्नुभन्दा सरुवा प्रक्रिया झन्झटिलो हुनाले एक तह निकालेपछि माथिल्लो तह पढ्नै छाड्नु पर्ने अवस्था सृजना नहोस्। निश्चित अन्तरालमा सरुवा हुने प्रक्रिया कार्यान्वयन होस्। महिला तथा अपाङ्ग व्यक्तिहरूलाई समस्याको आधारमा विशेष सुविधाको सृजना होस् ताकि हेपिएको शिक्षण पेसामा प्रति आकर्षित व्यक्ति पनि जागिरे जीवनबाट सन्तुष्ट जीवन बिताउन सकुन् न कि कुन दिन यस्तो पेसा रोजेछु भनी धिकार्दै बस्ने दिन नआओस्।
मानिस हरेक पीडाहरू सहँदै आएपछि कठोर बन्दै जाँदो रहेछ। सबैलाई सानैमा आत्मनिर्भर हुन प्रोत्साहान गर्ने मानिस पनि पीडित भएपछि घरपरिवारको सँगैको साथ नै महत्त्वपूर्ण र सन्तान हुर्काएपछि मात्र जागिर आँट्नु पर्ने सल्लाह दिने हुँदोरहेछ। जति नै कष्ट परे पनि आजकाल 'के छ खबर?' भनी सोध्दा मनभरि पीडा लुकाई ओठमा फिक्का हाँसो राखी भन्ने गर्दछु- सबै ठिकै छ।
(लेखक श्री त्रिभुवन शान्ति माविमा अध्यापनरत शिक्षक हुन्।)