'ऐतिहासिक दीक्षान्त समारोह हो तिमीहरूको त, २६ हजारभन्दा बढी सहभागी, विश्व कीर्तिमान राख्ने आम्मामा!'
कोही मान्छे गुनुगुन गरिरहनु भएको थियो। मलाई भने यो कीर्तिमान सिर्तिमानको केही चासो थिएन। नेपालको धनि-गरिब, सुगम-दुर्गम, जात, धर्म, भाषा, सबैको एकै ठाउँमा आएर आफ्नो जीवनको एउटा समय साटासाट गर्ने थलो बनेको दिन हो- दीक्षान्त समारोह।
म आफ्नो कोट लाएर मेरो साथी छेउ बसिरहेको थिएँ। याद गर्दै थिएँ, अब यो अनुहार मेरो जीवनको एक सम्झना मात्र हुनेछ। जीवनको चार अमूल्य वर्ष, फरक र विभिन्न उतारचढाव देखेको अनुहार, अबको दिनमा 'ओहो के छ खबर? के गर्दैछौ?' भनेर सम्बोधन गर्नुपर्नेछ।
हामीलाई माथि राखिएको थियो भने हाम्रा अभिभावकलाई तल कुर्सीमा राखिएको थियो। वरिपरि हेरेँ। मैले सोचेँ, सबैजना सायद आफ्नो सपना बोकेर हिँडिरहेका होलान् है! कति स्वदेशमा बस्ने सपना राखेका होलान् त कति विदेश पलायन हुने सोचेका होलान्। कति पेट पाल्नको लागि जागिर खोज्ने होलान् त कति आमाबुवा पाल्न, कति बल्ल पढाइ सकेर आफ्नो पखेटा पाएँ भनेर मक्ख होलान् त कति अब के गर्ने, जागिर पाइएला त भनेर मन अशान्त बनिरहेका होलान्। कति पढाइ सकिए पनि जीवनमा के गर्ने सोच्न सकिसकेका छैनन् होला, त कतिले अब जीवनमा कता जाने भनेर स्पष्टता पाएका होलान्।
'बहिनी हाम्रो फोटो खिचिदेऊ न' कसैले बोलायो। छेउमा हेरेको त मेरै संकायका दाइदिदी हुनुहुँदो रहेछ, मैले फोटो खिचिदिएँ तर एक यथार्थ मेरो सामुन्ने झसंग आयो। यो भिड एक कथाको संगालो मात्र हैन, आफ्नो विषयप्रतिको जिम्मेवारीको हो, यो मेरो लागि बनेको विषय हैन भनेर थाहा पाएको मूल्यांकनको हो, देशको भविष्यको हो, एक से एक प्रतिभाको प्रतिस्पर्धाको हो। सम्झिँदा त निकै डर लाग्यो।
ओहो! आजको दिन यस्तो गम्भीर कुरा सोचेर दिमाग खराब गर्दिनँ भन्दै आमाबुवा खोज्न रंगशालाको रेलिङ समात्दै हिँडें।
बाटोमा आफ्नै क्याम्पसमा पढ्ने अरु संकायका साथीहरू भेटेँ। धेरै पछि ती अनुहार देखेको थिएँ। कति नैतिक त कति राजनीतिक, कति मनगढन्ते कुरा त कति गरिएका व्यवहारले राम्रो नराम्रो भनिएका अनुहार थिए। तर आज केही रिस, आवेग, लाज, शंका, ईर्ष्या थिएन, थियो त सिर्फ माया। जे जस्तो भए नि जिन्दगीको धागो-आफ्नो, नितान्त आफ्नो हो। अरु सबै पहुना हो भन्ने थाहा पाउने बित्तिकै जिन्दगी निकै सरल बनिदिँदो रहेछ। त्यो क्याम्पसमा भएको कुरा केबल अस्थायी भावना रहेछ, जिन्दगीको 'रेस' त आफ्नो मात्र रहेछ भन्ने सम्झिँदा निकै पछुतो लाग्यो।
तल जाँदै गर्दा खुसी अनुहारहरू देखेँ। अधिकांशका बुवाआमा आउनु भएको थियो। कत्तिको बुवा मात्र, कत्तिको दिदी मात्र, कत्तिको दाइदिदी मात्र। जोजस्को कोही आउनु भएको थिएन उनीहरूको अलि खिन्न अनुहार पनि देखेँ।। विभिन्न गाउँठाउँबाट एकदिनको एकछिनको कार्यक्रमलाई सबै कामधन्दा छाडेर आइपुग्न पक्कै सजिलो थिएन। देशका कुनाकाप्चाबाट दुःखसुख गरेर समय मिलाइएको थियो होला।
साँच्चै, जीवनको सबैभन्दा अमूल्य कुरा नै माया, समय र भौतिक तथा आत्मीय उपस्थिति रहेछ भनेर मलाई कता-कता भान भइरहेको थियो।
रंगशालामा न त फोन लागिरहेको थियो, न त मान्छे चिनिने वतावरण। अन्धधुन्द सबैजना एक हुलमा आफ्ना प्रिय पात्र खोजिरहेका थिए। त्यस्तै म पनि आफ्नो जीवनको प्रिय पात्रलाई खोजिरहेको थिएँ- मेरा आमाबुवा।
विभिन्न जिम्मेवारीले पिल्सिएर स्नातक गर्न नसकेका मेरा आमाबुवाको सपना पूरा गर्दा मलाई एकदम गर्वान्वित महसुस भइरहेको थियो। नेपालको दुर्गम ठाउँबाट आएर सहरको यो प्रतिस्पर्धामा आफूलाई स्थापित गर्ने बुवाको अनुभवलाई कुनै आधुनिक विषयको ज्ञानले न्याय दिन पक्कै भ्याउँदैन। आज पनि मलाई याद छ, उहाँले तालिमको थकान बिर्सिएर मलाई हाजिरीजवाफको प्रश्न सोध्न थाल्नुहुन्थ्यो, बालकिताबहरू ल्याइदिनुहुन्थ्यो, आफूलाई भई नभई किताबकापीको जोहो गरिदिनुहुन्थ्यो।
बुवालाई पढ्न एकदमै रुचि छ या भनौँ थियो। तर आफू पढ्दा छोरीलाई केहीमा कमी होला भनेर २० वर्षको लाउलाउ खाउखाउको उमेरमा इच्छा त्याग गर्नुभएको थियो। यो सहरको महंगीमा सन्तानलाई पढाइ मलाई यो कालो कोटको बीचमा स्थापित गर्न सक्नु हुने बुवालाई जिन्दगीमा कुनै दीक्षान्त हुँदैन। यो कथाको सक्कली योद्दा आज छोरीको कोटको छायामै विलिप्त भएको छ तर पनि त्यो योद्धाको मनमा ईर्ष्या बिल्कुलै छैन।
पढ्ने बेलामा शिक्षकले भगाउँछ भनेर पढ्न नपाउनुभएको मेरी आमाले मरी-मरी अंग्रेजी पढाएको पनि मलाई झलझली याद छ। 'हजुर गृहिणी भएर सोचेजस्तो जिन्दगी भएन' भनेर कत्ति मन दुखाएँ, 'सबैको साथीको आमाबुवा पढेका छन्, तपाईं चाहिँ' भनेर धेरै होच्च्याएँ पनि तर आमालाई कहिले यो कुराको ईख लागेन। बरु उल्टै, 'सधैँ पढ्नुपर्छ है' भन्ने हौसला मात्र दिइरहनु भयो।
गाह्रो समयमा सुनिदिने साथी, मेरी आमाले मलाई पढ्ने समयलाई समझौता गर्न नलगाई सम्पूर्ण घरको जिम्मेवारी नलिदिएको भए म आज कहीँकतै पुग्दिन थिएँ। वास्तवमा आमाबुवा हातका भविष्य कोरिदिने हस्तरेखा रहेछन्। मेरो भाग्यमा यो दीक्षान्तसम्मको यात्रा र बाँकी जीवन कोरिदिने जन्मदाता, मेरो कर्मदाता।
यति सोच्दै अगाडि जाँदै मात्र के थिएँ, एक हुल मानिसको हल्लाले मलाई बोलाए जस्तो लाग्यो। मेरो कक्षाका साथीहरू सामूहिक फोटो खिचिरहेका रहेछन्। एकछिन म त्यतातिर अल्झिएँ। साथीहरू विभिन्न ठाउँबाट सपना बोकेर काठमाडौं छिरेका थिए। यस्तो महंगो सहरमा डेरा खोजेर संघर्ष गर्दै, जागिर खोज्दै, दुःखसुख गर्दै चार वर्ष कटाएका थिए। रातभर मेडिकलमा औषधि बेच्दै दिउँसो कक्षा आएका साथीका अनुहार देखेँ।
यो दीक्षान्त त्यो संघर्षको उत्सव थियो। यो उत्सव मेरोभन्दा धेरै टाढा दुर्गम गाँउमा रहनु हुने उनीहरूको आमाबुवाको थियो। सरकारी विद्यालयमा अध्ययन गरेर अंग्रेजीमा उत्तर लेखी गाह्रोसाह्रो गरेर परीक्षामा उत्तीर्ण भएको विद्यार्थीको थियो। उमेरले जिम्मेवारी बोके पनि पढाइको महत्व बुझेर पढ्न आउनुभएको उमेरको बन्देज नमान्नुहुने अग्रजको थियो। घरमा के खाउ के लाउको अवस्था भए पनि सहरका आधारभूत कुरामा अभावरहित अध्यनन गरेका मानिसबीच प्रतिस्पर्धा गरेको बेजोड मेहनतको उत्सव थियो।
कसैको कस्तो सपना, कसैको कस्तो अवस्था, कसैको कस्तो जिम्मेवारी, कसैको कस्तो स्वभाव, र कसैको कस्तो कथा बोकेर सबै विद्यार्थी स्वरुपमा आएका थिए। त्यो कालो कोट पछाडि अनेकन कथा थियो। सबैको पैसाको, समयको, मेहेनतको नतिजा एक कागजमा अड्किएको थियो।
बल्लबल्ल मैले मेरो आमाबुवा भेटेँ। फोन नै लाग्दैन भन्दै बुवा गनगन गर्दै हुनुहुन्थ्यो, मैले मलिन अनुहार बनाएर अंगालो मारेँ।
मजस्ता यी तमाम मानिस यो रंगशालाबाट निस्किएपछि कहाँ पुग्छन थाहा छैन। तर मैले त्यस भिडमा भएका सबैको आँखामा सपना देखेँ, आफ्नो यतिका दिनसम्मको अद्वितीय कथा एक कोट र स्कार्फभित्र लुकेको देखेँ।