कञ्चनपुर, कोरोना र कर्मचारी - ३
तल पृथ्वी लोकमा कोरोनाको बढ्तै गाइँगुइँ सुनेपछि ब्रह्मा, विष्णु र शिवसहित तीन सदस्यीय उच्चस्तरीय समितिको आकस्मिक बैठक बसेछ।
प्रमुख एजेन्डा थियो, कोरोना भाइरस रोकथाम र नियन्त्रण। स्वर्गलोक, कैलाश पर्वत आदिमा कोरोना भाइरस संक्रमण हुन नदिन आवश्यक पूर्व तयारी हेतु हिमवत्खण्डे नेपाल लोकको साताव्यापी परिक्रमा गरी रायसहितको प्रतिवेदन पेश गर्न देवगण वा ऋषिमुनिमध्ये एक जनालाई पृथ्वीमा खटाउने निर्णय भएछ।
तर धेरैजसो, महामारीका बेलाका हाम्रा एम्बुलेन्स चालकजस्तै पछाडि हटे। अन्ततः सदैव लोककल्याणमै समर्पित देवर्षि नारद अगाडि सरे। उनैलाई जिम्मा दिइयो।
बादलुमा चढेर पृथ्वी लोकमा झर्दै गर्दा नारदलाई नयाँ अनुभूति भएछ। पहिलेभन्दा अजिव अजिव। अन्तरिक्ष स्वच्छ छ। दुर्गन्धरहित। न धुँवा, न धूलो।
एकैछिन त 'कन्फ्युज' भएछन्, बाटै पो बिर्सिएँ कि भनेर। तर पृथ्वीमा इलम, उद्योग, कलकारखाना, यातायात पूरै ठप्प भएको फाइदा प्रकृतिलाई पुगेको ठम्याई हाले। तर अर्को कुराले फेरि पनि 'कन्फ्युज' !
'हैन, यो कोरोना राम्रो चिज आएको हो कि नराम्रो?' अब, नारदलाई नै 'कन्फ्युज' पार्ने कोरोना, अरुको त के कुरा?
नेपालमा लकडाउन रहेछ। जताततै कोभिडको प्रभाव। समाचारमा बस् कोरोना भाइरस। भित्तामा कोरोनाकै चित्र। फेसबुक पनि कोभिड बुक जस्तो लाग्ने। साह्रै रोचक मानेछन् क्यार, केही दिन यतै अलमलिए। विभिन्न ठाउँ भ्रमण गरे।
काँकडभिट्टादेखि गड्डाचौकी सीमानाकामा वारि सशस्त्र प्रहरीको र पारि एसएसबीको तनाव पनि हेरेछन्। नेपाल प्रहरीको आपत पनि देखेछन्। कलंकीमा प्रहरीको भाटा खानबाट बालबाल बचे। क्वारेन्टाइनहरू हेरे। अस्पतालका आइसोलेसन अवलोकन गरे। 'र्यापिड' परीक्षण समेत गराउन भ्याएछन् बुढाले। धन्न, पोजिटिभ आएन।
सहरतिर मात्र कति हेर्नु? गाउँ पसे। मान्छेहरू सामाजिक दूरी कायम गर्दै गहुँ काटिरहेछन्। गाउँमा भाले काटेर भोज खाएको भेटेछन्। 'ग्लोभ्स' लगाउने त फाट्टफुट्ट। मास्क लगाउने पनि कमै देखेछन्। हेर्दै गए मास्क पनि थरीथरीका। कुनै सर्जिकल मास्क रे ! कुनै कपडाको ! एन नाइन्टी फाइभ मास्क पनि हुँदोरैछ !
दाम पनि एउटै मास्कको ठाउँपिच्छे फरक। दस रुपैयाँ पर्ने कालो कपडाको मास्कलाई साठीमा किनेर गर्मीमा के हिँडेथे, उकुसमुकुस भएर हैरान।
पृथ्वी लोकमा अस्तिसम्म साबुनले हात नधुने मान्छे अहिले स्यानिटाइजर लाउने भएछन्। कुन चै संस्थाले बाँडेको सित्तैमा पाएको भएर रहेछ।
सबभन्दा रोचक त राहत वितरण। कसैलाई माग्ने अनि कसैलाई दिने श्रेणीमा राख्ने 'राहत भन्ने जात्रा' नेपाल लोककै सबभन्दा लामो समय चल्ने जात्रा हो ? भनेर देवर्षिले खै कुन ठाउँका मेयरलाई सोधी टोपल्दा झन्डै भेटेनछन्। अनि लागेछ 'यो राहतका बारेमा बोल्नुभन्दा नबोल्नु बेस्।'
बरू सवारी पासको भद्रगोल कम छ कि? सरकार 'अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनू' भन्छ। तर 'उल्टो खोपडी'का केही मानिस जात अत्यावश्यक कामबाहेक घरभित्रै छिर्दैनन्। दैनिक गुजारा गर्ने, गरिब, विपन्न र घरबारविहीन त्यसै पनि बाहिरको बाहिरै छन्। कि त घरबाहिर, कि त देशबाहिर। कैयौं त अहिले सिमानाबाहिर पनि रहेछन्।
तर, हुनेखाने वर्गको घरबाहिर बस्ने रहर उग्रै छ। बाहिरै बस्ने नानाथरी बहाना चाहिन्छ तिनलाई। ग्यास सकिन्छ भन्ने बहानामा आँगनमा वा छतमै बसेर दाउरामा पकाइरहेछन्। त्यही पनि गरी खान दिँदैनन्। फोटो खिचेर भाइरल छ।
बिरामी भएको वा औषधि लिने बहानामा बाहिर छन् कोही। कोही राहत बाँड्ने या लिने नाममा बाहिरै। सजिलै सवारी पास पाइनेवाला छैन, थाहा छ। तर पनि थरीथरीका बहाना बनाएर पास लिन प्रशासन धाइरहेछन्। बजार नखोल्नु भन्यो, लुकी-चोरी खोल्नैपर्छ। भिड नगर्नु भन्यो, तरकारी बजार, खाद्यान्न पसलमा भिड गर्नैपर्छ।
लकडाउनका बेला पनि उस्तै आँटिला नेपाली मनुष्यहरूका गतिविधि हेर्दाहेर्दै देवर्षिको लामै समय बितेछ। एक साता भ्रमण आदेश लिएर आएका नारद पृथ्वी लोकमै क्वारेन्टाइन अवधि कटाएर फर्किए।
पृथ्वी भ्रमणबाट थकित र चकित भएर फर्किएको भोलिपल्ट नारदजी ब्रह्म मुहुर्तमै झल्याँस्स ब्युँझिए। सपना देखेर। सपनामा कोरोना चीनबाट युरोप पुगेझैं पृथ्वी लोकबाट एकैचोटि स्वर्गलोक पुगेको देखेर रन्थनिएछन्। आफैंसँग कोरोना लिएर आएँ कि भन्ने पिर परेछ क्यार।
आँखा खुल्नासाथ एक हातमा वीणा च्यापेर, अर्को हातमा चिम्टा अठ्याउँदै, गोडामा हतारहतार खराउ भिरेर, ओठबाट 'नारायन नारायन' उच्चारण गर्दै हस्याङ फस्याङ मुद्रामा अन्तरिक्षमा गन्तव्यहीन भई विचरण गरिरहँदा 'अनुगमन'मा निस्किएका इन्द्रको नजरमा परे।
इन्द्रले आफ्नो अंगरक्षक याने पि.एस.ओ.लाई इशारा गरेर नारदलाई रोक्न भने। स्वर्गलोकतिर पनि लकडाउन सुरू भइसकेछ। लकडाउन उल्लंघन गर्दै हिँडेको यात्रुलाई सुरक्षाकर्मीले रोकेको शैलीमा पि.एस.ओ.ले नारदलाई झ्याप्पै रोकेर सोधे 'देवलोकमा देवता, ऋषिमुनि, देवगण, सेनामेना सबैलाई अनुमतिबिना निस्किन पाइँदैन ? देवर्षि हजुरको पास खै?'
नारदले यस्सो मुन्टो घुमाएर हेर्दा इन्द्रदेवलाई देखेर नमन गरे। एकछिन अकमक्क परेका नारद सदाझैं कुरा मिलाउने मुडमा आए र भने 'नारायन, नारायन, अंगरक्षक ! पास त उता नेपाल लोकमा हिँडडुल गर्न पो चाहिन्छ। यता केको पास?'
त्यहाँ पो कतिलाई पास नपाउँदा सास जालाजस्तै भएको छ। प्रशासनको पूरा शक्ति र संयन्त्र पास कसरी रोक्ने भन्नेमा खर्च भएको छ। तै पनि नानाथरी पास जारी गर्नुपरेको छ। केही घन्टाका लागि दिइने 'घन्टे' पास। बाटोमा एक दुई डन्डा खाँदै प्रशासन कार्यालय पुगेर बनाइने 'डन्डे' पास। कसैले भनसुन् गरेर पाएको 'भन्दे' पास। राजनीतिक झन्डाको बलमा पाएको 'झन्डे' पास। कसैको फन्दामा परेर काम अधसरो हुने गरी ल्याएको 'फन्दे' पास। र, केही गर्दा पनि नपाएको 'रहन्दे' पास।
अनेक किसिम, प्रकृतिका सवारी पास। सबैको आफ्नै महिमा। ॐ नमः सवारी पासायः मन्त्र उच्चारण गर्न थालेका छन् मान्छेहरू।
सवारी पास पाउने बाहुबली, नपाउने निरीह छन्। उता कञ्चनपुरका सिडिओको नयाँ वर्षको पहिलो दिनको पहिलो कामै पास जारी गर्ने भयो रे !
बरू उहिले उहिले भारत वर्षले गरेको नाकाबन्दीमा तेल अभाव हुँदा पेट्रोल, डिजेलबिनै सवारीसाधन चल्न सक्थे। तर अहिले पासबिना चुइँक्क हल्लिन सक्दैनन्। त्यसैले पहिले पहिले सडकमा कमिलाझैं गाडी गुड्थे रे ! अहिले भने त्यो सडकमा कमिला मात्र हिँड्छन्।
सवारी पासको विषयमा देवर्षि नारद थप्छन्, 'नारायन, नारायन ! पास त अहिले पृथ्वीलोकमा निकै महत्वको चीज बनेको छ। कृष्णको सुदर्शन चक्रजस्तै, अर्जुनको गाण्डीवसरह, शिवजीको त्रिशुल भएझैं, भीमको गदातुल्य। पृथ्वीबासी त्यसमा पनि नेपालबासीको सबभन्दा ठूलो शस्त्र भएको छ– पास। सवारी पास।'
नारदको कुरो नसकिँदै भर्खरै भारत भ्रमणबाट फर्किएका एकजना दूत सुनाउन थाले, 'महाराज अहिले बलिउडमा रिमेक भइरहेको 'दीवार' फिल्मको 'माँ वाला डायलग' चेन्ज भइसकेछ।
'आज मेरे पास बिल्डिङ है, प्रोपर्टी है, बैंक ब्यालेन्स है, गाडी है, क्या है तुम्हारे पास?' भनिरहँदा एकछिनको सन्नाटापछि जवाफ आउँछ, 'मेरे पास 'पास' है।
(क्रमशः)
(लेखक जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)
यो पनि पढ्नुस्ः
राहत रालघोल प्रतियोगिता-२०७७
'अरे यार, लकडाउन पो भएको हो, मनोबल डाउन भएको छैन नि'
'हेर्दै जानुहोला, कोरोनाअघि र कोरोनापछि भन्ने मानक स्थापित हुनेछ'